MeroReport

Encouraging and supporting citizen journalism in Nepal

पुस्तौनी जरा खोज्दै बर्माको छेउछाउ

सामुद्रिक यात्राको उत्सुकता

साँझ साढे ७ बजेतिर धानमण्डी भन्ने ठाउँबाट गाडी चढेका हामीलाई ढाकाबाट बाहिर निस्कने नाका जात्रावाडी पुग्नै झण्डै ३ घण्टा लाग्यो । यो यात्रामा ढाकामा बसेर पढ्दै गरेकी तुलसी नेपालकी ठुली छोरी रोहिणी पनि जोडिन आइपुगेकी थिइन् । त्यसपछि भने गाडी १०० किमि प्रतिघण्टाको दरले कुद्न थाल्यो । मलाई भने भोली बिहानै समुद्रमा जहाज चढ्न पाइने र टापुमा पुगिने कल्पनाले कुत्कुत्याइरहेको थियो ।

रातभरि केही नदेखिए पनि बिहान उज्यालो भएपछि गाडीबाटै देखियो ठुल्ठुला समथर फाँटहरुलाई सानासाना झण्डै ५ मीटर लम्बाइ र त्यति नै चौडाइका टुक्रामा बाँडिएको छ । अझ नजिक पुग्दा देखियो भुइँमा प्लास्टिक पनि ओछ्याइएको छ । अलिक पर पुगेपछि खेतको बिचबिचमा सेतासेता थुप्रा पनि देखिए । के होला भन्दै शारदा र म घोरिइरहँदा देशदेशावर घुमेर देश खाइ शेष परेका अनुभवी सहयात्री तुलसी नेपालले भन्नुभयो यो त नुन संकलन हो । हो रैछ त । हामीले खाने नुन पनि यसरी नै त संकलन हुन्छ होला ।  यो थाहा पाएपछि शारदा र म पनि चुकचुकाउन थाल्यौँ । किनकि नुन संकलनमा रहेको अँग्रेजहरुको एकाधिकार हटाउन गान्धीले गरेको संघर्षबारे बनेको एउटा वृत्तचित्र साल्ट स्टोरिजमा केही समय अघि यस्तै दृश्य देखेका त थियौँ ।

नुन स‌कलन गर्न बनाइएका सानासाना गराहरु र बिचबिचमा नुनका थुप्राहरु

त्यसको केही समयपछि हामीले माथि भारत र म्यानमार तथा तलपट्टि बंगलादेश र म्यानमारको सीमा छुट्याउने यमानको नाफ नदी पनि देखियो । नदी पारीपट्टी नै म्यानमार हो भन्ने अनुभवले कताकता धेरै लामो यात्रा गरेको अनुभव भयो । केही क्षणमा नै हामी टेकनाफ पुग्यौँ जहाँबाट हाम्रो सामुद्रिक यात्रा शुरु हुनेवाला थियो । पुग्ने बेलामा नदी किनारमा एंकर गरिराखिएका यमानका पानीजहाज अरुले भन्दा पहिले देखेकोमा शारदाले गर्व गर्दै थिइन् ।

यो उच्च पर्यटकीय मौसम होइन । त्यसैले सेन्ट मार्टिन टापुतर्फ जाने जहाजहरु ७ बाट दुइमा झरेका छन् । हामी पनि फ्रेश भइवरी उही पराठा र सब्जीको खाजा खाएर तयार भयौँ सामुद्रिक यात्राका लागि । दुईतर्फी टिकट काटेर एलसीटी कुतुब्दिया नामको तीनतले जहाजको सबैभन्दा माथिल्लो तलामा बस्यौँ हामी । हेर्दा टाइटानिक वा स्पिड २ चलचित्रको क्रुज जहाज जस्ता ठुला र सुविधासम्पन्न नभएपनि सानोतिनो क्रुजशिप भन्ने गरि नै सिंगारिएको थियो । त्यसैले क्रुजकै झझल्को बोकेर हामी यात्राका लागि तयार भयौँ । हाम्रो जहाजमा झण्डै दुइ सयको हाराहारीमा यात्रु थिए तर विदेशी भने शायद हामी ५ जनामात्रै थियौँ । जहाज चढेर जानुको रमाइलो अरु सबैले गर्दै थिए । धेरै जसो फोटो खिच्नमा व्यस्त थिए । अन्ततः ठीक साढे नौ बजे जहाजले सिट्ठी बजाएर हिँड्ने सुरसार गर्यो । सामुद्रिक यात्रा गर्ने मेरो लामो समयदेखिको इच्छा पुरा भयो । आफुले नभोगेका कुराको अनुमान अरुले भनेसुनेका आधारमा वा टिभी फिल्म हेरेका भरमा एउटा चित्र बनाइन्छ । सामुद्रिक यात्राका बारेमा मेरा पनि यस्तै केही चित्र थिए । उत्साहित हुँदाहुँदै पनि कतै मनको कुनामा चिसो पनि थियो कि कतै टाइटानिकजस्तै दुर्घटनामा परियो भने?

आफ्नै पितापुर्खा र इतिहासको सम्झना

साढे दुई घण्टाको यात्रा रमाइलै भयो तर पनि के चाहिँ लाग्यो भने हप्तौँ लगाएर यस्तो यात्रा गर्दा त पट्यार पनि लाग्छ होला । नाफ नदीको पश्चिमतिरको भंगालो हुँदै हामी अगाडी बढ्यौँ । पारिपट्टि म्यानमार थियो । त्यहाँ पुग्दा कताकता आफ्नै पितापुर्खा र पारिवारिक इतिहासबारे पनि सम्झिन पुगेँ । भारतभन्दा पनि पहिला वैदेशिक रोजगारीको स्रोत म्यानमार थियो । त्यसैको लागि मेरा हजुरबा पनि म्यानमार पुगेका थिए । मेरी हजुरआमा पनि रोजगारीका लागि त्यहीँ पुगेका बेला दुइजनाबिच प्रेम भएपछि विवाह गरेका थिए र दुवैजना बिसं १९९० तिर घर फर्केका थिए । मेरी क्षेत्रीनी हजुरआमाले २२ तोला सुन ल्याएर आएको तर उक्त सम्पत्ति मेरा चतुर बाहुन हजुरबुवाले पाखो बारीमा हाल्न लगाएको भन्ने कहानी सानोमा हामीले सुनेका थियौँ । अहिलेसम्म पनि के कुराले मलाई रोमाञ्चक बनाउँछ भने वैदेशिक रोजगारीका लागि त्यति टाढा जानु, त्यो पनि महिला अनि अन्तरजातीय प्रेममा परेर विवाह गर्नु र फर्केपछि समाजमा स्वीकार हुनु । तर अहिले हजुरबुवाको व्यवहार सम्झिँदा अचम्म पनि लाग्छ किनकि विवाह गरेर आधा दर्जन छोराछोरी पाएपछि पनि हजुरआमाले पकाएको खाना हजुरबुवाले जीवनपर्यन्त खाएनन् ।

जहाज अघि बढिरहँदा त्यसले बनाएको बाटो हेर्दै

अर्को कुरा यसरी नै वैदेशिक रोजगारीका क्रममा म्यानमार गएका एकजना गाउँले हजुरबुवा हराएका थिए । साठी वर्षसम्म पनि उनी आउँछन् कि भन्ने आशामा प्रतिक्षारत हजुरआमा केही वर्षअघि बल्ल मृत्युवरण गरेकि थिइन् । नौ वर्षमा विवाह गरेर पति विदेश हिँडेपछि ती हजुरआमाले सारा जीवन उनकै प्रतीक्षामा बिताएकी थिइन् । अर्कोतर्फ पहिलो र दोस्रो विश्वयुद्धमा हजारौँ लाखौँ गोर्खालीहरुले बेलायतको पक्षबाट जापानसित लड्दै बर्माकै जंगलमा ज्यान आहुती गरेका थिए । यसरी नेपालको पनि पश्चिमी भागसित पुर्वी एशियाको म्यानमारसम्म एउटा नाता गाँसिन पुगेको थियो । अहिले यिनै सम्बन्ध मेरो मनमा आइरहेका थिए । नाफ नदीमा जहाजमा यात्रा गरिरहँदा लाग्यो शायद ७०/८० वर्षअघि मेरा पुर्खाहरु बाग्लुङबाट झण्डै महिना दिन हिँडेर यही नदी पार गरेर म्यानमार पुग्थे होलान् । सोच्दै थिएँ आप्रवासन धेरै पहिले शुरु भएको थियो र वास्तविक भुमण्डलीकरण पनि धेरै पहिले नै शुरु भएको थियो ।

सेन्ट मार्टिन टापु: चारैतिर पानी!

आइपुग्यो सेन्ट मार्टिन टापु

नाफ नदीमा जहाजमा अघि बढिरहँदा बंगलादेशतर्फको भुमी एक घण्टामै सकिएर हामी समुद्रमा प्रवेश गर्यौँ । तर म्यान्मारतर्फको नदी किनार भने अर्को आधि घण्टासम्म पनि देखिएको थियो । त्यसपछि बल्ल हामीलाई पुरै समुद्रमा पुगेको महशुस भयो । अर्को एक घण्टामा ठ्याक्कै मध्यान्हका बेला सेन्ट मार्टिन टापुमा पुगेर जहाज रोकियो । हिन्द महासागरमा रहेको यो टापुमा पुग्नु अघि टापु र सामुद्रिक तट (बिच)बारे आआफ्नै कल्पनाहरु थिए । मेरो दिमागमा भने स्पिड २ चलचित्रको अन्तिम द्धन्द्ध शुटिङ गरिएको टापुको चित्र दिमागमा थियो । वास्तवमा टाढाबाटै नरिवलको बगैँचा र समुद्र किनारमा बनाइएका अस्थायी छाप्राहरु हेर्दा साँच्चिकै हो कि जस्तो पनि लाग्यो । आठ बर्गकिलोमिटर क्षेत्रमा फैलिएको यो सानो टापु साँच्चिकै सुन्दर थियो । उच्च छालको समयमा भने यो टापु पानीले पुरिएर ५ बर्गकिलोमिटरमा मात्र समेटिने भएकोले तटदेखि टाढा मात्रै स्थायी संरचना बनाइएका थिए भने नजिकचाहिँ अस्थायी छाप्राहरु मात्र । समुद्रबाट सबैभन्दा नजिकको होटलमै बस्ने हाम्रो निधो भयो । बंगलादेशमा के कुरा ढुक्क हुन सकिन्छ भने जस्तोसुकै पर्यटकीय ठाउँमा पनि खाना र कोठाभाडामा ठगिइँदैन । यहाँ पनि ढाकाको भन्दा सस्तोमा कोठा पाएका थियौँ र उही मुल्यमा खाना पाउँदा अचम्मित भयौँ । भुमध्यरेखा नजिक पर्ने यो टापुमा आर्द्रता (ह्युमिडिटी) बढी भएकोले गर्मी नै थियो तर समुद्र किनारतर्फ आउँदा भने सार्है शित्तल हावा बहिरहेको थियो ।

साँझपख हामी बिचतर्फ निस्क्यौँ । बिच भने अपेक्षित सुन्दर वा चलचित्रमा देखाउनेजस्तो नीलो पानीयुक्त थिएन । उच्च छालको मौसम शुरु भइसकेकोले छेउछाउसम्म बालुवा देखिन्थ्यो । यद्यपी बिच भनेको बिच नै हो । समुद्रको नुनीलो पानी मुखमा पर्दा र छालले किनारतर्फ हुत्याउँदा भिन्नै मजा आउँछ ।

साँझपख उही बंगाली खाना नै खानुपर्यो । सब्जी कम, माछामासु धेरै, चिल्लो र पिरो धेरै बंगाली खानाका विशेषता हुन् । म त बानी परेको  थिएँ । तर सहयात्रीहरुलाई भने पचाउन गार्है परिरहेको मैले महशुस गरेँ ।

बिचमा पुगेपछि नरिवलको पानी नखाई के फर्किइन्थ्यो?

भोलिपल्ट टापुको एउटा भागबाट हिँडेर अर्को भाग पुग्यौँ । यहाँको बिच बढी सुन्दर रहेछ र छालहरु पनि ठुला थिए । केहीबेर खेलेर सामुद्रिक ढुङ्गाहरु खोजेपछि हामी फर्क्यौँ । आज भने नेपालकै जस्तो सब्जी नखाइ नछोड्ने अड्डीमा थिए शारदा र तुलसी । भने जस्तै भयो रेस्टुरेन्टको छेउमै करेला र भिण्डि बेचिरहेको भेटेपछि के चाहियो र । एकएक पाउ किनेर होटलवालालाई फ्राई गर्न दिएपछि साँच्चिकै मीठो बनाएर भुटिदिएछ । अरु दिनभन्दा बेसी नै भात खाइयो त्यो दिन । तुलसीजिको ओरिया र बंगाली मिसाएर कुराकानी गर्ने शैलीले होटलवालालाई रमाइलो बनाएरहेको थियो । खाइसक्ने बेलासम्म त उहाँहरु लामो समयदेखिका साथिजस्तो बन्नुभयो र नेपाल आउनका लागि निम्ता र शायद भिजिटिङ कार्ड पनि दिनुभयो । मानिसहरुसँग घुलमिल गर्ने अनौठो खुवी उहाँमा छ । अर्को हजामसँग पनि एकछिनमै गज्जबको मित्रता बनाउनुभएको थियो उहाँले ।

बिचमा रमाउँदै

छिटफुट शपिङ सकेर अपरान्ह ३ बजे हामी टेकनाफतर्फ फिर्ती यात्रा शुरु गर्यौँ । अर्को तीन घण्टे सामुद्रिक यात्रा र रातभरको बसयात्रापछि भोली बिहान ढाका पुगिसक्नु थियो हामीलाई । यसरी झण्डै एक हप्ते हाम्रो यात्रा समाप्त भयो, केही सन्तुष्टी र खुशी तथा केही असन्तुष्टी सहित ।

फर्किँदा डुब्न लागेको घामले सामुद्रिक यात्रा कम मोहक थिएन ।  

र अन्तमा, मैले यो तीन भागमा बाँडिएको नियात्राको पहिलो भागको शीर्षक राखेको थिएँ 'यात्राको जात्रा' । वास्तवमा बाङ्ला भाषामा अहिले पनि 'य' लाई 'जे' नै भनिन्छ । फलस्वरुप 'यात्रा', 'जात्रा' बन्दछ र 'यात्री', 'जात्री' । लामो यात्राको गाडी लाग्ने ठाउँलाई जात्राबाडी भनिन्छ जुन् ढाकाको पुर्व दक्षिणमा पर्दछ र त्यहाँबाट कुमिल्ला, चट्गाउँ लगायत पुर्वदक्षिणतर्फ जाने बसहरु लाग्ने गर्दछन् ।

तीन भागमा लेखिएको यो नियात्राको पहिलो भाग यात्राको जात्रा  र दोस्रो भाग दीक्षान्त र शपिङ पनि पढ्न सक्नुहुन्छ ।

Views: 254

Tags: Bangladesh, Convocation, Dhaka University, India, Nepal, Myanmar, Travel, , Island", Martin, Naf, River, Sent

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

Comment by इन्द्रध्वज क्षेत्री on May 3, 2012 at 4:28pm

पढ्ने र कमेन्ट गर्ने सबैलाई धेरैधेरै धन्यवाद । अखबारी लेखनको पृष्ठभुमीबाट आएको मलाई यी तीन श्रृंखला लेखेर तुर्न धेरै नै गार्हो भएको थियो । साहित्यिक र श्रजनात्मक लेखकजस्तो कल्पानाशील त अझै हुनु सकेको छैन । तर प्राप्त प्रतिक्रियाले धेरै नै प्रोत्साहन दिएको छ । आगामी दिनमा पनि लेख्ने प्रेरणा मिलेको छ । सबैलाई फेरी पनि धेरै धन्यवाद । 

Comment by Yam Bahadur Dura on April 30, 2012 at 12:52pm

Words and pictures speak for each others. Great!

Comment by Sharada Chhetri on April 30, 2012 at 10:26am

It was a wonderful trip and enjoyed a lot. I feel privileged to be the part of this journey and want to thank Tulsi sir, Rohini and sweet Akriti for making the trip so wonderful. I enjoyed reading this travelogue too. He has so vividly captured experiences which we even could not feel.

Comment by Jiwan Kshetry on April 26, 2012 at 9:43pm

I instantly became jealous of the journey. Yet I am not as unlucky as many friends who have seen ocean in TV only since I had a bindaas 18 day trip to India back in 2007 that included the Mamalapuram beach near Chennai. The insights about the Burmese link of our grandpa were so vivid to me too. They traveled there and only it became possible that our grandparents did get married, they procreated and we were born eventually! Looking forward to visiting that place in future. 

Comment by Tulasi Nepal on April 26, 2012 at 5:10pm

लौ न नि नाफ नदी बगे जस्तै कत्ति सललल बगेको यो ईन्द्रजीको लेखाई । अनि पूर्खाको नाली बेली पनि कत्ति सम्झना भएको ! म त दंग परेँ यस्तो प्रतिभा देखेर । अनि यस्तो यात्रामा सहभागी हुन पाएकोमा आफूलाई धन्य ठानेको छू । सबैको जय होस् ।

Comment by इन्द्रध्वज क्षेत्री on April 26, 2012 at 4:45pm

अरु तस्वीरहरु पनि हेर्न चाहेमा यो भिडियोमा कम्पाइल गरेको छुः http://youtu.be/BtmjHmRou5g

Comment by pawan neupane on April 25, 2012 at 12:50pm

Nice article

Comment by Dr Anubha Singh on April 25, 2012 at 10:25am

afai bangladesh gayeko mahasus bhayo...thank u for sharing

Comment by Bikash Kumar Koirala on April 24, 2012 at 12:26pm

मज्जा आयो है पढेर, आफु तेतैतिर बरालिए जस्तै भो, धन्यवाद ।

Comment by Ajeeta Sigdel on April 24, 2012 at 11:53am

Nice one. Very lively and interesting to go through. 

© 2014   Created by Equal Access.

Badges  |  Report an Issue  |  Terms of Service