सोसल मिडिया, युवा आक्रोस र मासहिस्टेरिया

By Binaya Guragain

नेपालमा फेसबुक प्रयोगकर्ता २० लाखभन्दा बढी छन् भन्न जति सजिलो छ ट्वीटर प्रयोगकर्ताको यकिन संख्या पत्ता लगाउन त्यति नै मुस्किल । तर हालसालै सार्वजनिक भएको ट्वीट सर्वेक्षण प्रतिवेदनले एउटा कुरा भने किटानीसाथ सार्वजनिक गरेको छ की २० देखि ३५ बर्षका नेपाली युवाहरु ट्वीटरका सक्रिय प्रयोगकर्ता हुन् । सेन्टर फर मिडिया रिसर्चले हालसालै गरेको सर्वेक्षणमा एकहजार बढी ट्वीटर प्रयोगकर्ताले भाग लिएका थिए । त्यसमध्ये ६२५ उत्तरदाताले दिएको उत्तरलाई आधार मानेर गरिएको बिश्लेषण अनुसार २० देखि ३५ बर्ष उमेर समूहका ट्वीटर प्रयोगकर्ता नेपाली ८६ प्रतिशत छन् । प्रतिबेदनले अरुपनि रोचक तथ्यहरु सार्वजनिक गरेको छ । यद्यपी यो लेखमा उठाउन खोजेको सवाल सर्वेक्षणको नतिजामा मात्रै केन्द्रित भने छैन ।

नेपाल सरकारको युवा नीतिले १८ देखि ४० बर्ष उमेर समूहमा पर्ने जनसंख्यालाई युवा भनेको छ । लोकप्रिय सोसल मिडिया प्लेटफर्म ट्वीटरमा पनि २० देखि ३५ बर्षका नेपाली युवाहरुले आधिपत्य जमाएकाछन् । यो उमेर समूहका युवाहरुले गर्ने सोसल मिडिया गतिविधिहरु खुल्ला छन् । सूचना आदानप्रदान, अन्तरक्रिया, सार्वजनिक चासोका सवालमा गरिने बहसदेखि नितान्त व्यक्तिगत सूचनाहरुको खुल्ला आदानप्रदान यो जमातको दैनिकी जस्तै बनिसकेको छ । सूचना प्रविधिको व्यापकताले खुम्चिएको संसार खुल्ला रुपमा आदानप्रदान गरिने सूचनामार्फत व्यापक फैलिएको छ । त्यसैले भन्न सकिन्छ नेपाली ट्वीटर प्रयोगकर्ताहरु खुल्ला समाजको विकासक्रममा हुर्केबढेकाहरुको जमात हो, जसले खुल्ला र पारदर्शी समाजको पक्षपोषण गर्छ । पारदर्शिता र जवाफदेहितामा विश्वास गर्छ । अहिले ३५ बर्ष पुगेको समूहले नेपालमा ४६ सालको आन्दोलन पश्चात प्राप्त प्रजातन्त्र, ६२÷६३ सालको आन्दोलनपछि समाप्त भएको राजतन्त्र र शिशु अवस्थामै निमोठिइन आँटेको गणतन्त्रको आगमनले ल्याएका परिवर्तनलाई नजिकबाट नियालेको छ । भर्खरै २० बर्ष पुगेको जमातले पनि सूचना प्रविधि क्रान्ति र नेपालमा भएको सामाजिक रुपान्तरणलाई प्रत्यक्ष भोगेको छ । २० देखि ३५ बर्षे जमातले प्रजातन्त्र, खुल्ला र बहुदलबादी समाज, सूचना शक्ति, निर्वाचनमार्फत चुनिने नेतृत्व र जवाफदेही राजनीतिक दल र प्रशासनसँग नजिकिन पाएको छ । त्यसैले यो जमात पारदर्शिता र जवाफदेहितामा विश्वास गर्छ जुन लोकतन्त्रलाई मजबुत बनाउनका लागि अपरिहार्य छ ।
युवा जमात त्यस्तो पारदर्शी र जवाफदेही समाजको परिकल्पना गर्छ जहाँ राजनीतिक दलका दुरगामी महत्वका निर्णयहरु बन्द कोठामा बसेर नगरियून् । सरकार परिवर्तनका लागि कुनै पनि नाजायज खेल नहोस् र भैहालेमा पनि त्यस्ता खेलहरु अदृष्य शक्तिको हातमा नपुगोस् । सरकार गठन, विघटनमा अदृष्य भनिएका शक्तिहरुको जवर्जस्ती भैहालेछ भने पनि नेताहरुले जनतासामु भन्न सकुन् कि त्यो अदृष्य शक्ति को हो र के स्वार्थले देशको राजनीतिलाई प्रभावित पारिरहेको छ । कारण खुलाउन्, गल्ती भए स्विकारुन् तर जनतालाई कहिल्यै नढाँटुन् । यो जमात अपेक्षा गर्छ, सार्वजनिक निकायले गर्ने गतिविधिमा नागरिकको पहुँच र निगरानी दुवै कायम होस् । राजनीतिक दल र हरेक सार्वजनिक निकायले गरेका गतिविधिहरुमा उत्तरदायित्व बहन भएको हेर्न पाइयोस् । जसका बारेमा जे निर्णय गर्न खोजिन्छ वा गरिन्छ उसको सहभागिता सुनिश्चित गरियोस् । भ्रष्टाचार निर्मुल होस्, भ्रष्टाचारीले कारवाही भोगोस् । चोर, डाँका, फटाहा, हत्यारा, अपराधी, गुण्डालाई दल वा प्रशासनले कुनै हालतमा संरक्षण नगरोस् । उनीहरुमाथि गरिएका कारवाहीहरु सबैले थाहा पाउन् । नियतबश आम सरोकारका सवालमा कसैले केही कुरा पनि नलुकाओस् । देशको ढुकुटीमा नेताका शाखा–सन्तान, अगुवा–पछुवाले धावा नबोलुन् । सरकार शक्तिशाली होस् । कानूनको पालना होस् । संबैधानिक सर्बोच्चता र बिधिको शासन कायम रहोस् ।
युवाहरुको यही पवित्र सोचको प्रतिबिम्ब झल्किरहेको छ हिजोआज सोसल मिडियामा । सोसल मिडियामा सक्रिय युवा जमात बेलाबेलामा उग्ररुपमा बिरोधका अभिव्यक्ति सहित बहसमा सरकार, राजनीतिक दल, कर्मचारीतन्त्र, अदृष्य भनिएका शक्ति, राष्ट्रिय अन्तराष्ट्रिय गैरसरकारी निकायका बिरुद्ध उत्रन्छ । जुन स्वभाविक पनि छ । प्रकाश दाहालको सगरमाथा यात्रा होस् वा उनले बिना थापामगरलाई भगाएको घटना, पारस शाहका कर्तुत हुन् वा नेता पुत्रपुत्रीले पाएका लाभका पदमा रजाई होस्, पति प्रधानमन्त्री हुँदा पत्नीले गरेको भ्रष्टाचार होस् वा पदीय दुरुपयोगका घटनाहरु । विकृति, बिसंगति बिरुद्ध यो जमातको बिस्फोटक अभिव्यक्तिसहित प्रकट हुन्छ सोसल मिडियामार्फत । कहिले आफै र कहिले सञ्चारमाध्यममार्फत समाचार तथा जानकारी प्राप्त गर्ने यो जमातले राष्ट्रको हितमा खुलेर बहस गरेका प्रशस्त उदाहरणहरु छन् सोसल मिडियामा र त्यस्ता बहसमा उनीहरुले जीतेका उदाहरणहरु पनि छन् । प्रत्यक्षरुपमा हतपत सबैले चिन्न नसक्ने तर सोसल मिडियालाई बौद्धिक अराजकता प्रस्तुत गर्ने अराजकहरुको जमात बन्दैछ २० देखि ३५ बर्षे उमेर समूह । आफुले के गरेँ भन्नलाई साना बिषयलाई पनि नलुकाउने र अरु, खासगरी जिम्मेवार निकायबाट त्यस्तै अबस्थाको अपेक्षा गर्ने यो जमातको आवाज सुनुवाई नहुँदा यो जमात निरुत्साहित भएको पनि छ यद्यपि चुप लागेको छैन र लाग्दैन पनि ।
पछिल्लो समय लोकमानसिंह कार्कीको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सिफारिसदेखि नियुक्तिसम्मका घटनाहरुबाट सबैभन्दा प्रताडित महशुस गर्न बाध्य भएको जमात पनि यही हो । जुन कुरा सोसल मिडियामा अभिव्यक्त आक्रोशले पनि पुष्टि गरेको छ । आफुले भोट दिएका, आगामी चुनावमा भोट दिन चाहेका पार्टी र तीनका नेताबाट भएको धोकाको बद्लामा उनीहरुले बुलन्द आवाजमा लोकमान प्रकरणको निन्दा गरे, गरिरहनेछन् । दलहरुप्रति असन्तुष्टिका स्वरहरु चर्काइरहेकाछन् । तर उनीहरुको यो आक्रोशलाई राजनीतिक दल र उनीहरुको नुनको सोझो गर्नैपर्ने बाध्यता भएका केही बुद्धिजीवी, सञ्चारकर्मीहरुले ‘मास हिस्टेरिया’ समेत भन्न भ्याए । तर युवा जमातबाट स्वभाविक रुपमा व्यक्त आशय र अभिव्यक्तिहरुलाई ‘मास हिस्टेरिया’ देख्नेहरुले के बुझ्नु जरुरी छ भने सोसल मिडिया युगमा हुर्केको अहिलेको युवा जमात पारदर्शिता र जवाफदेहितामा विश्वास राख्छ र जहाँ पारदर्शिता र जवाफदेहिता कायम हुन सक्दैन, जुन ठाउँमा जिम्मेवार पात्रहरु चुक्छन् त्यही आक्रोश बोकेर कुर्लन्छ र परिवर्तनको माग गर्दछ । खाँचो छ यस्तो आवाज सुन्ने र त्यसलाई सम्बोधन गर्ने संयन्त्रको र त्यस्तो संयन्त्रको बिकल्प राजनीतिक दलहरु नै हुन् र हुनुपर्छ पनि । त्यसको अन्तिम फाइदा पनि दलहरुलाई हुन्छ नकि आक्रोशित युवा जमातलाई ।

यो लेख मंगलवार, ७ जेठ २०७० को अन्नपुर्ण पोष्टबाट साभार गरिएको हो ।

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

© 2017   Created by Equal Access for the Civil Society: Mutual Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service