स्रोत पुस्तिका तथा श्रव्य दृश्य सामग्री विमोचन

काठमाडौँ, २३ फागुन । लोकतान्त्रिक शासन प्रक्रियामा नागरिक सहभागिता सम्बन्धी स्रोत पुस्तिका तथा श्रव्य दृश्य सामग्री विमोचन गरिएको छ ।

बिहीबार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव सूर्य प्रसाद गौतमले एक कार्यक्रमका बिच स्रोत पुस्तिका तथा श्रव्य दृश्य सामग्री विमोचन गर्नुभयो ।

लोकतान्त्रिक शासन प्रक्रियामा नागरिक सहभागिता सम्बन्धी स्रोत पुस्तिका तथा श्रव्य दृश्य सामग्री विमोचन कार्यक्रममा बोल्दै उहाँले समुन्नत राष्ट्र निमार्णका लागी नागरिक सहभागिता आवश्यक रहेको बताउनुभयो ।

उहाँले सारकारले गर्ने हरेक काम कारबाही नागरिकले थाहा पाउन जरुरी रहेको औँल्याउनुभयो । शासन प्रक्रियामा नागरिकको सहभागिताले सरकारलाई निर्णय गर्न पनि सहज हुने सचिव गौतमको भनाई छ ।

उहाँले लोकतान्त्रीक प्रणालीलाई समुन्नत बनाउन नागरिक सहभागीता महत्वपुर्ण हुने बताउनुभयो । नागरिक सहभागीताले विकास निमार्ण, सुशासन, सेवा प्रवाह लगायत विषयमा सहज हुने सचिव गौतमको भनाई छ ।

कार्यक्रममा बोल्दै एफ.एच.आई ३६० का सजना महर्जनले समृद्ध राष्ट्र निर्माणका लागी नागरिक सहभागिता आवश्यक रहेको बताउनुभयो । उहाँले विकास निमार्णका काममा मात्र नभई सरकारका हरेक कार्यमा नागरिक सहभागिता एकदमै महत्त्वपूर्ण हुने बताउनुभयो ।

यसका लागी सरकार र नागरिक बिचको सहकार्य महत्त्वपूर्ण हुने उहाँको भनाई छ । स्रोत पुस्तिका तथा श्रव्य दृश्य सामग्रीमा स्थानीय तहमा नागरिक सहभागिता किन आवश्यक छ ? स्थानीय तहमा किन नागरी सहभागी हुने ? लगायत विषय वस्तु समेटिएको छ । स्थानीय तहमा नागरिक सहभागिता एकदमै कम हुँदा सरकारले गरेका काम कारबाही खासै प्रभावकारी हुन सकेको छैन ।

स्थानीय तहमा नागरिक सहभागिता बढाउन स्रोत पुस्तिका तथा श्रव्य दृश्य सामग्रीले सहयोग पुग्ने सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले युएसएआईडि र एफ.एच.आई ३६० को सहयोगमा स्रोत पुस्तिका तथा श्रव्य दृश्य सामग्री निमार्ण गरेको हो । कार्यक्रममा मन्त्रालयका सहसचिव, उपसचिव लगाएत विभिन्न संस्थाका प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।