सगरमाथा जनता माविको सामाजिक परिक्षण सम्पन्न

Sep 23, 2019

सरस्वती बानिया, असोज ६, ओखलढुंगा ।

सिद्धिचरण नगरपालिकाको सगरमाथा जनता माध्यमिक विद्यालयले सामाजिक परिक्षण प्रतिवेदन सार्वजनिक गरेको छ । आईतवार विद्यालयमा एक औपचारीक कार्यक्रमको आयोजना गरि विद्यालयले सामाजिक परिक्षण प्रतिवेदन सार्वजनिक गरेको हो । गत साउन ३१ गते विद्यालयमा बसेको विद्यालय व्यवस्थापन समितिको बैठकले आर्थिक वर्ष २०७५/०७६ को सामाजिक परिक्षण गर्ने निर्णय गरेको थियो ।

विद्यालय व्यबस्थापन समितिको  उक्त निर्णय अनुसार माद्यमिक विद्यालयको शिक्षक अभिभावक संघका अध्यक्ष दिलबहादुर खत्रीको संयोजकत्वमा ७ सदस्य समिति गठन गरेको थियो । संयोजक खत्रीको संयोजकत्वमा रहेको सात सदस्यीय टोलीले करीब एक महिना लगाएर गरेको सामाजिक परीक्षण प्रतिवेदनलाई आईतवार सार्बजनिक गरिएको हो ।

आईतबार सार्वजनिक गरिएको प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७५/०७६ मा विद्यालयमा कूल बजेट २ करोड १८ लाख ९१ हजार ८ सय १० रुपैया आम्दानी भएको बताईएको छ । कूल आम्दानी मध्ये १ करोड ८७ लाख ८८ हजार ९ सय ३८ रुपैया खर्च भएको र ३१ लाख ३ हजार ५ सय ७२ रुपैया बचत रहेको बताईएको छ । बचत रहेको रकम मध्येमा नयाँ निर्माण हुने चारकोठे भवन सहित २७ लाख ४० हजार ८ सय २९ रुपैया बराबरको कार्यक्रम सञ्चालन हुन बाकी रहेको बताईएको छ ।

प्रतिवेदन सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि, विद्यालयका पूर्व शिक्षक तथा सिद्धिचरण नगरपालिकाका प्रमुख मोहन कुमार श्रेष्ठले विद्यालयमा भएगरेका गतिबिधीलाई कागजमा मात्रै उतार्ने भन्दा पनि व्यबहारवाट नै पुष्टि गर्नुपर्नेमा जोड दिनुभयो । विद्यालयको स्थापना कालमा सोलुखुम्बु, खोटाङ र ओखलढुङ्गा गरि तिन जिल्लाको उत्कृष्ट विद्यालयको रुपमा रहेको यस विद्यालय आगामी दिनमा पनि उत्कृष्ट हुने गरि सबै शिक्षकहरुले दत्तचित्त भएर लागि पर्न अनुरोध गर्नुभयो । जिल्ला सदरमुकाममा रहेको यस विद्यालयमा सबैको नजर जाने र चासोका विषय समेत हुने भएकोले आफ्नो बालबालिकाको पढाईका बारेमा चासो दिन सबै अविभावकलाई उहाँले आग्रह गर्नुभयो । शिक्षकले पनि कर्तव्य पूरा गर्ने भन्दा पनि आफ्नो जिम्मेवारीलाई ख्याल गर्न अनुरोध गर्नुभयो ।

विगतका दिनहरुमा सामुदयीक विद्यालयहरुले गर्ने सामाजिक परिक्षणलाई खासै महत्व नदिने प्रचलन थियो । तर पछिल्ला दिनहरुमा विद्यालयको आम्दानी खर्च र गतिविधिका बारेमा अविभावकले समेत चासो दिन थालेका छन् । अविभावकले समेत चासो लिन थालेपछि पछिल्ला दिनहरुमा सामुदायीक विद्यालयहरुले सामाजिक परिक्षण प्रतिवेदनलाई औपचारिक कार्यक्रमका बीच नै सार्बजनिक गर्न थालेका छन् ।