रेडियोले सूचना दिने कि समाचार बजाउने ?

 - बिनु सुवेदी

फाल्गुन २, २०७३- दोस्रो जनआन्दोलन सफल भएपछि २०६३ सालको कुनै एक बिहान अमेरिकाका तत्कालीन राजदूत जेम्स एफ मोरियार्टीको भेट तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग तय भयो । भेटघाट बिहान ९ बजेका लागि निर्धारित थियो, यता रेडियोको खबर बुलेटिन पनि ९ बजे नै । प्रधानमन्त्री निवास बालुवाटारको गेटमा फोन गरेर सोधेँ, ‘मोरियार्टी आइपुगे ?’ जवाफ आयो, ‘हजुर आइपुगे ।’ तत्कालको तत्काल लेखेर खबर पढ्न सम्भव थिएन । पहिलो समाचार बनाइयो, हेडलाइन पनि बनाइयो, तर मौखिक † अनि मोरियार्टी र कोइराला बीचको भेटबारे यसरी खबर भने मानौ म दुईपक्षीय भेटघाटमा संलग्न तेस्रो व्यक्ति हुँ । त्यतिबेला सबै रेडियोले घन्टे बुलेटिन बजाउँदैनथे, हामी घन्टैपिच्छे खबर दिन्थ्यौं, नेपाल एफएममा । ९ बजे हतार—हतार दिएको खबरको १० बजे फलोअप त गर्नैपर्‍यो । फेरि फोन गरियो, बालुवाटारमा । यसपाली प्रधानमन्त्री निकट स्रोतलाई फोन गयो । भेटघाटबारे सोधेंँ । उनको जवाफ आयो, ‘भेट त अन्तिम समयमा आएर स्थगित भयो ।’ उनलाई त केही भनिन । फेरि निवासको गेटमा फोन गरेर सोधेंँ, उताबाट जवाफ आयो, ‘नीलो नम्बर प्लेटको गाडी प्रवेश गरेको थियो, म त होला भन्ठानेको, हैन रछ ।’ ९ बजेको प्रमुख खबर १० बजे आउँदासम्म झुटो विवरण बनिसकेको थियो । माफी त मागिएन, त्यसपछि त्यो खबर त्यत्तिकै छाडियो ।

अहिले सम्झिन्छु, प्रधानमन्त्रीसँग मोरियार्टीले भेटघाट गरिरहेका छन् भनेर हतार—हतार खबर दिनुको औचित्य के थियो होला ? त्यो खबर सुनेर स्रोतालाई लाभ या हानि के हुन्थ्यो होला ? भेट भइसकेर कुराकानी भएकै कुरा बताउनसकेको भए तत्कालीन परिस्थिति अनुसार अर्थ पनि हुँदो हो । यो अनगिन्ती मध्येको एउटा उदाहरण मात्रै । यस्ता भेटघाटबारे खबर अघिल्लो बुलेटिनमा भइरहेको छ भनेर लगत्तैको बुलेटिनमा फलानो कारणले त आज भेटघाट नै भएन भनियो । तर गलत सूचना दिएकोमा माफीसम्म मागिएन । कतिपय रेडियो, अनलाइनहरूका खबरमा अहिले पनि त्यही हविगत देखिन्छ । एकाध रेडियोहरूले बिट पत्रकारिताको अभ्यास सुरुदेखि नै गरेका थिए । उज्यालो एफएममा संसद र माओवादी बिटमा काम गर्थें, म । पहिलो संविधानसभाताका संघीयताबारे रस्साकस्सी चलिरहँदा माओवादीभित्रै मतभेद चुलियो । संघीयताको जननी आफै हुँ भन्दै आएको माओवादी यही विषयमा विचलित हुँदा मेरालागि त्यो ब्रेकिङ न्युज बन्नु स्वाभाविक थियो । रिपोर्ट बनाएँ । बज्यो, रिपोर्ट बजेको एक—दुई दिनपछि बाग्लुङबाट एकजना साथीको फोन आयो । तिम्रो रिर्पाेट त जनमोर्चाका कार्यकर्ताले रेकर्ड गरेर घर—घरमा सुनाउँदै हिँडिराछन् । मेरो अभिष्ट त त्यो थिएन । तर मेरो मिहेनत राजनीतिक दलहरूको दाउपेचका लागि प्रयोग भयो । यस्तो कुरालाई म पत्रकारिताको उपलब्धि कसरी मानौं ?

संविधान बनिसकेको थिएन । तर पहिलो संविधानसभा जीवन—मरणको दोसाँधमा थियो । म्याद थप्ने र नथप्ने घम्साघम्सी सहितको बैठक चलिरहेको थियो, संविधानसभा भवन नयाँबानेश्वरमा । म सीआईएन रेडियो नेटवर्कका लागि रिपोर्टिङ गर्न त्यहीं थिएँ । बेलुका साढे सात बज्यो । लाइभ गर्ने कुरा आयो, म लाइभमा कुरा गर्दै थिएँ, संविधानसभा भवनबाहिर केही पड्केको जस्तो आवाज आयो, ड्वाङ्ग † लाइभकै क्रममा मैले रेडियोमा भनें, ‘यहाँ त बम पड्कियो ।’ पछि बुझ्दै जाँदा थाहा भो, पटका पड्काइएको रहेछ । त्यसले कति धेरै स्रोताको मन भयभीत भए होला भन्ने कुराले अहिले मेरो मन पोल्छ ।

संयोगवश म तुलनात्मक रूपमा चलेका र व्यावसायिक रेडियोमा काम गर्ने पत्रकार, तथापि माथि उल्लिखित र त्यस्तै सूचना दिनमा हमेसा हतारो गरिरहेंँ । यस्तैमा एकदिन अनलाइनको समाचार सारेर बजाइयो, तर गलत पढियो । यस्ता गल्ती अनगिन्ती भए । र कतिपय नजानेर होइन, वास्ता नगरेर यस्ता गल्ती भए । एक दिन अग्रज पत्रकार शिव गाउँलेले सोधे, ‘१० वर्षको पत्रकारितालाई फर्केर हेर्दा आफू कहाँ छु जस्तो लाग्छ ?’ एकछिन सोचेँ, ‘म त कहीं पनि छैन अहिले । हो, मैले नै गरेजसरी पत्रकारिता गर्दा हिँड्दा—हिँड्दै पाइला मेटिन्छ, आफू कतै पनि पुगिँदैन ।’ आजकल रेडियोतिरको स्थिति झन् भयावह देखिन्छ । समाचार शाखामा काम गर्ने पत्रकारलाई समाचार अनलाइनहरूबाट सारेर पढ्ने भन्ने लागिसक्यो । एक दिन पत्रकारितामा करियर बनाउँदै गरेकी बहिनीले सोधिन्, ‘दिदी रेडियोको पत्रकारले पनि खबर लेख्छन् र ? मैले त खालि अनलाइनबाट सारेर पढेको देख्छु ।’ आङ सिरिङ्ग भो, यसरी त रेडियोको आन्तरिक गुणस्तरको कुरा कहाँ पुग्ला ? पत्रकारितामा प्रतिस्पर्धी मिडियालाई समाचार स्रोत मान्न सकिएला, तर जस्ताको त्यस्तै सार्न त सकिन्न । मूलत: यी सबै नैतिकताका कुरा हुन् ।

सञ्चार मन्त्रालयको तथ्यांकअनुसार अहिले सात सय ३१ रेडियोले सञ्चालनको अनुमति लिएका छन् । तीमध्ये ६ सयभन्दा धेरै रेडियो सञ्चालनमै छन् । अधिकांश रेडियोले समाचार कक्ष चलाएका छन् । तर सबैभन्दा दु:खलाग्दो कुरा त त्यही हो कि ती समाचार कक्षमा समाचार बन्दैनन्, सारिन्छन् । बरु पहिला समाचार बन्थे, गलतै सही । सञ्चार माध्यमहरूमा रेडियो नयाँ प्रविधि होइन । तर हामीले रेडियोलाई समयसापेक्ष बनाउन सक्यौं त ? हामीले हामीलाई नै सोध्ने बेला भयो । अनि रेडियोका समाचार कक्षहरूले अब समाचार बनाउने कि मैले विगतमा गरेको जस्तै गरेर सूचनामात्रै सम्प्रेषण गर्ने, जुन सूचनाको अत्यधिक भारीले थिचिएर आफै हराउनेगरी ? त्यसकारण आज विश्व रेडियो दिवस मनाइरहँदा रेडियोको समाचार कक्षमा करियर बनाइरहेका पत्रकार साथीहरूले अबको पत्रकारिताको बाटो केही फरक बनाउनेतर्फ सोच्ने कि ? फलानोले के भन्यो र क–कसको कतिबेला भेट भयो भन्ने कुराले खासै अर्थ राख्दैन, त्यो केवल सूचना हुन्छ, समाचार हुँदैन । त्यसैले हामीले अब सूचना होइन, समाचार दिने बेला आएको छ । त्यसो भयो भनेमात्र हिँड्दै गर्दा पाइला मेटिने थिएन, बरु छाप छाड्न सकिन्थ्यो ।

यो लेख आजको कान्तिपुर दैनिकमा पनि प्रकाशित छ -  http://kantipur.ekantipur.com/news/2017-02-13/20170213075506.html

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service