डुडुवामा वडास्तरिय योजना धमाधम छनौट हुँदै

Jun 20, 2021

रजनी योगी
बाँके, असार ६

बाँकेको डुडुवा गाउँपालिकाले नयाँ आर्थिक वर्ष २०७८/०७९ को निती तथा कार्यक्रम र बजेटको तयारी तीव्र रुपमा गरिरहेको छ । यही असार १० गते बस्ने डुडुवाको नवौं गाउँसभाले निति तथा कार्यक्रम र बजेट ल्याउने भएको छ ।

कोभिड-१९ को संक्रमणको व्यवस्थापन, शिक्षा, स्वास्थ्य, कृषि, पशु, विपत्, वन तथा वातावरण, विकास निर्माण लगायतका विषयलाई प्राथमिकीकरण गरि यस वर्ष केही ठूला र महत्वपूर्ण योजना ल्याउने गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो ।

स्थानिय तहमा योजना छनौटका चरण अन्तर्गत अहिले वडास्तरिय योजनाहरु छनौट भइसकेर आउने क्रम जारी छ भने ति योजना आइसकेपछि विषयगत समितिको बैठकबाट योजना पास हुने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रशुराम उपाध्यायले बताउनुभयो । उहाँका अनुसार विषयगत समितिबाट पास भएका योजना तथा कार्यक्रम बजेट तर्जुमा समितिले पास गरि कार्यपालिकाको बैठकमा पेश गर्नेछ र कार्यपालिकाको बैठकपछि गाउँसभामा निति तथा कार्यक्रम र बजेट प्रस्तुत हुनेछ ।

विगतका वर्षदेखि संचालनमा रहेका स्वास्थ्य, पशु लगायतका विभिन्न अभियानहरुको निरन्तरता, केही ठूला तथ महत्वपूर्ण योजना र वन ऐन लगायतका केही नयाँ विधेयक नवौ गाउँसभामा प्रस्तुत हुने गरि तयारी भइरहेको गाउँपालिकाले जनाएको छ ।