कोरोना कहर र युवाहरुको भविष्य

बाँके: नेपालमा अन्तराष्ट्रिय उडान बन्द हुन केही घण्टा बाँकी रहेकै बेला एअर अरिबियाको फ्लाइट चढी युएइ बाट नेपाल आइपुगेका हुन् डुडुवा गाउँपालिका वडा नं. ५ कम्दी का सुदामा सिंह । उनी सँगै सोही फ्लाइटबाट करिब १०० भन्दा बढि युवाहरु नेपाल भित्रिए । यो क्रम अन्तराष्ट्रिय उडान बन्द हुने घोषणा भएको केही दिन अगाडि देखि नै जारी थियो । उनी घर फर्किसकेपछि पहिले १४ दिन र त्यसपछि थप १ हप्ता सेल्फ क्वारन्टाइनमा बसे । उनमा कोरोना संक्रमणको कुनै लक्षण नदेखिएपछि अहिले उनी घरखेतको काम गर्नमा व्यस्त छन् ।

त्यस्तै, कम्दीकै राजु खड्का लकडाउनकै बिचमा सरकारले काठमाडौंमा भएका विद्यार्थीहरुलाई घर जान दिने भएपछि अस्ती मात्रै आफ्नो घर आइपुगेका हुन् । उनी काठमाडौंमा उच्च तहको शिक्षा हासिल गर्नुका साथै एउटा वित्तीय संस्थामा काम पनि गर्छन् ।

यसरी नै अध्ययन, रोजगार र अन्य कामको सिलसिलामा आफ्नो घर र जिल्ला बाहिर रहेका धेरैजसो युवाहरु लकडाउन अघि नै घर फर्किसकेका छन् भने कतिपय युवाहरु पास लिएर घर फर्किने क्रम जारी हुँदाहुँदै काेराेना संक्रमण संख्या बढेर अलपत्र परेका छन्। अध्ययन र रोजगारकै सिलसिलामा छिमेकी देश भारत लगायत अन्य मुलुकमा रहेका अधिकांश युवाहरु पनि यतिबेला कोरोनोका वैश्विक महामारीकै कारण अध्ययनबाट वन्चित हुनुका साथै बेरोजगार हुनु परेको खबर आइरहेको छ ।

यतिबेला गाउँमा युवाहरु आफ्नो घर र खेतबारीको काममा व्यस्त देखिन्छन् । कोहि खेत जोतीरहेका छन् , कोहि खेतमा मल बोकिरहेका छन् भने कोहि वस्तुभाव चराउनमा व्यस्त छन् । केही युवाहरु भने मोबाइलमा फिल्म हेरेर, पबजी खेलेर अनि घरखेत वरिपरि टिकटक भिडियोहरु बनाएर समय बिताउँदै छन् । कलेज र क्याम्पसमा अध्ययनरत युवाहरु भने परीक्षाको तयारीमा तल्लीन छन् ।

यही बिच युवाहरुलाई रोजगारको चिन्ताले पनि सताइरहेको छ । विदेशबाट फर्किएका युवाहरु अहिले खेतबारीको काममा रमाइरहेको भएतापनि जिविकोपार्जनका लागि अब के गर्ने भन्ने दुविधामा देखिन्छन् । अब लकडाउन खुलिसकेपछि के काम गर्ने, यहाँ काम पाइन्छ कि पाइन्न भन्ने चिन्तामा छन् दुबईबाट फर्किएका सुदामा सिंह । उनी भन्छन्, "त्यहाँ हुँदा अलिअलि भएपनि कमाइ हुन्थ्यो, नेपालमा काम पाउनै गाह्रो छ । पाएपनि राम्रो आम्दानी हुने काम नै पाईदैँन । राम्रो कामको लागि प्रतिस्पर्धा गर्नुपर्छ । त्यहीमाथि, रोजागारमा पनि आफन्तवाद नातावाद हावी छ यो देशमा ।"

काठमाडौंबाट फर्किएका राजु खड्का भने आफु बेतलबी बिदा बस्नु परेकोमा चिन्तित छन् । "काठमाडौंमा भएपनि यस्तो अवस्थामा काममा जाने वातावरण थिएन, त्यही भएर घर आएँ । यहाँ आउँदा अब तलब नै नलिइ बस्नुपर्ने अवस्था छ । महामारी बढ्दै छ, लकडाउन लम्बिदैँ छ, अब जागिर पनि हुन्छ हुँदैन थाहा छैन ।", उनी थप्छन् । नेपालगंजको एउटा प्राइभेट कम्पनीमा काम गर्ने मनोज डि.के. पनि यतिबेला घरमै बसिरहेका छन् । लकडाउन अघि एकदिन पनि फुर्सद नपाउने उनी अहिले फुर्सदिलो समयमा पबजी गेम खेलेर बिताइरहेका छन् । उनी भन्छन, "खेतबारीमा काम गरौँ भने जग्गा जमिन नै छैन, भएको एउटा जागिर त्यो पनि कोरोनाले गर्दा बन्द छ । अब समय कसरी बिताउनु भनेर पबजी गेम खेल्छु ।"

त्यस्तै नेपालगंजकै एउटा नीजि विद्यालयमा पढाउँदै आएकी अमृता बस्याल अहिले घरमा बाख्रा चराउँदै बसिरहेकी छिन् । विद्यालय खुल्ने नखुल्ने कुरामा उनी अन्यौल देखिन्छिन् । "जागिर गर्न थालेदेखि एकपटक पनि घरमा पैसा मागेको थिइन बरु आवश्यकता परेको बेला आफै दिन्थे तर अब यसरी बाख्रा चराउनु बाहेकको विकल्प छैन ।", उनी भन्छिन् । गाउँमा कतिपय घरका चुलाहरु यिनै युवाहरुको कमाइबाट बलिरहेको छ । अब यस्तो महामारीका बेला न उनीहरु सँग पैसा छ न त कमाउने रोजगार नै ।

वर्तमान समयमा स्थानिय सरकारसँग पनि बेरोजगार युवाहरुको लागि कुनै योजना तथा कार्यक्रम नभएको देखिन्छ । तत्कालका लागि हामीसँग युवाको रोजगारको सवालमा कुनै नीति तथा कार्यक्रम नरहेतापनि आगामि योजना तर्जुमा प्रक्रियामा युवाहरुको सवाललाई विशेष ध्यानमा राखी कार्यक्रमहरु बनाइने बताउनुहुन्छ डुडुवा गाउँपालिकाका प्रमुख नरेन्द्र कुमार चौधरी । उहाँकै कुरालाई जोड दिँदै डुडुवाका प्रमुख प्रशासकिय अधिकृत परशुराम उपाध्याय भन्नुहुन्छ, "हामी यसका लागि तयार छौँ । हामीले भर्खरै योजना तर्जुमा प्रक्रिया र कोरोनाको प्रतिकार्य लगायत विभिन्न विषयमा छलफल गर्दै सर्वदलीय बैठक सम्पन्न गरेका छौँ । अनि, विभिन्न चरणमा बैठक गर्ने योजना पनि बनाएका छौँ । यसले पक्कैपनि स्थानिय युवाहरुको बेरोजगारको समस्या समाधान गर्नका लागि योजना तयार गर्न मद्दत पुग्नेछ ।" सबै कुरा सामान्य भइसकेपछि पनि थप विदेशिएका युवाहरु घर फर्केपछि झनै बेरोजगारीको समस्या बढ्न सक्ने बताउँछन् जिल्ला युवा क्लब संजाल बाँकेका अध्यक्ष आशीष वर्मा । "कोरोनोको महामारी अलि कम भएपछि विदेशमा रहेका धेरैजसो युवाहरु नेपाल फर्किने सम्भावना छ र सरकारले ति युवाहरुका लागि दिगो नीति तथा कार्यक्रम नल्याए यसले देशमा ठूलो समस्या निम्त्याउन सक्छ", उनी भन्छन् । विदेसिएका युवाहरु देशमा फर्किए भने जुन क्षेत्रमा युवाहरुको दक्षता छ, त्यो क्षेत्रको विकास छिटो हुने कुरामा भने उनी विश्वस्त देखिन्छन् ।