गाउँ भरिकाले पढेको चिट्ठी

यसो औंला भाँचेर हिसाव गर्दा निरन्तर समाचार लेख्ने गरेको उन्नाइस वर्ष पुगेछ, तर पत्रकारिता आउँदा उमेर २४ वर्ष भइसकेको थियो । निमाविसम्म गाउँकै विद्यालयमा पढ्दा सर्वोत्कृष्ट विधार्थी, अक्षेर राम्रा र शुद्ध भएकोले धेरैले तानातान गरेर पढ्थे । गुरुहरु र विधार्थी साथीहरु अक्षेरकै कारण मलाई धेरैले मन पराउनुहुन्थ्यो । जव माध्यमिक शिक्षाको लागि बिन्ध्यवासिनीबाट दैलेख सदरमुकाममा आएँ पढाईमा कमजोर साथीको साथका कारण सदरमुकाममा उत्कृष्टता हासिल गर्न सकिएन तर ती उत्कृष्टहरुकै निकटवर्ती प्रतिस्पर्धी चाहिं बनिरहें । गुरुहरुको प्यारो बनें, पढाईमा मेहनत गर्ने कसैलाई केही नबिराउने सोझो भनेर साथीहरुले मलाई ‘देउता’ भन्थे ।


२०४७ सालमा नियमित एसएलसी परीक्षा दिएपछि फुर्सदको समय घर सल्लाहबाट भारत जान अनुमती पाएँ । त्यतिबेला माघमा परीक्षा हुने र नतिजा साउन–भदौमा आउँथ्यो । परीक्षा दिए लगतै सहरको वातावरण देख्ने पनि हुन्छ, केही सिक्ने पनि इच्छा भएर मेरो बुबा भारतीय सेनामा कार्यरत हुँदा म जन्मेको ठाउँ देहरादून पुगें । त्यहाँ आफन्तहरुसंग २–३ दिन मात्र बसेर भारतका केही महत्वपूर्ण सहर बारे जानकारी लिएँ । घरबाट एक्लै हिंडेको, जन्म भारतमा भएपनि २ वर्षकै छँदा नेपाल आएकोले यो मरो लागि पहिलो पटक भारत यात्रा थियो । देहरादूनमा सन्तानकै एक जना दाजुसंग २–३ दिन बसाईको क्रममा धेरै जानकारी लिएँ, त्यहाँ बोलिने हिन्दी भाषाको अभ्यास गरें ।


दाजुसंग जानकारी लिएको मध्ये पञ्जाव राज्यको चण्डीगढ जान मन लाग्यो, यात्रा डायरी बनाएर चण्डीगढ पुगें । त्यहाँ मजदूर गरेर पनि साउनसम्म ६ महिना बस्ने योजना बनाएको थिएँ, संयोगले १७ सेक्टर बसपार्कमा ओर्ले लगतै एक हाउजिङ कम्पनीको फोरमेन कामदार खोज्न बसपार्क आएका रहेछन् उनैसंग टुप्लुक्क भेट भयो । उनले सोधे “तुम नेपाली ? काम करोगे ?” मैंले हिन्दीमा भन्दा अंग्रेजीमा बोल्नु स्वभिमान सम्झेर प्रतित्तर दिएँ “येस, आईएम नेपाली । ह्वाट टाईप अफ वर्क ?” अंग्रेजीमा रिप्लाई गरेकै कुरा उनलाई मन परेछ उनले भने “वी आर वर्किङ्ग टु मेक बिल्डिङ्ग, वी क्यान गिभ अ अपर्चुनिटी टु यू फर वान्स रेकर्डकीपर इन आवर कम्पनी ।” त्यो सम्वादमा महिनामा १७ सय तलव पाउने, हरेक आइतवार विदा हुने लगायत सेवा सुविधाको कुरा समेत तय भएपछि सासनगर मोहाली भन्ने ठाउँमा सिधै पुगेर त्यहाँ उपलब्ध गराइएको कोठामा बास बसेर भोलि पल्ट फागुन ६ गतेदेखि काम सुरु भयो ।


विहान ९ देखि साँझ ५ बजेसम्म मजदूरको काममा प्रयोग हुने उपकरण, औजार, सिमेण्ट, सरिया, काठ लगायतका बस्तुको प्रयोग तथा व्यवस्थापनको रेकर्ड राख्ने काम चलिरहेकै थियो । जहाँ काम गर्थें, त्यही बजारमा १ किलोमीटर टाढा “न्यू नटराज कम्प्यूटर इन्स्टिच्यूट” रहेछ । विहान–बेलुकाको समयमा कम्प्यूटर सिक्ने मन लाग्यो, ४ महिनामा राम्रैसंग सफ्टवेयर र सामान्य हार्डवेयर समेत काम गर्न सक्ने भएँ । त्यहाँ कम्प्यूटर सिक्दै गर्दा हिन्दी लिपी राखिएको कम्प्यूटरमा नेपाली भाषा अनुसार लेख्न गाह्रो थिएन । जव राम्रोसंग लेख्न सक्ने भएँ, घरमा पठाउने चिट्ठी पनि कम्प्यूटर टाईप गरेर पठाउन थालें । खामको बाहिर प्रापक र प्रेषकको ठेगाना अंगे्रजीमा र भित्र चिट्ठी नेपाली भाषामा लेखेको हुन्थें, त्यो चिट्ठी हुलाकबाट गाउँमा पुग्दा सबैले पढ्ने गरेछन् । त्यसो त त्यतिबेलाको त्रिभुवन माविका प्रधानाध्यापक खगेन्द्रबहादुर मल्ल सरलाई पनि आफूले गर्ने काम र कम्प्यूटर सिकेको कुरा लेखेको थिएँ ।


गाउँबाट एक्लै सहर पसेको सुख–दुःख कस्तो पो भयो भन्ने शुभेच्छा अर्को कुरा कम्प्यूटर टाईप गरेर पठाएको चिट्ठीको लिपी हेर्ने उत्सुकताले मेरो व्यक्तिगत खवर लेखिएको चिट्ठी गाउँभरी तानातान–आलोपालो सबैले पढेका भन्ने कुरा घरबाट दाजुले पठाउनु भएको प्रतिउत्तरमा लेख्नु भयो, अलि आन्तरिक कुरा लेख्नु पर्दा चाहिं हातैले लेखेर पठाउने गर्थें । मलाई पहिले नै अनुमान थियो, कम्प्यूटर टाईप गरेर पठाएको चिट्ठी घरायसी भए पनि सार्वजनिक महत्वको हुनेछ । तेइस वर्ष अगाडि मैंले सिकेको कम्प्यूटरले अहिले पत्रकारितामा पनि ठूलो सहयोग पुगेको छ ।


मेरो चिट्ठी पढिसक्नु भएको रहेछ, तत्कालिन गाविस अध्यक्ष रामप्रसाद अधिकारीले ऊ एसएलसी पास पनि सजिलै भई हाल्छ अमर सुनार घरमा फर्किँदा गाविसको बजेटबाट एउटा कम्प्यूटर किनी दिने र उसलाई जागिर दिने अनि जिल्ला विकास समिति र सबै सरकारी कार्यालयको समेतको कम्प्यूटर सेटिङ र छपाईका सबै काम बिन्ध्यवासिनीले सम्पादन गर्ने भनी गाविसको निर्णय समेत गराई सक्नु भएको रहेछ ।


अहिले जस्तो सोलार वा वैकल्पिक ऊर्जा थियो न त बिद्युत पुगेको थियो । त्यतिबेला डेढ लाख रुपैयाँ पर्ने कम्प्यूटर किन्न गाविसको त्यतिबेलाको कुल बजेट ५० हजारले आउने कुरा पनि थिएन । सदरमुकाममै धौधौ २०५४ सालमा बिद्युत पुगेपछि २०५५ सालमा टेकबहादुर गुरुङले पहिलो पटक निजी लगानीमा एवीसी कम्प्यूटर इन्स्टिच्यूट सुरु गर्नुभयो, कार्यालयहरु मध्ये २०५५ मै कृषि अनुसन्धान केन्द्र कम्प्यूटर ल्याएको थियो भने २०५७ मा समाचार सम्प्रेषण प्रयोजनका लागि व्यक्तिगत कम्प्यूटर किन्ने चाहिं जिल्लामा म नै पहिलो थिएँ । गाउँभरिकाले पढेको चिट्ठी जस्तै मैंले लेखेको सबैले पढ्ने अरु के हुन सक्छ यो उत्सुकताले मलाई पत्रकारिता पेशामा ल्याई पु¥यायो ।

अमर सुनार

Views: 67

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

© 2017   Created by Equal Access for the Civil Society: Mutual Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service