कञ्चनपुरका स्वास्थ्य संस्थामा जिससको छड्के अनुगमन

Jun 11, 2018

कञ्चनपुर, जेठ २८ । जिल्ला समन्वय समिति (जिसस) कञ्चनपुरले महाकाली अञ्चल अस्पतालमा छड्के अनुगमन गरेको छ । जिसस कञ्चनपुरका प्रमुख फैरु तामाङ र समितिका सदस्य डिठ्ठा रानाले आइतबार दिउँसो अञ्चल अस्पतालमा छड्के अनुगमन गर्नुभएको हो ।
अस्पतालमा चिकित्सक, कर्मचारी र स्वास्थ्यकर्मिले दलापरबाहि गरेको भन्ने गुनासो आएकाले छड्के रुपमा अनुगमन गरिएको जिसस कञ्चनपुरका प्रमुख फैरु तामाङले जानकारी दिनुभयो । उहाँले कर्मचारीको हाजिरी हेर्दा बिदा नलिएर बसेको, ड्युटी गरेपनि हाजिर नगरेको जस्ता कमजोरीहरु देखिएको बताउनुभयो ।
‘मैले दैनिक हाजिरी हेरे’ जिसस प्रमुख तामाङले भन्नुभयो ‘झण्डै एक सय जना कर्मचारीको हाजिरी हेर्दा कसैले ड्युटी गरेर पनि एक हप्तासम्म हाजिरी गरेका छैनन् ।’
कर्मचारीलाई नियमित रुपमा हाजिरी गरेर मात्रै काम गर्न आग्रह गर्दै उहाँले हाजिरी नगरेका कर्मचारीलाई बोलाएर स्पष्टीकरण लिदै हाजिरी गर्न लगाउनुभएको थियो ।
स्वास्थ्य जस्तो सम्वेदनशिल क्षेत्रमा साना कमिकमजोरीका कारण ठूलो दूर्घटना हुन सक्ने भन्दै तामाङले ईमान्दारिपूर्वक सेवा गर्न स्वास्थ्यकर्मीलाई आग्रह गर्नुभएको थियो ।
बिरामीले पाउनु पर्ने निःशुल्क औषधी समेत नभएको भन्ने गुनासो आएकाले वितरण गरिएको भरपाई र स्टोरको आधिकारी तथ्यांक राख्न निर्देशन समेत दिनभएको छ ।
‘स्वास्थ्य संस्थाहरुले माग गरे अनुसार बेला बेलामा औषधी गइरहेको देखिन्छ’ जिसस प्रमुख तामाङले भन्नुभयो ‘तथ्यांकमा हेर्दा पनि वितरण गरेको देखिन्छ । तर, बिरामीले औषधी पाएनौ भन्ने गुनासो आइरहन्छ । त्यसैले औषधीको माग फारम, वितरण गरिएको भरपाई र स्टोरको तथ्यांक व्यवस्थित तरिकाले राख्न लगाएका छौ ।’
स्थानीय सरकार गठन भएसँगै जिसस प्रमुख स्वास्थ्य, शिक्षा तथा सडकको अनुगमनमा सक्रिय हुनुहुन्छ । यसअघि, जिल्ला समन्वय समितिका प्रमुख, जनस्वास्थ्यका कर्मचारी र पत्रकार महासंघको अनुगमन टोलीले कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरी र पुनर्वासमा समेत अनुगमन गरिसकेको छ ।