योजना तथा रकम विनियोजन भएपनि प्रभावकारी विकास हुन सकेन ।

जिल्लामा विकास निर्माणका लागि योजना तथा रकम विनियोजन भएपनि प्रभावकारी विकास हुन नसकेको अछाम जिल्लाका सरोकारवालाहरुले बताएका छन् । जिल्लाको विकास निर्माणको अवस्था, समस्या र एण्टेना फाउण्डेशनले उत्पादन गर्ने विकासको बाटोको प्रभावका बारेमा सदरमुकाम मंगलसैनमा गरिएको अन्तक्रियाका सहभागीहरुले जिल्लाको विकासका लागि हरेक बर्ष बढ्दो क्रममा योजना तथा बजेट बिनियोजन गरिएपनि प्रभावकारी विकास नभएकोले सबै सरोकारवालाहरुले ध्यान दिनुपर्ने बताएका हुन् ।

प्रभावकारी विकासका लागि सबै सरोकारवालाहरु जिम्मेवार र कर्तव्यबोध गरी अघि बढ्नुपर्नेमा सहभागिले जोड दिएका छन् । कार्यक्रममा बोल्दै अछामका प्रमुख जिल्ला अधिकारि कोशलराज शर्माले जिल्लामा सञ्चालित हरेका विकासको योजनाको आफुले निरिक्षण गरिरहेको बताउनु भयो । जिल्लामा हुने विकास निर्माणका कार्यमा सरोकारवाला संग समन्वय गर्दै अगाडी बढ्ने भयो । अछाम जिल्लामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख जिल्ला अधिकारीलाई अख्तियार दुरुपयोगको छानविन गर्ने अधिकार दिएको भन्दै आफुले परेका उजुरु माथी प्रभावकारी अनुसन्धान गर्ने समेत बताउनु भयो । नागरिकले समेत विकास निर्माणमा चासो दिनु पर्ने बताउनु भयो ।

अछाम उद्योग वाणिज्य संघका अध्यक्ष चन्द्रप्रसाद ढुंगानाले आफुले मंगलसैन जंगलघाट सडकको लागि पटक पटक आवाज उठाएपनि यस बर्षको योजनामा उक्त योजना नै छुटाईदिएको गुनासो गर्नुभयो । महिला मानव अधिकार रक्षक संजालका अध्यक्ष मना अधिकारीले गाउँमा बजेट गएपनि प्रभावकारी विकास नभएको र टाठाबाठाले नै फाईदा लिने गरेको बताउनु भयो । कार्यक्रममा बोल्दै महिला संघका उपाध्यक्ष अमृता बुढाले सडक, खानेपानी, विद्युत लगायतको आफुले दैनिक समस्या भोगिरहेको बताउनु भयो । नेपाली कांग्रेसका जिल्ला सदस्य भरत कुमालले गाउँ गाउँ सडक पुगेपनि त्यसको प्रभावकारी संचालन नभएको बताउनु भयो । सडक बाह्रै महिना संचालन नभएसम्म सडक पुग्यो भनेर गर्व गर्न नहुने बताउनु भयो । कार्यक्रममा बोल्दै नेकपा एमालेका जिल्ला सचिव यज्ञ बोगटीले विगतको तुलनामा अछाम जिल्लामा शिक्षा, स्वास्थ्य, सडक, विद्युतीकरण लगायतका क्षेत्रमा विकास भएको बताउनु भयो । अब अझै प्रभावकारी विकासको लागि आफ्नो पार्टी सक्रिय रहेको र सबै सरोकारवालाले ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

भु संरक्षण अधिकृत शिवकुमार पोखरेलले वातावरणीय प्रभाव मूल्यांकन नगरी डोजरबाट सडक निर्माण गर्दा पहिरो आउने र भुक्षयको जिल्लामा निकै समस्या रहेको औल्याउनु भयो । जिल्ला स्वास्थ्य प्रमुख डाक्टर शरदचन्द्र बरालले अछाममा पछिल्लो समयमा स्वास्थ्य सेवा प्रभावकारी रुपमा प्रदान गर्न आफुहरु लागिरहेको र सुरक्षित मातृत्व र बाल स्वास्थ्यमा सुधार आएको बताउनु भयो । कार्यक्रममा सहभागिले विकास निर्माणको प्रभावकारीताको लागि उठाएका प्रश्नको जवाफ दिँदै स्थानीय विकास अधिकारी शिवप्रसाद हुमेगाईले प्रभावकारी विकासका लागि जिल्ला विकास समितिले विभिन्न ऐन, नियमको अधिनमा रही कार्यान्वयनका लागि लागिरहेको बताउनु भयो । गाउँ तहबाटै आएको योजनाको कार्यान्वयनका लागि जिविसले प्राथमिकता दिएको उहाँले बताउनु भयो । प्रभावकारी विकासको लागि सम्बनिधत सबै सरोकारवालाहरुले ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो । कार्यक्रममा बोल्दै जिल्ला न्यायधिश हरीप्रसाद शर्मा उपाध्याय पंगेनीले अछाम जिल्ला विभिन्न सम्भावना भएको जिल्ला भएको भन्दै अब सबै सरोकारवाला र स्थानीय मिलेर प्रभावकारी विकासको लागि लाग्नुपर्ने बताउनु भयो । विकास निर्माणका लागी शान्ती सुरक्षा पनि महत्वपूर्ण हुने भन्दै यसका लागी प्रहरी प्रशासन तयार रहेको बताउनु भयो । अन्तक्रियाको सहजीकरण एण्टेना फाण्डेशनका कविता भट्टराई र मनिशा गौचनले गर्नुभएको थियो ।

टेकराज भण्डारी, अछाम असार ३,

Views: 51

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service