MeroReport

Encouraging and supporting citizen journalism in Nepal

फेयरफ्याक्सका मित्रकहाँ पाहुना लाग्दा…

धेरैको 'सपनाभूमि'' मानिएको अमेरिका एकहदसम्म मेरो पनि 'सपनाभूमि' नै थियो । जिन्दगीको लामो कालखण्ड बितिसक्दा पनि त्यतातिर जाने कुनै योजना बनाएको थिइनँ । पछिल्लो घडीमा त त्यो योजना झन् पूरापूर अलपत्र नै थियो । तर कसो कसो अमेरिका जाने साइत जुर्यो । धेरैको 'सपनाभूमि' बनेको अमेरिकामा अनपेक्षित रुपमा पाइला टेक्ने भइयो । अमेरिकी राजदूतावासको चाँजोपाँजोमा एक अध्ययन भ्रमण त्यसतर्फ जाने भएँ । ओहाइयो विश्वविद्यालयअन्तर्गत रहेको 'इडब्लू स्कूल अफ जर्नलिज्म' मा पत्रकारिता र आमसंचारबारे अध्ययन गर्न २०६८ साल असार १७ गते अमेरिकातर्फ लागें । अध्ययन भ्रमण देशका संचार र पत्रकारिता पढाउने शिक्षकहरु सामेल थिए । यसमा १७ देशको सहभागिता थियो ।

अमेरिका जाने निधो भएपछि त्यहाँ रहनुभएका साथीसंगीहरुलाई 'फेसबुक' मार्फत भ्रमणबारे जानकारी दिन थालेको थिएँ । मैले आफ्नो भ्रमणबारे जानकारी गराएका मित्रहरुको 'हिट लिस्ट' मा विष्णु शीतल र गिरिश पोखरेल हुनुहुन्थ्यो । उहाँ दुवैजनाले वासिङ्टन आउँदा सम्पर्क गर्नुहोला भनेर बेग्लाबेग्लै फोनसम्पर्कमा भन्नुभएको थियो । साथीसंगीहरुको गुलियो बचनले मेरो मन फुरुङ्ग भएको थियो ।  

ओहाइयो विश्वविद्यालयमा अनौपचारिक अध्ययन पूरा गरेपछि अमेरिकाको केही राज्यहरु चाहरेर वासिङ्टन आइपुगें । वासिङ्टनमा घुम्नलायक थुप्रै ठाउँ छन् । तर एक एक गरेर सबै घुम्नलाई हामीसंग समय थिएन । यसलाई ख्याल गरेर होला आयोजकहरुले ट्रली बसको टिकट काटिदिएका रहेछन्, त्यस टिकट प्रयोग गरेर बसमा सिङ्गो  वासिङ्टन घुम्ने मौका मिल्यो । बसका ड्राइभरले निकै फूर्तिलो शैलीमा ठाउँको ब्रिफिंग गथ्र्यो ।

उनले अमेरिकाका घरबारविहीनहरुको बारेमा पनि ब्रिफिंग गरेको थियो । उनका अनुसार वासिङ्टनमा मात्र ५ हजारको संख्यामा घरबारविहीनहरु छन् । पार्क एवम अन्य सार्वजनिक स्थलमा रात बिताउने ती अधिकांश घरबारविहीनले आफ्नो सामान राखिएको ठेलामा अमेरिकाको झण्डा फहराउने गर्दा रहेछन् ।

वासिङ्टन घुम्न निस्कँदा जानैपर्ने ठाउँ 'न्यूजियम' पनि हो । पत्रकारिताको विद्यार्थीले झन छुटाउनै नहुने ठाउँ हो यो । पत्रकारिता र आमसंचारको संग्रहालयको रुपमा रहेको 'न्यूजियम' भ्रमण गर्दा मिडियाको विगत र आगतबारे थुप्रै जानकारी पाउन सकिन्छ । मेरो लागि त त्यस 'न्यूजियम' मिडियाको अघोषित विश्वविद्यालय नै हो ।  

अमेरिकाको सुन्दर शहरहरुमध्ये एक मानिने वासिङ्टन आइपुग्दा नेपाल फर्कने घडी पनि नजिकिँदै थियो । अध्ययन भ्रमण कार्यक्रमअन्तर्गत घुमघाम र भेटघाटको व्यस्त तालिकाबाट अतिकति समय निकालेर विष्णु शीतल र गिरिश पोखरेलसंग फोनमा बात मारें । व्यस्त जीवनशैलीको मध्यधारमा रहेका कामकाजीहरुलाई फुर्सद निकाल्न गाह्रो पर्ने रहेछ ।
 
व्यस्तताको बीचमा विष्णु शीतलले आफ्नो निवासमा आउनका लागि निम्ता दिनुभयो । जान मन भए पनि म एक्लै उहाँको निवासमा पुग्न सक्तिनथें । यही वास्तविकतालाई बुझेर उहाँ मलाई लिनका लागि म बसेको होटलमा आउने हुनुभयो । यसका लागि मैले उहाँलाई होटलको अवस्थिति (लोकेसन) बताउनुपर्ने थियो ।  

वासिङ्टन मेरो निम्ति नितान्त नयाँ ठाउँ थियो । त्यहाँको भूगोल र जीवनशैलीसित म धेरै हदसम्म अपरिचित थिएँ । रिसेप्सनमा फोन गरेर होटलको ठेगाना मागे पनि हुन्थ्यो । मैलै त्यसो गरिन । आफ्नै अघिल्तिर रहेको होटलको सरसफाइ गर्ने कामदारसंग होटलको ठेगाना बताइदिन आग्रह गरें । उनी भियतनामी रहिछन् । अमेरिकामा बसेर काम गर्न थालेको ६ वर्ष जति भएको रहेछ । उनले होटलको यथार्थ अवस्थिति बताउन सकिनन् तर उनले आफ्नो साथीसंग सोधेर कागजमा टिपेर दिइन् । त्यतिबेला ती भियतनामी महिलाले राम्रै गुन लगाइन् । त्यही आधारमा विष्णु शीतललाई 'भ्वाइस मेसेज' टिपाएँ । यसलाई अनुसरण गर्दै उहाँ मलाई लिन आउनुभयो  ।  

हाम्रो टोली मेरियट होटलमा बसेको थियो । मलाई लिन विष्णु शीतल आउँदै हुनुहुन्थ्यो । म होटलको लबीमा प्रतीक्षारत थिएँ ।  

यत्तिकैमा एकजना किशोरले मेरो छेउमा आएर शिष्ट र नम्र भाषा भने 'तपाई दुरा अंकल होइन ?' उनी विष्णु शीतलको छोरा रहेछ ।

मैले भनें 'हो ।'

'बुवा आउनुभएको छ । गाडी पार्क गदै हुनुहुन्छ ।' उनले भने ।  

नभन्दै विष्णु शीतल गाडी साइड लगाउँदै हुनुहँदो रहेछ । समयको लामो अन्तरालपछि उहाँसंग भेटघाट भयो । २०५७ सालतिर 'नेपाल समाचारपत्र' मा काम गर्न जाँदा उहाँसंग भेटघाट भएको थियो । त्यतिबेला उहाँबाट प्राप्त सहयोग र सद्भाव म निकै प्रभावित थिएँ । उहाँ 'नेपाल समाचारपत्र' मा आर्थिक बिट हेर्नुहुन्थ्यो । समयक्रममा उहाँ सपरिवार अमेरिकातिर लाग्नुभयो ।

म उहाँको गाडीमा बसें । यसपछि 'नेविगेटर' को सहारामा हाम्रो यात्रा अघि बढ्यो । उहाँले बाटो भुल्नुभयो । केही समय एउटै बाटोमा ओहोरदोहोर गर्नुपर्ने अवस्था आयो । तर गन्तव्य पत्ता नलाग्ने कुरै भएन । हामी कोलम्बसको जस्तो कुनै भयानक अन्वेषणात्मक सामुन्द्रिक यात्रामा थिएनौं ।

बाटो चौडा, सफा र सुन्दर थियो । गाडी वेगवान् बनेर गुड्दै थियो, मेरो मन त्यसभन्दा वेगवान् थियो ।
 
विष्णु शीतलको निवासमा जाने कार्यक्रम तय भएकोले अध्ययन भ्रमणअन्तर्गत वासिङ्टनमा तय भएका केही औपचारिक कार्यक्रमहरु छाडिदिएँ ।

बाटोभरि जीवन भोगाइ र सुखदुःखको भलाकुसरी चलिरह्यो । नेपाल छाडेर अमेरिका आउँदासम्मको भाग्यरेखाका धार्साहरु ठम्याउन खोज्दै हुनुहुन्थ्यो, विष्णु शीतल । जीवन भोगाइका उहाँका अनुभूति मातृभूमि छाडेर विदेशिने सरदर नेपालीहरुको जस्तै 'आधा  सन्चो, आधा बिसन्चो' जस्तो लाग्यो । एकतिर नेपाल छाडेर अमेरिका आउँदा दुइटा छोराको भविष्य सुन्दर बन्ने आशा आँकुरा उहाँमा टुसाएको थियो भने अर्कोतिर नेपालमा पत्रकारिता गर्दा कमाएको नाम अमेरिकाको भवसागरमा बिलय हुन लागेकोमा उहाँमा कताकता छट्पटी भेटिन्थ्यो ।

खुला सडकमा गाडी हुँईकंदै थियो । बल्ल बल्ल भेटघाट भएकोले कुरा तुरिने कुनै छाँटकाँट नै थिएन । गन्थन गर्दागर्दै वासिङ्टन नजिक रहेको उहाँको निवास फेयरफ्याक्स काउन्टीमा पुग्यौं । त्यहाँको वातावरण सुन्दर र मनमोहक थियो । फूल ढकमक्क फुलेका थिए । त्यहाँको वातावरणप्रति म लोभिएको देखेर उहाँले त्यहाँको प्राकृतिक वातावरणको चर्चा गर्नमा केही समय खर्चनुभयो । उहाँले  सुन्दर र हराभरा वातावरण भएको बेलामा पुगेकाले दिलखुश भएको तर हिउँद शुरु भएपछि उराठलाग्दो अवस्था आउने जानकारी दिनुभयो ।   

करेसबारीमा तरकारी गजवसित फलेका थिए । त्यहाँको वातावरण देखेपछि विष्णु शीतलले फेसबुकमा राख्नुभएको तस्बिरको सम्झना आयो । उहाँले करेसाबारीमा काम गरिराख्नुभएको आफ्नी श्रीमतीको तस्बिर फेसबुकमा पोष्ट गर्नुभएको थियो ।  

मैलै उहाँलाई सोधें 'तपाईले फेसबुकमा राख्नुभएको यहीको फोटो होइन?'

एक हलको मेलो हाँसेर उहाँले स्वीकारोक्ति दिनुभयो ।

साँझमा विष्णु शीतलले कामबाट भर्खरै फर्कनुभएको श्रीमतीसंग चिनजान गराउनुभयो । उहाँ अलि कम बोल्नुभयो । उहाँ अल्पभाषी हो वा बेखुश हुनुभएको हो  मलाई खुट्याउन कठिन भयो । 'कतै मेरो उपस्थितिले उहाँ बेखुश हुनुभएको त होइन ?' मनमनै प्रश्न गर्न थालें । मनमा कता कता चिसो पस्यो ।

तर मेरो मनभित्र उब्जिएका शंका गलत सावित भयो । उहाँले कुरा गर्न थाल्नुभयो । पोषिलो र मिष्ठान्न खानेकुरा खुवाएर उहाँले स्वागत सत्कार गर्नुभयो । मेरो अगाडि आदरपूर्वक र प्रेमपूर्वक टक्र्याइएका स्वादिष्ट परिकारमध्ये खिर पनि एक थियो । अमेरिकामा पुगेर खिर खाइन्छ भनेर चिताएकै थिइन । तर नचिताएको कुरा भयो । खिर खाइयो । त्यहाँ प्राप्त स्वागत-सत्कार एवम आतिथ्य अब्बल दर्जाको थियो ।

त्यहाँ अर्को पनि नचिताएको कुरा भयो ।  रक्षा बन्धन गर्ने मौका पनि जुर्यो । अमेरिकामा पुगेर रक्षा बन्धन गरिन्छ भन्ने कुरा मेरो कल्पनाभन्दा बाहिरको कुरा थियो ।  'आज जनैपूर्णिमा हो, रक्षा बन्धन  गर्नुपर्छ ' विष्णु शीतलले भन्नभयो । उहाँले हातमा धागो बाँधिदिएर रक्षा बन्धन  गरिदिनुभयो । म मख्ख परें । देशको परम्परा र सँस्कृति महत्व विदेशिनेहरुले बढी बुझ्दा रहेछन् भन्ने लाग्यो ।

अमेरिकामा बसेर अनलाइन न्यूज पोर्टल सञ्चालन गर्दै आउनुभएका मित्र गिरिश पोखरेलसंग पनि विष्णु शीतलकै निवासमा भेटने योजना थियो । कार्यव्यस्तताले उहाँ आउन भ्यानुभएन ।

पत्रकार भएर होला विष्णु शीतललाई सूचनाको भोक निकै लाग्दो रहेछ । उहाँ इन्टरनेटमार्फत नेपाली एफएम रेडियोहरु सुन्नुहुँदो रहेछ । भरतपुरबाट प्रसारण हुने कालिका एफएम उहाँको प्रिय रेडियो रहेछ । रेडियॊबाट प्रसारित सामग्रीले नेपालको राजनीतिक एवम् सामाजिक घट्नाक्रमहरुबारे धारणा बनाउन उहाँलाई सजिलो भएको पारिदिएको रहेछ ।  


आमसंचारको विभिन्न काममध्ये संयोजन गर्ने जोडने पनि हो भनिन्छ । विदेशमा रहेका नेपाली समुदायलाई मातृभूमिसंग भावनात्मक रुपमा जोड्ने काम गरेकोमा नेपाली एफएम रेडियोहरुलाई मनमनै आभार प्रकट गरें । नेपाल फर्केपछि मेरा विद्यार्थीलाई आमसाचारको कार्यहरुबारे पढाउँदा यो कुरा पनि उनीहरु समक्ष राखें ।

उहाँको निवासमा पुगेपछि पनि कुराको सेलरोटी पाक्न छाडेन । हामी दुइजनाले नेपाली समाज र अमेरिकी समाजलाई तुलना गर्ने प्रयास गर् यौं । अमेरिकी समाजले जादुमय शैलीमा प्रगति गर्नुका पछाडि अनुशासिन र परिश्रमी बानीव्यहोरा नै  भन्ने निष्कर्ष निकाल्न हामीलाई कुनै कठिनाइ भएन ।  
 
कुराकानीका क्रममा अमेरिका रहेका नेपालीहरुबारे उहाँले मलाई थुप्रै जानकारी दिनुभयो ।  कतिपय नेपाली अमेरिकामा उच्च स्थानमा पुगेको र उनीहरुले लोभलाग्दो किसिमले प्रगति गरेको कुरा पनि उहाँसंगको कुराकानीबाट थाहा भयो ।

नेपालबाट अमेरिका पुगेर उतै बसोबास गरेका नयाँ पुस्ताका नेपालीले नेपाली भाषा भुल्न थालेको यसप्रति अभिभावक चिन्तित बन्न थालेको जानकारी पनि उहाँबाट थाहा भयो ।

कुरैकुरामा न्यूयोर्कमा रहेको एकजना साथीको मैले नाउँ लिएँ । उनी त्यहाँ ट्याक्सी चलाउँछन् भन्ने सुनेको थिएँ । यत्तिकैमा विष्णु शीतलले न्यूयोर्कमा रहेको आफ्नो एकजना साथीलाई फोन गर्नुभयो । तर उहाँले पनि मैले नाउँ लिएको साथीको निधो गर्न सक्नुभएन । न्यूयोर्कमा रहनुभएको साथीले त्यहाँ लगभग ३ सय नेपालीहरु ट्याक्सी ड्राइभरको रुपमा कार्यरत रहेको जानकारी दिनुभयो ।  

कुराकानीको शिलसिला अघि बढ्दै जाँदा उहाँले नेपालमा पत्रकारिता गरेका र अमेरिका पुगेर पत्रकारितालाई नै निरन्तरता दिने पत्रकारहरुबारे पनि उहाँले नालीबेली नै केलाउनुभयो ।  

अमेरिकामा नेपाली समुदायको बढ्दो आकारले नेपाली संस्कृति र जीवनशैलीले स्थान ओगट्न थालेको रहेछ । एकआपसमा भेटघाट गर्ने, मर्दपर्दा एकअर्कालाई साथ लिने र सुखदुःखमा साथ दिने परिपाटी विकास हुन थालेको रहेछ । 'जिउँदाको जन्ती मर्दाको मलामी' भन्ने नेपाली भनाइ चरितार्थ हुन थालेको रहेछ । निकै खुशी लाग्यो ।
 
साँझ छिप्पिंदै जाँदा कुराकानीले गति लिंदै गयो । उहाँले आफू रहेको फेयरफेक्स काउण्टी र त्यस वरिपरि रहेका नेपालीहरुबीचको सहकार्यको कुरा गर्नुभयो । त्यस क्षेत्रमा चाडवाडमा भेला भएर नेपाल समुदायबीच सुखदुःख साट्ने राम्रो परम्परा शुरु भएको रहेछ ।

आफ्नो आमाको अमेरिकामा निधन हुँदा नेपालीहरुबाट साथ र सहयोग पाएको विष्णु शीतलले बताउनुभयो । आमा विरामी भएर अस्पताल रहँदा पनि अस्पतालमा कुर्न जाने र आवश्यक कुराहरुको चाँजोपाँजो मिलाउने काममा नेपाली बन्धुबान्धवहरुले निकै सहयोग गरेका रहेछन् । नेपालीहरुले देखाएको भाइचाराको यो मीठो दृष्टान्त थाहा पाउँदा खुसी पनि लाग्यो ।  

भेटघाट मीठो भए पनि समयको सीमा कायमै थियो । विष्णु शीतलको निवासमा रात बिताएपछि भोलिपल्ट विहान उहाँले मलाई हामी बसेको होटलमा ल्याइदिनुभयो ।


उहाँलाई विदाइको हात हल्लाएर छुट्टिएपछि फेरि पनि अन्तर्राष्ट्रिय साथीहरुको हुलमा मिसिएँ । दिउँसो यूएस स्टेट डिपार्टमन्टले आयोजना गरेको विदाइ कार्यक्रमलगायत अन्य कार्यक्रमहरुमा सहभागी भएँ । यस क्रम 'भ्वाइस अफ अमेरिका' को मुख्यालयमा पुगियो । 'भ्वाइस अफ अमेरिका' का पदाधिकारीहरुले सम्पादकीय स्वतन्त्रता र निष्पक्षताका दृष्टिले आफ्नो बीबीसीभन्दा कम नभएको बताए । तर भ्रमण संलग्न सहभागीहरु यो कुरा स्वीकार्न तयार भएनन् ।

साँझमा 'इडब्लू स्कूल अफ जर्नलिज्म' ले आयोजना गरेको विदाइ भोज सहभागी भइयो । आयोजक र सहभागीहरुले एक अर्कामाथि मीठा शब्दहरु बरसाए । मैले पनि विदाइस्वरुप विदेशी साथीहरुलाई खादा लगाइदिएँ ।  

साँझमा गिरिश पोखरेलसंग 'फेसबुक' मार्फत च्याट गरें । उहाँले एउटा दुःखद खबर सुनाउनुभयो । वासिङ्टको डल्लास एयरपोर्ट नजिक एयरपोर्ट सटल दुर्घटना भएर मित्र सुवास दर्नालको निधन भएको रहेछ । राम्रो सम्भावना बोकेको व्यक्तिको असमयमै असवास भएको थाहा पाउँदा हुनसम्म दुःख लाग्यो ।  

  अगष्ट १६ तारिख २०११ । नेपाल फर्कनुपर्ने दिन । छुट्टिने बेलामा कार्यक्रममा सहभागी मित्रहरुबीच अंकमालको महामारी नै चल्यो । हामीलाई एयरपोर्ट पुर् याउने गाडी तम्तयार थिए । कोठाबाट सामान निकालेर काउण्टरतिर हतार हतार हान्निन लागेको थिएँ । समय छोंट्टिदै थियो ।

सामान लिएर लिफ्टमा चढें । होटलको ठेगाना टिपाएर सघाउने भियतनामी महिलाले परैबाट मलाई चिनिछन् ।  उनले विदाइको हात हल्लाइन् । उनले जसै हात के हल्लाएकी थिइन्, लिफ्टको ढोका घर् याक्क लाग्यो । मैले प्रत्युत्तर दिन पाइन । अलमल गर्नलाई समय थिएन । उनले के ठानिन् होला जस्तो लाग्यो । धेरैबेरसम्म खसखर लागिरह्यो । एउटा मानवले अर्को मानवलाई 'फ्रेन्डली जेस्चर' दिएको घडीमा पनि प्रतिक्रियाविहीन बन्नुपर्दा ननिको लाग्यो । के गर्नु ! 'माछी काँडैले, नजर लाउँदैमा छेक्यो डाँडैले' भनेजस्तो पो भयो ।  

अन्तत साथीसंगीलाई अमेरिकातिरै छाडेर सम्झनामात्र लिएर नेपाल फर्किएँ । मनमा विचारका अनेकौं ज्वारभाटा चलाउँदै त्रिभुवन विमानास्थालमा उत्रिएँ । विमानास्थालमा झरेपछि एकपटक मन निकै खिन्न भयो । एयरपोर्टको अवस्था देखेर मुटुको छेउ चसक्क गरेर दुख्यो । अरु देशको एयरपोर्टलाई नेपालको एयरपोर्टसंग तुलना गर्दा भित्री मन निकै रोयो ।  

अरु देशले एयरपोर्ट सुन्दर र सुविधाजनक बनाउन सक्छ भने नेपालले किन बनाउन सक्तैन ?  मनमनै प्रश्न गर्न थाले । बाक्लै रुपमा विदेश भ्रमण गर्ने नेताहरुले अरु देशको सुन्दर र सुविधाजनक एयरपोर्ट पक्कै देखेका छन् । तर आफ्नो देशको एयरपोर्टलाई सुन्दर र सुविधाजनक बनाउनेबारे किन सोंच्दैनन  ? भव्य र सुविधाजनक निजी महल बनाउन सक्ने देशको नेतृत्व वर्गले एयरपोर्टजस्तो राष्ट्रिय सम्पत्तिलाई भव्य सुविधाजनक र वैभवशाली बनाउनबारे किन सोंच्दैनन् वा सोंचेका भए किन कार्यान्वयन गर्न सक्तैनन् ? यी र यस्तै प्रश्नले मनलाई उद्धेलित बनायो ।

देशको अवस्था जेजस्तो भए पनि मन नबुझाई सुखै थिएन । नेपाल फर्किएर फेरि पनि उही अव्यवस्था र अस्तव्यस्त परिवेशमा जुध्नु छँदैथियो । कुनै बेला एउटा भनाइ सुनेको थिएँ 'पोले पनि घामै जाती, पिटे पनि आमै जाती'। यही भनाइ सम्झेर मन बुझाएँ । अनि यही भनाइ मनमा राखेर मातृभूमिको मायालाई फेरि एक पटक मुटुमा सजाएँ । तर संसारको वैभवशाली देशमा संगालिका मीठो सम्झनाले बेलाबखतमा मन धर्किन्छ । मनमा ज्वारभाटा चल्न थाल्छ । सम्झनाका ती ज्वारभाटाले बेलाबखतमा मभित्रको राष्ट्रियताको किल्ला भत्काउने असफल प्रयास गरिरहन्छ ।
 

Views: 112

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

Comment by sabita Acharya on April 27, 2012 at 4:54pm

माछी काँडैले, नजर लाउँदैमा छेक्यो डाँडैले' भनेजस्तो पो भयो ।   nice sir

© 2014   Created by Equal Access.

Badges  |  Report an Issue  |  Terms of Service