रेडियो सुनेर सिकेको सुचनाले आफू र आफ्नो समुदायमा परिवर्तन ल्याउन मद्दत पुर्‍यायो !

Jan 3, 2018

धादिङ, निलकण्ठ नगरपालिका वडा नम्बर १२ साङकोषकी सरला श्रेष्ठले घरको काम गरिरहनुभएको थियो । साथमै रहेको उहाँको मोबाईलमा रेडियो पनि बजिरहेको थियो । यत्तिकैमा सरलाको ध्यान रेडियोले भनेको स्थानीय तहबाट पाईने कृषि अनुदानको कुराले तान्यो । रेडियोले भन्यो-'आफ्नै गाउँठाउँको गाउँपालिका र नगरपालिकाबाट बीउबीजन, माछापालन, पशुपालन जस्ता कृषिको कामको लागि सहयोग पाइन्छ अर्थात कृषि अनुदान पाइन्छ ।'

सरलाले यो सुचना रेडियोबाट थाहा पाएपछि तुरुन्तै आफू बस्दै आएको निलकण्ठ नगरपालिकाको कार्यालयमा गएर बुझ्नुभयो र रेडियोमा भनिएको सुचना साँचो रहेको थाहा पाउनुभयो । त्यहाँ पुगेपछि सरलाले बेमौसमी खेतीका लागि पनि बीउबीजन पनि पाईने कुरा थाहा पाउनुभयो अनि च्याउखेती गर्ने मनसायले च्याउको बीउ ल्याएर घर फर्किई तत्कालै च्याउ खेतीको काम सुरु गर्नुभयो।

आफूले च्याउको बीउ ल्याएपछि सरलाले यो कुरा आफ्ना छिमेकीहरुलाई पनि भन्नुभयो । उहाँका कुरा सुनेर केही छिमेकीले नगरपालिका गएर बीउ पनि ल्याईसकेको सरलाको भनाई छ । सरलाले जुन सुचना सुनेर च्याउखेती सुरु गर्नुभयो र छिमेकीलाई पनि यो कुरा सुनाउनुभयो त्यो सुचना दिएको थियो रेडियो कार्यक्रम साझाबोलीको स्थानीय संस्करणको बिसौं अंकले । जुन कार्यक्रम रेडियो थाहा सञ्चारमकवानपुरले उत्पादन गरेको थियो भने धादिङ स्थित रेडियो धादिङबाट प्रसारण भएको थियो । सामुदायिक संचारकर्मीले जिल्लाबाट पठाएको आवाजलाई समेटेर उत्पादन गरिएको यही कार्यक्रम मार्फत सरला लगायत उहाँका छिमेकीहरुले स्थानीय तह र कृषि अनुदानको विषयमा थाहा पाएका रहेछन्

कञ्चनपुरको न्यू संकल्प रेडियो स्रोता समूहका सदस्यहरुले पनि साझाबोली रेडियो कार्यक्रम नियमित सुन्ने र छलफल गर्ने गर्छन् । यसै क्रममा क्लवका सदस्यहरुले गुनासो सुन्ने संयन्त्र र यसको महत्वको बारेमा बनेको साझाबोली कार्यक्रमको केन्द्रिय संस्करणको २३ औं अंकमा यस बारेमा थाहा पाए र समुहमा छलफल गरे । छलफलबाट निष्कर्ष निस्कियो-'सार्बजनिक निकायबाट सेवा लिन जाँदा नागरिक वडापत्रले ठूलो सहयोग गर्ने रहेछ । नागरिक वडापत्रको महत्व धेरै रहेछ ।' अरु ठाउँका स्थानीय तहमा डिजिटल नागरिक वडापत्र समेत रहेको अवस्थामा आफ्नो कृष्णपुर नगरपालिका वडा नम्बर १ पहरियाको वडा कार्यालयमा वडापत्र नै नरहेको पनि हेक्का भयो स्रोता समूहमा आवद्ध सबैलाई । क्लवकी सहजकर्ता विष्णा ऐर भन्नुहुन्छ -'त्यसपछि हामी सबैले हाम्रै वडाध्यक्ष संयोजक रहको स्थानीय सभाको बैठकमा यो कुरा राख्यौँ रअहिले त वडा कार्यालयमा नागरिक वडापत्र पनि राखिसकिएको छ ।'

न्यू संकल्प रेडियो स्रोता समूहका सदस्य महेश जोशी भन्नुहुन्छ-'बैतडीको निंगलाशैनी एफएमले उत्पादन गरेर शुक्लाफाँटा एफएमबाट बजेको विषयगत सेवा र स्थानीय तहको विषयमा बनेको सोह्रौं अंक सुनेर स्वास्थ्य संस्थाबाट ३५ प्रकारका औषधीहरु निशुल्क पाईने कुरा थाहा पायौँ। यो कुरा थाहा पाएर हाम्रो वडाको स्वास्थ्य संस्थामा बुझ्न गयौंँ। त्यहाँ बुझ्दा न निशुल्क औषधी दिइएको रहेछ न त अहेब नै नियमित र समयमा आउने जाने गर्दा रहेछन् ।' जोशीका अनुसार त्यसपछि स्रोता समूहका सबैजना अहेबलाई झक्झक्याउन गए । अहिले स्वास्थ्य संस्थाबाट निशुल्क पाईने औषधी सेवाग्राहीले पाईरहेका छन् भने अहेब पनि नियमित रुपमा स्वास्थ्य चौकीमा आउने गरेका छन् ।

बलिथुम रेडियो स्रोता समूह गुल्मीकी उपाध्यक्ष डिलकुमारी खत्रीले पनि रेडियो सुन्दै गर्दा महिला लक्षित बजेट पनि स्थानीय तहमा आउने रहेछ अनि आफैले पनि गाउँ र नगरपरिषद हुँदा महिलाका लागि बजेट माग गर्न सकिन्छ भन्ने कुरा थाहा पाउनुभयो । मदनपोखरा एफएम पाल्पाले बनाएको साझाबोली स्थानीय संस्करणको १९ औँ अंक, गुल्मीको रेसुंगा एफएमबाट सुनेर यो कुरा थाहा पाएपछि उहाँहरु गुल्मी दरबार गाउँपालिकामा गएर महिलाका लागि छुट्याईएको बजेट बारे बुझ्नुभयो । गाउँपालिकाले महिला लक्षित कार्यक्रम अन्तर्गत सिलाईबुनाईका लागि डेढ लाख रुपैयाँ छुट्याएको रहेछ । त्यो पैसा अन्त कतै दुरुपयोग नहोस् भन्नका लागि अहिले डिलकुमारी लगायत स्रोता समूहका सबै जनाले निगरानी गरिरहेको उहाँको भनाई छ ।

कैलालीको गौरीगंगा नगरपालिकामा रहेको मसुरिया स्रोता समूहले मंसिर २१ गते भएको प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै निर्वाचन अघि गौरीगंगा नगरपालिकाको बिभिन्न वडामा सडक नाटक प्रदर्शन गर्‍यो। स्रोता समूहकी सहजकर्ता पवित्रा चौधरीले भन्नुहुन्छ-'नाटकमा प्रदेश तथा प्रतिनिधिसभाका उमेद्वारहरुलाई किन र कसरी भोट हाल्ने भनेर सुचना दिएका थियौँ।' हाम्रो भन्दा पनि राम्रो उमेद्वार कसरी छान्ने र उमेद्वारहरु भोट माग्न आएमा जवाफदेहि बनाउन प्रश्न सोध्नु पर्छ भन्ने सन्देश समेत नाटकमा रहेको सहजकर्ता चौधरीको भनाई छ ।  मसुरिया स्रोता समूहलाई सडक नाटक गर्ने उत्प्रेरणा भने साझाबोली कार्यक्रमको २५ औँ अंकमा प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचन र यसको महत्वका बारेमा सुनेपछि मिलेको स्रोता समूहकी सहजकर्ता चौधरीले बताउनुभयो । 


निर्वाचनको महत्व तथा भोट गर्ने तरिका बारे सडक नाटक प्रस्तुत गर्दै कैलालीको गौरीगँगा नगरपालिकामा रहेको  मसुरिया रेडियो स्रोता समूहका सदस्यहरु

हामीले डिसेम्बर २८, २०१७ को दिन बढैयाताल गाउँपालिका वडा नम्बर १ को जगदम्बिका आधारभुत विद्यालयमा सरसफाइ गर्न ध्यानाकर्षण गर्ने उद्धेश्यले विद्यालयमा ज्ञापनपत्र बुझायौँ । त्यहाँको शौचालय, विद्यालय परिसर सबै निकै अव्यवस्थित भएकाले विद्यार्थीहरुले गुनासो गरेपछि हाम्रो क्लवको सबैजना गएर ध्यानाकर्षण गराएका हौं ।” यो भनाई हो प्रगतिशील स्रोता समूह बढैयाताल, बर्दियाका सहजकर्ता  बिरेन्द्र थापा क्षेत्रीको । 

यस अघि पनि स्रोता समूहका सबै मिलेर स्कुल परिसर र मन्दिर परिसर सरसफाई गर्दै आएको बताउँदै विरेन्द्र थापा भन्नुहुन्छ-'साझा बोली रेडियो कार्यक्रम नियमित रुपमा सुन्दै गर्दा हरेक कार्यक्रममा प्रत्येक नागरिक तथा नागरिक समाजकाे आफ्नो समुदायको हरेक कुरामा, दायित्व हुन्छ र सार्वजनिक निकायलाई जवाफदेही बनाउने जिम्मेवारी नै नागरिक समाजको हो भन्ने सन्देश पाएर नै श्रोता समुहलाई समेत हामीले नागरिक समाजको रुपमा बुझेर यस्तो काम गर्दै आएका हौँ।' समाजका अरुलाई पनि यो कुरा बोध गराउन रेडियो कार्यक्रम साझाबोलीले सहयोग पुर्‍याउने उहाँको विश्वास छ । स्रोता समूहको ज्ञापनपत्र बुझ्दै विद्यालयका प्रधानाध्यापक तुल बहादुर बुढाथोकीले विद्यालयको शौचालय तथा विद्यालय परिसर सरसफाई गर्न जरुरी रहेको बताउँदै यो कुरालाई गम्भिरतापूर्वक लिएर विद्यालय व्यवस्थापन समिति, विद्यालय परिवार सबै सँगै सहकार्य गरेर आफूले यसतर्फ ध्यान दिने बताउनुभयो ।