MeroReport

Encouraging and supporting citizen journalism in Nepal

'पूर्व सभासद्......वसन्तपुर दरबार परिसरमा भिख माग्दै'

केहि दिन अघि एक टेलिभिजनले देखाएको भक्तपुरकी कान्छीमायामाथिको जघन्य अपराधले फेरी एकचोटी मेरो मन हल्लाएको छ । जतिजती दिनहरू बित्दैछन, समाज आधुनिक र सभ्य भनिने ढङ्गले विकसित हुँदैछ । त्यत्तिनै दूर्दिन बढ्दो छ वृद्धवृद्धाको । यो कुराले सानैदेखि मेरो मन छुन्थ्यो र अलिखित अध्ययन गरिरहन्थें ।

पछिल्लो समयमा काठमाडौँको वसन्तपुर दरवार परिसरमा वटुवा र चिनेजानेका मान्छेहरूसँग गफ गर्दै र दयावानहरूले दिएका २/४ रुपैयाँ जम्मा पारेर उसिनेको साग खादैँ बस्ने एक वृद्ध आमाका बारेमा अध्ययन गर्न म तीन चोटीसम्म त्यहाँ पुगें । उहाँ बाटोमा हिड्ने मान्छेले आत्मियताका साथ सोध्दा आफ्ना सबै कुरा भन्नुहुन्छ तर मिडियासँग बोल्न चाहनुहुन्न । कारण आफ्नी श्रीमती र छोराछोरीसहित आफ्नो घरमा सुख साथ बसेको छोराले सुन्यो भने र वरपरकाले थाहा पाए भने छोरालाई नराम्रो हुन्छ रे । त्यही छोरा, जसको बाबु बितेपछि तिनै आमाले दुःख गरेर पढाएकी थिइन् । पहाडमा दुःख भयो भनेर काठमाडौँ ल्याई आफूले अर्काको भाँडा माझेर पढाएकी थिइन र इलेक्ट्रिसियन बनाएकी थिइन् । हो, त्यही छोरा १२ वर्षदेखि आमाको खोजखबर बिना बसेको छ । अझ बाबु मर्ने बित्तिकै उमेर पुगेपछि भोगचलन गर्न मिल्नेगरी तिनै आमाले उसको नाममा गरिदिएको पहाडको जायजेथा पनि आफूखुसी बेचबिखन गरिसकेको छ ।

यता पचहत्तर कटेकी आमा एक भारी थाङ्ना-मुङ्ना र केही भाँडाकुँडासहित ठाउँर्सर्दै काल पर्खिंदै छिन् । हामी कहाँ एउटा भनाइ छ "साना छउञ्जेल मर्लान् भन्ने पीर, ठूला भएपछि मार्लान् भन्ने पीर" वास्तवमै यो उखान यथार्थ बनेको छ । भक्तपुरकी कान्छीमाया र वसन्तपुरकी ती आमा त यो समाजका प्रतिनिधि वृद्धवृद्धा मात्र हुन् । कोही फालिएका होलान्, कोही त्यागिएका होलान् र कोही घरभित्रै हेपिएका होलान् । चाहे जे होस्, ममता र अनुभवका खानी वृद्धवृद्धाको अवस्था साँच्चैनै नाजुक बनिरहेको छ । हामी आज बालक, युवा, महिला, दलित, जनजाति, मधेसी, पहाडी, थारू जे जति वर्ग र समुदायका नाममा आवाज उठाइरहेका छौं ति सबै आवश्यक त छन् नै साथमा यी सबैको साझा भविष्य भनेको बुढेसकाल नै हो । तर यसतर्फभने कसैको ध्यान जान सकेको छैन ।

देश संविधान निर्माणको क्रममा छ । सबै क्षेत्र, वर्ग र समुदायका भावनालाई समेट्ने संविधान निर्माणका लागि भनेर सभासद्हरू गाउँ-गाउँ पनि पुगेका छन् । यसका अलावा विभिन्न सङ्घसंस्थाले पनि आ आ-आफ्नो सम्बन्धित क्षेत्रका सुझावहरू समेटी एकमुष्ट रूपमा पनि दिइनै रहेका छन् र यो क्रममा हाम्रा सभासद् ज्यूहरूलाई प्रश्न गर्न चाहन्छु तपाईंहरू सोध्नु मात्र हुन्छ कि बुझ्नु पनि हुन्छ ? सुन्नु मात्र हुन्छ कि देख्नु पनि हुन्छ ? के सुझाव सङ्कलन टोली हरेक जसो मन्दिरका बाहिर आशामुखी बनेर माग्न र पशुपती, देवघाट जस्ता वृद्धाश्रममा बस्न बाध्य पारिएका वृद्ध वृद्धासम्म गइरहेको छ ? के आजका उनीहरूका र भोलीका आफ्नै नियतिलाई सुधार्न संविधानमा लेखिने केही बुँदा तयार भएका छन् - हामी कहाँ एक अर्को भनाइ छ "उँधी माया" । जब आफ्ना सन्तान जन्मन्छन् तब मान्छे उनैमा आफ्नो आश, गाँस र सास भर्दै जान्छन् । आफूले जीवनभर रगत पसिना बगाएर जोडेको सम्पत्ति बाँडी दिन्छन् । नदिउन पनि कसरी - जब हाम्रो कानुनले नै बाबु आमाले छोराछोरीलाई आफ्नो क्षमताले भ्याउनेसम्मको सेवा सुविधा नदिए जन्म र कर्म दिने बाबुआमाका विरुद्ध मुद्दा हालेर पनि अङ्श पाउने अधिकार दिएको छ भने । अनि त्यहि कानुनले आफ्नो क्षमता अनुसार बाबुआमालाई लालनपालन नगर्ने सन्तानलाई कुनै सजायँको व्यवस्था चाँही गरेको छ कि छैन ? यदि त्यस्तो व्यवस्था नै गरे पनि उँधी मायामा बगेका वसन्तपुर दरबार परिसरमा भेटिनु भएकी आमा जस्ता वृद्धवृद्धाले कानुनी बाटो अपनाउलान् ? नअपनाएको खण्डमा उनीहरूको जिम्मा कस्ले लिइदिन्छ ?

यस्ता विषयमा हिजोदेखि आजसम्मका सरकार, सडकमा उत्रेर चक्काजाम नगरेसम्म थाहा पाउँदैनन्, आवाज उठाउने भनेका अधिकारवादी सङ्घसंस्था पैसामुखी छन्, भने वृद्धवृद्धाका यी विषयमा चर्चा कस्ले चलाई दिन्छ ? यदि यस्तै पारा हो भने सधैं सन्तानकै सुख र खुसी चाहने अग्रज पुस्ताले भ्याए आफ्ना लागि र नभ्याए आफ्ना निष्ठुरी सन्तानकै लागि भए पनि सडकमै उत्रिनु पर्ने बेला भएको छ ।

किनकी तपाईं हामीले हाम्रा प्रतिनिधि बनाएर ठाउँमा पुर्याएकाहरू आफ्नो सुख सुविधा र सत्ता बाहेक अरु सोच्नेवाला छैनन् । हुन त उनीहरू सबैकै बुढेसकाल पनि कृष्णप्रसाद भट्टराइको झैं सुरक्षित त कहाँ छ र ? यदि अब बन्ने संविधानमा वृद्धावस्थाको सुरक्षाका लागि विशेष व्यवस्था गराउन सकिएन र त्यहि अनुसार कार्यान्वयनमा अघि बढिएन भने जनताका त कुरा छोडौं आजका छ सय एक सभासद् मध्ये कतिका सहारा विहिन बुढेसकालका कथा यिनै सञ्चार माध्यमले लेख्नु, सुनाउनु र देखाउनु पर्नेछ । र शीर्षक हुनेछ

'पूर्व सभासद् .........वसन्तपुर दरबार परिसरमा भिख माग्दै'

 

साभारः आफ्नै पुरानो ब्लगबाट http://wwwproducerdurga.blogspot.com/

Views: 105

Tags: Article, Basantapur, Citizen, Darbar, Parisar, Senior

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

Comment by JawKnockRaazaa on March 29, 2012 at 10:45am

Issue is nice, but the title is a bit "Sandhyakaleen" type!!

© 2014   Created by Equal Access.

Badges  |  Report an Issue  |  Terms of Service