Encouraging and supporting citizen journalism in Nepal
हेटौँडा । गाउँका युवाहरुले सहरमा ताजा तरकारी र गाउँले उत्पादन कोसेली ल्याएजस्तै सहरका युवाहरुले गाउँलाई के दिन सक्ला ? गाउँलाई केही न केही दिनुपर्छ भन्ने युवाहरु मिलेर यसपटक गाउँमा एउटा कोसेलीको पोको पु¥याउने तयारी गरेका छन् । त्यो कोसेली हो–किताब ।
आफूले पढेर सिध्याएका कितावहरु संकलन गरेर हेटौँडाका केही युवाले ‘गाउँमा किताव अभियान’ अन्तर्गत गाउँमा किताव बितरण गर्ने तयारी गरेका हुन् । उनीहरुले यसका लागि सामाजिक सञ्जाल फेसबुक प्रयोग गरी किताव संकलन समेत थालिसकेका छन् ।
केही समयअघिदेखि सामाजिक सञ्जाल फेसबुकमार्फत किताव संकलनका आह्वान गरिएको थियो । गाउँमा किताव अभियानलाई अन्य जिल्लाहरुजस्तै मकवानपुरमा स्वयम्सेवी रुपमा सञ्चालनका लागि भूमिका निर्वाह गरेका युवा जीवन शर्माले मकवानपुरको सरिखेत गाविसस्थित सूर्याेदय माध्यमिक विद्यालयमा पुस्तकालय व्यवस्थापनका लागि किताव दिने तयारी भइरहेको बताए । उनले गाउँका युवा र विद्यार्थीलाई साहित्य, विज्ञान, राजनीति र समसामयिक विषय समेटिएका कितावहरु संकलन गरी विद्यालयलाई दिने तयारी रहेको बताए । फेसबुक माध्यमबाटै हेटौँडामा शुक्रबार साँझ गाउँमा किताव अभियान सञ्चालनका लागि तीनदर्जनबढी युवाहरु भेला भएका थिए । भेलामा शर्माले भने, ‘हामी सहरमा बस्नेहरुले पढिसकेको किताबलाई गाउँका युवाले पनि पढ्न पाऊन् भन्ने मान्यतालाई आत्मसात गर्दै अभियान थालिएको हो ।’ 
भेलामा अभियानको नेतृत्व गरिरहेका अर्का युवा तथा पत्रकार सुरेश श्रेष्ठले उच्च मावि तहका पाठ्यपुस्तकहरु पनि संकलन जारी राखिएको बताए । उनले गाउँमा उच्च तहका किताव किन्न नसक्ने बिपन्न विद्यार्थीलाई सघाउनका लागि पाठ्यपुस्तक समेत संकलन गरिएको बताए । भेलामा उपस्थित अधिकाँश युवाले अभियानको प्रशंसा गर्दै सहयोग गर्ने प्रतिबद्धता जनाए । भेलामा उपस्थित साहित्यकार तथा साहित्य संगम मकवानपुरका पूर्व अध्यक्ष निमेष निखिलले आफूसँग रहेको ५० थान किताव अभियानलाई दिने घोषणा गरे । लगत्तै अर्का साहित्यकार तथा अग्रज पत्रकार नवराज शर्माले ३ सय बढी किताब आफूसँग रहेको भन्दै अभियानलाई सुम्पने घोषणा गरे । घोषणासँगै उनले भने, ‘युवाहरुको सह्रानीय अभियान हुँदा हुँदै पनि दीर्घकालसम्म विद्यालयमा रहने पुस्तकालय चल्न सक्ने÷नसक्ने बारेमा जानकारी हुनु जरुरी छ ।’ यसअघि पनि थुप्रै पुस्तकालयलाई किताब दिइए पनि अहिले ती पुस्तकालायहरु बेपत्ता भएको भन्दै शर्माले त्यस्तो हुन नदिन युवालाई सजग पनि पारे ।
परिस्थिति नबदलिएमा आगामी जेठ २७ गते सरिखेतस्थित सूर्याेदय माविलाई एकहजार थानजति किताब हस्तान्तरण गरिने कार्यक्रम छ । यसका लागि झण्डै ७ सय थान किताव संकलन भइसकेको छ । विद्यालय व्यवस्थापन समितिसँग सम्पर्क गरी अन्य व्यवस्था मिलाउन लगाइएको अभियानका अगुवा शर्माले बताए । उनले थन्किएका किताबहरु संकलन गर्न र रेकर्ड राख्नका लागि युवाहरुलाई आग्रह समेत गरे । ‘यो सबैको साझा र स्वयम्सेवी काम हो’, शर्माले भने, ‘यसका लागि कुनै पनि संयन्त्र छैन, आफै अग्रसर हुने हो ।’ गाउँका युवालाई नयाँ वर्षमै कोसेली दिने तयारी भए पनि विविध कारणले नसकिएको शर्माले बताए । हेटौँडामा पुस्तक संकलनका लागि समृद्ध समाज दैनिक र हेटौँडा सन्देश दैनिकलाई केन्द्र तोकिएको भेलामा युवाहरुलाई जानकारी गराइएको थियो । भेलामा जिल्लास्थित युवा नेतृत्व, साहित्यकार, पुस्तकालयप्रेमी र राजनीतिकर्मीहरु समेत सहभागी थिए ।
© 2013 Created by Equal Access.
You need to be a member of MeroReport to add comments!
Join MeroReport