MeroReport

Encouraging and supporting citizen journalism in Nepal

मजदुर दिवस, नेपाली प्रवासी कामदार र सम्मानित काम

आज मे १ अर्थात मजदुर दिवस । देश विदेशमा रहेका सबैमा शुभकामना । विश्वभर मे दिवस मनाईरहदा गल्फ लगायत विभिन्न देशहरुमा रहेका नेपाली कामदारहरुले कामदारले पाउनु पर्ने आधारभुत अधिकारबाट समेत बञ्चित हुनु परेको छ । ठगी र अन्यायको शिकार भएका छन् । नेपाली प्रवासी कामदारहरु अन्यायमा पर्नु, समस्याको शिकार हुनु र ठगिनुमा सम्वन्धित काम गर्ने देशको मात्र दोष छैन । मुहानमा पनि समस्या छ । बैदेशिक रोजगार व्यवसायका नाममा नेपाली युवाहरुलाई ठग्ने, अन्यायमा पार्ने र समस्या भोग्न बाध्य पार्ने मुहान यही कतै देशभित्र नै छ । राज्यका सम्वन्धित निकायहरुमा भ्रष्टाचार नहुने, बैदेशिक रोजगार व्यवसायलाई व्यवस्थित र कानुनी दायरामा ल्याई मनपरीतन्त्र रोक्ने हो भने धेरै प्रवासी नेपाली कामदारहरुलाई सम्मानित काम मिल्न सक्दछ । प्रवासी कामदारलाई सही सुचना मात्र दिन सकेमा पनि धेरै समस्या न्युनीकरण गर्न संभव छ । अन्तर्राष्टिय स्तरका सिप सिकाएर पठाएमा राम्रा काम र सेवा सुविधा नेपाली प्रवासी कामदारले पनि पाउन सक्दछन् ।

दैनिक रुपमा करिव एक हजारको हाराहारीमा नेपाली युवाहरु बैदेशिक रोजगारीका लागि नेपाल छोडिरहेका छन् । यो अभिलेखीकरण भएको तथ्यांक हो । अभिलेखीकरण नभई जाने र भारतको बाटो हुदै जाने नेपाली प्रवासी कामदारहरुको तथ्यांक नेपाल सरकारसँग छैन । करिव तिस लाख भन्दा बढी नेपालीहरु खाडी लगायतका देशहरुमा काम गरिरहेका छन् जसमा अधिकांश सिप नभएका कामदारका रुपमा निर्माण क्षेत्रका कृयाशिल छन् । नेपाली प्रवासी कामदारहरुले अत्यधिक जोखिम, कम तलव र कामदारको आधारभुत अधिकारबाट बञ्चित भएर काम गरिरहनु परेको छ । भारतमा रहेका प्रवासी कामदारहरुको अनुमानित तथ्यांक समेत राज्य र यस  क्षेत्रमा काम गर्ने संघ संस्थासँग समेत छैन ।

एउटा मुलुकबाट अर्को मुलुकमा गई त्यहाँको प्रचलित नियम कानुन र ज्याला दरमा काम गर्ने प्रकृया वैदेशिक रोजगार हो । वैदेशिक रोजगार सम्बन्धी ऐन २०६४ अनुसार वैदेशिक रोजगार भन्नाले कामदारले विदेशमा पाउने रोजगार सम्झनु पर्दछ भनी परिभाषित गरिएको छ । सोही ऐनमा कामदार भन्नाले वैदेशिक रोजगार पाउने नेपाली नागरिक सम्झनु पर्दछ भनी उल्लेख छ ।

वर्तमान बैदेशिक रोजगार ऐनको परिभाषालाई हेर्दा भारतमा रहेका नेपाली प्रवासी कामदारलाई समेत समेटिएको जस्तो देखिएता पनि वास्तविक रुपमा नेपालको विद्यमान बैदेशिक रोजगार ऐनले भारतमा काम गर्ने नेपाली कामदारहरुलाई समेट्न सकेको छैन । वर्तमान कानुनलाई हेर्दा बैदेशिक रोजगारी हुनका लागि पासपोर्टमा भिषा लागेरै विदेश गएको हुनु पर्दछ भन्ने मान्यता देखिन्छ जुन कानुननिर्माताहरुको संकुचित मानसिकताको प्रतिफल हो । नेपालको राजनीतिक इतिहासमा नेता पाल्नेदेखि विभिन्न राजनीतिक आन्दा्ेलनमा योगदान पुर्याउने भारतमा रहेका नेपाली प्रवासी कामदारलाई विद्यमान बैदेशिक रोजगारीसम्वन्धी ऐनले नसमेट्नु भनेको समानता, न्याय, नागरिकप्रतिको राज्यको दायित्वको प्रतिकुल देखिन्छ । सबै प्रकारका आप्रवासी कामदार र तीनका परिवारका सदस्यहरुको अधिकार संरक्षण गर्ने अन्तर्राष्टिय महासन्धीको धारा २.१ अनुसार कुनै व्यक्तिले आफ्नो देश भन्दा बाहिर गई अर्को देशमा कुनै काम गर्नु, कुनै काममा संलग्न भईरहनु वा काममा संलग्न भई अर्थोपार्जन गर्नुलाई जनाउँछ । आप्रवासी कामदार सम्वन्धी अन्तर्राष्टिय महासन्धिलाई आधार मान्ने हो भने पनि भारतमा रहेका नेपाली प्रवासी कामदारलाई पनि नेपालको कानुनले संरक्षणको व्यवस्था गर्नुपर्दथ्यो ।

देशभित्र रोजगारीका अत्यन्त सिमित अवसर सृजना भईरहेको वर्तमान अवस्थामा बिदेश नेपालीका लागि रोजगारीको सजिलो उपाय बनिरहेको छ । देशको राजनीतिक अस्थिरता, विभिन्न खालका हिंसा र रोजगारी सृजना हुन नसकेका कारण वैदेशिक रोजगारी नेपाली महिला पुरुष दुवैका लागि जीवन धान्ने विकल्प र बाध्यता वनिरहेको छ । नेपाली युवाका लागि बाध्यता बनिरहेको वैदेशिक रोजगारले धेरै नेपालीको घरमा चुलो बलिरहेको छ । बालबच्चा विद्यालय जान पाएका छन् । विरामी हँुदा उपचार हुन सकेको छ । समग्रमा देशको कुल ग्राहस्थ उत्पादनमा महत्वपुर्ण योगदान पुगिरहेको छ । रेमिटेन्सले देशको कुल ग्राहस्थ उत्पादनमा दोस्रो ठुलो योगदान पुर्याएको छ ।

    वैदेशिक रोजगारीमा गएका कामदारहरु मध्ये ठुलो संख्या जोखिम र समस्यामा परिरहेका छन् । वैदेशिक रोजगारीका नाममा हुने ठगी प्रवल र संस्थागत बनिरहेको छ । राम्रो काम गर्ने वैदेशिक रोजगार व्यवसायीहरुलाई समेत इमान्दारिताकासाथ काम गर्दा पनि विश्वास नहुने अवस्था बनिरहेको छ । वैदेशिक रोजगारीका नाममा मानव तस्करी र वेचविखनका घटनाहरु पनि बढिरहेका छन् ।

    वैदेशिक रोजगारीसँग सम्वन्धित अधिकांश समस्या आधारभुत सुचना र जानकारी नभएका कारण भइरहेको छ । वैदेशिक रोजगारमा जाने कामदार मात्र होइन, राज्यका निकायहरुलाई समेत कतिपय वैदेशिक रोजगारीसँग सम्वन्धित सुचना र जानकारी छैन । सञ्चार क्षेत्रको सुचनाको श्रोतसम्म पहुँच पुग्न सकेको अवस्था छैन ।

वैदेशिक रोजगारीको प्रमुख कारण त आर्थिक रुपमा आय आर्जन गर्नु नै हो तर यो मात्र एउटा कारण भने होइन । विश्व एउटा सानो गाँउ बनिरहेको र वैदेशिक रोजगारी समेत नागरिकका लागि अहिले रहर र प्रतिष्ठाको विषय बनिरहेको अवस्थामा मानिस वैदेशिक रोजगारीमा जानुका पछाडि बृद्धि विकास, सीमित रोजगारीका अवसर, विभिन्न खालका हिंसा, साथीसंगीको संगत र कहिलेकाही यो एक प्रकारको फेशन पनि भएको छ । कतिपय अवस्थामा यो नेपाली युवाका लागि बाध्यकारी भएको छ भने कतिपयका लागि रहर र फेशनको विषय पनि बनिरहेको छ । कतिपय नेपाली युवाहरु भइरहेको खाईपाई आएको जागिर, व्यवसाय छोडेर वैदेशिक रोजगारमा गएका उदाहरण पनि छन् । साथै घरमा लैगिंक विभेद, आर्थिक दायित्व आईपर्दा महिलाहरु वैदेशिक रोजगारीमा जाने क्रम पनि बढिरहेको छ ।

बैदेशिक रोजगारीमा सामान्य कुरा ख्याल गर्दा जोखिम कम गर्न सकिन्छ । वैदेशिक रोजगारीमा जानुपुर्व आवश्यक कागजात साथमा छ की छैन जाँच गर्नुपर्दछ । कतिपय अवस्थामा कामदारहरुलाई गलत कागजातका आधारमा पनि वैदेशिक रोजगारीमा पठाउने गरिएको छ । त्यसकारण कुनै पनि व्यक्ति वैदेशिक रोजगारीमा जानुपुर्व आफु जान लागेको काम कस्तो हो, कति सेवा सुविधा छ, हप्तामा कति घण्टा काम गर्नुपर्ने हो, विमा लगायत स्वास्थ्य सम्वन्धि सुविधा छ वा छैन, कुनै समस्या परेमा काम गर्न जाने देशमा दूतावास वा अन्य संघ संस्था छन् वा छैनन, भएमा उनीहरुको सम्पर्क नं. कति हो, कमाएको पैसा सुरक्षित रुपमा कसरी घरमा पठाउने र जान लागेको देशका साधारण भाषा, संस्कृति, धर्म, यातायात लगायतका विषयमा ध्यान दिनु र जानकारी लिनु आवश्यक हुन्छ । आफु जान लागेको देश, कम्पनी र काम गरे वापत मासिक कति आम्दानी हुन्छ र आफु कति पैसा खर्च गरेर जान लागेको हो सो वारे पनि जानकारी हुनु पर्दछ । एजेन्ट र मेनपावरले कतिपय अवस्थामा आफुसँग नमिल्ने काममा लागि पठाउने पनि गरिएको छ । त्यसकारण वैदेशिक रोजगारीमा जानुपुर्व कुन कामका लागि जान लागेको हो र त्यो आफुसँग सम्वन्धित हो की होइन, करारपत्र नक्कली हो वा सक्कली हो भन्ने जानकारी लिनु पर्दछ ।

नेपाली कामदार समस्यामा पर्नुको कारणको समाधान गर्नु बुद्दिमता हुन्छ । त्यसको पहिलो कारण बैदेशिक रोजगारीका नाममा भईरहेको छलकपट हो, जहाँ बैदेशिक रोजगार व्यवसायी सँगै राज्यका सम्वन्धित अंगहरुको समेत संलग्नता देखिईसकेको छ । यस्ता गलत अभ्यासलाई रोक्नु पर्दछ ।

गन्तव्य देशलाई गाली मात्र गरेर कुटनितिक असफलता देखाएर केही हुदैन । नेपालले आप्रवासी कामदार र उनीहरुका परिवारका सदस्यहरुको अधिकार सम्वन्धी महासन्धि (१९९०) र घरेलु कामदारको अधिकार सम्वन्धि आइएलओ महासन्धि नं. १८९ तत्काल अनुमोदन गरी सोही अनुसारका कानुनी व्यवस्था र संयन्त्र निर्माण गर्नु पर्दछ । प्रवासी कामदारको रेमिटेन्सबाट तलवभत्ता खाने सरकार, सम्वन्धित निकाय र सरोकारवालाहरुले यस सम्वन्धमा गहन रुपमा सोच्न र आवश्यक पहल गर्नु पर्दछ ।

विश्वभर मजदुर दिवस मनाईरहदा विश्वका विभिन्न भागमा प्रवासी कामदारका रुपमा काम गरिरहेका नेपाली कामदारहरुको अधिकार संरक्षण र सम्मानको अवस्था सृजना गर्न सकियो भने मात्र मजदुर दिवस मनाएको सार्थकता हुन सक्दछ । सम्वन्धित सबैको यसतर्फ ध्यान पुग्न सकोस । नेपाली प्रवासी कामदारले सम्मानित महशुस गर्न सकुन । सबैका लागि सम्मानित काम । सबैका लागि सबै अधिकार ।

Views: 47

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

Comment by इन्द्रध्वज क्षेत्री on May 2, 2012 at 4:22pm

Bishnu Dai rocks!!!

Comment by Ramesh Adhikari on May 2, 2012 at 1:54pm

NIce to Read Bishnu Dai as always.......

© 2014   Created by Equal Access.

Badges  |  Report an Issue  |  Terms of Service