तरकारी खेतीमा रम्दै धादिङका किसान

Feb 15, 2019


सरिता श्रेष्ठ
धादिङ, फागुन ३


पेशाले शिक्षक धादिङको बेनिघाट रोराङ गाउँपालिका –९, फजिमटारका गंगा खाँड ठकुरीले चार रोपनी जग्गामा तरकारी खेती गरेका छन् । सम्म परेको फाँटमा बन्दा, काउली, मुला लगायतका तरकारी लगाएका छन् भने टनेल (प्लास्टिकको घर) भित्र गोलभेडा लगाएका छन् । बाह्रै मास तरकारी खेती गरेर आम्दानी गर्ने गर्दछ ।

उनले तरकारी खेती गरेको २० वर्ष भइसकेको छ । सिजन अनुसारका तरकारी लगाउँछन् भने बेमौसमी खेती पनि गर्ने गरेको ठकुरी बताउँछन् । ‘तरकारीले फजिमटारको फाँटै हरियाली बनेको छ’, ठकुरीले भने, ‘धन कमाउन युवाहरु विदेशिने क्रम बढेको छ, मेहनत गरे आफ्नै ठाउँमा सुन फलाउन सकिन्छ ।’

आफ्नो खेतबारीमा थरीथरीका तरकारीहरु लगाउनु, गोडमेल गर्नु, समयमै सिँचाई र मलजलको प्रवन्ध मिलाउनु, दिनभरी खेतबारीकै काममा व्यस्त हुनु ठकुरीको दैनिकि हो । आफ्नो भएको जग्गामा मौसमी तथा बेमौसमी तरकारी खेती गरेका उनलाई अहिले तरकारी खेतीको स्याहारसुसार गर्न भ्याइनभ्याई छ ।

बारीभरी लगाइएको हरिया तरकारीबालीले मनै आनन्दित बनाउने गरेको उनको भनाई छ । यी तरकारी एकदिन बिराई टिप्ने गर्छन् । टिपेका तरकारी जोगीमारास्थित तरकारी संकलन केन्द्रमा लैजाने गर्दछ । गाउँमै गाडी पुग्ने भएका कारण पनि टिपेका तरकारी संकलन केन्द्रसम्म लैजान सजिलो भएको ठकुरीले बताए ।

ठकुरी स्थानीय पन्चायत आधारभूत विद्यालयका शिक्षक पनि हुन् । विज्ञान र अंग्रेजी विषय पढाउँदै आएका उनी बिहान, बेलुका र बिदाको समय तरकारी खेतीलाई समय दिन्छन् । प्रशस्त धन कमाउनका लागि विदेश नै जानुपर्छ भन्ने मान्यता बोकेका युवालाई ठकुरीले चुनौती समेत दिएका छन् । धन कमाउन विदेश जानेहरुको उदारणीय बनेका छन् । उनले अहिले महिनामा ४० हजारसम्म कमाउँछन् ।

अर्का किसान उद्धव घिमिरेको पनि दैनिकी प्रायः करेसाबारीमै बित्ने गर्छ । लगाएका तरकारी खेतीको मलजल, पानी, झार उखेल्नेदेखि टिपेर लैजानेसम्मको काम गर्न भ्याउँछन् । घिमिरेले १० रोपनी जग्गामा तरकारी खेती गर्दै आइरहेका छन् । तीनवटा टर्नेलमा गोलभेडा लगाएका छन् । बेमौसमी खेती गर्न मिल्ने, रोग र किराको संक्रमण नहुने भएकाले यसरी खेती गर्न थालिएको उनले बताए ।

जिल्लामा पछिल्लो समय आधुनिक पद्दतिबाट तरकारी खेती गर्ने क्रम बढेको छ । व्यवसायिक रुपमै तरकारी खेती गर्न किसान आकर्षित भएपछि नयाँ नयाँ पद्दतिको प्रयोग बढेको हो । व्यावसायिक तरकारी खेतीमा होमिएका घिमिरेले एक्सन नेपालबाट टनेल घर, किटनाशक औषधी, कृषि औजारहरु समेत पाएका छन् । त्यस्तै तरकारी खेतीलाई चाहिने प्राविधिक सहयोग र तालिमहरु पनि पाएका छन् । व्यावसायिक तरकारी खेती गरेका घिमिरेले महिनामा ५० हजारसम्म कमाई गर्छन् । यसैको आम्दानीबाट दैनिक घरखर्ची टार्ने तथा बालबच्चालाई पढाउने गर्छन् ।

४० घरधुरी रहेको फजिमटारका प्राय किसानको दैनिकी तरकारी खेतीमा नै बित्ने गर्छ । यहाँका प्राय सबै किसानले बेमौसमी तरकारी खेती गर्ने गरेका छन् । बिहान उठेदेखि साँझ नहुञ्जेलसम्म माटोमा रमेर समय बिताउनु, बालीको स्याहारसुसारमा समय बिताउनु, समयसमयमा खेतीबालीको रेखदेख गरिरहनु र उत्पादित तरकारी संकलन गरेर बजार पठाउनु यहाँका किसानहरुको दैनिकि बनेको छ । यहाँका किसान पछिल्लो समय बेमौसमी तरकारी खेतीतर्फ आकर्षित भएका छन् ।