नगर स्वास्थ्यको सेवामा सेवाग्राही खुसी

Aug 11, 2019

मालती कठायत
श्रावण २६, डोटी 

दिपायल स्थित नगर स्वास्थ्य चौकीको सेवा प्रती सेवाग्राही खुसि भेटिएका छन् । सेवाग्राहीले स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्यकर्मीहरुले गर्दै आएको ब्यवहारको प्रशंसा समेत गरेका छन् ।

दिपायल सिलगढी नगरपालिकाको वडा नं. ३ स्थित नगर स्वास्थ्य केन्द्रमा पारस्परिक जवाफदेहिता परियोजना अन्र्तगत विकास र सामाजिक परिवर्तनका लागि सञ्चार (एफएमडिसी) ले आइतबार आयोजना गरेको सामुदायिक अंक पत्र बनाउने क्रममा सेवाग्राहीहरुले त्यस्तो प्रतिकृया दिएका हुन् ।

सामुदायक अंक पत्र कुनै पनि सार्वजनिक निकायको सुशासन, पारदर्शिता र गुणस्तर के कस्तो अवस्था छ भनि पक्ता लगाउने सामाजिक जवाफदेहिताको औजार हो ।

आइतबारबाट सुरु सामुदायिक अंक पत्र चार दिनसम्म चल्ने एफएमडिसीका जिल्ला अधिकृत मोहन शाहीले जानकारी दिनु भयो । ‘पहिलो दिन सेवाग्राहीहरुसंग नगरस्वास्थ्यबारे सुचकांक बनाएर सेवाग्राहीसंग छुट्टै बसेर सूचकांकमाथि छलफल गर्याै, अधिकांश सूचकांकमा सेवाग्राही खुसी नै भेटिएका छन्’, जिल्ला अधिकृत मोहन शाहीले भन्नुभयो, ‘स्वास्थ्यकर्मीहरु संग बसेर सा्रेत आकलनको काम भएको छ, भोली उहाँहरुसंग सूचकांकहरुमाथि छुट्टै छलफल हुनेछ ।’

सेवाग्राहीहरुले स्वास्थ्य चौकीमा उपलब्ध सेवाहरु नियमीत भएपनि बर्थिङ्ग सेन्टर नभएको, नियमीत औषधी नपाइने गरेको, शौचालय तथा स्टेचर नभएको जस्ता गुनासोहरु भने ब्यक्त गरेका थिए ।

नगर स्वास्थ्य केन्द्रले बिभिन्न ९ प्रकारका सेवाहरु उपलब्ध गराइरहेको स्वास्थ्य केन्द्रका इन्चार्ज चित्र भण्डारीले बताए ।
सामुदायिक अंक पत्रमा सेवाग्राहीहरुसंग कर्मचारीको ब्यवहार, स्वास्थ्य केन्द्रको व्यवस्थापन, गुणस्तरीय सेवा र भौतिक पुर्वाधार गरी चार किसिमका सुचकहरुबारे कार्यक्रममा छलफल गरिएको थियो । गुणस्तरीय सेवा र भौतिक पुर्वाधारहरु भित्र पर्ने सेवाहरुमा केहि समस्या भएको सेवाग्रहिहरुले दुखेसो गरे ।