मातृभाषा शिक्षाको अवस्था दयनीय

Oct 7, 2018
प्रेमबहादुर राम्जा
दाङ, २१ असोज 
नेपालको संविधान २०७२ ले नेपालका सबै नागरिकलाई आफ्नो मातृभाषामा अध्ययन गर्न पाउने अधिकारको व्यवस्था गरेको छ । संविधानको धारा ३१ उपधारा ५ मा नेपालमा बसोबास गर्ने प्रत्येक नेपाली समुदायलाई कानून बमोजिम आफ्नो मातृभाषामा शिक्षा पाउने र त्यसका लागि विद्यालय तथा शैक्षिक संस्था खोल्ने र सञ्चालन गर्ने हक हुनेछ भनी व्यवस्था गरेको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ (ज) ४ मा पनि मातृभाषामा अध्ययनका लागि व्यवस्था गरिएको छ । 
 
प्रदेश ५ को सरकारले आफ्नो नीति तथा कार्यक्रममा सामुदायिक विद्यालयहरुमा कक्षा १ देखि नै नेपाली वा मातृभाषामा पढाई हुने विषय बाहेक अरु सबै विषयहरुको क्रमशः अंग्रेजी माध्यमबाट पठन—पाठनको व्यवस्था मिलाइने र कक्षा ४ देखि नै कम्प्युटर शिक्षा अनिवार्य रुपमा लागु गर्दै जान स्थानीय सरकारलाई सहयोग प्रदान गरिनेछ भनेर उल्लेख गरेको छ । घोराही उपमहानगरपालिकाको आर्थिक वर्ष ०७५÷०७६ को नीति तथा कार्यक्रममा मातृभाषामा आधारभूत शिक्षा प्रदान गर्ने कार्यलाई प्रोत्साहन गरिने नीति अवलम्बन गरिनेछ भन्ने उल्लेख गरेको छ । जेहेन्दार विद्यार्थीहरुका लागि मेयर छात्रवृत्ति प्रदान गर्ने कार्यक्रम तय गरिने विषलाई प्राथमिकता दिइएको छ । तुलसीपुर उपमहानगरपालिकाले बहुभाषाका लागि आफ्नो नीति तथा कार्यक्रममा ५० लाख रुपैया विनियोजन गरेको छ । मातृभाषाका लागि कानूनी रुपमा तीन सरकारले यस्तो व्यवस्था गरेको भए पनि स्थानीय तहमा सञ्चालनमा रहेका विद्यालयहरुमा नगन्ने मात्रामा मातृभाषामा पढाई भएको पाइएको छ । दाङ जिल्लामा झनै त्यसको कार्यान्वयन न्यून देखिन्छ । 
 
दाङ जिल्लाका बिद्यालयमा मातृभाषाको अवस्था 
जिल्ला शिक्षा विकास तथा समन्वय ईकाई कार्यालयले सामुदायिक विद्यालय ४ सय २१ वटा रहेको जनाएको छ । तर, यी सबै विद्यालयमा मातृभाषाको पढाई सञ्चालन गर्न सकेको छैन । दाङमा राप्ती गाउँपालिकामा रहेको शंकर मावि पिपरी र तुलसीपुरको बाल चेतना आधारभूत विद्यालयले मात्रै थारु भाषामा पठनपाठन गर्दै आएका छन् । शंकर माविले दश वर्षदेखि थारु भाषामा पढाई सञ्चालन गर्दै आएको छ भने बाल चेतना आधारभूत विद्यालयले पाँच वर्षदेखि थारु भाषामा पढाई सञ्चालन गर्दै आएको छ । यस बाहेक दाङमा प्रावि हलवारमा पढाई सञ्चालन भएको भए पनि हाल त्यहाँ पढाई सञ्चालन भएको छैन । 
 
मातृभाषा पढाउने विद्यालयको प्रतिक्रिया  
राप्ती गाउँपालिका शिक्षा शाखा प्रमुख राजेन्द्रप्रसाद घिमिरेले शंकर मावि विद्यालय थारु भाषामा पढाई हुँदै आएको जानकारी दिनुभयो । गाउँपालिकाबाट त्यस्ता विद्यालयलाई कुनै आर्थिक सहयोग नभएको उहाँले बताउनुभएको छ । मातृभाषामा पढाई सञ्चालन गर्ने विद्यालयका विषयमा कुनै व्यवस्था नगरिएको भन्दै प्रमुख घिमिरेले आगामी दिनमा समितिमा छलफल गरेर प्रक्रिया अगाडि बढाउने बताउनुभयो । शंकर माविका प्रधानाध्यापक रामकुमार चौधरीले हाल विद्यालयमा कक्षा ४ र ५ मा मात्रै थारु भाषामा पढाई सञ्चालन भइरहेको बताउनुभयो । थारु भाषा बोल्न सक्ने शिक्षक अभावका कारण कक्षा १, २ र ३ मा पढाई हुन नसकेको प्रधानाध्यापक चौधरीले बताउनुभयो । विद्यालयमा दश वर्षदेखि कक्षा १ देखि ५ सम्म पढाई भएको स्मरण गर्दै चौधरीले पछिल्लो समय शिक्षकको अभावका कारण समस्या भएको बताउनुभयो ।
 
शिक्षक अभावसँगै आवश्यक पाठ्यक्रम नहँुदा पनि समस्या रहेको बताउनुभयो । पाठ्यक्रम स्थानीय पाठ्यक्रमको ढाँचा २०६७ अनुसार केही सामग्री तयार पारेको भन्दै थारु भाषामा पाठ्यक्रम निर्माण भएमा पठनपाठनमा सहज हुने प्रधानाध्यापक चौधरीले बताउनुभयो । राज्यले कहिलेकाँहि थारु भाषाको पढाई सञ्चालन गरे वापत प्रोत्साहनका रुपमा २०÷३० हजार रुपैया उपलब्ध गराउने गरेको प्रधानाध्यापक चौधरीले बताउनुभयो । तुलसीपुरस्थित बाल चेतना आधारभूत विद्यालयका प्रधानाध्यापक शालिकराम डाँगीले थारु भाषाको पढाईमा समस्या भएको बताउनु हुन्छ । हाल विद्यालयमा थारु, नेपाली र अंग्रेजी पढाई भइरहेको भन्दै डाँगीले शिक्षकको अभावले तीन कक्षासम्म मात्रै थारु भाषामा पढाई भइरहेको बताउनुभयो । उहाँका अनुसार बाल चेतना आधारभूत विद्यालयमा निशा खड्का र शिला चौधरीलाई विद्यालयले स्वयंसेवक शिक्षक नियुक्त गरेर थारु भाषाको पढाई सञ्चालन गरिरहेको छ । दरबन्दीमा रहनुभएकी सुशीला चौधरीले पनि थारु भाषाको पढाईमा सहयोग गर्दै आउनुभएको छ । मातृभाषाको पढाई सञ्चालन गरेबाफत् विद्यालयलाई गत वर्ष मात्रै जिल्ला शिक्षा कार्यालय मार्फत् ३० हजार रुपैया सहयोग भएको प्रधानाध्यापक डाँगीले जानकारी दिनुभयो । जुन रकम शैक्षिक सामग्री बनाउनका लागि खर्च गरिएको थियो ।   
 
शंकर मावि पिपरीमा अध्ययनरत विद्यार्थीको ६० प्रतिशतभन्दा बढी थारु समुदायका छन् भने बाल चेतना आधारभूत विद्यालयमा ८० प्रतिशतभन्दा बढी थारु समुदायका विद्यार्थीहरु अध्ययन गर्दै आएका छन् । बाल चेतना आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रोहित चौधरीले मातृभाषाप्रति विद्यालय प्रशासनले खासै ध्यान दिन नसक्दा यस्तो समस्या देखिएको बताउनुभएको छ । जिल्लामा मातृभाषाका शिक्षक नहँुदा समस्या रहेको उहाँको भनाई छ । राज्य र विद्यालय प्रशासनले चासो दिन सकेमा धेरै ठूलो समस्या नरहेको अध्यक्ष चौधरीले बताउनुभयो । मातृभाषी शिक्षकको अभाव, राज्यले मातृभाषामा लगानी नगर्नु, पछिल्लो समयमा अंग्रेजी भाषाको मोह बढ्नु, मातृभाषामा आवश्यक शब्दकोष तथा सन्दर्भ सामग्रीको समस्याका कारण यस्तो भएको अध्यक्ष चौधरीको भनाई छ ।
 
स्थानीय तह के गर्दैछन्
मातृभाषामा आधारभूत शिक्षा प्रदान गर्ने र जेहेन्दार विद्यार्थीहरुका लागि मेयर छात्रवृत्ति प्रदान गर्ने नीति तथा कार्यक्रम सार्वजनिक गरेको घोराही उपमहानगरले अहिलेसम्म सो सम्बन्धमा कुनै गतिविधि सञ्चालन गरेको छैन । घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले नीति तथा कार्यक्रम ल्याएको बताउँदै नीति तथा कार्यक्रम कार्यान्वयनका लागि आवश्यक कानून निर्माणको चरणमा रहेको बताउनुभयो । जेहेन्दार विद्यार्थीलाई छात्रबृत्ति स्थापना दिवसका अवसरमा वितरण गर्ने तयारी रहेको भन्दै बाँकी कार्यक्रम सञ्चालनका लागि कानून निर्माण भइरहेको प्रमुख चौधरीले जानकारी दिनुभएको छ । बहुभाषाको विकासका लागि ५० लाख रुपैया बजेट व्यवस्था गरेको तुलसीपुर उपमहानगरपालिकाले भने आवश्यकता अनुसार कार्यक्रम गर्ने जनाएको छ । नगर प्रमुख घनश्याम पाण्डेले स्थानीय, राष्ट्र र अन्तर्राष्ट्रिय भाषाका लागि उक्त बजेट खर्च गर्ने जानकारी दिनुभएको छ । स्थानीय भाषा, साहित्य, कलाको विकासमा विशेष प्राथमिकता दिएको भन्दै प्रमुख पाण्डेले बिदेश जानेहरुका लागि अंग्रेजी, चाइनिज, कोरियन, जापनिज भाषा सिकाईमा पनि रकम खर्चको योजना बनाएको बताउनुभएको छ । विद्यालयमा पनि खर्च गर्ने लक्ष्य लिएको बताउँदै ईच्छा भएका विद्यालयहरुले त्यसको तयारीका लागि माग गर्न पनि आग्रह गर्नुभएको छ ।
 
कसरी सुरु भयो मातृभाषाको पढाई
नेपालको जनगनणा २०६८ को तथ्याङ्क अनुसार दाङमा थारु जातिको बसोबास १ लाख ६३ हजार १ सय १६ रहेको छ । जिल्लाको कूल जनसंख्यामा यो २९.५२ प्रतिशत रहेको जिल्ला तथ्याङ्क कार्यालय दाङका सुपरिवेक्षक एकदेव न्यौपाने जानकारी दिनुभयो । यही तथ्याङ्कलाई आधार मानेर सहयोग समाज नेपालले जिल्लाका दुई स्थानमा पढाई सञ्चालन गरेको थियो । साविक डुरुवाको बाल चेतना निम्न माध्यमिक विद्यालय र हलवारको प्रावि हलवारमा थारु भाषाको पढाई सञ्चालन गरेको थियो । हाल प्रावि हलवारमा थारु भाषाको पढाई स्थगित भएको सहयोग समाज नेपालका कोषाध्यक्ष भरत चौधरीले जानकारी दिनुभएको छ । सहयोग समाज नेपालको सहयोगमा सञ्चालन भएको कार्यक्रम सकिएपछि पढाई नै स्थगित भएको हो । अहिले शंकर मावि र बाल चेतना आधारभूत विद्यालयले आन्तरिक कोषबाट पढाई सञ्चालन गरिरहेका छन् । ती स्थानहरुमा अहिले ६० प्रतिशतभन्दा बढी विद्यार्थी थारु समुदायका छन् ।
 
थारु समुदायको बुझाई
लौवअग्रासन पत्रिकाका प्रधान सम्पादक तथा महेन्द्र बहुमुखी क्याम्पसका उपप्रध्यापक केवि चौधरीले मातृभाषाको विकासका लागि नीति नियम निर्माण भए पनि कार्यान्वयनमा जटिलता रहेको बताउनुभएको छ । आफ्नै भाषामा पढाई हुँदा शिक्षण सिकाईमा सहज हुने सिकाईमा सहज हुने भए पनि संविधानको धारा ३१ उपधारा ५ मा नेपालमा बसोबास गर्ने प्रत्येक नेपाली समुदायलाई कानून बमोजिम आफ्नो मातृभाषामा शिक्षा पाउने र त्यसका लागि विद्यालय तथा शैक्षिक संस्था खोल्ने अधिकार र स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ (ज) ४ मा पनि मातृभाषामा अध्ययनका लागि व्यवस्था गरिए पनि कार्यान्वयनमा समस्या रहेको उहाँले बताउनुभयो ।
 
पछिल्लो समयमा स्थानीय तहले पनि मातृभाषाको नीति नियम निर्माणमा ल्याउन सक्ने भए पनि जातीयताको आरोप लाग्ने डरले समस्या रहेको केवि चौधरीको भनाई छ । सहयोग समाज नेपालका कोषाध्यक्ष भरत चौधरीले मातृभाषामा पढाई हुँदा सानो उमेरमा विद्यालय छोड्ने विद्यार्थीको संख्यामा कमी आउने बताउनुहुन्छ । सहज सिकाई भएमा विद्यालय छोड्ने विद्यार्थीको कमी हुने उहाँको तर्क छ । ग्रामीण महिला उत्थान केन्द्रले मातृभाषा विद्यालय तहमा शिक्षण सिकाईमा कार्यान्वयन गर्न स्थानीय तहहरुलाई दवाव दिँदै आएको छ । अध्यक्ष आशमानी चौधरीले कानून कार्यान्वयनका लागि स्थानीय तहमा दवाव दिइरहेको बताउनुभएको छ ।
 
सरकारी चासो र विद्यार्थीको आकर्षण 
दाङलगायत विभिन्न जिल्लाहरुमा बसोबास गर्ने थारु समुदायको मातृभाषाको पढाई सञ्चालनका लागि चासो नदिदा यस्तो समस्या रहेको छ । विद्यार्थीहरुले मातृभाषामा पढाई हुदा स्पष्टसंग बुझ्ने भए पनि आबश्यक सहयोग विना समस्या रहेको बाल चेतना आधारभुत विद्यालयकी शिक्षिका हरा चौधरीले बताउनुभयो । २०७० साल अगाडि सरकारले दाङमा थारु भाषाको पढाई सञ्चालनका लागि आफुलगायत केही शिक्षकलाई तालिम दिए पनि त्यसको कार्यान्वयन सबै विद्यालयमा हुन नसकेको उहाँको भनाई छ ।
 
सरकारी प्रयासमा सहयोग समाज नेपाल र ब्याकवार्ड सोसाइटी एजुकेशन नेपाल (बेश) जोडिन आए पनि जिल्लामा मातृभाषामा पढाउने सक्ने शिक्षक नियुक्त अहिलेसम्म हुन सकेका छैनन् । जिल्ला शिक्षा विकास तथा समन्वय दाङका सुचना अधिकृत देबमणी चौधरीले थारु भाषा बोल्ने सक्ने शिक्षक नियुक्त भएको भए पनि मातृभाषाका लागि नियुक्त नभएको जानकारी दिनुभयो ।
 
अन्य भाषाको अबस्था 
दाङमा आदिमकालदेखि बस्दै आएका थारु समुदायको मातृभाषामा पढाईका केही प्रयास भए पनि अन्य भाषामा पढाईका लागि कुनै प्रयास भएका छैनन् । दाङमा मगरलगायतका अन्य जनजातिहरुको बसोबास रहेको भए पनि बाह्य रुपमा बसाईसराई गरेर आएका कारण उनीहरुको भाषामा पढाईका लागि कुनै किसिमको प्रयास भएका छैन ।