नहिँडेका बाटाहरु!!!

“उ बेला बिहे गर भन्दा हामी सँग रिसाइस्,ऐले यस्तो दु:ख त भोग्न पर्दैन थ्यो”

छिमेकी दाई आँगनमा आएर सम्झाइरहेका थिए,सम्झाएको के भन्नु ?छिमेकी त्यसैमाथी इर्श्यालु स्वाभावको आगोमा घ्यु थप्न कोशीस गरिरहेका थिए,मैले पनि सोँचेको थिएन,जीवनको यो पचासौँ वसन्त पार गरिसक्दा आफ्नै साक्खै भाइले घरबाट निस्केर जा भन्छ भनेर ।
स्मृतिपटमा झलझली विगत नाँच्न थाल्यो, ति त्यस्ता दिन पनि थिए जहाँ घरमा मेरो विवाह भन्दा बढी घर मैले सम्हाल्नु पर्ने जरुरत थियो । बा पंचायत कालको वैदार लेखापढी गर्दै फुर्सद नमिल्ने,आमा घरको छाक टार्न गाउँघर मा मेलापात गर्दैमा ठिक्क, भकी एक जना दिदी पढ्छु भनि स्कुल जान रहर गरिन्,अर्की दिदी म सँग कहिले मेलापात त कहिले घाँस दाउरामा साथ दिन्थिन ।भाईहरु हामी भन्दा पछी जन्मिए,त्यसैले पनि घरको सारा बोझ हामी माथी आइपर्‍यो । पंचायत काल सकिएसँगै बा को राजनैतिक जीवन शुरु भयो ।गाउँको स्कुलको हिसाबकिताब नमिलेको बहानामा कान्छो काकाले जेल हाल्न सक्ने कुरो सुनाएपछी आफैले भुटान तिर भागेर जान सल्लाह दिएका थिए । बा दुइ वर्ष भुटान बस्नुहुँदा आफ्नै काका आएर हाम्रो घर भत्काए, आँखा अगाडी अत्याचार हेरेर बस्नु शिवाय हाम्रो अर्को उपाय थिएन । अन्तत: हामी सित ओत लाग्न चित्राले बारेको घर शिवाय केहि रहेन । घरको जग बलियो नभएपछी घर जुनसुकै बेला पनि ढल्ने रहेछ भन्ने ज्ञान भयो त्यहिँ बेला । दु:खले अनुभुती सँगै ज्ञान पनि दिने रहेछ, बालापन भएपनी म त्यही महसुस गर्थेँ त्यो बेलामा ।त्यसैबेला मैले अठोट गरेँ घरको जग दरिलो बनाउन अब लागी पर्नै पर्छ । र त्यसपछी शुरुवात भयो जीवनको अर्को अध्याय ।

भाईहरु बढेर स्कुल जान सक्ने भए । समाजको सामुन्ने इज्जत ढाक्न भएपनी पढाउन कम्मर कसेँ, जेठी दिदी स्कुल जाने नै भैसकेपछी माइली दिदिसँग गाउँघरमा मेलापात धाउँन थाल्यौँ । हाट बजारमा चिया बेच्न देखी लिएर गाउँघरमा धान कोदो मकै रोप्न सम्म काम सघाउँन पछी परेनौँ ।भाईहरु बढ्दै गए र पढ्दै पनि गए ।हामी त्यसैलाई आफ्नो प्रगती मानेर काम गर्न पछी परेनौँ जसले गर्दा जीवनको अर्को अध्याय पछी परेको मलाई पत्तै भएन ।

३५ साला तिर कम्निस्ट आन्दोलन च र्कँदै गयो,बा पंचायत कालको बैदार भएको नाताले हाम्रो बा लाई पनि सामन्तिको गुथी पहिराइदिए तीनले,र एक साँझ घरैमा आएर गोली हाने,जबकी मेरो बा कुन दृष्टिकोण बाट सामन्ती भए मैले अहिलेसम्म बुझ्न सकेको छैन । सायद यसैबाट राजनैतिक चेतना हुनपनी जरुरु छ जस्तो आभास भयो म भित्र,केहि समय महिला संगठनमा समेत सामेल भएँ । तर राजनैतिक जीवनले मलाई त्यत्ती सन्तुष्टी दिएन,जती म आफ्नो कर्म गरेर पसिना बगाएर आफ्नो परिवारको पेट पाल्ने गर्दथेँ । एक हिसाबको सन्यास नै लिएर म पु:न आफ्नो कर्म अगाडी बढाउन पट्टी लागेँ । त्यतिबेलाको चल्तिको बजार माइपोखरीमा चिया पसल थियो मेरो । आउनेजाने चिनेजानेको सबै आउँदथे ।हँसिलो स्वाभावले गर्दा होला धेरै जना आफ्ना समेत भएका थिए । एक हिसाबले वैस फुल्ने त्यो मेरो समयमा म कर्म प्रती लगनशिल  भएर लागी परेको थिएँ । साथिभाइ जोरिपारी सित रम्दै गर्दा मैले आफ्नो कर्म नै जीवन हो भन्ठानेर अगाडी बढ्दैथिएँ ।जीवन यसैमा सन्तुष्ट पनि थियो । मेरा भाइहरुले शैक्षिक प्रगतीको पाटोहरु जब जब पार गर्दथे मलाई मनभित्र एक किसिमको आनन्द लाग्दथ्यो । त्यो बेला मलाई मन पराउने हरु नभएका पनि हैनन ।एक जना त मलाई मन पराएर यत्ती सम्म गर्दथे कि माइपोखरीको दर्शन गर्न आउने बहानामा बिहान बिहान मलाई हेर्न समेत आउँदथे,मैले पछी उनैलाई आफ्नि माइली दिदिसित विवाह को प्रस्ताव राखेँ र अहिले भिनाजु हुनुहुन्छ ।

यसरी घरको अभिभावकको जिम्मेवार सदस्यको रुपमा म आफुलाई बढाउने क्रममा म सफल हुँदै गएँ । जेठी दिदिलाई दिनको एक वटा प्रेम पत्र आउँने गर्दथ्यो,जीवनमा माया नै सब थोक हो भने र यत्तिका धेरै माया नै गर्छ भने किन सँधै तर्किरहने र ? दिदिलाई पनि सम्झाएँ र उसैसित लगनगाँठो कस्न आग्रह गरेँ । नभन्दै त्यस्तै पनि भयो ।  दिदिहरुको जीवनको यौटा खुड्किलो पार गराउन सफल भएकोमा म आफै भित्रै देखी मनमनै दंग थिएँ । आफ्नो जीवन सम्हाल्ने समय भन्दा बढी मलाई घरका अन्य सदस्यको चिन्ता र चासो थियो । त्यसैले पनि मैले आफुलाई भन्दा बढी घरका सदस्यलाई बढी हेरविचार मा जीवन बिताएँ । खुशी जहाँसम्म मिलेकै थियो जस्तो लाग्छ मलाई ।

एकपटक विराटनगर बाट एकजना मेरो हात माग्न भनि आएका थिए ।त्यो बेला माइली दिदिले कर नगरेकी हैन,तर मलाई त्यसबेला आफ्नो भविश्य भन्दा बढी भाइहरुको भविश्यको चिन्ता थियो । पढ्दैगरेका भाइहरुलाई यसरी बिचैमा छोडेर गए के भन्लान भन्ने पिर थियो ।सँगै तीनले फेरी पढ्न पाउने हुन या हैनन भन्ने चिन्ता समेत लागेको थियो । त्यसैले पनि मैले आफ्नो स्वार्थ भन्दा परिवारको आवश्यकता नियालेँ र जीवनलाई अलिकती पछी सारेँ । सायद मेरो निर्णय मलाई कुनै समयमा भविश्यमा  गएर मलाई नै बोझ बन्छ भन्ने मैले त्यो बेला बुझेकी भए आज यस्तो अवस्थामा म पुग्न पर्दैन थ्यो होला ।

त्यसपछी हाम्रो परिवारमा यौटा ठुलो बज्रपात पर्‍यो । जेठी दिदिले काठ्माण्डौमा आत्महत्या गरिछिन्,जेल नेल भोगिसकेका मेरा बा समेत छाती पिटिपिटी रोएको देखेर मलाई अवाक लाग्यो  । हाम्रो परिवारको लागी अघी बढ्ने सहारा भनेकै त्यही दिदी थिईन्,जो त्यतिबेलाको जमानामा समेत  मेट्रीक पास गरेकी थिइन । मलाई त्यस बेला एक हिसाबले त्यो घटनाको जिम्मेवार म आफै हुँ जस्तो पनि लाग्यो । किनभने भिनाजु सित दिदिले विवाह गर्न नमान्दा मैले नै विवाहको लागी मन्जुर गराएकी थिएँ । हुनत विवाह अघी त्यत्तिका माया गर्ने भिनाजुले पछी कुनै भविश्यमा मेरी दिदिले आत्महत्या सम्मको पाइला चाल्नुपर्ने स्थिती सृजना गर्लान भन्ने मैले कहाँ सोंचेकी हुँली र ? जीवन भनेको सँधै रहस्यको खानी रहेछ,जती जिउँदै गयो त्यती नै रहस्यको पर्दा खुल्दै जाने । देखेजस्तो सोंचेजस्तो जीवन कहिल्यै नभैदिने,यसैले त होला मानिसहरु मृगतृष्णाको पछी दौडेसरी जीवनको अर्को पाना पल्टाउन र के रहेछ भनि जान्न सदैव आतुर भैइ दौडिरहेका हुन्छन ।

दिदी स्वयंले आत्महत्या गरिन आफु त मरिन मरिन तर ति साना साना वाल बच्चा हरु त्यसै टुहुरो पारेर गएकी थिइन । कुन्नी कुन रिसको बदला हो या त कुन्नी कुन चोटको पिडा सहन नसकेर हो,आफैले जन्म दिएको लालाबालाको मुहार समेत छोड्न दिदी बाध्य भएकी थिइन । जिम्मेवारीको पोको उठाउन अभ्यस्त म अब यो नयाँं जिम्मेवारी फेरी काँधमा सुम्पनुपर्छ भन्ने राय आएकोले म यसको लागी समेत तैयार रहेँ र आफुलाई तयार गरेँ । जीवनको धेरै काम टुङ्गो लगाइसकेकी मैले अब यौटा थाँती रहेको काम पनि टुङ्गो लगाइहालुँ भन्ने सोंचेर म भाइ र माइलो भिनाजु त्यसबेला काठ्माण्डौँ हिँड्यौँ ।

घर सल्लाह अनुसार नै हामी तयार भएर आएका थियौँ । जेठो भिनाजु दिदिले छोडेर जानुभएपछी एक्लो जस्तै हुनुभएको थियो । भिनाजु नभएपनी बाल बच्चाको अनुहार सम्झेर मैले पनि आफुलाई राजी गराएकी थिएँ । माइलो भिनाजु र मेरो भाइले जेठो भिनाजुलाई सम्झाउँंनुभयो । धेरै बेर कुरा गर्नुभयो,जीवनको यत्तिका विधी बाँकी रहेको पाटाहरु एक्लैले काट्न मुस्किल पर्ने समेत भन्नुभयो । दिदिको वियोगको क्रोध थियो या अरु नै केहि त्यसबेला भिनाजुले नमिठो वचन प्रहार गर्नुभयो । आफ्नै आँखा अगाडी आफ्नो त बेइज्जत भयो भयो भाइको समेत बेइज्जत भैरहेको देख्न सकिनँ । जीवनमा धेरैकुरा नभएपनी केहिकेहि कुरा अवश्य भाग्यमा लिएर आएको हुनुपर्दोरहेछ मान्छेले । मलाई काठ्माण्डौ टेकेपछी यहिँ अनुभव भयो ।  सायदै दिदिको भाग्यमा त्यत्ती नै लेख्या थियो,र भिनाजुको पनि । अन्तत: हामी निराश भएर त्याहाँ बाट घर फर्क्यौँ । जेठो भिनाजुले त्यसपछी कुनै खबर गर्नुभएन,एकहिसाबले हामिसितको नाता तोडिदिनुभयो । र मैले पनि जीवनको त्यो अन्तिम जिम्मेवारी वहन गर्ने सपना हमेसाको लागी तोडिदिएँ ।

अब बाँकी म सित भनेको मेरो परिवर थियो,जसको लागी म वर्षौँ देखी समर्पित रहँदै आएकी थिएँ,मैले अठोट गरेँ मेरो त्यही कामलाई म निरन्तरता दिनेछु । भाईहरु बढिसकेका थिए,सबैले आफुले रोजेको बुहारी भित्र्याए,उनिहरुको खुशीमा म आफु अछुतो रहन सक्दिन थिएँ । किनभने वर्षौँ देखिको मेरो सपनाहरु पुरा हुँदैथिए । समय बित्दै जाँदा मानिसका प्राथमिकता समेत बदलिन्छ क्यारे,हिजोसम्म हरकुरामा मेरो आवश्यकता सम्झाने मेरा भाइहरु अब बिस्त तारै अलग्गिन थालेका थिए ।  समय परिवर्तनशिल छ र सोही अनुरुप जीवन पनि,मैले आफुलाई यस्तै गरी सम्झाएँ । अब त बा बित्नुभएको पनि वर्षौँ भैसकेको थियो,भाईहरु आफ्नै मनको निर्णयमा चल्न थालिसकेका थिए । उनिहरु अब एकजुट हुनभन्दा बढी छुटफुटको बाटो तर्फ आफुलाई धकेलिरहेका थिए । हामी एक रहँदको जो रमाइलो थियो अब त्यसको अन्त्य नजिँकिदै थियो । र अन्तत: सम्पत्ती बाँडफाँडमा मलाई समेत अंशवण्डाको भाग लगाउनु पर्दा चित्त नबुझेर तीनले भने कि “आजै अहिल्यै यो घरबाट निक्लेर जा”

मानिस कुन बेला स्वार्थी हुन्छ पत्तो नपाइने रहेछ भन्ने भान भैरहेको थियो मलाई । समयसँगै आवश्यक्ता चाहना मात्र हैन प्राथमिकता समेत वदलिनेरहेछ मान्छेको । मानिस हरु माया प्रेम भन्छन्,वर्षौँ सम्म तड्पिन्छन्,तर अहँ जाबो यौटा सम्पत्तिको कारणमा त जन्म नाता टुटाउन सक्ने मान्छेले खै प्रेमको परिभाषा सायदै बुझ्छन जस्तो लाग्दैन मलाई ।जब मान्छे सम्बन्ध हैन प्राथमिकता अरुथोकलाई नै दिन्छ,सायद बिखण्डन त्यहिँबाट शुरुवात हुन्छ । भाईहरुको यस्तो व्यवहार सहन नसकेर माइली दिदी कहाँ गएँ,आखिर जतिसुकै झागडा गरेपनी जेसुकै भनेपनी दिदिबहिनी जस्ता आफ्ना कोही हुन्नन रहेछन भन्ने मलाई त्यसबेला अनुभव भयो । छिमेकी दाइ हाम्रो टुटफुटमा रमाइरहेका थिए,सहानुभुती राखे जस्तो गरेर पिडा दिइरहेका थिए । मलाई त्यसबेला अनुभव भयो,मैले हमेसा सही सम्झेर हिँडेका बाटाहरु गलत रहेछन्,केहिहदसम्म स्वार्थी बन्न सकेको भए आज यस्तो हालतमा आउन पर्दैन थ्यो । मैले हिँड्न नसकेका बाटाहरुको यादले पस्चात्ताप भैरहेको थियो त्यसबेला मलाई ।

Views: 42

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service