केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र डाक्टर विहिन

भगीरथ अवस्थी,बैतडी,१९ भदौ

बैतडीको मेलौलीस्थित केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र डाक्टर विहिन भएको एक बर्ष बढी भईसकेको छ । स्थापना भएको १६ बर्षपछि डाक्टर पाएको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र फेरी एक बर्ष यता डाक्टर विहिन भएको हो । एकजना मेडिकल अधिकृतको दरबन्दी भएको प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टर नहुँदा तल्लोसोराडका स्थानीयलाई निकै समस्या भएको छ ।

लकडाउनका बेला यातायात समेत बन्द हुँदा आकस्मिक बिरामीहरुलाई सुविधा सम्पन्न अस्पतालमा पुर्याउन निकै समस्या भएको स्थानीयहरुले बताएका छन् । लकडाउनको अवधिमा समेत हातखुट्टा फेक्चर भएका धेरै बिरामी आएका र उनीहरुलाई रेफर गर्नुपरेको प्राथमिक स्वास्थ्य केन्द्रका जनस्वास्थ्य निरीक्षक मुकेशकान्त दयालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो ‘प्राथमिक स्वास्थ्य केन्द्रमा एकजना मेडिकल अधिकृतको दरबन्दी छ । तर त्यो दरबन्दी डाक्टर छैनन् । डाक्टर नहुँदा हामीहरुलाई धेरै समस्या भएको छ ।’

प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टर नहुँदा सीमावर्ती भारतीय बजारमा उपचारका लागि जानेहरु समेत लकडाउनका कारण जान नसकेको स्थानीय सुरेन्द्रबहादुर चन्दले जानकारी दिनुभयो । प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टर नहुँदा बाहिर गएर उपचार गराउनुपर्ने बाध्यता रही आएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो ‘अहिले समयमा अन्यत्र जान पनि सकिने अवस्था रहेको छैन् । नजिकैको स्वास्थ्य केन्द्रमा दरबन्दी अनुसारका डाक्टर छैनन् । नामको मात्रै प्राथमिक स्वास्थ्य केन्द्र तर सेवा उपलब्ध छैन् ।’

लकडाउनको बेला महंगोमा एम्बुलेन्स बुकिङ गरेर सुविधा सम्पन्न अस्पतालहरुमा पुग्नुपरीरहेको स्थानीयहरुले बताएका छन् । डाक्टरको अभावमा प्राथमिक स्वास्थ्य केन्द्रमा रहेका एक्सरे, इसिजी लगायतका मेसिनहरु प्रयोगविहिन भएका छन् ।

केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र डाक्टर विहिन हुँदा स्वास्थ्य बीमा गराएका नागरिकहरु पनि उपचार सेवाबाट बञ्चित भएका छन् । केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टर नहुँदा मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाका नागरिक मारमा परेका छन् ।

यसका साथै केन्द्रमा डाक्टर नहुँदा शव पोष्टमार्टमका लागि समेत समस्या भएको छ । पोष्टमार्टम गराउन पाटन पुर्याउनु पर्ने अथवा डाक्टरलाई मेलौली बोलाउनुपर्ने बाध्यता रहेको जनस्वास्थ्य निरीक्षक दयालले बताउनुभयो ।

उहाँले भन्नुभयो ‘शव पोष्टमार्टका लागि सबैभन्दा बढी झण्झट हुने गरेको छ । मेडिकल अधिकृत नहुँदा शव पोष्टमार्टमका लागि पाटन पुर्याउनु पर्ने बाध्यता एकातिर छ । अर्कोतिर मान्छेहरु पीडामा हुन्छन् । शव पोष्टमार्टम गर्ने डाक्टर नहुँदा रिसाउने गरेका छन् ।’