मन मनमा मनरुपा !

महिना दिन जति अघिको कुरा हो । चितवन भण्डाराका  खेमराज डल्लाकोटी सपरिवार बुटवल गए । बाटैमा पर्ने दाउन्नेमा एकछिन बिसाइ फेरे । मनले खाजा खोज्यो, आँखाले मनरुपा होटेल । होटेलहरुको लस्करमा ससर्ती आँखा डुलाए, देखेनन । वरिपरीका होटेलवालाहरुलाई सोधे भेउ पाउन सकेनन,भेटिएन मनरुपा होटेल । नभेटिदाँ सम्म खोजिबस्ने समय पनि भएन उनीसँग । दाउन्नेकै कुनै होटेलमा खाजा खाए, पेट भरियो, तर मन भरिएन । कारण स्पष्टै थियो मनले खोजेको मनरुपा होटेल भेटिएन । डल्लाकोटीको जस्तै चितवन, नवलपरासी र कपिलबस्तुका गरि ७ सय २० जनाको मनमा मनरुपा होटेलको एउटा चित्र बनिसकेको छ र होटेलकी साउनी मनरुपा निश्चिन्त बसेकी छिन उनीहरुको मनमा उनको श्रीमान सूर्यसिंह सहित ।

मनरुपा मुलतः एक नाटक कि पात्र हुन् । इक्वल एक्सेसले उत्पादन गर्ने रेडियो कार्यक्रम समझदारीकी मुख्य र नियमित पात्रहरु मध्य कि एक मनरुपा पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको दाउन्नेमा होटेल चलाएर बस्छिन आफ्नो श्रीमानसँगै । साथमा सानी छोरी र बृद्धा बाबुआमाको जिम्मेवारी त छँदैछ । अन्तरंग साथी, विशेषतः श्रीमानश्रीमतीबीच असमझदारी आउन नदिन र यदि असमझदारी भइहाल्यो भने त्यसलाई कसरी सल्टाउने भन्ने उपाय सहितको यो रेडियो कार्यक्रम नवलपरासी, चितवन र कपिलबस्तुका ५ वटा रेडियो स्टेशनमा साप्ताहिक रुपमा आउँछ । रेडियोमा आउने नियमित कार्यक्रम भएपछि अरु पनि थुप्रै स्रोताहरु होलान, सोको आँकलन गर्ने संयन्त्र हामीसँग छैन तर ७२ वटा स्रोता समूहका ७ सय २० जना स्रोताले नियमित रुपमा सुन्छन्, यसको ग्यारेन्टी हामी गर्न सक्छौँ । तिनै ७ सय २० जना मध्येका एक हुन चितवन भण्डाराका यी ती खेमराज डल्लाकोटी । र डल्लाकोटीजस्तै धेरैले अनुमान गर्छन किः दाउन्नेमा मनरुपाको होटेल छ ।

हालैको एक दिन म चितवनको भण्डारा पुगेँ । रेडियो कार्यक्रम समझदारीका नियमित स्रोताहरुसँग कार्यक्रबारे प्रतिकृया लिनु र प्रभाव बुझ्नु मेरो एजेण्डा थियो । परिचय कार्यक्रम सुरु भयो । जब मैले मेरो खास नाम र आवद्ध संस्था फलानो हो भनेर बताएँ,उनीहरुमा त्यति बिधि उत्साह थिएन । काठमाण्डौ बाट आएकाहरु हामीसँग केही सोध्छन फर्किन्छन भन्ने भावमा बसिरहेका थिए । र, मैले परिचयको क्रमलाई लम्ब्याएँ र थपेँ, “म तपाईँहरुकै मनरुपा हुँ ।”त्यसपछि पो बल्ल महसुस भो,उनीहरुको आत्मीयताको न्यानोपन । अनि पो बल्न थाल्यो, मनरुपाका प्रति उनीहरुको विश्वास, भरोसाको दियो । अनि मैले पनि एक्कैछिन बिर्सिएँ नागरिकतामा भएको नाम र वतन । 

अनि बल्ल पो खुल्न थाले उनीहरुको मनभित्रै गुम्सिएका अनेक प्रश्नका पोकोहरु । मानौ मनरुपा कुनै काल्पनिक संसारको मात्र हुँदै होइन । र उसले छु मन्तर गर्ने बित्तिकै सम्पूर्ण घरायसी समस्याहरु हल हुन्छन् । कम्तीमा श्रीमानश्रीमतीबीच त समझदारी हुन्छ हुन्छ । त्यसकारण धेरैले आफ्नो जीवनसाथीसँग परेको समस्याबारे बताए, सासु ससुरा र छोरा बुहारीबीचको सम्बन्धका कुराहरु गरे र मनरुपासँग उपाय मागे । किनकी रेडियोमा मनरुपा यस्तै समस्या समाधानको कुरा गर्छिन, समझदारीको कुरा गर्छिन, आत्मीयताको कुरा गर्छिन ।  उसो त केही महिना अघि कपिलबस्तुको चनइ, जिनवा र मोतिपुर जाँदा पनि यस्तै परिस्थिति आइ नपरेको होइन । उनीहरु सान्साना कुराहरु सोद्थे, जस्तो कि छोरीलाई कोसँग छोडेर आउनुभयो, तपाईँ नहुँदा होटेलको हरहिसाब कल्ले राख्छ<श्रीमानक हालखबर के छ <यस्तै यस्तै ।

“हामी श्रीमान श्रीमतीबीच भएका यी यी समस्या र समाधानका उपाय त रेडियो कार्यक्रम सुनेर थाहा पाइ हाल्यौँ । अब यो समस्याको चैँ समाधान कसरी गर्नेहोला मनरुपा ?”त्यस्तोमा विज्ञले झैँ समस्या समाधान गर्न कहाँ सकिदो रछ र, बरु आफ्ना स्रोताले गरेको विश्वास र भरोसाले पो भावकु बनाउँदो रछ त । तथापी उनीहरु निरास नहोउन भनेर आफूले जानेबुझे जति उपाय बताएँ र भनेँ “म नाटकको पात्र मात्रै हुँ, नाटक लेख्छु, नाटकमा खेल्छु र दाउन्नेमा मेरो कुनै होटेल छैन ।”यसो भन्दै गर्दा मैले उनै डल्लाकोटीको अनुहारमा हेरेँ र मुस्काएँ,उनी चैँ खित्का छोडीसकेका थिए ।

यसपछि मनमा अनेक तरंग आएको छ । हामीले देश सोचेनौँ टोल सोचेनौँ, परिवार पनि हैन, श्रीमान र श्रीमतीको सम्बन्धबारे सोच्यौँ । उनीहरुकै बाक्यमा जस्ताको त्यस्तै भन्दा रेडियो कार्यक्रम सुनेर उनीहरुले सोँच बदले, ब्यवहार बदले । कतिले खुसीहरु यथावत राखे अनि कतिका गुम्नै आँटेका खुसीहरु फर्किए । हो निे आफूले आफैलाई बदल्दा श्रीमानश्रीमतीको सम्बन्धमा नयाँ आयाम थपिन्छ । परिवार सुखी र खुसी हुन्छ । सबैको परिवार राम्रो भए, समाज त्यसै धपक्कै बल्छ । हेर्नुस् त परिवर्तनको सुल्टो बाटो यो पो हो त ।

यसअघि रेडियोमा हजारौँ होइन, लाखौँ सत्य कुरा गरियो होला, ती फगत सूचना बने सोँच बनेनन । अहिले केही कुरा गरियो, कोरा कल्पनाका । विश्वास छः कम्तीमा सय जनाको त जीवन बाँच्ने तरिका फेरिएको छ। सोच्ने तरिका बदलिएको छ।सम्बन्धको मीठास महसुस गर्ने तरिका फेरिएको छ । यिनै कारणहरुले हो सायद ती नियमित स्रोताका मन मनमा बसेकी छन मनरुपा, मनकै आवाज बोलेर ।

 विनु सुवेदी इक्वल एक्सेसले निर्माण गरिरहेको रेडियो कार्यक्रम समझदारीको कार्यक्रम उत्पादक हुन । उनी कार्यक्रममा मुख्य पात्रहरू मध्यका एक मनरुपाको भूमिकामा पनि छिन् ।

 https://change-starts-at-home.com/2017/01/26/finding-manurupa-the-heart-whisperer/

Views: 134

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

Comment by Prakash Lamichhane on February 3, 2017 at 11:05am

अति राम्रो । 

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service