बल्झिरहने द्वन्द्वका घाउहरू

२०५९ साल बैशाख महिनाको एक दिन । दिउँसो घरको कामकाज सकेर १५ दिनकी सुत्केरी आराम गर्दै हुनुहुन्थ्यो । उहाँका श्रीमान र सासु उहाँका बिरामी जेठाजुलाई भेट्न अर्कै गाउँ गएका थिए । घरमा कोही थिएनन् । त्यति बेलै आर्मीहरू आए । उहाँका श्रीमान माओवादीको सुराकी रहेको भन्दै केरकार र लछारपछार गरे । तर, त्यतिले उनीहरूलाई पुगेन र उनीहरूमध्येकै एकजनाले उहाँलाई बलात्कार गरे । १५ दिनकी सुत्केरी उहाँ बलात्कृत हुनुभयो । “बलात्कार भएपछि धेरै दिन सम्म रगत बग्यो र जेठानीलाई यो कुरा भने । श्रीमान र सासु फर्केपछि जेठानीले यो कुरा भनि दिनुभयो । तर, झन श्रीमान र सासुले तैँ उस्तै भनेर हुने नहुने गाली गरे ।” दाङ फूलबारी गाविसकी यी महिलाले भन्नुभयो “अहिले पनि तँ यस्ती तँ उस्ती भनि रहनु हुन्छ । मलाई त्यस्तो भएपछि श्रीमानले अर्को बिहे गर्नुभयो ।” बलात्कृत हुनुभयो, श्रीमान र परिवारबाट अपहेलित हुनुभयो । श्रीमानले सौता हाले । बैदेशिक रोजगारीमा रहेका उहाँका श्रीमानले अहिले त पैसा पठाउन छोडेका छन् ।    “ उहाँले कान्छीलाई पैसा पठाउनु हुन्छ । अहिले यी दुई छोरालाई कसरी पाल्ने ? कसरी पढाउने ? भन्ने भा’छ । अहिले त कहिले माइती कहिले घर गरि रा’छु । के गर्नु कता जानु ? ”

द्वन्द्वको बेला प्रत्यक्ष हिंसा भोगेर त्यसकै कारण अरु धेरै समस्या भोगिरहेकि अर्की महिला हुनुहुन्छ बिजौरी गाविस वडा नं. ३ मनिकापुरकी पार्वती पौडेल । नेपाल प्रहरीमा जागिरे रहेका उहाँका श्रीमान घर बिदा सकेर कार्यक्षेत्र राजविराज जान भन्दै हिँड्नुभयो । त्यसको २ दिन पछि हत्या गरिएको अवस्थामा पर्सेनी भन्ने ठाउँमा भेटिनुभयो । “श्रीमान बितेपछि घरब्यबहार सबै मेरै टाउकोमा आयो । ऋण, त्यसैमा झन छोराले सताउँछ । अनि श्रीमान नभएको भनेपछि समाजले पनि त्यस्तै सोच्दो रै’छ । कोहि आफ्नो मान्छे आयो भनेपनि लोग्ने मान्छे ल्याई भन्ने । यो सब हुँदा त मरु जस्तो लाग्छ ।” सम्पतिको नाममा घर र ४ कठ्ठा बारी बाहेक अरु केही छैन । श्रीमानको हत्या हुँदा गर्भमै रहेका उनका छोरा अहिले १२ वर्षका भएका छन् । इलाका मालपोत तुलसीपुरमा करार जागिरमा रहेकी उहाँलाई छोरा बढ्दै जाँदा छोरालाई कसरी पढाउने भन्ने चिन्ता छ । करारको जागिरबाट कतिबेला निस्किनुपर्नेको टुंगो छैन । यहि चिन्ताले बेस्सरी टाउको दुख्छ । आफू मानसिक रोगी भएँ कि भन्ने उहाँलाई महसुस हुन्छ । पहिले उहाँ बिजौरी २ संक्राममा बस्नुहुन्थ्यो । माओवादीले सुराकीको आरोपमा धम्की दिन थालेपछि आफ्नो पु¥ख्यौली गाउँ छोडेर मनिकापुरमा बिस्थापित हुनुभयो । आफन्तीहरु कोही नजिकमा छैनन् । न उहाँले आफन्तहरुसंग सहयोग माग्नुभयो न आफन्तहरु सहयोग गर्न नै आए । अनि शान्ति प्रक्रियासंगै धेरै द्वन्द्वपीडितहरुले सरकारी राहत रकम पाए तर उहाँले पाउनुभएन । उहाँले भन्नुभयो “ श्रीमान त बिदामा घर भन्नु हुन्थ्यो । राहत लिन जाँदा सरकारी मान्छेहरुले श्रीमान भगौडामा परेको भन्दै भगौडाले राहत पाउँदैन भनेर फकाई दिए । १/२ गैरसरकारी संस्थाले बाहेक एक पैसा पनि कतैबाट पाइन । ”

फूलबारी गाविसकी बलात्कृत ती महिला र पार्वती पौडेल मात्र हैन घोराही नगरपालिका ३ बर्गद्दीकी भौनी चौधरीले पनि द्वन्द्वकालमा श्रीमान गुमाउनुभयो । २०५८ साल मंसिर १३ गते उहाँका श्रीमान खुसीराम चौधरी सहित ११ जना आफन्ती तथा गाउँलेको सामूहिक हत्या तत्कालीन शाही नेपाली सेनाले गर्‍यो । कारण थियो माओबादीले त्यतिबेला किसानको हकका लागि भन्दै तीन कुर अर्थात एक भाग जमिन्दारलाई र बाँकि २ भाग किसानका लागि धान छुट्याएको । “श्रीमान नभएपछि छोराछोरी, खेतीबारी र घरब्यवहार सबै मैले सम्हाल्नु पर्‍यो । त्यस बेला अरु भन्दा पनि खर्च कसरी जुटाउने भन्नेमा सबै ध्यान गयो ।” आँखाभरी आँशु पार्दै उहाँले सम्झिनु भयो । “ म बिहानै काममा निस्किन्थे । दिनभरी छोराछोरी के खान्थे ? खान्थे कि खाँदैनथे ? स्कुल जान्थे कि जाँदैनथे ? सोंच्ने फर्सदै हुँदैनथ्यो । म कामबाट आउँदा दुई दिदीभाई कहिले भुईँमै निदाइ सकेका हुन्थे । कहिले खाएर कहिले नखाएरै ।” जिम्मेवारी पूरा गर्ने दौडमा उहाँले आफ्ना कलिला छोराछोरीको ध्यानै राख्न पाउनुभएन । उहाँका छोराछोरी अहिले हुर्किसकेका छन् । आफूले भनेको विषय पढ्न नपाए पनि क्याम्पस पढ्छन् । पुरानो घाउमा खाटा बसेको छ । तर पनि त्यो घाउको पीडा भने बेला बेलामा बल्झिरहन्छ एक्लोपन, चाडपर्व, अभाव जस्ता बिभिन्न बाहानामा ।

यी त द्वन्द्वको बेला द्वन्द्वको पीडा प्रत्यक्ष भोगेर अझै पीडामा रहेका महिलाहरुको प्रतिनिधि ब्यथा मात्रै हो । शान्ति प्रक्रिया शुरु भएको धेरै भैसकेको छ । तर, दश वर्ष सम्म चलेको शसस्त्र द्वन्द्वको सकिए पनि अझै यस्ता खालका फरक फरक पीडा भोग्ने धेरै महिलाहरु छन् । घरबार, खेतीबारी, छोराछोरी तथा बृद्ध सासुससुराको जिम्मेवारी एक्लैले निभाउने देखि आर्थिक अभाव र समाजिक रुपमा पनि हिंसा भोग्न महिलाहरु बाध्य रहेका स्थानीय शान्ति समिति दाङकी निवर्तमान संयोजक तुलसा केसीले बताउनु हुन्छ । द्वन्द्वको बेला भएको घटनाका कारण कतिपयको परिवार बिखण्डित भएको छ, कतिको छोराछोरीको बिचल्ली भएको केसीको भनाई छ । “उनीहरु कतिपय पीडाबाट केही हदसम्म उठेका छन् भने केही उठ्ने कोशिसमा छन् । तर उनीहरुको घाउमा मलमपट्टी लागाउने काम त्यति प्रभावकारी हुन सकेको छैन ।” केसी भन्नुहुन्छ “द्वन्द्व प्रभावित महिलाको लागि ठोस नीति तथा कार्यक्रम ल्याएर उनीहरुको सहज जीवन यापनका लागि आम नागरिक, बिभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाले काम गर्नुपर्छ ।” दश वर्षे शसस्त्र द्वन्द्वको बेला ५ हजार २ सय ६३ जना प्रत्यक्ष पीडित छन् भने त्यतिकै मात्रामा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा द्वन्द्व प्रभावित हुने महिलाहरु दाङमा रहेको स्थानीय शान्ति समितिले जनाएको छ । उनीहरु अहिले पनि बिभिन्न समस्यासंग जुधिरहेका छन् । युद्धका बेला दोहोरो भिडन्तमा परी घाईते भएका, श्रीमान र छोराछोरी गुमाएका, बेपत्ता पारिएका, बलात्कृत भएका महिलाहरु अझैपनि असिमीत समस्यामा छन् ।

Views: 109

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

© 2017   Created by Equal Access for the Civil Society: Mutual Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service