चितवनमा उच्च ज्वरोको प्रकोपः एकै दिनमा दिदीबहिनीको मृत्यु

भरतपुर । उच्च ज्वरोका कारण चितवनमा एकै दिन एकै घरका दुई दिदी–बहिनीको मृत्यु भएको छ । माडी गर्दी–८ की १९ वर्षीया लेखा रेग्मी र १७ वर्षीया मेनुका रेग्मीको मंगलबार मृत्यु भएको हो ।

 

दिदी लेखाको भरतपुर अस्पतालमा उपचारका क्रममा बिहान ४ बजे मृत्यु भएको हो भने बहिनी मेनुकाको थप उपचारका क्रममा काठमाडांै लगिएपछि मृत्यु भएको हो । मेनुकालाई मंगलबार बिहानमात्रै भरतपुर अस्पतालबाट  थप उपचारका लागि काठमाडांै लगिएको थियो । दुबै दिदी–बहिनीको देवघाटमा दाहसंस्कार गरिएको छ । दिदीको बिहान र बहिनीको बेलुका दाहसंस्कार गरिएको हो ।

 

गर्दी गाविस वडा नम्बर ८ लक्ष्मनिया बस्ने घनश्याम रेग्मीका दुई छोरीहरु लेखा र मेनुकाको ज्वरोकै कारण मृत्यु भएपछि अहिले गाउँ नै शोकमा डुबेको छ । मृत्यु कुन ज्वरोका कारण हो भन्ने यकिन खुल्न सकेको छैन । दुबै दिदी–बहिनीको उपचारमा संलग्न भरतपुर अस्पतालका फिजिसियन डा. भोजराज अधिकारीले भाइरल ज्वरोका कारण निमोनिया भएर दुबैको मृत्यु भएकोे प्रारम्भिक अध्ययनले देखाएको बताउनुभयो ।

 

‘छोटो समयमात्रै भरतपुर अस्पतालमा उपचार गराएकाले हामीले सबै परीक्षण गर्न त पाएनांै तर पनि दुबै दिदी–बहिनीको ‘पल्मोनरी इडिमा’ (फोक्सोमा पानी जमेर सेतो हुनु) भएको देखिन्छ’, डा.अधिकारीले चितवन पोष्टसँग भन्नुभयो, ‘यो अवस्था भाइरल ज्वरोका कारण पनि हुन सक्छ । भाइरल ज्वरोको संक्रमणले पनि यो समस्या निम्त्याउन सक्छ ।’  

 

भरतपुर अस्पतालका अर्का फिजिसियन डा. शशिजंग पाण्डे पछिल्लो समय ज्वरोका कारण उपचार गराउन आउने बिरामीमा थप जटिलता थपिँदै गएको बताउनुभयो । ‘चितवनमा ज्वरोका बिरामीमा एक्कासि थप जटिलता भएर गम्भीर अवस्थामा पु¥याइरहेको छ’, उहाँले भन्नुभयो ।   

 

चितवनमा पछिल्लो समय ज्वरोका बिरामी एक्कासि बढेर गएको छ । पछिल्लो समय दुई दिदी–बहिनीको मृत्युसहित उच्च ज्वरोका कारण चितवनका अस्पतालहरुमा मर्नेको संख्या नौ पुगेको छ । सम्बन्धित अस्पतालका चिकित्सकहरुका अनुसार साउनयता भरतपुर अस्पतालमा चार, चितवन मेडिकल कलेजमा चार र भरतपुर मेडिकल कलेजमा एक जना ज्वरोका बिरामीको उपचारका क्रममा मृत्यु भएको छ । हजारौं प्रभावित भएका छन् ।   

 

यी तिनै अस्पतालमा अहिले पनि आईसीयूका अधिकांश शøया ज्वरोका बिरामीले भरिएका छन् । चितवन मेडिकल कलेजका फिजिसियन डा. शीतल अधिकारी ज्वरोको संक्रमण बढ्दै गएकाले सकेसम्म सार्वजनिक ठाउँ र सामूहिक रुपमा बसोवास गर्ने काम रोक्नु पर्ने बताउनुहुन्छ ।  

 

‘विशेषत अहिलेको ज्वरो सरुवा हो । श्वास–प्रश्वास, हेलमेलका कारण पनि ज्वरो सर्न सक्छ’, उहाँले भन्नुभयो, ‘अहिलेको ज्वरोको नियन्त्रण भनेको ज्वरो आएको मानिसले सकेसम्म घरबाट ननिस्कने र एकोहोरो धेरै ज्वरो आइरहे वा श्वास–प्रश्वासमा समस्या भए अस्पतालमा सम्पर्क गरेमात्रै पनि ज्वरोको बिरामी घटाउन सकिन्छ ।’ उहाँले ज्वरो नियन्त्रणका लागि जनचेतना आवश्यक रहेको पनि औंल्याउनुभयो ।


चितवनमा तीन प्रकारका ज्वरो  

चितवनमा फैलिएको ज्वरोमा ‘इन्फ्युएन्जा एच वान् एन् वान्’ अर्थात् ‘स्वाइन फ्लु’, ‘इन्फ्युएन्जा बी’ र ‘ल्याप्टोस्पाइरोसिस’ देखिएको छ । चितवनका अस्पतालहरुमा उपचार गराइरहेकाहरु मध्येबाट रगतको नमुना संकलन गरी राष्ट्रिय प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा सो रोग पाइएको हो ।   

 

भरतपुरबाट परीक्षणका लागि पठाइएको ३५ जनाको रगतमध्ये इन्फ्युन्जा एच वान् एन् वान्का सात, इन्फ्युएन्जा बीका सात र ल्याप्टोस्पाइरोसिसका सात बिरामी भेटिएको पाइएको छ । यस्तै यो परीक्षणमा डेंगुका बिरामी भने एक जनामात्रै पाइएको छ ।
दुई साताअघि चितवनबाट रगत संकलन गरी पठाइएको सो परीक्षणको प्रतिवेदन प्रयोगशालाले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा पठाइसकेको छ भने सो महाशाखाले जिल्ला जनस्वास्थ्य कार्यालयलाई पनि यो रिपोर्ट पठाएको छ ।   

 

विश्व स्वास्थ्य संगठनले केही वर्षअघिसम्म स्वाइनफ्ल्युलाई महामारी रोग मान्दथ्यो । तर अहिले यो रोगलाई पनि संगठनले सामान्य भाइरलको रुपमा लिने गरेको छ । इन्फ्युन्जा बी पनि रुघाखोकी लाग्ने सामान्य भाइरल ज्वरो मानिन्छ । यी दुबै रोग सरुवा हुन् ।

 

यस्तै लेप्टोपाइरोसिस भने बढी खेतबारीमा काम गर्नेमा देखिन्छ । मुसालगायतकाले टोकेका खण्डमा यो रोग लाग्ने गर्छ । सबै रोगका लक्षण भनेको उस्तैउस्तै मानिन्छन् । चिकित्सकहरुका अनुसार रुघाखोकी लाग्ने, ज्वरो आउने यी रोगका लक्षण हुन् ।  

www.nbihani.blogspot.com, www.echitwanpost.net

Views: 27

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

© 2017   Created by Equal Access for the Civil Society: Mutual Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service