MeroReport

Encouraging and supporting citizen journalism in Nepal

आज फेरी मेरो जीमेल एकाउन्ट ह्याक भएछ। आजसहित गरी चार पटक भयो मेरो यो जीमेल आईडी ह्याक भएको। अर्को रमाइलो छ, ह्याक भएपछि मोबाइलमा म्यासेज आउँछ, एनटिसीको वेवएसएमएस सर्भिस २४२४ मार्फत आफ्नै नम्वरबाट। सधै आउने म्यासेज एकै किसिमको, 'डियर, योर जीमेल आईडी ह्याज बिन ह्याक्ड बाइ योर ह्याकर। प्लिज डन्ट रिपोर्ट टू पुलिस।'

जव मेरो जीमेल, फेसबुक, याहु वा वेवसाइट ह्याक हुन्छ, तब एनटिसीको वेवएसएमएसको पासवर्ड समेत ह्याक हुन्छ। ह्याकर चिनेजानेकै भएकाले चिन्ता लिनु पर्दैन। यही ह्याकरले अहिलेसहित चारपटकसम्म त मेरो जीमेल एकाउन्ट ह्याक गरिसकिन्। म धेरै याहू चलाउँदिन, त्यही भएर याहू जम्मा दुइपटक अनि फेसबुकको त कुरै नगरौं। वेवएसएमएस पनि पटक पटक ह्याक हुन्छ। हुँदा हुँदा मेरो पर्सनल साइट पनि ह्याक भयो। जति ह्याक गरे पनि यी ह्याकरले दुःख भने दिन्निन्। फेसबुक ह्याक गरिन् भने यसो स्ट्याटस अपडेट गरिदिन्छिन् मेरो शैलीमा। तर म उनलाइ कता कता पक्रिहाल्छु। जीमेल र याहूमा इमेल हेर्छिन् अनि वेवएसएमएसबाट मलाइ म्यासेज पठाउँछिन्।

१ बर्षअघि जसो होला, पहिलोपटक उनले मेरो जीमेल ह्याक गरेको। पहिलोपल्ट आफ्नो आईडी ह्याक भएको, निकै तनाव भएको थियो। बिहान ११ बजेतिर लगइन प्रयास गर्दा खुलेको थिएन। दिनभर ट्राइ मारे, तर खुलेन। साँझ साढे सात बजेतिर उनको फोन आएको थियो, 'मिस्टर, के भो, आईडी ह्याक भो? केटीहरूका राम्रा राम्रा नाम छानेर पासवर्ड राखेपछि त ह्याक भइहाल्छ नि!' उनले लाडिदैं भनेकी थिइन्। त्यो बेलाको मेरो पासवर्ड कुनै सुन्दर स्त्री नाम थियो। उनले यति भनेपछि मैले भनेको थिएँ, 'आफ्नो इमेल ह्याक भएर कस्तो इम्पोर्टेन्ट इमेल गर्न पाएन। कति इमेल आएको थियो होला इनबक्समा। मान्छेलाइ टेन्स भएको बेला तिमी मलाइ नचाट है। बाई।' रिसाएको पारामा मैले फोन काटेपछि उनले फेरी फोन गरेकी थिइन्। लगातार ३ पटकसम्म फोन नउठाएपछि उनको टिठलाग्दो म्यासेज आएको थियो। अनि मैले कलब्याक गरेको थिएँ। 'म यत्रो साइबर सेक्युरिटीको स्टूडेन्ट हुँदाहुँदै हजुरलाइ किन टेन्सन लिनुपर्ने?' मलाइ सान्त्वना दिदैं उनले अनुमति मागेकी थिइन्, 'एउटा कुरा भनुँ, नरिसाउनेभए मात्र!'

'रिसाउँदिन, भन न।'

'खास आज हजुरको आईडी मैले ह्याक गरेको। यसो प्राक्टिकल गर्दा गर्दै हजुरको आईडी सम्झेको, कति इजी पासवर्ड अनि मैले पासवर्ड चेन्ज गरेको। डन्ट वरी डियर, त्यस्तो इम्पोर्टेन्ट र तत्कालको डेडलाइन भएको कुनै इमेल आएको थिएन।' रून्चे स्वर पार्दै उनले थपिन्, 'सरी ल।'

'तिमी आफै बोक्सी, आफै झाँक्री भन्ने मलाइ के थाहा त?' मैले रिसाए जसरी भने, 'खुरूक्क मेरो नयाँ पासवर्ड लेउ।'

'नरिसाउनुन, प्लिज। हजुरलाइ थाहा छ, हजुर मसँग रिसाउँदा मलाइ कस्तो हुन्छ' उनले निकै माया गर्ने ब्वायफ्रेण्डलाइ भनेजस्तै गरी भनिन्, 'त्यसैले, प्लिज नरिसाउनु। हजुरको नयाँ पासवर्ड म एसएमएस गरिदिन्छु नि ल।'

'हस्' मैले आज्ञाकारी भएर भने, 'गुड नाइट। बाई।'

'बाई।'

एकछिनमै उको नम्वरबाट मेरो मोबाइलमा नयाँ पासवर्ड आयो। मैले हतार हतार नयाँ पासवर्ड राखी लगइन गरें अनि पासवर्ड बदलें।

...............................................

उनी अर्थात रितु। अचेल त म उसलाइ सिजन भनेर बोलाउन रूचाउँछु। त्यसो त कहिलेकाँही रितु पनि भन्छु र रीस उठेको बेला ह्याकर पनि। राजधानीको महंगो कलेजमा साइबर सेक्युरिटीको विषयमा ब्याचलरको फोर्थ सेमेस्टर पढ्छिन् अहिले। काठमाडौं बाहिरकी हुन् मेरो छिमेकी जिल्लाको ठूलो शहरकी। दुइ बर्षअघिको बर्खामासमा उनको र मेरो भेट बुटवलदेखि काठमाडौं आउने सुमोमा भएको थियो। एउटै सीटमा संगसंगै। यात्रामा एक्लै रहिछन् उनी पनि मजस्तै। बेलाबेलामा बोलिरहनुपर्ने। उनले नै चिनजानको क्रम शुरू गरेकी थिइन्। भर्खर प्लस टूमा साइन्स सकाएर साइवर सेक्युरिटी पढ्न राजधानी छिर्न लागेकी। मैले नि त्यसैबखत आफूले राजधानीको एउटा सरकारी क्याम्पसमा जर्नलिज्म एण्ड मास कम्युनिकेसनमा ब्याचलर्स थर्ड इयर पढ्दै गरेको जानकारी दिएको थिएँ। छुट्ने बेला उनले नम्वर मागेकी थिइन्, मैले पनि मेरो विजिनेस कार्ड थमाइदिएको थिएँ। तर अचम्म, त्यत्रो यात्राको क्रममा धेरै कुरा हामीले बाँड्यौं तर एकअर्काको नाम नै सोध्न बिर्सेछौं। मेरो नाम त विजिनेस कार्डमा थियो तर उनको नाम मलाइ थाहा थिएन।

..........................................

एकहप्तापछि रितुले फोन गरेकी थिइन्। अज्ञात नम्वरबाट फोन आएको थियो। नचिनेको नम्वरलाइ कम प्राथमिकतामा राख्ने मेरो बानीबाट उनी पनि पिडित भइन्। चार, पाँच पटक ट्राइ गर्दा मात्र मैले उनको फोन रिसिभ गरेको थिएँ। स्वर चिन्न गाह्रो भएर मैले उनको परिचय मागेको थिएँ। उनले 'म रितु' भनेकी थिइन् तर मलाइ यो नाम यादै थिएन। एकछिन अक्मक्किएपछि उनले बुटवलदेखि काठमाडौंसम्मको सुमो यात्रा सम्झाएकी थिइन् अनि मैले त्यो क्षणका एकदुइ घटना सम्झाएको थिएँ अनि उनी मरिमरि हाँसेकी थिइन्। यहीबाट शुरू भएको थियो हाम्रो फोनबार्ता।

..............................................

यसपछि, उनको र मेरो सातामा एकपल्ट फोनमा ८/१० मिनेट कुरा भइरहन्थ्यो, धेरैजसो शनिबार। यो क्रम हामी एकअर्कालाइ नभेटुञ्जेल चलिरह्यो। करीव २ महिनापछि उनले नै भेट्ने प्रस्ताव राखेकी थिइन्। शनिबारको दिन, दिउँसो २ बजे कालिकास्थान मन्दीर। पहिले नै भेटिसकेकाले हुलिया लिनु वा दिनु आवश्यक थिएन। पहिलोपल्टको यो औपचारिक भेटघाट अविस्मरणीय बनेको थियो। उनले भनेकी थिइन्, 'खोइ, एकै ठाउँतिरको भएर हो की किन हो, हजुर मेरो आफ्नै नजिकको मान्छे जस्तो लाग्छ।' मैले नि जिस्क्याइदिएको थिएँ, 'मलाइ टाढाको मान्छे भन्ठानेको? म त झन् नजिकको मान्छे भनेर पो भेट्न आएको। तिमीलाइ त जस्तो मात्र लाग्दो रैछ, क्या बोर।' मेरो उत्तरमा उनले अनुहार रातो पारी घोसेमुन्टो लगाएकी थिइन्। सम्भवतः यति छिटै मैले तिमी भन्न थालेको उनी पहिलो केटी थिइन्।

त्यो दिन मैले उनलाइ डिल्लीबजारको मःमः प्यालेसमा लगेर तोफू र पानीपुरी खुवाएको थिएँ। अनि उनी बस्ने कालोपुल नजिकै रातोपुलमा पुर्याएर छोडिदिएको थिएँ।

.................................

विस्तारै, हाम्रो भेटको क्रम बाक्लिन थाल्यो र भेट्ने स्थान पनि फरक फरक। प्रायः स्थानहरू उनकै रोजाइका हुन्थे। प्रायः मन्दीर, कहिले पार्क, कहिले सपिङ मल अनि निकै कम फिल्म हल। यतिञ्जेल उनको कलेजको पहिले सेमेस्टर समाप्त भएको थियो । एक साँझ ९ बजेतिर उनले फोन गरेकी थिइन्। फोनमा उनले 'मैले भोलि जानीजानी एउटा मीठो गल्ती गर्दैछु, हजुरले माफ गर्नुहुन्छ भन्ने विश्वाससहित।' भनेकी थिइन्। उनको स्वर सिरियस थिएन, त्यसैले उनी जिस्केको होला भन्ने ठानेको थिएँ। 'के गल्ती गर्दैछ्यौं?' मैले सोधेको थिएँ। 'म भोलि बेलुकी भन्छु नि ल। गुड नाइट। बाई।' सदाझै सहज तरिकाले उनले बिदा मागेकी थिइन्। उनले जानीजानी गर्न लागेको मीठो गल्तीको बारेमा मलाइ ठूलो जिज्ञाशा थियो। अझ रोचक, उनले गर्ने गल्तीका लागि मैले माफी दिन्छु भन्ने विश्वासहित रे।

अर्को दिन मेरो जीमेल एकाउन्ट ह्याक भयो। अनि मैले सिजनको त्यो गल्ती के थियो भन्ने सोध्न बिर्सें, उनले पनि भनिनन्। टेन्स भएकोले दिनभर मोबाइल अफ गरें भने भरे पासवर्ड पाएपछि पनि अफ गरें। धेरै दिनसम्म उनले भनेको गल्ति बिर्से, न उनले नै सम्झाइन्। झण्डै एक महिनापछि मैले अनायासै सम्झेर सोधेको थिएँ, 'सिजन, तिमीले अस्तिनै के गल्ती गर्दैछु, मैले माफी दिने विश्वाससहित भनेकी थियौ?' मेरो प्रश्न सुनेर उनी फोनमै मरीमरी हाँसेकी थिइन् मलाइ अन्योलमा पार्ने गरी। एकैछिनपछि उनले हाँसो रोक्दै भनेकी थिइन्, 'हजुरको जीमेल आईडी ह्याक गर्ने कुरा के।' अनि मैले बल्ल थाहा पाएको थिएँ, मेरो जीमेल ह्याक गर्ने उनको पुर्वनिर्धारित योजना रहेछ भनेर। उनले थपिन्, 'अब म यस्ता गल्ती धेरै गरिरहन्छु।'

.................................

त्यो सोमबार, साउन महिनाको एक सोमबारको बिहान सिजनले मलाइ सँगै पशुपति बोलाएकी थिइन्। हाम्रो चिनजान भएको करिव दुइ बर्ष भएको थियो र यसबीचमा हामी निकै नजिकिएका थियौं। काठमाडौं आसपासका धेरै मन्दीरमा हामी पुगिसकेका थियौं किनकी सिजनको पहिलो रोजाइ मन्दीर हुन्थ्यो र मलाइ पनि भीडभाडभन्दा शान्त ठाउँ मन पर्थ्यो। त्यो सोमबार म रातोपुल पुग्दा हत्केलाभरी मेहेन्दी र नाडीभरी हरियो चुरा लगाएर हरियै कुर्तासलवारमा मलाइ कुरिरहेकी थिइन्। त्यो दिन पहिलोपल्ट मैले उनलाइ त्यति धेरै राम्री देखेको थिएँ र त्यो दिन नै उनले मलाइ मोहनी लगाएकी थिइन्।

'तिमी आज बल्ल अलि देख्न हुनेजस्ती देखिएकी छौं' मैले भनेको थिएँ।

'आजभन्दा अगाडि कस्ती देखिन्थे र?' उनको निर्दोष प्रश्न खनियो।

'नराम्री।' मैले हाँस्दै जवाफ दिइ कुरा अन्तै मोडेको थिएँ, 'साउनको सोमबार व्वायफ्रेन्ड वा हज्व्याण्डसँग पनि जानु नि, किन मलाइ बोलाइरहनु? बिहान बिहान मस्त सुत्न नि पाइएन।' मैले निद्रा नपुगेको अभिनय गर्दै हाइ काढें।

'हन्ब्याण्डसँग जान बिहे भएको छैन। मेरो ब्वायफ्रेन्ड.... ब्वायफ्रेण्ड, पशुपति पुगेर भेटाउँछु ल? आज एकविहान मेरा लागि छिटो उठ्न भएन?' उनले तुरून्तै उत्तर र प्रश्नको बर्षा भयो।

'अँ साँच्ची, तिम्रो ब्वायफ्रेण्ड त श्लेषमान्तकका रूखमा दायाँ बायाँ उफ्रिरहेको हुन्छ नि है। सुन न, अस्ति नै पशुपति जाँदा मेरो साथीको हातको पुजा सामान खोसेर तिम्रो ब्वायफ्रेण्डले।' मैले नि जिस्क्याउन मिल्नेसम्म जिस्क्याएँ।

उनलाइ रीस उठेछ क्यारे, रिसाउँदै मलाइ भनिन्, 'हजुर भएको भए त त्योभन्दा बढी....'

सिजनलाइ जिस्क्याउनु मेरा लागि रमाइलो लागिरहेको थियो। उनीसँग गफ गर्नु, भेट्नु वा उनलाइ हेरेर टोलाउनु मलाइ रमाइलो लाग्थ्यो। म कन्फ्युज्ड थिएँ, यो मलाइ के भइरहेको छ? एट्रयाक्सन की लभ, सधै कन्फ्युज हुने विषय? यस्तो त स्कूल पढ्दा देखि नै हुन थालेको हो। दुइ चार दिन एउटी मनपर्ने, त्यसपछि फेरी अर्की मन पर्ने। प्लस टू लाइफमा पनि यस्ता निकै भए। अहिले सम्झिदाँ हाँसो उठ्छ, सम्भवतः त्यो सबै एट्रयाक्सन थियो होला। सिजनप्रति म एट्रयाक्टेड भइरहेको छु की लभमा छु, पत्तो पाउन अझै सकिरहेको थिइन।

यस्तै सोच्दासोच्दैं पशुपतिको ढोकानेर पुगिएछ। सिजनको हातमा पुजाको थाली थियो भने मेरो हात रित्तै। साउनको सोमबारको दिन पशुपतिमा भीड त कति हुन्छ कति, यही बुझेर आजको दिन मैले अफिसमा बिदा लिएको थिएँ। सिजन लाइनमा जोडिएकी थिइन् भने म दायाँबायाँ हेर्दै थिएँ तर सिजनको नजिकै थिएँ। सिजन आज असाध्यै राम्री देखिएकी थिइन्, त्यसैले मैले मेरो मोबाइलको क्यामेराबाट उनको विभिन्न पोजको फोटो लिन भ्याइरहेको थिएँ, मोबाइलमा जीपीआरएस चलाएको बहानामा। लाइन विस्तारै सर्दै थियो, लाइनसँगै सिजन सर्दै थिइन् र सिजनसँगै म पनि। हामी गफ गरिरहेका थियौं, बेला बेलामा म जिस्क्याउँथे, 'तिमी महादेवलाइ तिम्रो कोठाको कुनामा ह्याक गरेर राख्न सक्दिनौं?' उनी पनि जवाफ दिन्थिन्, 'ह्याक गरेर राख्न मिल्ने भए त म ....' बीचमै उनले वाक्य टुंग्याइन् अनि चुप लागिन्। करीव ४ घण्टाको प्रतिक्षापछि सिजनको पालो आयो। सिजनलाइ मैले 'राम्रोसँग वर मागेर आउ है' भनेर पठाएँ अनि बाहिर कुरेर बसें। एकछिनमा उनी आइपुगिन् अनि मेरो दाहिने हात तानेर उनको शिरमा राखिन्। मभन्दा अलिकति होची नै भएकाले मेरो हात उनको शिरमा पुर्याउन समस्या भएन। उनले भनिन् 'म हजुरलाइ धेरै माया गर्छु, अति नै चाहन्छु। डु यु लभ मी अर नट? मैले टेक्नोलोजीको पासवर्ड ह्याक गर्न सकेपनि हजुरले मेरो मनलाइ ह्याक गर्नुभयो।' म बडो दुविधामा परें। अनि मैले भने, 'सिजन, म तिमीलाइ केही दिनमै रिप्लाइ दिन्छु नि ल!' उनले हुन्छ भन्ने आशयले टाउको हल्लाइन् र मैले उनको शिरबाट मेरो हात झारें। उनलाइ जहाँबाट उठाएको थिएँ, त्यही पुर्याएर छाडिदिएँ। भरेदेखिको उनको हरेक फोनमा उनले उनको प्रश्नको जवाफ मागिरहेकी हुन्छिन्, अनि मैले पनि 'तिमीले मेरो पुरै जीवन ह्याक नगरि नछाड्ने भयौं है' भन्दै जिस्काइरहन्छु। आज त उनले ठुलै घुर्की पो लगाइन्, 'हजुरले मेरो रिप्लाइ नगर्दासम्म म अव हजुरको जीमेल, याहु, फेसबुक, साइट सबैको पासवर्ड चेन्ज गरिदिन्छु अनि दिदैंदिन्न।' मलाइ भने अझै केही समय उनलाइ वेटिङमा राख्न मन छ किनकी म अझै उनलाइ धेरै बुझ्न चाहन्छु ताकी अहिलेको हतारको निर्णयले बाँकी जीन्दगी पुरै उनले ह्याक गरेर नराखुन्।

-------------------

तस्वीर साभारः forum.urduworld.com

Views: 338

Tags: hacker, love, story

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

Comment by Biut Raz Thapa on July 20, 2012 at 5:48pm

nice one!! 

Comment by Sabin Singh on July 19, 2012 at 12:39pm

dil nai hack gari sake pachi e-mail hack grera k nai hun6 ra saathi ... hackers hacker ... 

Comment by Santosh Pokharel on July 16, 2012 at 12:06pm

ल शोल्टी पनि ह्याक भए अब त

Comment by Mukunda Nepal on November 15, 2011 at 12:29pm

Thank you so much for your comments ;)

Comment by subuna basnet on November 8, 2011 at 1:22pm

Really interesting.... and right decision at last...

Comment by Prakash Lamichhane 'बाबाजी' on November 8, 2011 at 10:14am

OH ho.... purai ramailo.......

Comment by Shaku Limbu on November 5, 2011 at 1:33am
It needs a lot of courage for a girl to do what she has done. She might have hacked your gmail, FB, yahoo to see who sends you mail; is there another girl in your life or not? Hmmm anyways all the best to you. Lamo vaye pachi sabai padhe maile.
Comment by silviya chaulagain on November 2, 2011 at 8:31pm

gr8ly executed..luved itt..aane i realliee look 4ward 2 c da hacker,hope 2 meet her some dae..he he 

Comment by सरोज कार्की on August 12, 2011 at 9:26am

dai ,,,, gmail hack dherai nagaraaunu hosh ,.... aba uhaa laai kina dherai kuraai rahanu ho ...?

Comment by Santosh Devkota on August 10, 2011 at 5:23pm

Hummmmmmm ma k bhanam yo article ko bare ma, "Meri Hacker" :)

© 2014   Created by Equal Access.

Badges  |  Report an Issue  |  Terms of Service