कैलाली घटना: 'निर्दयी मनहरु र गैरजिम्मेवार निकाय'

Mar 12, 2018

शनिबारको दिन प्रायः म ढिलै उठ्ने गर्छु । लगभग साढे ८–९ बजेतिर ।  गत शनिबार चाँडै ब्युँझिएँ, ७ः३० बजेतिर ।

दाइलाई भेट्न सिफल जानुपर्ने भएकाले पनि म चाँडै व्युँझिए तर ओछ्यानलाई छोड्न सकिन । केहिबेर पल्टी नै रहेँ । अनि सिरानीको छेउमै राखेको मोबाइल समातेँ, फेसबुक हेर्न थाले ।

अचेल प्रायः को दिनचर्या फेसबुक, भाइबर, वाट्सएप, ईन्स्टाग्राम, ट्विटर लगायतका सामाजिक सञ्जाल हेरेर नै सुरु हुन्छ ।  मैले पनि उठ्ने बितिक्कै मोबाइल हेरिहाल्छु । 

फेसबुक अन गर्ने बित्तिक्कै टाइमलाइनको सुरुकै न्युजफिडमा साथी सुमित्रा भट्टराईको पोस्ट देखेँ । अनलाइन खबरले सम्प्रेषण गरेको ‘राधामाथि ६ घण्टा लगातार मुड्की र लात बर्सियो, गाउँले रमिता मात्र हेरिरहे’ शिर्षकको समाचार सुुमित्राले शेयर गरेकी थिइन् । उनले पोस्टमा लेखेकी थिइन्, ‘सुरुमा त जनचेतनात्मक नाटक झैँ लागेथ्यो । छेउछाउका दर्शक सबै चुप लागेर हेर्दै थिए । उनीमाथि मुड्की र लात्ती वर्सिएको वर्सिएै भयो । रमिते हेरिरहे । अझै यस्तो । भोलेबाबा, पार्वती, रमिते र जनप्रतिनिधि सबैलाई कारबाही होस्’ भनेर लेखेको स्ट्याटस देखेँ ।

पिडित राधा चौधरी, फोटो: सीताराम ओझा, सहसम्पादक, दिनेश खबर अनलाईन

मार्च ७ तारिख बुधबारका दिन मात्र अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा ‘नेतृत्वमा महिलाः चुनौती र अवसर’ विषयक छलफल कार्यक्रममा उपस्थित भएर प्रेरणाका कथा सुनेकी थिए । अनि मार्च ८ तारिख, अन्तराष्ट्रिय महिला दिवसका दिन महिलामाथि हुने कुनैपनि प्रकारका विभेद, हिंसा, दुव्र्यवहार तथा विभेदकारी सामाजिक कार्यविरुद्ध ऐक्यवद्धता स्वरूप ‘म बोल्छु’ भन्दै नारा लगाउँदै, अरूलाई पनि म बोल्छु भनेर ऐक्यवद्धता जनाउनुस् है भन्दै हिँडेकी थिएँ म ।

तर, मार्च १० तारिखका दिन यस्तो समाचार देखेँ । समाचारको शीर्षक पढ्दा नै मेरो मन भारी भयो । भारी मन लिएर समाचारको लिंक खोले, अनि घटना पढ्न सुरु गरेँ । मन झन् झन् भारी हुँदै गयो । विश्वभर अन्तर्राष्ट्रिय महिला दिवस मनाइरहँदा हाम्रै समुदायभित्र भने यो घटना हुँदै थियो ।

लाग्यो, त्यस दिन म लगायत देशैभरका केही जमातले महिला हिंसा, विभेद र र्दुव्यवहारविरुद्ध ‘म बोल्छु' भनिरह्यौं, ऐक्यवद्धता जनायौं, तर यत्रो जमातमा कोही पनि रहेनछ, उनको लागि बोलिदिने । उनी बेहोस हुनुअघिसम्म याचना गरिरहिन, आफू बोक्सी नभएको भनेर हारगुहार गर्दा पनिसबैका कान बन्द रहेछन् सायद । कसैले केही सुनेनन् वा सुुन्न चाहेनन् ।

मन अझ खिन्न भयो, भव्यताका साथ दिवस त मनायौं तर यो दिवसले ग्रामीण क्षेत्रलाई भने छोएनछ । यस्तैयस्तै मनमा धेरै प्रश्न उब्जिए ।

अन्धविश्वास पनि यति हदसम्म ? भिडियो हेर्दै जाँदा मनमा लाग्यो । १३ मिनेट ४५ सेकेण्डको भिडियो राखिएको रहेछ । तर, मैले २ मिनेट भन्दाबढी त्यो दृश्य हेर्न सकिन । कसरी त्यहाँको जमातले ६ घण्टा त्यो दर्दनाक दृश्य हेर्न सक्यो होला । मेरो दिमागमा कुरा खेल्यो । लाग्यो, अन्धविश्वास यति गढिएको रहिछ कि, ती १८ वर्षीया छात्रा राधा चौधरीले ‘म बोक्सी हैन्’ भनेर हारगुहार गर्दा पनि कसैको आँखाले आफ्नै नजिकको त्यो पीडादायक दृश्य देख्न सकेनन् ।  कसैको कानले त्यो पीडादायक चित्कार सुन्न सकेनन्, कसैको हृदयले उनको पीडा महशुस गर्न सकेन ।

म पनि अचम्मित भएँ । ती निर्दयी मन भएकालाई देखेर, आफ्नै आँखा अगाडि एक किशोरीमाथि त्यसरी निर्घात कुटपिट भैरहँदा टुलुटुलु बसेका रहेछन् । अनि एक शब्द नबोली त्यो दृश्य हेरिरहेका छन् । 

किशोरीमाथि बोक्सीको लान्छना लगाएर घन्टौंसम्म कुटपिट भइरहँदा उपस्थित जमातमा एउटा व्यक्ति पनि त्यस्तो रहेनछन्, जसले ‘बोक्सी हुदैनन् । राधालाई कुटपिट नगर’ भन्न सकेनन् । के मानवको हृदय यति कठोर हुन्छ ? होइन भने राधामाथि किन निर्मम यातना ?

मेरो मानसपटलमा, त्यही जमात घुमिरहेको छ, जुन जमात मुकदर्शक बनिरहेको थियो राधामाथि निर्घात कुटपिट हुँदा । आफनै गाउँकी छोरीलाई त्यही ठाउँकी अर्की एक महिलाले बोक्सी आरोप लगाकी छिन् । झाँक्री भनाउँदोले निर्मम पिटिरहेको छ अनि अढाई २ सय जना कुनै फिल्मको सुटिङ्गझै हेरिरहेका छन् ।

के अन्धविश्वास यति गहिरो भयो कि कसैको पीडा कोही कसैले पनि देख्न, सुन्न सकेनन्? 

यदि अन्धविश्वास नै गहिरो जड हो भने अबका हरेक कार्यक्रमहरु जनचेतनामूलक कार्यक्रम होउन् ! ताकी फेरि यस्ता घटना नदोहोरियून् ! र, कोही एउटा व्यक्ति त यस्तो होस् जसले यस्ता अपराधिक घटना भैरहँदा आफ्नो मुख खोलोस्, प्रतिवाद गरोस् !

भिडियोमा निर्दयी मनलाई देख्दा निकै रिस उठ्यो । समाचार पढ्दै जाँदा रिसको सीमा त अझ चर्कियो । जब घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरी, वडाध्यक्ष प्रेम रोकाया र पीडित युवतीका बुवा जोखन चौधरी लगायतको रोहबरमा झाँक्री रामबहादुरलाई छोडियो भन्ने लेखेको देखेँ । 

एकपटक त विश्वास नै लागेन । केहि महिना अघि तिनै मेयर ममताप्रसाद चौधरीसँग नगरसभा सम्बन्धी कुराकानी गरेकी थिएँ । स्थानीय सरकार सञ्चालन ऐन अनुसार एक आर्थिक वर्षमा कम्तीमा २ पटक नगरसभा गर्नुपर्ने उल्लेख छ । घोडाघोडी नगरपालिकाले आर्थिक वर्ष नसकिँदै ३ वटा नगरसभा गरिसकेको रहेछ ।

कतै एउटा त बल्लतल्ल सम्पन्न गरेको बेला त्यहाँ ३ वटा नगरसभा भैसकेका रहेछन् । नागरिकप्रति कति जवाफदेही रहेछ नगरपालिका भनेर बुझ््न उनीसँग कुरा गरेकी थिए । उनका कुरा सुन्दा निकै खुशी लागेको थियो । ओहो ! साच्चैमा यस्ता जनप्रतिनिधि सबै स्थानीय तहमा भए हरेक कुरा कति पारदर्शी हुने थियो । नागरिकको सहभागिता हरेक क्षेत्रमा बढ्ने थियो, सबै सूचना नागरिकले छर्लङ्ग थाहा पाउने भए भन्ने लाग्यो । सायद उनीसँगको पहिलो कुराकानीमा म निकै प्रभावित भएका कारण पनि होला मेयर ममताप्रसाद चौधरीको रोहबरमा पीडक छुटे भनेको पत्याउन सकिन ।

भनिन्छ नि, फस्ट ईम्प्रसन ईज लास्ट । त्यस्तै भयो । तर, फेरि सोचे, त्यसै आरोप त किन लगाउँथे र ? के र’छ एकचोटी आफै बुझन पर्‍यो भनेर स्थानीय पत्रकार साथी, वीरेन्द्र शाहलाई फोन गरे । उनीसँग कुरा गर्दा, त्यो घटना हुँदा मेयर चौधरी मलामी गएको भएपनि पछि उनको रहोबरमै पीडक (झाँक्री) छुटेको जानकारी पाएँ ।

घटना अघि भएको कुराकानीमा मेरो अनुमान थियो–मेयर चौधरी निकै शिक्षित छन् ।’ उनले बोल्ने धेरै शब्द अंग्रेजी हुन्थे । हुन् पनि अंग्रेजी विषयमा स्नातकोत्तर गरेका रहेछन् । उनले किन छुटाए होलान् । हो, अहिले स्थानीय तहलाई न्याय सम्पादन गर्ने अधिकार छ । तर, देवानी प्रकृतिका मात्र । मानिसको ज्यानै जानेगरी गरिएको जघन्य अपराधलाई होइन् । मैले सोचेको ती शिक्षित मेयरलाई के यो कुरा थाहा नभएकै हो त ? के उनले मिलापत्र गराउने उद्देश्यले यसो गरे ? यदि मिलापत्र गराउने उद्देश्यले यसो गरे पनि न्यायिक समिति मार्फत न्याय सम्पादन गर्ने अधिकार उपप्रमुखलाई छ, प्रमुखलाई होइन । आखिर किन ? जनताबाट चुनिएर गएका जनप्रतिनिधिले नै पीडितलाई न्याय दिलाउनुुको साटो उल्टै पीडकलाई साच्चै छुटाए होलान् त ! यो कुरा अझै मनमा गुम्सिएको छ ।

फेरि शनिबार बेलुका मेयर चौधरीको हस्ताक्षरित विज्ञप्ति पढेँ । उनले आफू दोषीलाई छुटाउन उपस्थित नभएको लेखेको जिकिर गरेका थिए ।  अर्कातिर सञ्चारमाध्यममा मेयर, वडा अध्यक्षको रहोबरमा इलाका प्रहरी कार्यालय सुखडले छोडेको खबर सार्वजनिक भएको थियो । अपराध आँखिर अपराध नै हो । एउटी किशोरी बोक्सीको आरोपमा ६ घण्टासम्म कुटिन्छिन्, अपराधिक घटना त आखिर भएकै हो नि । प्रहरीलाई पनि यसको जानकारी अवश्य छ । अनि के प्रहरी पीडितको पक्षमा बोल्न सक्दैन् ? ती पीडित महिलाको पक्षमा बोल्नु प्रहरीको दायित्व होइन । मान्यजन्य, पदमा आसिन्न व्यक्तिले भनेकै भरमा गलत भएको देख्दा देख्दै गलतलाई सहि देख्ने ? अपराधलाई यसरी नै प्रशय दिँदै जाने हो भने अपराधिक मानसिकताले अझ प्रोत्साहन पाउनेछ ।

जनताको प्रहरी प्रशासन, स्थानीय तहसँगको विश्वास टुट्नेछ । आशाको त्यान्द्रो रहने छैन । गाउँगाउँमा सिंहदरबार नारामै मात्र सीमित रहनेछ ।

कभरफोटो : बोक्सीको आरोप लगाउने पार्वती भनिने किस्मती चौधरीलाई नियन्त्रणमा लिँदै ईलाका प्रहरी कार्यालय सुख्खडका प्रहरीहरु । फोटो: शेरबहादुर ऐर, संवाददाता, अनुमोदन दैनिक, धनगढी ।

Member Comment
Tirtha maya Tamang
यथार्थ घटनासहितको यथार्थ कुरा ।मन छोयो ।
6 months ago