सार्वजनिक निजी समुहको बैठकमा विषयगत सेवा बारे छलफल सहित सेवा सुधार्न आग्रह

Mar 5, 2018

प्युठान जिल्लामा सार्वजनिक निजी समुहको बैठक सम्पन्न भएको छ । जिल्ला समन्वय समिति प्यूठानका प्रमुख केशवराज आचार्यको अध्यक्षतामा भएको बैठकले विभिन्न निर्णयहरु गरेको छ ।
गर्मी याम सुरुभएसँगै आगलागी जस्ता विपद्का घटनाहरु सुरु भएकोले पालिकास्तरमा विपद् समिति गठन गर्ने र विपद् कोष स्थापनाका लागि जिल्ला दैवीप्रकोप व्यवस्थापन समितिको बैठक मार्फत अनुरोध गर्ने निर्णय गरेको छ । विद्यार्थीहरुको नियमित स्वास्थ्य जाँच गर्नका लागि शिक्षा कार्यालय, स्वास्थ्य चौकी लगायतका निकायलाई अनुरोध गर्ने निर्णय गरेको छ । स्वास्थ्य जाँच अन्तर्गत आँखा-कानको परीक्षण, जुकाको औषधी खुवाउने कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने निर्णय भएको जिल्ला शिक्षा अधिकारी सुर्यप्रसाद भुसालले जानकारी दिनुभयो ।
बैठकले गाँउपालिका र नगरपालिकाहरुका सेवा प्रवाहलाई प्रभावकारी बनाउन स्वतन्त्र अनुगमनका निम्ति सुशासन समिति गठन गर्न सुझाव दिने समेत निर्णय भएको छ । वडाहरुले नागरिकताको सिफारिस गर्दा त्रुटीहरु हुने गरेकोप्रति सचेत हुँदै प्रक्रिया बारे वडा अध्यक्षहरुलाई भेला गराई सो बारे जानकारी गराउने निर्णय भएको छ ।
व्यापार व्यवसाय सञ्चालन गर्नेहरुले पसलमा मुल्य सुची राख्ने नगरेको पाइएकाले प्युठान उद्योग बाणिज्य संघको अगुवाईमा मुल्यसुची राख्न अनुरोध गर्ने बैठकले निर्णय गरेको छ ।
सेवाप्रवाहलाई प्रभावकारी गराउनका लागि एफएचआई ३६० र मानव अधिकार संरक्षण तथा कानुनी सेवा केन्द्र हरप्लेसले सञ्चालन गरेको पारस्परिक जवाफदेहिता परियोजना अन्तर्गत सार्वजनिक निजी समुह गठन गरिएको हो ।

सीवा रेग्मी
प्यूठान, २१ फागुन ।