सुर्खेतमा रहेको काँक्रेविहार पुनर्निर्माण अधुरै

Jan 12, 2019

काँक्रेविहार पुनर्निर्माण सुरु भएको डेढ दशक बिते पनि अझैसम्म काम अधुरै छ । जंगलमा यत्रतत्र छरिएर रहेका कलात्मक ढुंगा, मूर्तिलगायतका भग्नावशेषलाई जोडेर २१ दशमलव ५ मिटर अग्लो मन्दिर निर्माण गर्न थालिएको छ ।

बौद्ध संस्कृतिका अध्येता जीवनकुमार शाक्यले काँक्रेविहार लुम्बिनीपछिकै ऐतिहासिक, पुरातात्त्विक पर्यटकीय स्थल रहेको दाबी गर्नुभयो । ‘यहाँ ठूलाठूला ढुंगामा कुँदिएका कलात्मक शैलीका तमाम मूर्तिहरू छन्, अब पुरानै शैलीमा मन्दिर बन्दै छ,’ उहाँले भन्नुभयो, ‘यसले गर्दा काँक्रेविहारको मात्र नभई समग्र सुर्खेतकै सान बढाउँछ ।’ तर, पूर्वाधार अभावका कारण काँक्रेविहार ओझेलमा परेको उहाँले बताउनुभयो ।

विभागले २०५७ सालमा उत्खनन् सुरु गरेको थियो । उत्खननलगत्तै मन्दिर पुनर्निर्माण थालिएको थियो । अग्लो डाँडामा निर्माण हुन लागेको शिखर शैलीको मन्दिरबाट सुर्खेत उपत्यकाका विभिन्न स्थानहरूको दृश्यावलोकन गर्न सकिनेछ ।

शिवविहार पुस्तकालयका कोषाध्यक्ष सुरेश मानन्धरले काँक्रेबिहारको पुनर्निर्माणसँगै मध्यपश्चिमको पहिलो पर्यटकीय गन्तव्यमा स्वदेशी तथा विदेशी पर्यटक बढ्ने विश्वास व्यक्त गर्नुभयो । हाल काँक्रेविहारमा दैनिक ५० बढी आन्तरिक तथा बाह्य पर्यटक आउने गर्छन् । मन्दिरको अनुमानित लागत ९ करोड ६५ लाख ६६ हजार रुपैयाँ रहेको छ ।