किन दुर्गम छ मुस्ताङ ?

मुस्ताङको घाँसा पुग्दानपुग्दै हामीलाई चिसो सिरेटोले मजैले स्पर्श गर्न थालिसकेको थियो । निश्चित थियो- यात्रा जतिजति उत्तरतिर अघि बढ्दै जान्छ, चिसो सिरेटोको दर पनि उही हिसाबमा बढ्नेछ । हामीले धौलागिरि, अन्नपूर्णलगायत हिमाललाई दक्षिणतिरै छोडिसकेका थियौं । चिसो मौसमको सुरुवात, ढल्किँदै गरेको दिन र खाल्डाखुल्डी तथा ढुंगे बाटोबाट उत्तरतर्फको हाम्रो यात्राको त्यो दिन, जोमसोम पुग्दासम्म त बजार पूरै बन्द भइसक्छ होला । घरबाहिर सायदै मान्छे भेटिएलान् ।

घाँसाबाट ४० मिनेट अगाडि बढ्नासाथ, मुस्ताङको लेते नपुग्दै कच्ची सकडमा मोटरसाइकल र जिपहरूको तमासा सुरु भइहाल्यो । कोही लड्ने, कोही फस्ने । सिमसिम पानी, चिसो मौसम, छिप्पिँदो दिनमा अरू दुई घन्टा बाटो खुल्ने प्रतीक्षामै बित्यो । कच्ची सडकमा एकनासले जिपभित्र उफ्रिँदै थच्चारिँदै सवा ६ बजे साँझमा जोमसोम पुग्दा हामीले देख्यौं, जोमसोम हामीले सोचेजस्तो सुनसान थिएन । र, यात्राको भीडबाटै कसैको आवाज आयो 'बाफ रे, जोमसोम त आज काठमाडौंको ठमेलभन्दा पनि व्यस्त भयो ।'

असोज २७ गते । दसैंको टीकाको पर्सिपल्ट । त्यो दिन जोमसोममा थोरै विदेशी र धेरै नेपाली पुगेका थिए । मुस्ताङमा धेरै पर्यटक पुग्नेछन् भन्ने अनुमान हामीले म्याग्दीको गलेश्वरबाट मुस्ताङतिर हुइँकिएका सवारीको दरबाटै गरेका थियौं । ती सवारीमा मोटरसाइकल बढी नै थिए । र, एउटा मोटरसाइकलमा दुईजना र औसतमा आठजना अट्ने जिप र बसभरि यात्रु, तर पनि लाग्याथ्यो जोमसोम बजार त्यति धेरै व्यस्त नहोला ।

 

पर्यटकको चापकै कारण होला, हाम्रा लागि बुक गरिएको होटेलका कोठा हामी पुग्नुअघि नै अरू विदेशी पर्यटकलाई दिइसकिएको थियो । हुन त विदेशी पाहुना मुस्ताङका अधिकांश होटल व्यवसायीको पहिलो रोजाइ हुन्छन् भन्ने कुरा त्यहाँ पुग्दासम्म बारम्बार सुनिएकै हो । सुनेकै कुरा भोग्न पाउनु पनि गज्जबको अनुभव हासिल गर्नु हो । तथापि हामीले सामान्य खालको अर्को होटलमा रात गुजार्न पायौं । रात्रि भोजन गरिसक्दा पनि हूलका हूल पर्यटक आएर सोधिरहेका थिए, 'कोठा पाइन्छ ? '

मुस्ताङ यति धेरै आन्तरिक र विदेशी पर्यटकको आकर्षणको केन्द्र बन्नु, चाडबाडकै बेला पारेर स्वदेशी पर्यटकको रोजाइ बन्नुपछाडिका कारण केही हदसम्म धार्मिक भए पनि मुख्य त त्यहाँको प्राकृतिक सुन्दरता नै हो । म्याग्दीको गलेश्वरबाट उकालो लागेपछि कालीगण्डकीको तिरैतिरको यात्रा, लस्करै मिलेर बसेजस्ता देखिने डाँडाकाँडा र तिनै डाँडाबाट सुसाउँदै झरेका छाँगा/छहराले सडक वा पैदलयात्रा गर्दा साँच्चै रोमाञ्चित हुन्छु म ।

 

प्रकृतिले साथ दिएको मुस्ताङको यात्रा के प्राविधिक रूपमा पनि उत्तिकै सहज छ त ? यति सुन्दर ठाउँमा पुग्दा पनि यात्रा अवधिभर भने बारम्बार पछुताउनुपर्ने हुन्छ । अप्ठ्यारो बाटोमा यति धेरै खतरा मोलेर हामी कुन युद्ध जित्न अघि बढ्दैछौं ? खतरा मोल्ने या नमोल्ने भन्ने विषयको माथापच्चिसी हाम्रै टोलीमा समेत देखियो केही बेर ।

बेनीबाट उकालो लाग्दा बिहानको साढे ७ बजेको थियो । एउटा रिजर्भ जिपमा हामी नौजना सवार थियौं । यात्राको सुरुआतमा परेको सिमसिम पानीलाई हामीले शुभसंकेत मान्यौं । तर, कालीगण्डकीको तीरैतीर तीन किलोमिटर अगाडि नपुग्दै हामीमध्ये धेरै आत्तिन थालेका थियौं । झन् चालकले जोमसोमसम्मै बाटो यस्तै हो भनेपछि त यात्रा हापाँ र फर्कौं कि यात्रा जारी राखौं भन्नेका बीचमा एकछिन जुहारी नै चल्यो ।

बेनी-जोमसोम सडकको दूरी ७१ किलोमिटर रहेछ । लगभग त्यति नै दूरीको बेनी-पोखरा सडकयात्राको समय बढीमा तीन घन्टाको छ । तर जिपचालकले भने, 'जोमसोम पुग्न सातआठ घन्टा लाग्छ ।' हामीले सोध्यौं, 'किन त्यति धेरै ? ' चालकले भने, 'किनभने बाटो यस्तै हो । कतैकतै त योभन्दा नि खराब छ ।'

चालकले यसो भनिरहँदा हामी गुडिरहेको सडक, सडकजस्तो बिल्कुलै थिएन । जतासुकै हिलोको थुप्रो देखिन्थ्यो । जिप अगाडि बढ्न खोज्दा पछाडिका चक्का चिप्लन्थे । हामीभन्दा अगाडि मोटरसाइकलको ताँती रोकिएको देखिन्थ्यो । जबर्जस्ती अगाडि बढ्ने मोटरसाइकल चिप्लेर पल्टिरहेका थिए । त्यस बेलासम्म हामीलाई यात्रा सुरु गर्दा परेको सिमसिमे पानीले शुभसाइत ल्याएको रैनछ बर्बादी नै गरिसकेको रहेछ भन्ने भयो ।

यस्तो बाटोमा कसरी अगाडि बढ्ने ? डराईडराई भए पनि हामी साँझ सवा ६ बजे गण्डकीको तीरैतीर जोमसोम पुग्यौं । जम्मा ७१ किलोमिटर बाटो काट्न ११ घन्टा लाग्यो । सहयात्रीबीच खासखुस भयो, 'मोटरबाटो नबन्दा बेनीबाट जोमसोम पुग्न दुई दिनको पैदलयात्रा गर्नुपथ्र्यो ।'

किन दुर्गम छ मुस्ताङ ?

मुस्ताङ दुर्गम हुनुको मुख्य कारण सहज सडक सुविधा नहुनु हो भन्ने हामीले ठान्यौं । नेपाली सेनाले २०५६ सालमा सुरु गरेर २०६४ मा ट्र्याक खोलेको बेनी-जोमसोम सडक बनाउन ६० करोड लगानी लागेको थियो । २०६७ सालमा सेनाले विभागलाई सडक हस्तान्तरण गरेपछि अहिले विभागले नै मर्मतसम्भारको काम गर्दै आएको भनिए पनि छिनछिनमा झर्ने पहिरो, निरन्तर बगिरहने झरना र रातभर पर्ने पानीले बिगारेको सडक आफैं पन्छाउँदै अघि बढ्दै गर्ने बानी नै परिसकेको रहेछ स्थानीय सवारीचालकलाई ।

जति नै चुनौती मोल्ने भनिए पनि सडकमार्गबाट मुस्ताङ पुग्न भनेजस्तो सजिलो छैन । हुन त मुस्ताङ युवामाझ साहसिक पर्यटनको गन्तव्य पनि बनिसकेको रहेछ । साइकल र मोटरसाइकलबाट त्यहाँ जानेको लस्करबाट यस्तै अनुमान लाउन सकिन्थ्यो ।

कालीगण्डकी तीरमाथिको भीर हँदै छिचोलिएको कच्ची सडक । ठाउँठाउँमा सानाठूला छाँगाबाट बग्ने पानी, रसिलो र कालो माटो । अप्ठ्यारो ठाउँमा चट्टान फोडेर छेडिएको भीर । हिउँदमा धुलो । बर्खामा हिलो । माटो भएको ठाउँमा ठूल्ठूला खाल्डा छन् । चट्टान फोडेका ठाउँ सम्याइएका छैनन् । पदयात्री र रोमाञ्चक यात्राका लागि निस्केकाका लागि त ठीक होला यो सडक तर धार्मिक यात्रा वा छोटो बिदामा निस्किएकाका लागि भने सबैभन्दा ठूलो चुनौती सडकयात्रा नै हुने रहेछ । यसको कारण पोखराबाट लगभग डेढ सय किलोमिटरको मात्रै दूरीमा रहेर पनि मुस्ताङले दुर्गम जिल्लाका रूपमा दर्ज हुनु परिरहेको छ ।

के त्यसो भए यो बेनी-जोमसोम सडकलाई मर्मत गर्ने काम नै नभएको हो त ? तथ्यहरूले देखाउँछन् केही काम भएको छ ।

सडक डिभिजन कार्यालय बाग्लुङले बेनी-जोमसोम सडक कालोपत्रेका लागि यो वर्षमात्र सरकारसँग साढे तीन अर्ब बजेट माग गरेको छ । स्वीकृत हुनेबित्तिकै सडकको स्तरोन्नतिका लागि काम अघि बढाउने कार्यालयको योजना छ । उता जोमसोमदेखि चीनको कोरला नाकासम्मको बाटो ग्राभेल गर्नका लागि साढे तीन अर्ब रुपैयाँमा ठेक्का पनि दिइसकिएको छ । तर कामको गति भने कछुवाको चालमा छ । योजना बनाउने, ठेक्कापट्टा लगाउने तर कामचाहिँ असाध्यै ढिलो गर्ने प्रवृत्ति त्यहाँ पनि रहेछ ।

सुगम हुनसक्छ जोमसोम । सरकारले सडकमा मात्रै पनि लगानी गर्ने हो भने काठमाडौंबाट एक दिनमा पुग्न सकिन्छ जोमसोम । दुःखले दुईतर्फी यातायात सञ्चालनका लागि चलिरहेका बाटोलाई बलियोसँग पक्की बनाउने हो भने जस्तोसुकै सवारीसाधनमा सजिलै पुग्न सकिन्छ त्यहाँ । बाटोको एक किनारको भित्तापट्टिबाट पानी बग्ने साना नालीसहितको पक्की सडक बनाउने हो भने हरेक वर्षामा सडकभरि खाल्डा हुँदैनन् ।

सडकयात्राबाट मुस्ताङ जाँदा बटुल्न सकिने अनुभव हवाईयात्राबाट सम्भव हुँदैन । बाटोमा पर्ने प्राकृतिक तातोपानी कुण्ड, रुप्से झरना, संसारकै सबैभन्दा गहिरो कालीगण्डकीको गल्छी पदयात्रा वा सडकमार्गबाट मात्रै देख्न सकिन्छ । स्थानीय थकाली खाना, स्याउ र स्याउबाट बनेको विभिन्न परिकार— सुकुटी, जुस र रक्सीसमेतका स्थानीय परिकार मुस्ताङ प्रवेश गरेपछि सहज रूपमा उपलब्ध हुन्छन् ।

अन्नपूर्ण र धौलागिरि हिमाललाई पूर्व र दक्षिण पारेर बसेका ससाना उपत्यका लेते र मार्फाको सौन्दर्य अलौकिक छ । यी र यस्ता धेरै कुराको अनुभव बटुल्दै व्यस्त जीवनशैलीबाट केही दिन छुटकारा र आरामका लागि पनि कालीगण्डकीको तिरैतिर मुक्तिनाथ पुग्नलाई सडकयात्राको विकल्प सडक यातायातमात्र हो ।

त्यसमाथि सांस्कृतिक र धार्मिकमात्रै होइन, व्यापारिक दृष्टिले पनि यो सडकको महत्त्व झनै छ । भारत र चीन जोड्ने सबैभन्दा छोटो दूरीको कालीगण्डकी करिडोरअन्तर्गत पर्ने यो सडकको स्तरवृद्धि अत्यन्तै अपरिहार्य कुरा हो । काठमाडौंदेखि मुस्ताङको जोमसोम र उपल्लो मुस्ताङबीच पर्ने समग्र क्षेत्रको उन्नति यो सडकको स्तरोन्नतिसँग जोडिएको छ ।

Views: 15

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service