पत्रकारिताबारे गुनासै गुनासो !

डा. सुरेश अाचार्य
नेपाली मिडियाबारे नागरिकको बुझाइबारे छलफल गर्ने क्रममा अघिल्लो साता पश्चिम नेपालको यात्रा गरियो। कञ्चनपुर, धनगढी र नेपालगञ्जमा  एकएकवटा मिडिया सुनुवाइ भए। नेपाल पत्रकार महासंघले गरेको सार्वजनिक सुनुवाइको शीर्षकमा थियो– नागरिकको नजरमा मिडिया। यी कार्यक्रममा पत्रकारलाई नेपाली पत्रकारिताकै भाषामा गालीगलौज त गरिएन तर खुलेरै आलोचना भयो। मिडियाबारे यसका पाठक, श्रोता र दर्शकले बनाएको दृष्टिकोणले नेपाली पत्रकारिताको विश्वास बढाएको पाइएन।

पत्रकारितामा स्नातकोत्तर गरेका बाँकेका प्रहरी प्रमुखले पत्रकार जिम्मेवार बन्दै गएको भनेर समग्रमा पत्रकारिताको प्रशंसा नै गरे। तर आमनागरिक वा समाजको अरू क्षेत्र उनले भने जस्तै खुसी भने देखिएन।

कञ्चनपुरमा भएको कार्यक्रममा हेल्प नेपालका मदन चन्दले गरेको टिप्पणीकै सेरोफेरोमा नेपाली मिडियालाई हेर्ने गरेको पाइयो। चन्द र अरू सहभागीको भनाइ थियो– मिडिया पार्टीका हलिया बनेका छन्। पार्टीमा नलागेकाहरूका समाचार नै आउँदैन। ९० प्रतिशत विज्ञापन छाप्छन्, १० प्रतिशत समाचार हुन्छन्। ती समाचार पनि कुनै अनलाइनमा अघिल्लै दिन आएका र केवल कपी–पेेस्ट गरिएका हुन्छन्। सबै मिडियामा एकै खालका वा एउटै समाचार आएका छन्। विज्ञापन पनि जेठको म्याद भएका सूचना असारभरि प्रकाशन–प्रसारण भइरहेको हुन्छ। स्थानीय समाचारमा कसैको चासो छैन। खोजमूलक समाचार आउँदैन। सदरमुकामभन्दा बाहिर छापामाध्यम पुगेकै छैनन। आचारसंहिताबारे पत्रकारहरू नै जानकार छैनन्। भाषाको प्रयोगमा कुनै शिष्टता छैन। कुनै काम नपाएपछि पत्रकार बन्ने प्रवृत्ति बढेको छ। मर्यादित भाषा प्रयोग नभएका कारणले मिडिया सुरक्षामा खतरा बढेको छ।

धनगढीको कार्यक्रममा पनि यसै सेरोफेरोमा धारणा आए। कुनै बेला पत्रकारिता गरेकी अनिता उपाध्यायको प्रस्तुति धेरै पत्रकारलाई आक्रोशित बनाउने खालको थियो। अनिताको टिप्पणी थियो – पत्रकारिता जिम्मेवार पेसा हो। तर पत्रकारले पेसाको दुरूपयोग मात्र गर्ने गरेका छन्। हरेक मिडिया कुनै न कुनै पार्टीसँग जोडिएका छन्। निष्पक्षता फेला पार्न कठिन छ। सूचनालाई तोडमरोड गरेर प्रस्तुत गरिन्छ। हरेक मिडियामा एउटै समाचार फेला पर्छ। आचारसंहिताबारे उनीहरूलाई थाहा नै छैन, पढेकै छैनन्। सहरकेन्द्रित पत्रकारिता छ। गाउँघरका दुःख मिडियामा पढ्न, सुन्न पाइँदैन। पत्रकारहरूले पढ्नुपर्छ भन्ने छैन। आफैँलाई उदाहरण बनाउँदै नेपाल बार एसोसिएसनका केन्द्रीय उपाध्यक्षले त यतिसम्म भन्न भ्याए– पहिले वकिललाई फटाहा भन्थे। अहिले पत्रकारलाई फटाहा भन्न थालिएको छ। मिडियालाई कसैले प्रयोग गरिरहेको छ भनिरहँदा उनले काठमाडौँबाट निस्कने अखबारको नामै लिएर न्यायाधीश रणबहादुर बम मारिँदा यथार्थ नखोजी ७० लाख घुस खाएका कारण मारिएको भनेर समाचार प्रकाशन गरेको उदाहरण पनि दिए।

नेपालगञ्जमा सूचनाको हकका क्षेत्रमा क्रियाशील विश्वजीत तिवारीको टिप्पणी अझ कठोर थियो। तिवारीको भनाइ थियो– मिडियामा आएका सामग्रीको जिम्मेवारी कसले लिने? पत्रकारले पैसा लिएर लेख्छन् भन्ने सुनिन्छ। मिडियामा आएका विषयबारे जिम्मेवार पक्षले के गर्‍यो भनेर कसले खोज्ने? इन्सेकका नारायण सुवेदीको आरोप त प्रतिशोधका लागि समाचार लेखिन्छ भन्ने थियो। अरू सहभागीको टिप्पणी थियो– एउटा मिडियाका भरमा समाचारमा विश्वास गर्ने अवस्था छैन। यदि पत्रकारमाथि सुरक्षाको खतरा छ भने त्यो पत्रकार आफ्नै कारणले छ। आचारसंहिता पालन नगरेकै कारण छ। उद्योग वाणिज्य संघका अध्यक्षले त मिडियालाई दोष लगाउनुअघि कलम र मसीको व्यवस्था गरिदिनुपर्ने भन्दै सहयोग गर्न आग्रह गर, व्यंग्यात्मक ढंगमा। सायद यो उनको विज्ञापनसँग जोडिएको व्यंग्य थियो, यद्यपि सुन्दा उनी पत्रकारका प्रिय भएर प्रस्तुत भएका थिए।

रमाइलो त के रह्यो भने नागरिक पक्षबाट पत्रकारिता बढी दलगत भएको आरोप लागिरहँदा तीनवटै सुनुवाइमा सहभागी दलका नेताले भने पत्रकारलाई दलीय निकटताका आधारमा नलेख्न मात्र भनेनन्, निष्पक्ष ढंगमा समाचार प्रस्तुत गर्न समेत सुझाव दिए। मिडियाले प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्ने पनि उनीहरूले नै बताए। मिडियाले अब सुधि्रने समय आएको र नागरिकप्रति जिम्मेवार भएर काम गर्न पनि उनीहरूको सुझाव थियो। पत्रकार सधैँ पत्रकार मात्र हुन्छ कि कुनै बेला नागरिक पनि हुन्छ? भनेर पत्रकारको चरित्रमाथि औँला उठाउने पनि दलका नेताहरू नै थिए।

सुनुवाइ कार्यक्रममा मिडियाको आलोचना मात्र भएन, सुधारको सम्भावनाका लागि सुझाव पनि दिइए। उनीहरूको सुझाव थियो – पत्रकार समाजको ऐना हो। समाज जस्तो छ त्यसको प्रतिविम्ब पत्रकारितामा पर्ने भयो नै। तर पत्रकारिता भनेको तरबारको धारमा हिँडेजस्तो हो। धम्कीबाट डराउने पत्रकार हुन सक्दैन। नागरिक सरोकारका विषयलाई नडराई कलम चलाउनुपर्छ। मिडियालाई सबै नागरिकको आवाज बनाउने माध्यम बनाउन आवश्यक छ। ग्रामीण भेगका समस्या र नागरिक चेतनाका कार्यक्रम चलाउनुपर्छ। समाचार र विज्ञापन छुटि्टनुपर्छ। भाषाको शिष्ट प्रयोग गर्नुपर्छ। आग्रह र पूर्वाग्रहबाट मुक्त हुनुपर्छ। व्यक्तिको गोपनीयताको विषयलाई समाचार बनाउन जरुरी छैन। निजी जीवनबारे कलम चलाउँदा पत्रकार खतरामा परेका हुन्। पत्रकारिताको व्यावसायिक धर्म नबुझेका वा बुझ पचाएका कारण पत्रकार र पत्रकारिता बदनाम भएको हो। जसरी अरूले आफ्नो राम्रो लेखिदेओस् भन्ने चाहना राख्छन्, त्यसरी नै पत्रकारले पनि अनुकूलका बाइट खोज्ने प्रवृत्ति त्याग्नुपर्छ।

के नेपाली मिडियाको स्वरूप र चरित्र यही हो? यी तीनवटा कार्यक्रमबाट फर्केपछि यो बहस आवश्यक ठानेर त्यहाँ व्यक्त भनाइ उल्लेख गर्नु उचित लाग्यो। अनलाइन र सोसल मिडियाबारे नागरिक प्रतिक्रिया अझ तीखो र तीतो छ। यी मिडियालाई बन्द गर्ने कुनै उपाय छैन भन्ने खालका प्रश्न पनि उठाइए। मिडिया मिसन नाम दिइएको यो भ्रमणको मूल उद्देश्य निर्वाचनलगत्तै पत्रकारहरूको सुरक्षाको अवस्था के छ र यसलाई कम गर्न नागरिक सुझाव के हुन्छ भन्ने नै थियो। उनीहरूले पत्रकारमाथि कुनै खतरा देखेनन्, देखे भने केवल आफ्नै कारणले हुने निर्क्योल गरे। नागरिक प्रतिनिधिका रूपमा कार्यक्रममा सहभागी हुनेहरूमा वकिल, प्राध्यापक, शिक्षक, गैरसरकारी अभियन्ता, उद्यमी, व्यवसायी थिए। कार्यक्रममा पत्रकार पनि थिए र पार्टीका नेता, जिल्ला प्रशासन र प्रहरी प्रशासनका प्रमुख वा प्रतिनिधि पनि थिए।

उनीहरू समग्र रूपमा मिडियाप्रति नकारात्मक नै थिए भन्ने होइन। उनीहरू लोकतान्त्रिक आन्दोलनमा पत्रकारले निर्वाह गरेको भूमिकाप्रति नतमस्तक नै थिए। बाँकेका प्रहरी प्रमुख टेकप्रसाद राईले किटान नै गरेर २०६२/६३ को आधा आन्दोलन मिडियाले नै गरेको उल्लेख गरे। पत्रकारितामा स्नातकोत्तर गरेका प्रहरी प्रमुखले तुलनात्मक रूपमा पत्रकार जिम्मेवार बन्दै गएको भनेर समग्रमा पत्रकारिताको प्रशंसा नै गरे। उनले सुरक्षाका क्रममा पत्रकारबाट आफूले पाएका केही उदाहरण पनि प्रस्तुत गरे। तर आमनागरिक वा समाजको अरू क्षेत्र पत्रकारितासँग उनले भने जस्तै खुसी भने छैन। समाज जुन गतिमा अघि बढेको छ, पत्रकारिताले त्यो गति समात्न नसकेको उनीहरूको गुनासो छ। उनीहरू चाहन्छन्– नागरिकले पाउनुपर्ने सेवा सुविधाका विषयमा मिडिया आवाजविहीनहरूको आवाज हुन सकोस्। चुनावसँगै राजनीतिक संक्रमणको अन्त्य हुँदै छ। त्यसैले विकासका मुद्दा मिडियाका एजेन्डा हुनुपर्छ। राजनीतिक स्वार्थ मात्रैले नागरिकका समस्यालाई सम्बोधन गर्न सक्दैन।

मिडियालाई आफ्नै ठान्नेहरूमा पीडितहरू पनि छन्। जसले न्याय पाएका छैनन्, उनीहरूको आवाज बोकिदिने मिडिया नै हो। तर पीडक वा पीडितलाई हेर्ने दृष्टिकोण पनि राजनीतिक बनेको छ। मिडिया पनि त्यही रूपमा प्रस्तुत हुन्छ। मिडियाले अपराधीलाई दल विशेषको कार्यकर्ताका रूपमा प्रस्तुत गर्छ र उसलाई संरक्षण गर्न दललाई अप्रत्यक्ष रूपमा प्रेरित गरिरहेको हुन्छ। जो दलमा छैनन्, पीडित भएर पनि न्याय पाउने अवस्था छैन। मिडियाले ती पीडितलाई न्याय कसरी दिलाउने? यस्तो पत्रकारिता मिडियाले गर्नुपर्छ भन्ने नागरिक आग्रहलाई अन्यथा मान्न मिल्दैन। स्थानीय पत्रकारिताले समाजमा जे प्रभाव छाडेको छ, प्रकारान्तरमा त्यसको प्रभाव राष्ट्रिय पत्रकारितामा नपर्ने कुरै भएन। पत्रकारले आफूलाई नसच्याउने हो भने मिडिया एकातिर र नागरिक अर्को बाटोमा हिँड्ने खतरा छ।

साभार: http://www.nagariknews.com/news/24516/

Views: 22

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

© 2017   Created by Equal Access for the Civil Society: Mutual Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service