लैङ्गिक हिंसा या दुर्ब्यवहार भएमा कहाँ सम्पर्क गर्ने !

भर्खरै मात्र लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सम्पन्न भएको छ । नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर यो अभियान विभिन्न कार्यक्रमहरु गरेर मनाईन्छ । यहि अभियानका बिचमा अन्तर्राष्ट्रिय महिला हिंसा विरुद्धको दिवस (नोभेम्बर २५) र अन्तरराष्ट्रिय मानव अधिकार दिवस (डिसेम्बर १०) जस्ता महत्वपुर्ण दिवसहरु पनि पर्दछन् । यस बर्ष  'घर शान्ति नै विश्व शान्तिको आधार, दिगो विकासका लागि लैंगिक हिंसारहित समाज' भन्ने नारासहित नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म यो दिवस विश्वव्यापी रुपमा बनाईयो ।  

सन् १९६० नोभेम्बर २५ का दिन तत्कालीन तानाशाह सरकारले डोमेनिकन रिपब्लिकनका तीन साहसी महिला दिदीबहिनीहरुको कायरतापूर्वक हत्या गरेपछि १९९१ मा २० वटा देशका २३ महिलाको समुहले महिला हिँसाविरुद्ध १६ दिने अभियानको सुरुआत गरेका हुन्। १७ डिसेम्बर १९९९ मा संयुक्त राष्ट्रसंघको महासभाले २५ नोभेम्बरलाई अन्तर्राष्ट्रिय महिला हिंसा विरुद्धको दिवसको रुपमा मनाउने घोषणा गरेपछि यो दिवस विश्वभर मनाइन्छ। 

यसै सन्दर्भमा हामीले मेरो रिपोर्टको यो थलोमा नेपालका महिलाहरुले आफूमाथि हिंसा या दुर्ब्यवहार भएमा कहाँ सम्पर्क गर्ने भन्नेबारेमा जानकारी प्रस्तुत गर्दैछौँ । 

सबैभन्दा पहिला त महिलाले कुनै पनि ब्यक्तिबाट आफूमाथि हिंसा या दुर्ब्यवहार भैरहेको छ भन्ने महसुस गरेमा त्यसबाट बच्ने उपायको खोजी गर्नैपर्छ । नत्र त्यसले शारिरिक र मानसिक दुबै खाले तनाव दिन्छ । आफू यदि हिंसामा परेको छु भन्ने भएमा त्यसबाट बच्ने उपायहरु दुई किसिमका हुन्छन् । एउटा त आफूमाथि हिंसा या दुर्ब्यवहार गर्नेलाई सामाजिक रुपमा आईन्दा त्यस्तो नगर्ने प्रतिबद्दता सहित मिलाप गर्ने, अर्को चाहिँ कानुनी उपचारको खोजी गर्ने । समुदायमै मिलाप गर्न सकिने खालका महिला माथि हुने हिंसाहरु भनेका लैङ्गिकताका आधारमा हुने सामान्य विभेद, सानातिना घरायसी झैँझगडा, मनमुटाव, सामान्य हातपात जस्ता देवानी प्रकृतिका घटनाहरु हुन् । यस्ता विवादहरु तपाँईहाम्रा गाउँघरमा भएमा महिला आवद्ध समुह तथा संजालहरु, आमा समुह, सहकारी, निगरानी समुह र सामुदायिक मेलमिलाप केन्द्र अथवा स्थानिय निकायहरुमा मिलाप हुनसक्छन्। यी मध्ये पनि यदि तपाँईको गाविस अथवा नगरपालिकामा सामुदायिक मेलमिलाप केन्द्र छ भने त्यो सबैभन्दा उपयुक्त र कानुनी थलो पनि हो । साथै श्रीमान श्रीमति एकसाथ बस्नै नसक्ने अवस्था आएको भए त्यो घटनाको उजुरी समेत स्थानिय निकायमा निवेदन दिई अदालतमा जान सकिन्छ ।

यस बाहेक यदि चोटपटक नै लाग्ने खालको कुटपिट, आजगनी, बलात्कार, जवरजस्ती करणी, यौन शोषण, ज्यान मार्ने, बेचबिखन गर्ने, अपहरण गर्ने, दास बनाउने, बोक्सीको आरोपमा कुटपिट या मलमुत्र खुवाउने अथवा जिउँदै जलाउने जस्ता जघन्य प्रकृतिका घटनाहरु छन् भने चाहिँ प्रहरीकहाँ नै सम्पर्क गर्नुपर्छ । त्यसैगरी तपाँईलाई महिला भएकै कारण लामो समयसम्म शारिरिक या मानसिक यातना दिने काम भएको छ भनेपनि त्यस बिरुद्ध उजुरी गर्नुपर्छ ।

घरेलु हिंसा या लैङ्गिक हिंसा भोग्ने पिडितका साथै यस्तो खालको हिंसा भएको, भइरहेको या हुन लागेको थाहा पाउने जो सुकैले पनि उजुरी गर्न पाईन्छ । उजुरी गर्ने ४ वटा निकायहरु छन् । ति हुन् : एउटा स्थानिय निकाय-जस्तो गाविस तथा नगरपालिका । त्यस्तै गरेर घटना भएको या घटना बारे थाहा पाएको ठाउँको नजिकको प्रहरी चौकी या प्रहरी कार्यालय । अनि अर्को अदालत र अर्को राष्ट्रिय महिला आयोग । यी ४ वटा निकाय उजुरी सुन्ने आधिकारिक निकायहरु हुन् । बाँकी निकायहरु भनेका उजुरी प्रकृयामा सघाउने निकायहरु हुन् । यी निकायहरुमा उजुरी दिँदा सकेसम्म छिटो उजुरी दिनुपर्छ । सामान्यतया महिला हिंसाका सन्दर्भमा हिंसा भएको ९० दिन भित्रमा यी निकायहरुमा उजुरी दिईसक्नुपर्छ । तर हत्या लगायत कतिपय हिंसाका घटनाहरुमा भने घटना भएको थाहा पाउनेबित्तिकै जहिलेसुकै पनि उजुरी दिन सकिन्छ ।

प्रहरीकहाँ आफै पुग्न सकिएन भने महिला हिंसा तथा यौन दुर्व्यवहार भएको थाहा पाउनेले प्रहरीको निशुल्क टोल फ्रि नम्बर १०० मा सम्पर्क गरी घटना बारे जानकारी दिन सकिन्छ ।  त्यसैगरी हेलो सरकारको निशुल्क हेल्पलाईन फोन ११११ मा र  राष्ट्रिय मानव अधिकार आयोगको हेल्प लाईन फोन ५०१०००० मा समेत सम्पर्क गरी घटना बारे जानकारी दिन सकिन्छ ।  

तर प्रहरीकहाँ सिधै सम्पर्क गर्न सक्ने अवस्था छैन भनेपनि या त्यहाँ एक्लै जान हिचकिचाउनु भएको छ भने पनि निगरानी समुह, सामुदायिक मेलमिलाप केन्द्र अथवा स्थानिय निकाय मार्फत त्यहाँ कसरी सम्पर्क गर्ने भन्ने सुचना पाउन सकिन्छ । यसैगरी आफ्नो जिल्लामा भएको महिला तथा बालबालिकाको कार्यालयमा सम्पर्क गरेर पनि उजुरी दिने निकायहरुमा पुग्न सकिन्छ । साथै महिला अधिकारका क्षेत्रमा कृयाशिल एवं कानुनी सेवा उपलब्ध गराउने संघसंस्था तथा मानव अधिकारका क्षेत्रमा कृयाशिल सरकारी र गैह्रसरकारी निकाय मार्फत पनि उजुरी दिने यी ४ निकायहरु स्थानिय निकाय, प्रहरी, अदालत या राष्ट्रिय महिला आयोगको सम्पर्कमा पुग्न सकिन्छ । 

फो.सौ. : https://www.pinterest.com/pin/386183736767102358/

Views: 58

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service