प्रदेश सरकारका कार्यालयहरुको विकास खर्चको स्थिती निराशाजनक

Nov 19, 2019

बैतडी, मंसिर  ३


बैतडीमा प्रथम चौमासिकमा प्रदेश सरकारका कार्यालयहरुको विकास खर्चको स्थिती निराशाजनक रहेको छ । प्रथम चौमासिकमा प्रदेश सरकार मातहत रहेका कार्यालयहरुले कुल विकास बजेटको ४.६७ प्रतिशत मात्रै खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय बैतडीले जनाएको छ । कुल पूँजीगत बजेट १ अरब ४० करोड ६६ लाख ६५ हजार मध्ये प्रथम चौमासिकमा ६ करोड ५६ लाख ९८ हजार ९६८ रुपैंया मात्रै खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख सिद्धराज ओझाले जानकारी दिनुभयो ।


डिभिजन वन कार्यालयले ६४ लाख ५० हजार मध्ये १ लाख ३९ हजार मात्रै खर्च गर्न सकेको छ भने घरेलु तथा साना उद्योग कार्यालयले १४ लाख ६५ हजार मध्ये ३ लाख २६ हजार मात्रै खर्च गर्न सकेको छ । यसैगरी सुख्खा फलफूल विकास केन्द्रको १ करोड ३८ लाख ५० हजार पूँजीगत बजेट मध्ये ७ लाख ७० हजार खर्च भएको छ । यसैगरी सिंचाई विकास डिभिजन कार्यालयको १५ करोड ४० लाख मध्ये १ लाख ६१ हजार मात्रै खर्च भएको छ । यसैगरी पूर्वाधार विकास कार्यालयको ७७ करोड ८० लाख मध्ये ४ करोड ३६ लाख मात्रै खर्च भएको छ ।


कृषि ज्ञान केन्द्र बैतडीको ७४ लाख ५० हजार मध्ये १ लाख ९० हजार खर्च भएको छ । भेटरनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको ७७ लाख ९५ हजार मध्ये १० लाख ४३ हजार मात्रै खर्च भएको छ । शहरी विकास तथा भवन निर्माण कार्यालयको १६ करोड १५ लाख मध्ये ५० लाख ३१ हजार मात्रै खर्च भएको छ । यसैगरी खानेपानी तथा सरसफाई डिभिजन कार्यालयको २६ करोड ९४ लाख मध्ये १ करोड ४२ लाख मात्रै खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ । स्वास्थ्य कार्यालयको १६ लाख ४३ हजार मध्ये कति पनि खर्च भएको छैन भने जिल्ला आयुर्वेदको पनि १० लाख बजेट मध्ये प्रथम चौमासिकमा कत्ति पनि खर्च भएको छैन् । जिल्ला अस्पतालको ४० लाख ६० हजार बजेट मध्ये १ लाख ५८ हजार मात्रै खर्च भएको छ ।


सुदूरपश्चिम प्रदेश सरकार मातहत रहेका कार्यालयहरुको प्रथम चौमासिकको खर्चको स्थिती हेर्दा अझै पनि असारे विकासको प्रवृति हट्न सक्ने अवस्था नरहेको सरोकारवालाहरुले बताएका छन् ।