नौकुण्ड गाउँपालिकाद्वारा शिक्षा क्षेत्र सुधार गर्न साढे ७ करोड बजेट विनियोजन

Jul 4, 2018

रसुवा, असार २० । रसुवाको नौकुण्ड गाउँपालिकाले शिक्षा क्षेत्रमा सुधार गर्नका लागि साढे ७ करोड बजेट विनियोजन गरेको छ । गाउँपालिकाभित्र रहेका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न आर्थिक वर्ष २०७५/७६ का लागि सात करोड ५१ लाख ६६ हजार रुपैँया बजेट विनियोजन गरिएको हो ।

शिक्षा क्षेत्र विकासका लागि वित्तिय सामान्यीकरण तर्फ ९६ लाख ५१ हजार र शशर्त अनुदानतर्फ ६ करोड ५५ लाख ७ हजार बजेट रहेको नीति तथा कार्यक्रममा उल्लेख छ । विद्यालयहरु अपाङ्गमैत्री निर्माण गर्ने योजनामा उल्लेख छ ।

गाउँपालिकाको तेश्रो गाउँसभामा प्रस्तुत गरिएको बजेट, नीति तथा कार्यक्रममा विद्यालय सुधार कार्यक्रम अन्तरगत नौवटा योजना समेटिएको छ । एक घण्टा भन्दा बढी पैदलयात्राबाट आउने विद्यार्थीका लागि छात्रावासको व्यवस्था गर्ने, विद्यार्थी सङ्ख्या र दूरीको आधारमा विद्यालय गाभ्दै लैजाने, कक्षा ८ तथा माध्यमिक शिक्षा परिक्षा (एसइइ) फाइनल परिक्षाको दुई महिना अगावै कमजोर विद्यार्थीको लागि अतिरिक्त कक्षा सञ्चालन गरिनेछ ।

विद्यालय बाहिर रहेका विद्यालय उमेर समुहका बालबालिकालाई विद्यालय ल्याउनका लागि पालिकाले विशेष कार्यक्रम सञ्चालन गर्ने भएको छ । ‘विद्यार्थी सङ्ख्या, विद्यालयको दूरीको आधारमा विद्यालय एक आपसमा गाभिँदै लगिनेछ, नीति तथा कार्यक्रमको ३० को च मा उल्लेख गरिएको छ, साथै विकट भुगोलका कारण शिक्षाको पहुँचबाट बञ्चित बालबालिकालाई शिक्षाको पहुँचमा पुर्‍याउन आवश्यक ठाउँमा बालविकास केन्द्र सञ्चालन गरिनेछ ।’

गाउँपालिकामा रहेका २९ वटा सामुदायिक विद्यालय प्रविधिमैत्री तथा बालमैत्री बनाउनका लागि शिक्षालाई विशेष प्राथमिकता दिएको गाउँपालिकाकी उपाध्यक्ष सृजना लामाले बताइन् ।
‘गाउँपालिकामा रहेको सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर सुधार गर्नुपर्ने आवश्यकता महसुस भएको छ, उपाध्यक्ष लामाले भनिन्, यसका लागि विद्यालयलाई बालमैत्री र प्रविधिमैत्री बनाउन पर्ने देखिन्छ ।’

गाउँपालिकाले गत बर्ष शिक्षा क्षेत्रका लागि बजेट विनियोजन गरेको थिएन । गाउँपालिकाले आर्थिक वर्ष २०७५/७६ का लागि तीस करोड ९५ लाख ८६ हजार वजेट विनियोजन गरेको छ । शिक्षा क्षेत्रको लागि जिल्लाको गोसाइँकुण्ड गाउँपालिकाले ४० लाख र आमाछोदिङ्मो गाउँपालिकाले १० लाख बजेट विनियोजन गरेका छन् ।