स्थानिय तहको जवाफदेहिता खोज्दै जाजरकोटका युवा !

Jan 5, 2018

जाजरकोटको भेरी नगरपालिका वडा नम्बर ७ स्याउली बजारका युवाहरु अहिले स्थानिय विकास, सुशासन र जवाफदेहिता बारे छलफल गर्न थालेका छन् । हालैका दिनमा यिनै सवालमा छलफल हुने रेडियो कार्यक्रम साझाबोली सुन्न थालेपछि श्रोता समुहमा संगठित भएका युवाहरुले यसरी छलफल गर्न थालेका हुन् ।

स्याउली रेडियो श्रोता समुहको बैठकमा युवाहरुले रेडियो कार्यक्रम समेत समुहमा सुन्नुका साथै सुनेका कुरा अनुसार आफ्नो स्थानमा रहेको सार्वजनिक निकाय तथा स्थानिय तहले सेवा प्रवाह गरिरहेको छ कि छैन भनेर समिक्षा गर्छन् । केहि दिन अघिमात्र यो श्रोता समुहको बैठक सम्पन्न भएको छ ।

समुहका जेष्ठ सदस्य रिता शाहीको अध्यक्षतामा बसेको बैठकमा आफ्नो गाउँमा स्वास्थ्य सेवा के कसरी प्रवाह भैरहेको छ स्थानीय तहबाट के कस्ता सेवाहरु उपलब्ध हुन्छन भनी छलफल गरिएको थियो ।

युएसएआईडीको आर्थिक सहयोगमा एफएचआई-३६०, इक्वेल एक्सेस र आईसिएनएल साझेदार रहेको पारस्परिक जवाफदेहिता परियोजना अन्तर्गत उत्पादन हुने रेडियो कार्यक्रम साझेदारी सुन्न स्थानिय साझेदार संस्था सुन्दर नेपालले यो समुह गठनमा सहयोग गरेको हो । श्रोता समुहका सदस्यहरु हरेक महिनामा दुई पटक, ५ र २० गते बैठक बसी छलफल गर्छन् । पछिल्लो बैठकमा सुन्दर नेपाल संस्थाका कार्यक्रम संयोजक खिम रेग्मी, जिल्ला अधिकृत धन बहदुर रावत समेतको उपस्थिति रहेको थियो । उक्त छलफलमा कार्यक्रम संयोजक रेग्मीले रेडियो कार्यक्रम साझाबोलीले उठाएका सवाल र स्थानीय तहले प्रवाह गर्ने सेवा सुविधाबारे थप जानकारी दिनुभयो ।
जाजरकोटमा रेडियो कार्यक्रम साझाबोली रेडियो हाम्रोपाईलाबाट हरेक आईतबार साँझ सातबजेदेखि आधा घण्टा प्रसारण हुन्छ । काठमाण्डौबाट ईक्वेल एक्सेसले र स्थानिय तहमा सुर्खेतबाट रेडियो भेरी एफएमले उत्पादन गर्ने साझाबोलीको केन्द्रिय तथा स्थानिय संस्करण हप्तैपिच्छे आलोपालो गरेर प्रसारण हुन्छ । जिल्ला जिल्लामा रहेका सामुदायिक संचारकर्मीहरुले पठाएको आवाजलाई समेटेर यो कार्यक्रम तयार गरिन्छ ।

जिल्ला संयोजक रावतले हालका दिनमा पहिला भन्दा केही सुधार भएको तर श्रोता समुहका सदस्यहरु अझ धेरै कृयाशिल बन्नुपर्ने सुझाव दिनुभयो । उक्त बैठकमा समुहका केही पुराना सदस्यहरु निष्क्रिय भएकोले नयाँ सदस्य थप समेत गरिएको थियो ।

पारस्परिक जवाफदेहिता परियोजना द्वारा समुदायका लागि उत्पादित रेडियो कार्यक्रम साझाबोलीले कृषि, स्वास्थ्य, शिक्षा र विपत ब्यवस्थापनका सवालमा आम नागरिक, नागरिक समाज, आमसंचारमाध्यम र सरकारी निकायको सहकार्य तथा पारस्परिक जवाफदेहितामा जोड दिने गर्दछ । छलफलमा सहभागी भएका श्रोता समुहका सदस्यहरूले कार्यक्रम नियमित सुन्ने र स्थानीय तहबाट उपलब्ध सुबिधाबारे निगरानी राख्ने कामलाई जारी राख्ने बताएका छन् ।

सामुदायिक संचारकर्मी सपना वलीबाट