काभ्रेका स्थानीय तहहरु विपद् व्यवस्थापनको पुर्व तयारीमा जुट्दै

Jul 28, 2020

काभ्रेका स्थानीय तहहरु विपद् व्यवस्थापनको लागि पुर्व तयारीमा जुट्न थालेका छन् । मण्डनदेउपुर नगरपालिकाले नगरपालिकाको विपद् व्यवस्थापन कोषमा २ करोड बराबरको रकम जम्मा गरेको छ । आगामी आर्थिक बर्षको लागि विपद् व्यवस्थापन कोषमा थप २० लाख रुपैँया राख्ने नगरपालिकाले निर्णय गरेको प्रबक्ता डिल्लि प्रसाद आचार्यले बताउनुभयो ।

नगरपालिकामा बर्खाको समयमा इन्द्रावती नदी, ढाडखोला र चाखोलामा बाढी आउने सम्भावना रहन्छ । त्यसैगरी डाँडामा पहिरोको जाने सम्भावना धेरै हुन्छ । नगरपालिकाले विपद्को समयको लागि भनेर सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र एम्बुलेन्स तयारी अवस्थामा राखेको छ ।यसैबिच पनौती नगरपालिकाको विपद् व्यवस्थापन कोषमा ५० लाख रुपैयाँ जम्मा भैसकेको छ । आगामी आर्थिक बर्षका लागि नगरपालिकाले कोषको लागि १ करोड रुपैँया विनियोजन गरेको वरिष्ठ प्रशासकीय अधिकृत इन्द्र प्रसाद अधिकारीले बताउनुभयो ।

नगरपालिकाले विपद्का कारण समस्यामा परेका नागरिकलाई पहिलो प्राथमिकता दिने गरी केही दिनमा नै एउटा एम्बुलेनस सञ्चालनमा ल्याउन लागेको छ । बाढी आउने र कृषि क्षेत्रमा क्षति पुरयाउने सम्भावना रहेकाले पशु र वाली बिमा गर्ने कार्यक्रमलाई नगरपालिकाले प्राथमिकतामा राखेको छ ।चालु आर्थिक बर्षमा विपद् व्यवस्थापनको लागि विनियोजन गरेको रकम कोरोना रोकथामको लागि धेरै खर्च भएका छन् । वडा स्तरमा रहेका विपद् व्यवस्थापन समितीलाई आवश्यक तालिम दिने र सक्रिय बनाइ राख्ने वरिष्ठ प्रसाशकीय अधिकृत अधिकारीले जानकारी दिनुभयो ।

उता भुम्लु गाउँपालिकाले पनि पहिरो जाने सम्भावना रहेको ठाउँका नागरिकलाई ग्याविन जाली वितरण गर्ने तयारी गरिरहेको छ । घर र ब्यक्ति बचाउन पालिकाले विशेष कार्यक्रममा ल्याउने अध्यक्ष गुमानध्वज कुवँरले बताउनुभयो ।पालिकाका प्रायः बस्ती खोल्सा आसपास रहेकाले खोल्साबाट आउने भेलका कारण घरहरुमा क्षती पुगिरहेको छ । दोलालघाट क्षेत्रमा खोलामा आउने बाढीले क्षती पुर्याउन सक्ने सम्भावना रहेका छ ।

विपद् व्यवस्थापनको लागि भनेर पालिकाले कोषमा अहिले ४० लाख रुपैँया रहेको छ । आगामी आर्थिक बर्ष २०७७÷७८ मा ३० लाख रुपैँया थप हुने पालिकाले जानाएको छ ।