“हेर त जुन कस्तो राम्रो देखिएको”

आकाश तिरको दृश्य देखाउँदै बोल्यो सन्तमान । सन्तमानले सन्नाटा तोडेपछी बल्ल होसमा आइ फूलमती पनि । आफुलाई सम्हाल्दै अलि पर सरी र आकाश तिर हेरि । साँच्चै आज उसले जुन राम्री देखेकी थिई । उसलाई लाग्यो त्यो आकाशमा टल्किने जुन उसको मुहारमा सुन्दरता छरिरहेछ । जुनले उसलाई राम्री हुन मद्धत गरिरहेछ ।उसलाई किन किन जुन तिरै हेरिरहुँ जस्तो लागिरहेको थियो आज । जुन नभएको भए उसको सुन्दर मुहार सन्तमानले कसरी देख्न सक्थ्यो होला र? उसले कल्पना गरिरही ।

“किन लाटी जस्तै गरेकी? केहि त बोलन फूल्”

सन्तमानले फूलमतीलाई आफु नजिकै तान्यो,फूलमतीले तातो सास महसुस गरी ।यौटा दरिलो छाती महसुस गरि,जहाँ उ निर्धक्क अडिन सक्छे,अनी महसुस गरी उस्तै दरिला हातहरु उसको शरिरलाई कोमल स्पर्श गरिरहेका । यस्तो अवस्था मा उसले बोल्न सक्ने केहि थिएन । उ त लाटी जस्तै भएकी थिइ,एकदमै लाटी । धेरै खुशी र उन्माद भयो भनेपनी मान्छेको बोली बन्द हुने रहेछ । फूलामतीले यो बेला यस्तै महसुस गरिरहेकी थिइ । जतीजती सन्तमानको स्पर्शको गती बढ्दै जान्थ्यो  त्यती नै फूलामतीले आफू को हो भन्ने बिर्सँदै गैइ,अब उ पुर्ण रुपमा सन्तमानमा लिन हुन चाहन्थी र त्यसै गरी पनि ।

फूलमतीले आफु होसमा आउँदा आफु अस्तव्यस्त स्थितिमा पाई,तर यसमा उसको स्वयं आपत्ती भन्दा बढी उसलाई एक किसिमको सन्तुष्टी को भान भैरहेको थियो,नजिकै सन्तमान पनि उस्तै हालतमा थियो । जुन उनिहरुलाई देखेर लजाइरहेको थियो । फूलमतीले आफ्नो पच्छ्यौरा खोजी,झाडीमा सरक्क आवाज आउँदा उसलाई होस भयो उ आफ्नो घर नभएर उ त पिपलको रुख मुनी पो रहिछ ।होसमा आएपछी फूलमती केहि आत्तिइ तर स्थिती सम्हाल्दै सन्तमानले उसलाई आफ्नो काखमा बसाल्यो । सन्तमानको बलियो पाखुराको अघी फूलमतीको के चल्दो थियो र ? उ पनि लज्जावती झार निहुरिएझैँ सरक्क उसको काखैमा पुगी आफुलाई सुम्पी ।

फुलमतीले यस्तो कसिलो अंगालो जीवनमै पहिलोपल्ट महसुस गर्न पाएकी थिइ । एक अर्काको बाहुपासमा बेरिँदा उनिहरुलाई रात बितेको पत्तै भएन,बिहान भालेको डाक सुनेपछी पो बल्ल फूलमती झस्की,घर सम्झी साना साना बाल बच्चा सम्झी अनि सम्झी आफ्नो लोग्ने । लोग्नेको समझना आएपछी किनकिन उसको मन खिन्न भो । कसिलो सन्तमानको अंगालो भित्र उसलाई आफ्नो लोग्ने सम्झनै मन लागेन,कुन्नी किन उसलाई आज भएभरको जम्मै घृणा आफ्नो लोग्ने माथी पोख्न मन लाग्यो,तर चुपचाप सन्तमानको अंगालोमा आफुलाई बेरिरही ।  आफुलाई सन्तमानको अंगालोमा बेरेर सन्तमान र आफ्नो लोग्ने दाँज्न मन लाग्यो,उसले सम्झी दिनभर काम गरेर घर फर्केको त्यो उसको लोग्नेको ज्यान,पसिनाको गन्ध,कामले थकित लोग्ने चाँडै घुर्न थाल्दथ्यो तर फुलमतीको इच्छाहरु भने उसको लोग्नेको घुराइको आवाज सँगै जाग्दै जान्थे, र बिहान भालेको डाक सँगै ति छरपस्ट हुन्थे । कुनै रात लोग्नेले जाँगर चलाईहाल्यो भने पनि फुलमतीको मन नभरिँदै लोग्ने सिथिल हुन्थ्यो र पाखा लाग्थ्यो । फुलमती उसलाई भोको नजरले हेर्थी,तर लाचार लोग्ने अर्को पट्टी पल्टिएर निदाउँदथ्यो,फुलमती अवाक हुन्थी ।

तर आज यस्तो केहि हुन परेको थिएन,फुलमतीलाई निक्कै आनन्द लागिरहेको थियो ,नजिकै बगिरहेको खोलाको आवाज वर्षौ पछी बल्ल आज उसले सुनी,खोलाको धुन साँच्चै मिठो हुँदोरहेछ बल्ल आज उसले जानी ।त्यो सँगै जुनको शितलता पनि उसले तापी । सुख के हो बल्ल बुझे जस्तो भयो उसलाई ।सन्तमानको मुहार जुनको उज्यालोमा हेरी र मुसुक्क मुस्कुराइ । कस्तो मायालाग्दो मुहार देखी उसले,छातीमै टाँसिरहुँ जस्तो मुहार जिन्दगी भरी हेरिरहँदा पनि नअघाईने अनुहार्,मायाले टम्मै भरिइ फुलामाती । भुइँमा अलिअली उज्यालो छरिन लागेपछी ति दुबैले आफुलाई सम्हाले,फुलमती ले आफ्नो चोली को तुनो लगाइ र सन्तमानको कसिलो अंगालो मा बाँधिइ र विदा भैइ ।
घर पुग्दा लोग्ने अझै सुतिरहेका थिए । उ आफ्नो लोग्ने र बालबच्चा तिर ध्यान नदिइ सरक्क गोठ तिर लागी । गाईवस्तुको स्याहार सुसार गरी र र दुध ठिक्क पारी ।त्यतीन्जेल लोग्ने उठेर ठिक्क परी सकेको थियो,फुलमतीले ठिक्क पारेको दुधको क्यान लिएर लोग्ने आफ्नो काम तिर लाग्यो । लोग्ने को काम भन्नु अरु के नै थियो र ? गाउँभरी उत्पादन हुने दुध संकलन केन्द्रबाट सिमाना नजिकै रहेको चिज उत्पादन केन्द्र सम्म पुर्याउनु थियो ।त्यसो त दुध बोक्नलाई घोडाको पनि व्यबस्था गरिएको थियो,तर घरको नाजुक स्थितिले गर्दा सन्तमान घोडा सँगै आफुले पनि बोक्ने गर्दथ्यो,५० लिटरको त्यो दुधको क्यान आफ्नो ढाँडमा बोकेर आफु अघी अघी घोडा पछी पछी लाग्थ्यो उ,फर्कँदा पनि रित्तो फर्कन पाउँदैनथ्यो,गाउँमा कसै न कसैको नुन चामल सकिएको हुन्थ्यो त्यसैलाई आफ्नो ढाँडमा बिसाएर फर्कन्थ्यो उ ।

लोग्ने बाटो लागेपछी फुलमतीले आफ्नो र छोराछोरीको लागी खाजा बनाइ,प्रायजसो गाउँलेहरुको घरायसि काममा सघाउँथी फुलमती,कहिलेकाहिँ गाउँमा नै बास बस्ने भएकोले प्रायजसो बेलुकी घर नफर्कँदा पनि घरमा त्यती सोधी खोजी कसैले गर्दैनथे,खानलाउन समस्या परेपछी मान्छेले बाँकी कुरामा ध्यान दिनै बिर्सँदो रहेछ,फुलमतीको लोग्नेले पनि सारा कुरा बिर्सेर काममा मात्र ध्यान दिएको थियो ।यहिँ काम बाट एकदिन फर्कँदा उसले सन्तमानलाई पनि सँगै लिएर घर आएको थियो,त्यसै बेला चिनेकी थिइ फुलमतीले सन्तमानलाई, भोजपुर तिर घर बताउने सन्तमान त्यो गाउँमा घोडा खेप्नकै लागी भनेर आएको थियो । उमेरमा फुलमती सँगैको देखिए पनि लोग्ने जेठो भएपछी भाउजुको नाता गाँसेको थियो सन्तमानले ।सँधै मुस्कुराइ रहने बानीले गर्दा होला फुलमती निकै आकर्शित भएकी थिई पहिलो पल्ट देख्दा नै ।

गाउँघरमा मेलापात गर्न जाँदा कहिलेकाहिँ बाटामा भेटिन्थे सन्तमान,घोडालाई एकातिर चर्न दिएर घण्टौँ गफ गर्थे ति,कहिले सन्तमान निकै पारीको बाजार जान्थ्यो,संयोग मिल्दा फुलमतीलाई पनि साथै लिएर जान्थ्यो ।जिवनमा पहिलो पल्ट सन्तमानले ठुलो पर्दामा चलचित्र समेत देखाएको थियो माया झांगिन कती बेर नै पो लाग्छ र ? यस्तै मा ति दुबैको माया बस्यो पत्तै नपाई । माया बसेपनी त्यत्ती नजिकिएला भन्ने फुलामातीले सोंचेकी सम्म थिइन,सोँचे जस्तो मात्र जीवन भैइदिने भएको भए सप्पैले राम्रै सोंच्थे होलान्,खै कहाँ छ र जिन्दगी सोचे जस्तो ?

चिया टिप्ने सिजन भएकोले निकै अबेर सम्म काम गरेकी थिइ फुलमतीले त्यो दिन्,सन्तमान पनि घोडालाई चिया बोकाइ फ्याक्ट्री सम्म लैजान भनि आएको थियो ।फर्कँदा घरैसम्म पुर्याइदिन्छु भाउजु भनि सन्तमानले भनेको बोली टार्न नसकी फुलमती अडेकी थिइ ।तर गफ मा भुलिँदा समय बितेको पत्तै पाएनन तीनले ।

अब त फुलमती सन्तमानकै प्रतिक्षा गर्न थाली ।घरबाट कुनै न कुनै कामको बहानामा बाहिरै बस्न थाली ।लोग्नेको कमाई राम्रो नभएकोले उसले पनि रोक्न सक्दैनथ्यो । सन्तमान पनि फुलमतीको साथ पाएर खुशी थियो । खुशीहरुमा दिन बितेको कहाँ पत्तो पाइन्छ र ?सन्तमान र फुलमतीले दिन बितेको पत्तो पाएनन्,यस्तैमा एकदिन फुलमतीले आफु महिनावारी हुन छोडेको थाहा पाइन्,हतार गरी सन्तमानलाई आफ्नो कुरा सुनाइन । के गर्ने दुबै अलमल्लमा परे ।

जसोतसो गर्भपतन गर्न चाहे दुबैले,अली टाढा सदरमुकाम गएर डाक्टर लाई समेत देखाए तर भनेजस्तो सजिलो समस्याको हल निस्किएन,गर्भपतन नहुने भएपछी एक्कासी सन्तमान गाउँबाट गायब भयो ।फुलमती भने बडो अप्ठ्यारोमा परिन । आफु विवाहित भएको र लोग्ने पनि साथै रहेकोले फुलमतीलाई गाउँले सँग डर थिएन,तर डर त उसलाई लोग्ने सँग थियो ।कतै लोग्नेले समाज को सामु आफ्नो गल्ती नखोल्देलान भन्ने पिर थियो । आज भोली हुँदाहुँदै फुलमतीको पेट देखिन लागेपछी लोग्नेलाई शंका भयो नभन्दै उसले एकदिन फुलमतीलाई पेटको रहस्य सोध्यो,फुलमती मौन रहिन ।

भोलीपल्ट लोग्नेले सारा समाज बटुल्यो,समाजको सामुन्ने आफ्नै लोग्नेले पेटको बच्चा अरुको दावी गरेपछी फुलमतीले राज खोलिन्,गाउँले सारा मिलेर सन्तमानको खोजी गर्न थाले ।नभन्दै भागेको सन्तमानलाई तीन दिन भित्र गाउँलेले हाजिर गराए । फेरी त्यस्तै सभा बस्यो,समाजको सामु सन्तमानले समेत आफ्नै बच्चा भएको स्विकार गर्‍यो सँगसँगै फुलामातीलाई समेत विवाह गर्न राजी भयो ।
समाजका गन्ने मान्ने सबै उपस्थित थिए,छेउमा सन्तमान अवाक भएर फुलमतीलाई हेरिरहेको थियो ।फुलमतीले देखिन नजिकै आफ्ना दुइ छोरा र छोरी धुलोमा खेलिरहेका थिए,उसको आँखा भरिएर आयो ।

समाजका अगुवा हरुले सन्तमान र फुलमतीको लोग्ने सँग एकान्तमा गएर छलफल गरे,के कुरा भैरहेछ कसैले मेसो पाएनन्,निकै बेरको छलफल पछी ति सबै सभास्थल मा आए र आफ्ना निर्णय सुनाउन लागे!!!
“सन्तमान अविवाहित सँगै लक्का जवान रहेकोले उसले चाहे अनुसारको अरु विवाह गर्न समेत योग्य रहेको ले हाल लाई फुलमतीले जे जस्तो गल्ती गरेपनी उसको लोग्नेले त्यसलाई स्विकार गरी माफ गरी पु:न पत्नी स्विकार गर्नेछ”
निर्णय सुनेर सबै गाउँले आपसमा खासखुस गर्न थाले । फुलमती घोसे मुन्टो लाएर बसेकी थिइ ।लोग्नेले बच्चा बच्चिलाई लिएर घर गएको सम्म पत्तो पाइन ।

Views: 43

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

Comment by dilmayamagar on October 7, 2016 at 12:28am
Nice story
Comment by Prakash Lamichhane on October 3, 2016 at 10:17am

Nice Blog !

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service