निर्दोष अमरबहादुर बम, दुबई कारागारमा मृत्युदण्डको सजाय कुर्दै

अमर बचाउ अभियान

दार्चुला जिल्ला धारी गाविसका ६८ वर्षिय बृद्ध कर्णबहादुर बम सुदुरपश्चिममा भएको एक हप्ता लामो बन्दका बावजुद काठमाडौं आइपुग्नु भएको छ । भारतको बाटो हुदै उहाँ आफ्नी बुहारीलाई लिएर काठमाडौं आइपुग्नु भएको हो । मनमा चिन्ता र जलन भएपश्चात को बसीरहन सक्छ र ? त्यस्तै भयो कर्णबहादुर बम र उहाँकी बुहारी धनमती बमलाई । बन्दको पिरभन्दा आफ्नो मनको पिरको भारी गहुँगो छ उहाँहरुको । विहे गरेको एक महिनामा खुशी र सुखका सपना सहित विदेश गएका आफ्ना श्रीमान निर्दोष हुँदाहुँदै किन विदेशको जेलमा सजाय भोगिरहेका छन् र उनलाई मृत्युदण्डको सजाय सुनाउदा पनि किन राज्य निदाईरहेको छ भनेर सरकारसँग प्रश्न गर्न धनमती बम दार्चुलाको धारीबाट बन्दका बाबजुद काठमाडौ आईपुग्नु भयो ।

आजभन्दा करिव ९ वर्ष अगाडी कर्णबहादुर बमका छोरा र धनमती बमका श्रीमान दुबईमा बिना कसुर पक्राउ परे । बिना कसुर जेल परेका ३४ बर्षिय अमरबहादुर बमलाई दुबई अदालतले मृत्युदण्डको सजाय सुनाएको छ र उनी त्यही मृत्युदण्डको सजाय कुर्न बाध्य पारिएका छन् । विना कुनै अपराध मृत्युदण्डजस्तो गहन सजायको भागिदार दार्चुला जिल्लाको एक विकट गाँउ धारीका प्रवासी युवा भईरहेका छन्, जसको विषयमा राज्य बेखवर जस्तै छ । आजभन्दा दुई वर्ष अगाडी औपचारिक रुपमा जानकारी पाएको परराष्ट्र मन्त्रालय, विदेशमा नेपालीहरुको रक्षाको जिम्मेवार नेपाली दुतावास र अन्य सरकारी निकाय के भएको हो भन्ने जानकारी आदानप्रदान गरेर औपचारिकता पुरा गरी कर्तव्य विर्सेर बसिरहेको छ । राज्यले न कुनै फलो अप गरेको छ, न त वास्तविकता के भएको हो भनेर आफन्त र परिवारलाई बताएको छ । आफ्ना नागरिकहरु कहाँ छन्, उनीहरुको अवस्था के छ, आफ्ना नागरिकको सुरक्षा कसरी गर्ने भनेर जिम्मेवारी बहन गर्नुपर्ने राज्य आफ्ना नागरिकलाई बिना कसुर ९ वर्षसम्म जेल सजाय हुँदा र मृत्युदण्डको सजाय घोषणा भईसकेको अवस्थामा गैरजिम्मेवार र मुकदर्शक देखिएको छ । विदेशमा राज्यको प्रतिनिधी संस्था दुबईस्थित नेपाली दुतावासले अमरबहादुर बमको मुद्दाका सम्वन्धमा जानकारी पाएर उनी निर्दोष छन् भन्ने थाहा हुँदाहुँदै पनि वकिल राखेर उनलाई निर्दोष प्रमाणित गरेर नेपाल फर्काउन चासो र चिन्ता नदेखाएको प्रष्ट देखिएको छ । नेपाली नागरिकहरुको सुरक्षा र सहयोग गर्न नेपाली दुतावास पटक पटक चुकेको छ ।

अमरबहादुर बम कसरी जेल परे र उनलाई किन मृत्युदण्डको घोषणा सुनाईयो त ? घटना यस्तो छ ः अमरबहादुर बमले विवाह गरेको २५ दिनमा आफ्नी जीवनसंगीनीलाई छोडेर भारतको दिल्लीमा रोजगारीका लागि गएका थिए । उनी दिल्लीबाटै बैदेशिक रोजगारीका लागि दुबई गएका रहेछन् । दुबईमा भारतिय नागरिक शरद सेठ्ठीको हत्यामा संलग्न भएको अभियोगमा उनी सन् २००३ जनवरी २५ तारिखमा दुबई प्रहरीबाट पक्राउ परे । प्रहरीले मनोज मुदाना र करणसिंह राजपुतले शरद सेठ्ठीमाथी गोली प्रहार गरेको, स्मद कुलत बनवारीले हतियार उपलब्ध गराएको र अमरबहादुर बमले उनीहरुको सवारी चालकको रुपमा काम गरेको भन्दै अदालतमा मुद्दा दायर गर्यो ।

भारतिय नागरिक मनोज मुदाना, करण सिंह राजदुपत र स्मद कुलत बनवारीले दुबईको इन्डियन क्लवमा भारतिय नागरिक शरद सेठ्ठीको हत्या गरेका थिए । अपराधीहरुले हत्याका क्रममा अमरबहादुर बमलाई ड्राइभरका रुपमा प्रयोग गरे । जुन अमरबहादुरलाई थाहा थिएन । उनीलाई कहाँ लगिदै छ, किन लगिदै छ, केही जानकारी थिएन । उनी आज्ञापालक सवारी चालक भएकै कारण हत्यामा संलग्न भएको आरोपमा बिना कसुर करिव नौ वर्ष लामो समयदेखि दुबईमा जेल जीवन विताउदै मृत्युदण्डको सजाय कुर्न बाध्य पारिएका छन् ।

 

अमर निर्दोष थिए र छन् । उनले फोन, नेपाली समाज, दुतावासका प्रतिनिधी र पत्रकारहरुमार्फत आफु निर्दोष भएको बताएका छन् । अपराधमा प्रत्यक्ष संलग्न भारतिय नागरिक करण र मनोजले लिखित रुपमा अमर निर्दोष भएको र हत्याका सम्पुर्ण प्रकृयामा उ अनभिज्ञ रहेको भन्ने जानकारी अदालतमा पेश गरिसकेका छन् । अमरले प्रहरी र अदालतमा भाषा नजानेका कारण आफु निर्दोष भएको बताउन सकेनन् । जसले जे भन्छ त्यही कागजमा सहीछाप गर्न बाध्य भए किनकी उनको भाषा प्रहरी र अदालत बुझ्दैनथ्यो भने उनले प्रहरी र अदालतका भाषा बुझ्दैन थिए । अपराधमा प्रत्यक्ष संलग्न भारतिय नागरिक करण र मनोजले अदालतमा चढाएको लिखित निवेदनमा भनिएको छ ः “हत्या हुनुपुर्व र हत्या पश्चात अमर सो को वारेमा अनभिज्ञ थिए, आफुहरुको योजनामा अमर बेखवर थिए र उनले दुबईमा व्यावसायिक चालकको भुमिका मात्र निर्वाह गरेका हुन्” । घटना कुनै चलचित्रको कथा जस्तो छ । भारतिय अपराधीहरुले हत्या प्रकृयामा बिना जानकारी व्यावसायिक चालक अमरबहादुर बमलाई प्रयोग गरेकै कारण उनी जेलजीवन भोग्न बाध्य त छन् नै मृत्युदण्डको सजाय समेत कुर्दैछन् ।

दुबईमा रहेका नेपालीका विभिन्न संघसंस्थाहरु जस्तै नेपाली समाज, गैर आवासिय नेपाली संघ लगायतका संघसंस्थाले यसअगाडी  नै अमरको जीवनरक्षाका लागि पहल गर्न पटक पटक प्रधानमन्त्री, परराष्ट्र मन्त्री, श्रम मन्त्री, नेपाली दुतावासलाई अनुरोध गरिसकेका छन् । बुद्ध जयन्तीका दिन काठमाडौंमा प्रवासी नेपाली समन्वय समितीको पहलमा अमरका परिवारजनले पत्रकार सम्मेलन गरी उनको जीवन रक्षाका लागि सबै क्षेत्रले राज्यलाई झक्झकाउन र आफ्ना निर्दोष परिवारको सदस्यलाई नेपाल फिर्ता ल्याउन पहल गर्न अनुरोध गरेका छन् । अमरका बुबाले भन्नुभयो “यो मेरो मात्र छोरो होइन, यो हामी नेपालीको छोरो हो, हामी सबै मिलेर एक निर्दोष नेपाली छोरालाई छुटाएर नेपाल फिर्ता ल्याउनु पर्दछ” । अवस्य यो एउटा भावना मात्र होइन, यो यथार्थता हो अमर नेपालीका छोरा हुन् जो बिना कुनै अपराध दुबईको जेलमा मृत्युदण्ड कुरिरहेका छन् उनीलाई हामी सबैले पहल गरेर फिर्ता ल्याउनै पर्दछ । पत्रकार सम्मेलनमा अमरका बुबालाई घटना र परिवारको अवस्थाका सम्वन्धमा सबै कुरा जानकारी दिन अनुरोध गरिए पनि उहाँले लामो बोल्न सक्नु भएन । गला रोकियो । अमरकी जीवनसंगीनी जो दश वर्षदेखी आफ्ना श्रीमानको बाटो हेरेर बसिरहनु भएको छ उहाँले भन्नुभयो “दश वर्ष भयो, बाटो कुरेर बसेकी छु, उहाँलाई ल्याईदिनुहोस्” । यती भनिसक्दानसक्दै उहाँ पनि थप बोल्न सक्नु भएन ।

अदालतले मृत्युदण्ड सुनाईसकेकोले अदालतको फैसलाको जुनसुकै बेला कार्यान्वयन हुन सक्छ । एक जना निर्दोष नेपालीलाई बचाउनका लागि हामीले तत्काल कुनै पहल गर्न सकेनौ भने हामी चुक्ने छौं । अमरलाई बचाउनका लागि कानुनी र कुटनीतिक दुबै पहल गरिनु आवश्यक छ । उनको मुद्दा कुन तहबाट फैसला भएको हो, कानुनी कुनै उपाय बाँकी छ की छैन र पुनरावेदनमा जान सकिन्छ की सकिदैन भन्ने सम्वन्धमा बुझ्ने, जानकारी लिने, कागजातको अध्ययन गर्ने र दुबईमा दुतावास, नेपाली संस्था साथै त्यहाँको कानुनका जानकार स्थानिय वकिलसँग समन्वय सम्पर्क गर्ने काम विभिन्न व्यक्ति, संस्था र निकायबाट शुरुवात गरिएको छ । यसका अलवा अमरलाई बचाउनका लागि एउटा उत्तम उपाय यदि नेपालका राज्य प्रमुख र सरकार प्रमुखले दुबईका शेखलाई अमर निर्दोष भएको र उनलाई आममाफी दिनका लागि अनुरोध गरी औपचारिक रुपमा लेखि पठाएमा उनको जीवन रक्षा हुने यसका जानकार विषय ज्ञाताहरुको सुझाव सल्लाह रहेको छ । राज्यलाई आवश्यक कानुनी, कुटनीतिक र अन्य आवश्यकता अनुसारका सबै उपाय तत्काल कार्यान्वयन गरी अमरको जीवन वचाउनका लागि हामी सबैको दवाव आवश्यक छ । नौ वर्षसम्म जेल पर्दा र आजभन्दा दुई वर्ष अगाडी उनका सम्वन्धमा फाइल तयार गरेर पनि कुनै औपचारिक प्रकृया र पहल विना बसिरहेको सरकारलाई झक्झकाउनु आवश्यक छ । आउनुहोस, हामी सबै मिलेर अमर बचाउ अभियानमा सहयोग गरौ । एक जना निर्दोष नेपालीलाई मृत्युदण्डबाट बचाऔ । राज्यलाई कानुनी र कुटनीतिक लगायतका सबै पहल तत्काल गर्न दवाव सृजना गरौं । राष्ट्रपति र प्रधानमन्त्रीलाई अमरको जीवन रक्षाका लागि दुबईका शेखलाई औपचारिक पत्र लेख्न र पहल गर्न अनुरोध गरौं ।

औपचारिक रुपमा परिवारका सदस्य, सामाजिक संघसंस्था, दार्चुलाका वर्तमान र पुर्व सभासद, सञ्चारकर्मीहरु लगायतको पहलमा अमर बचाउ अभियानको शुरुवात भएको छ । यसमा सबैको सहयोग र साथको अपेक्षा गरिएको छ । जसले जहाँबाट जसरी राज्यलाई आफ्ना नागरिकको सुरक्षाका लागि पहल गर्न दवाव दिन सक्छौ आजै दवाव दिऔं । ढिला गर्ने र सोच्ने समय छैन ।

थप जानकारीका लागि अमर बचाउ अभियानको सचिवालय प्रवासी नेपाली समन्वय समिती, अनामनगरमा ४७७०७७५ saveamar@gmail.com मा सम्पर्क गर्न सकिन्छ ।

Views: 1356

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

Comment by Arjun Khatiwada on September 13, 2012 at 12:01am

सक्दो सहयोग गर्ने छु 

Comment by Bishnu B. Khatri on July 27, 2012 at 11:17am

अमरका बुवा कर्ण बहादुर बम फेरी प्रधानमन्त्री भेट्न काठमाडौं आउनु भयो । अभियानकर्मीहरुको साथमा बुधवार विहान उहाँले प्रधानमन्त्रीलाई भेट्नु भएको छ । प्रधानमन्त्री बाबुराम भट्टराईले भेटमा सरकारका तर्फबाट मृत्युदण्डको सजाय मिनाहा गर्न युएइ सरकारलाई पत्र लेखिसकिएको र अमरको जीवन रक्षाका लागि सरकारले सबै उपाय प्रयोग गर्ने पुन बचनवद्धता जाहेर गरेका छन् । उनले भने म युएई जानुपर्ने भए दुतावाससँग बुझेर गएर छुटाएर लिएर आउछु ।

Comment by Indra Dhoj Kshetri on July 19, 2012 at 11:41am

दुबईको जेलमा मृत्युदण्डको फैसला सुनाइएका छोरा छुटाउन अपिल गर्न दार्चुलाका कर्णबहादुर बम काठमाडौं हिँडेका छन्: http://www.souryadaily.com/2012/07/26790.html

Comment by Bishnu B. Khatri on June 30, 2012 at 1:33pm
Comment by Trilochan Bhattarai on June 26, 2012 at 11:28pm

यस अभियानमा आफुले सक्दो सहयोग गर्ने छु 

Comment by Indra Dhoj Kshetri on June 26, 2012 at 10:19am

Comment by Bishnu B. Khatri on June 25, 2012 at 1:38pm

विश्वको चासो अमर बचाउनमा केन्द्रित, सरकार भने उदासिन

दुवईमा मृत्युदण्डको आरोपमा सजाय भोगिरहेका अमर बहादुर बमको जीवन रक्षाका लागि आज अभियानका तर्फबाट रिपोर्टस क्लवमा पत्रकार भेटघाट तथा अभियानका सम्वन्धमा विभिन्न सरोकारवालाहरुसँग अन्तरकृया गरिएको छ । नेपाल सरकारका मन्त्री चन्द्रदेब जोशी, गैर आवासिय नेपाली संघ (एनआरएन) का महासचिव तेन्जी शेर्पा, दार्चुला समाजका अध्यक्ष हरी अवस्थी लगायतका सरोकारवालाहरु, अधिकारकर्मी, सञ्चारकर्मी र विभिन्न संघसंस्थाको कार्यक्रममा सहभागिता रहेको थियो ।

अमरको जीवन बचाउनका लागि देशभित्र र देशवाहिर रहेका नेपालीले मात्र होइन विश्वका विभिन्न क्षेत्रमा कृयाशिल अधिकारकर्मी, अभियन्ता, शुभचिन्तक, सञ्चार क्षेत्रको समेत चासो र चिन्ता बढिरहेको छ । ऐक्यबद्धता सहित अभियानका क्रममा देशभित्र र बाहिर विभिन्न कार्यक्रम भईरहेका छन् । यसरी सबै तह र क्षेत्रबाट अभियानका लागि पहल भईरहदा राज्यले आफ्ना नागरिकमाथीको मृत्युदण्डको सजाय रोक्न र आफ्ना नागरिकलाई बचाउनका लागि लिनुपर्ने इमिडियट एक्सन हुन नसकेको निष्कर्ष सबै तह र तप्काबाट महशुस भएको छ । राज्यका तर्फबाट प्रधानमन्त्री बाबुराम भट्टराईबाट करिव दुई महिना पहिला अमरका परिवारसँगको भेटमा अमरलाई बचाउने प्रतिवद्धता जनाईएको भएता पनि त्यसतर्फ ठोस कदम हालसम्म चालिएको छैन । परराष्ट्र मन्त्रालयमार्फत कुटनीतिक पत्राचार भएको भनी हल्ला चलेको भएता पनि हालसम्म पत्राचार नभईसकेको तथ्य खुलेको छ । यसरी जुनसुकै बेला कार्यान्वयन हुनसक्ने मृत्युदण्डको सजायबाट आफ्ना नागरिक बचाउन राज्यले लिनुपर्ने इमिडियट एक्सन राज्यबाट हुन नसक्दा सबै क्षेत्रको एकपटक गम्भिर ध्यानाकर्षण भएको प्रेस विज्ञप्तीमार्फत अमर बचाउ अभियानले जनाएको छ ।

पत्रकार भेटघाट तथा अन्तरकृया कार्यक्रमको निचोडमा पुनः एक पटक सरकार प्रमुखलाई राज्यका तर्फबाट आवश्यक पहल गर्न दवाव दिनका लागि डेलिगेशन जाने तथा अभियानलाई सबै प्रकारका माध्यमबाट निरन्तरता दिनका लागि पहल गर्ने निष्कर्ष निकालिएको छ । आज वितरित प्रेस विज्ञप्तीको पुर्ण पाठ ः


मिति ः २०६९÷०२÷ ११

अमर बचाउ अभियान

दुवईको जेलमा मृत्युदण्डको सजाय भोगिरहेका अमर बहादुर बमको जीवन रक्षाका लागि तत्काल पहल गर्न अपिल
पे्रस बिज्ञप्ती

दुबईको इन्डियन क्लबमा भारतीय नागरीक शरद सेठ्ठीको हत्यामा संलग्न भएको अभियोगमा तीन जना भारतीय नागरीक मनोज मुदाना, करन सिंह राजदुपत र स्मद कुलत सन् २००३ जनवरी २५ तारिखमा दुबईमा पक्राउ परे । उनीहरुसंगै दार्चुला जिल्ला धारी गाबिसका ३४ बर्षिय अमरबहादुर बमलाई पनि पक्राउ गरियो । बैबाहिक जीवनमा बाधिएको पच्चिस दिनमा गरिवीका कारण रोजगारीका लागि घर छोडेका बम दिल्ली हुदै दुबई गएका थिए । प्रहरीले मनोज मुदाना र करन सिंह राजपुतले शरद सेठ्ठीमाथि गोली प्रहार गरेको, स्मद कुलत बनवारीले हतियार उपलब्ध गराएको र अमरबहादुर बमले उनीहरुको सवारी चालकको रुपमा काम गरेको भन्दै अदालतमा ज्यान मुद्दा दायर ग¥यो । त्यस मुद्दामाथि सुनुवाई गर्दै दुवई अदालतले मनोज, करन सहित अमरलाई पनि मृत्युदण्ड दिने फैसला सुनायो ।

मनोज मुदाना र करन सिंह राजपुतले शरद सेठ्ठीको हत्यामा अमरलाई सवारी चालकका रुपमा प्रयोग गरेका थिए । हत्यारा समुहको सवारी चालकका रुपमा काम गरेको भएता पनि अमरलाई कहा लगिदै छ र के उद्देश्यका लागि भन्ने जानकारी थिएन । उनीले आज्ञाकारी सवारी चालकको भुमिका मात्र निर्वाह गरेका थिए । सरकारी कामकाजमा दुबईमा अरबी भाषाको प्रयोग हुने कारण अमरले अदालत र प्रहरीको भाषा बुझ्न सकेनन् । भाषा नबुझ्ने र बुझाउन नसक्दा अदालत समक्ष अमरले आफु निर्दोष भएको कुरा वताउन सकेनन् । अदालती प्रकृयामा आफ्ना कुरा राख्न नपाउदा अमर निर्दाेष हुदाहुदै पनि मृत्युदण्डको सजाय भोग्न बाध्य पारिए । हत्यामा गोली हान्ने दुई भारतीय नागरीक करन र मनोजले समेत ‘आफुहरुको योजनाबारे अमर बेखबर रहेको र उनी दुबईमा ब्यावसायिक चालकको भुमिका मात्रै निर्बाह गरेको’ भन्दै निर्दोष रहेकोले माफी दिन  दुबई अदालतलाई लिखित पत्र लेखिसकेका छन् । यसले पनि अमर निर्दाेष छन् भने पुष्टि गर्छ । अमरले ‘हत्या हुनुपुर्ब र हत्याको तत्काल पश्चात पनि सो घटनाका बारेमा अनबिज्ञ रहेको’ बताउदै आएका छन् र प्राप्त तथ्य तथा कागजातका आधारमा उनी निर्दोष भएको पुष्टी हुदै आएको छ ।

एक जना नेपाली नागरिक विदेशको जेलमा मृत्युदण्डको सजाय भोगिरहेको जानकारी राज्यलाई अमर पक्राउ परेको सात वर्षपश्चात मात्र जानकारी भयो । दुतावासलाई अमरले दुबई जेलमा मृत्युदण्डको सजाय भोगिरहेको जानकारी आजभन्दा तिन बर्ष अगाडी मात्र भएको थियो । तिन वर्ष अगाडी यस घटनाका सम्वन्धमा राज्यलाई जानकारी भएको भएता पनि कुनै औपचारिक र प्रभावकारी कानुनी तथा कुटनितिक पहल दुतावास र नेपाल सरकारबाट हालसम्म हुन सकेको छैन । अमरको मृत्युदण्डको खवरले उनकी आमाको यस अगाडी नै हृदयघातबाट मृत्यु भईसकेको छ । चरम गरिवी र पिडाका  कारण अमरका परिवारले दैनिक जीवन धान्न समेत धौ धौको अवस्था छ । अमर बमकी अठ्ठाइस बर्षिय श्रीमती धनिसा (धनमती) विगत दशवर्षदेखि अमरको बाटो हेरेर दिन बिताउन बाध्य छिन् ।

देश विदेशमा रहेका नेपालीका संघ संस्था, मानवअधिकार समुदाय, सामाजिक संघ संस्था, राजनीतिक दल, सञ्चार, युएईस्थित नेपाली संघसस्थाहरुको छाता संस्था, नेपाली समाज, गैरआबासीय नेपाली संघले यसबारे गम्भिर भएर अमरको जीबन रक्षाको लागि कुटनीतिक तथा कानुनी पहल गरिदिन पटक पटक प्रधानमन्त्री, परराष्ट्रमन्त्री, श्रममन्त्री, नेपाली दुताबास र राज्यका निकायहरु समक्ष अपिल गर्दै आएका छन् । परिवारका सदस्यहरुले अमरको जीवन रक्षाका लागि राष्ट्रपति र प्रधानपन्त्रीलाई भेटी कानुनी र कुटनीतिक पहल गर्न लिखित अनुरोध गरेकोमा प्रधानमन्त्रीबाट अमरको जीवन रक्षाका लागि पहल गर्ने बाचा गरेको पनि करिव दुई महिना वित्न लागेको छ । विश्वभरी रहेका नेपाली तथा शुभचिन्तकहरुले अमरको जीवन रक्षाका लागि तत्काल पहल गर्न अनुरोध तथा विभिन्न अभियानहरु निरन्तर गरिरहेका छन् तर सरकारले अमरको जीबनरक्षाको लागि प्रभावकारी पहल नगरेकोमा हाम्रो गम्भिर ध्यानाकार्षण भएको छ ।

अमरको मृत्युदण्डको सजाय जतिबेला पनि कार्यान्वयन हुन सक्ने भएकाले आफ्नो नागरीकको जीबनरक्षाको लागि कानुनी र कुटनीतिक पहल गर्न हामी सरकारस“ग पुनः अनुरोध गर्दछौ । अमरको जीवनको रक्षाका लागि अमर बचाउ अभियानले निरन्तर अभियानका विभिन्न कार्यक्रम गरिरहेको छ । यस अन्तर्गत पत्रकार सम्मेलन, राष्ट्रपति, प्रधानमन्त्री र सम्वन्धित निकायहरुसँग भेट, मानवअधिकार समुदायको संयुक्त अपिल, राजनीतिक दलका नेता, पुर्व सभासद तथा सामाजिक संस्थाहरुसँग निरन्तर अन्तरकृया, सोसियल मिडियामार्फत दवाव अभियान तथा प्रचार प्रसार, अनलाइन अपिल लगायतका अभियानहरु चलिरहेको छन् । आगामी दिनहरुमा पनि सरकारलाई दवाव दिन विभिन्न दवाव मुलक कार्यक्रम निरन्तर चलिरहने छ ।

यस अभियानमा ऐक्यबद्धता जनाउने, सहयोग गर्ने सबैप्रति आभार प्रकट गर्दै अमर बचाउ अभियानमा आगामी दिनमा पनि सबैको निरन्तर सहयोगको अपेक्षा गर्दछौ ।


अमर बचाउ अभियान

Comment by Bishnu B. Khatri on June 24, 2012 at 12:26pm

बमका परिवारको सहयोगार्थ कोरियामा सहयोग संकलन अभियान सुरु

http://onlinekhabar.com/2012/06/174549.html

सउल । युएईमा मृत्युदण्डको सजाय पाएका जेलमा मृत्युलाई कुरेर बसिरहेका  दार्चुलाका अमर बमका परिवारलाई आर्थिक सहयोग गर्न सूदूरपश्चिम समाज दक्षिण कोरियाले  सहयोग संकलन अभियान सुरु गरेको छ ।छोरो जेलमा परेपछि दुखका जिवन काटिरहेका वृद्ध वृद्धालाई सहयोग गर्ने उदेश्यले सहयोग  संकलन अभियान सुरु गरिएको  सुदूरपश्चिम समाज दक्षिण कोरियाका सचिब सुरेन्द्र भण्डारीले  जानकारी दिनुभयो ।

एक जना भारतीय नागरिकको हत्या प्रकरणमा समातिएका दार्चुला, धारी गाविसका अमरबहादुर बम दुबईको अल अविरस्थित सेल्टर जेलमा मृत्युदन्डको सजाय पाएर मृत्युका दिन पर्खिदै बसेका छन् । सेवा नै धर्म हो भन्ने आत्मसाथ गर्दै दक्षिण कोरियामा रहनु भएका सम्पूर्ण  सुदूरपश्चिमबासी लगायत सम्पूर्ण नेपालीहरु र संघ संस्थाहरुलाई आ­आफ्नो  तर्फबाट सक्दो सहयोग गर्न समाजले अपिल समेत  गरेको छ । सहयोगीहरूबाट प्राप्त रकम  बमको परिवारलाई  हस्तान्तरण गरेपछि सार्वजनिक गरिने पनि समाजले जनाएको छ ।

http://onlinekhabar.com/2012/06/174549.html

Comment by Bhumika Ghimire on June 18, 2012 at 5:49pm

Bishnu ji, very encouraging news. Thanks to team at the organization and Mr Devkota. I am getting good response from bloggers, hopefully more posts on the case soon.

Comment by Bishnu B. Khatri on June 17, 2012 at 11:56am

अमर बचाउ अभियानमा थप केही प्रगति भएको छ ।

नेपाल सरकारले अमरको जीवन रक्षाका लागि युएईका राष्ट प्रमुखलाई औपचारिक पत्र लेखि पठाईसकेको जानकारी आएको छ ।

नेपाल विश्व sahayog संगठनका उपाध्यक्ष राजेन्द्र देवकोटा जो अहिले धनगढीमा बस्नु हुन्छ, शरद सेठ्ठीका परिवारलाई भेट्न यही हप्ता बैंगलोर जादै हुनुहुन्छ । यदि सेठ्ठीका परिवारले अमर बहादुर बम हत्यामा संलग्न नभएको भन्ने सम्वन्धमा सहमत भएर  माफी दिएभने सजिलो गरी अमरको जीवन रक्षा हुन सक्दछ । प्राप्त जानकारी अनुसार सेठ्ठीका परिवारसँग फोन सम्पर्क भईसकेको छ र छलफलका लागि सेठ्ठीका परिवारले तयार हुनुहुन्छ ।

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service