वाल क्लवको सदस्य भएर सुरु भएको मेरो यात्रा........

पाँच बर्ष पहिलेको कुरा हो, कञ्चनपुर जिल्लाको दैजी गाविसमा एनएनएसडब्लुएले गठन गरेका वडास्तरिय बाल क्लवहरुलाई समेटेर गाविस स्तरिय वाल क्लव संजाल पनि गठन गरेको थियो । यी बाल क्लवहरुले हरेक महिना बैठक बसेर बालबालिकाका समस्याहरुका बारेमा एक आपसमा छलफल गर्दथे ।

संयोग नै भन्नुपर्छ, म पनि यीनै मध्येको एक वडा नम्बर ४ को बालक्लवमा आवद्ध भई गाविस स्तरिय बाल संजालमा उक्त वडाको प्रतिनिधिका रुपमा सहभागी भएँ । मलाई यो समुहमा बस्नुपर्छ भनेर एकजना चिनजानकै दाई हरिष सिंह कुँवरले भन्नुभएको थियो ।
यसअघि म कुनै संजालमा आवद्ध थिईन । गाउँकै श्री शिद्ध बैजनाथ माद्यामिक विद्यालयमा पढ्दै थिएँ । यस अघि मलाई बालबालिकाको हकहितका बारेमा पनि केही जानकारी थिएन भने दुईजना मानिसको अघि उभिएर बोल्न सक्छु समेत लाग्थेन । वडा स्तरिय बाल क्लव र गाविस स्तरिय बाल संजालमा आवद्ध भएपछि मैले सुरुमा त साथीहरुसंग आफ्ना कुराहरु भन्न सिकेँ भने त्यसपछि अरु ठुला मानिसहरुसमक्ष पनि आफ्ना कुराहरु राख्न सिकेँ । हाम्रो समुहमा निरन्तर रुपमा बाल अधिकारका बारेमा छलफल हुन्थ्यो । त्यो छलफलमा बस्न थालेपछि बालबालिकाका निम्ति समेत कानुनी रुपमा अधिकारहरुको ब्यवस्था हुने रहेछ र ती अधिकारहरु उलंघन गर्नु भनेको कानुनी रुपमा दण्डनिय रहेछ भन्ने कुरा पनि थाहा पाएँ ।

एवं रितले ज्ञानगुनका कुराहरु पनि सिक्दै आफ्नो बोल्ने र समुहको नेतृत्व समेत गर्दै जाने शिप तिखार्दै जाँदा संजाल गठन भएको पछिल्लो बर्षमै म उक्त संजालको अध्यक्ष हुन सफल भएँ । संजालको अध्यक्ष भएपछि मैले म नै नेता भनेर कहिल्यै घमण्ड गरिन । बरु आफुको सुरुवातका दिन जस्तै बोल्न नसक्ने र आफ्ना कुराहरु अरुसामु भन्न नसक्ने साथीहरुलाई पनि बोल्न हौसला दिँदै गएँ । मेरो यहि बानीले गर्दा होला मलाई जिल्लाबाट आउनुहुने अग्रज दाई दिदीहरुले पनि थप सिकाउनुभयो र मेरो नेतृत्व क्षमतालाई थप सुधार्न हौस्याउँदै जानुभयो । यसैको प्रतिफलले होला, म अर्कोबर्ष कञ्चनपुर जिल्ला स्तरिय बाल क्लव संजालको सचिव पदमा पुग्न सफल भएँ ।

यो पदमा पुगेपछि मैले जिल्लाभरीका बालबालिकाहरुलाई संधै आफ्ना दबिएका आवाजहरुलाई बुलन्द पार्न हौस्याउँदै गएँ । परिणाम स्वरुप मेरो नेतृत्व क्षमतामा बिकास त हुँदैगयो नै, संगसंै आवाज दबाएर बसेका पिछडिएका गाउँबस्तीका, विपन्न बस्तीका बालबालिकाहरु पनि नेतृत्व तहमा आउन थाले र सार्वजनिक रुपमा आफ्ना कुराहरु राख्न थाले । हाम्रो बाल संजालमा अपाङ्गता भएका बालबालिकाहरु देखि मुक्तकम्लहरी बालबालिकाहरु पनि थिए, जो बर्षौँदेखि विभेदपुर्ण जिन्दगी जिईरहेका थिए । उनीहरुले पनि अब संगठित भई आफ्ना कुराहरु राख्न थालेका थिए । हाम्रो यही अभियान स्वरुप विभिन्न संघसंस्थाहरुले यी बालबालिकाहरुलाई विभिन्न सहयोग समेत गर्न थालेका थिए ।
अर्को बर्ष म फेरी जिल्ला स्तरिय बाल क्लव संजालको अध्यक्ष भएँ । मेरो यो कार्यकाल एक बर्षको थियो, जहाँ रहेर मैले फेरी पनि बालबालिकाको आवाज बुलन्द बनाउने र उनीहरुमा नेतृत्वको विकास गराउने काममै लागिरहेँ ।

तेश्रो बर्ष म सुदुरपश्चिमाञ्चल स्तरिय क्षेत्रिय बाल क्लव संजालको कोषाध्यक्ष पदमा पुगेँ र त्यसको एक महिना पछि म फेरी राष्ट्रिय बाल क्लव संजालको केन्द्रिय सचिव पदमा पुग्न सफल भएँ । यसरी म वडास्तरिय बाल क्लवको सदस्य भएर सुरु गरेको ५ बर्ष मै संजालको केन्द्रिय सचिवको नेतृत्व तहमा पुगेँ । यहाँसम्म आईपुग्न मलाई बाल संजाल र यसका सहयोगी साथीहरुको ठुलो योगदान छ । त्यसका साथसाथै म आफैले पनि आफुमा नेतृत्वको विकास गराउन हरप्रहर सोचिरहेकी हुन्छु । अहिले म कञ्चनपुर जिल्लाको बेदकोट नगरपालिकाको स्थानिय युवा समुहको संयोजक भई काम गरिरहेकी छु । बाल क्लवको केन्द्रिय नेतृत्व पछि युवाको नेतृत्वको सुरुवातका रुपमा मेरो यात्रा फेरी गाउँबस्ती तहबाट सुरु भएको छ । यो मेरालागि चुनौती र अवसर दुबै भएको छ ।

चुनौती यस अर्थमा कि म केन्द्रिय परिचयबाट फेरी स्थानिय परिचयमा ओर्लिएकी छु संगसंगै अवसर यस अर्थमा कि मैले बालबालिकाको क्षेत्रमा जुन पहिचान बनाउन र योगदान दिन सफल भएँ अब यो अवसर युवाका क्षेत्रमा समेत गर्ने मौका मिलेको छ । त्यसैले समाजको हर क्षेत्रमा युवा नेतृत्व बनाउन र युवाको पहुँच कायम गराउन हरप्रहर तत्तपरता देखाउने प्रणका साथ लागिरहेकी छु ।

जय युवा ।

मायाकुमारी भट्ट,
स्थानिय युवा समुह संयोजक, वेदकोट नगरपालिका, कञ्चनपुर

Views: 72

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

Comment by Prakash Lamichhane on October 3, 2016 at 12:20pm

Nice Story !

Comment by krishna chaudhary on September 23, 2016 at 8:42pm
nice story maya g

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service