मासु, बोसो र स्वास्थ्य

मासु सन्तुलित भोजनको एक अभिन्न अंग हो | विश्व स्वास्थ्य संगठनका अनुसार नियमित मासु खाने व्यक्तिमा शरीरलाई आवश्यक शक्तिको १०-२५ % शक्ति मासु र मासुजन्य परिकार हरुले नै पुरा गर्दछन् | मासु चाहे जे सुकै को होस् त्यो रोजाई र छनोट ठाउँ, समुदाय, चालचलन, रहनसहन र खाद्य व्यवहार अनुसार फरक पर्न सक्छ तर यो शाकाहारी परिवार बाहेक अन्यका लागि केहि बिशेष महत्वको नै हुन्छ | हुन पनि मासु र यसका परिकारहरु स्वाद र मिठासमा मात्र हैन पौष्टिक तत्व र पोषणका हिसाबले पनि उत्कृष्ट मानिन्छन् | बैज्ञानिक तथ्य र परिक्षणहरुलाई आधार मान्ने हो भने दुध, माछा, मासु र अण्डा मा मात्र हाम्रो शरीरलाई आवश्यक पर्ने पूर्ण प्रोटिन पाइन्छ | मासुमा पानी, प्रोटिन, चिल्लो पदार्थ (बोसो), खनिज पदार्थ र भिटामिन पाइन्छ | अहिलेसम्मको जानकारी अनुसार भिटामिन बी-१२ (Cyanocobalamine) केबल मासुमा मात्र पाइन्छ |

तर यहाँ मैले उठाउन खोजेको बिषय यसको महत्व र आवश्यकताको औचित्य प्रष्ट पार्न भन्दा पनि मासुमा पाइने चिल्लो पदार्थ (बोसो) र यसका केहि  जान्नै पर्ने बिषयहरु कोट्याउँनु हो | आजभोली उपभोक्तामा आएको जागरण र चेतनाको स्तरले गर्दा स्वाथ्य खानाको माग बढ्दो छ | जनावरबाट प्राप्त मासुमा बोसोको मात्रा पशु, पशुको लिङ्ग, त्यसको खानपान तथा शरीरको कुन भाग को मासु लिईएको हो भन्ने जस्ता कुरा ले फरक पार्दछ | सामान्यतया मासु र मासुका परिकारहरुमा ३-३५ प्रतिशत सम्म बोसो पाइन्छ | कुखुराको छाला भागमा अधिकतम ४८ % सम्म बोसो पाउन सकिन्छ | त्यस्तै ससेजमा १५-२५ % र सलामी मा ४५ % सम्म बोसो हुन्छ | तर जनावरबाट यसरि प्राप्त हुने बोसो चिल्लो पदार्थलाई भने स्वास्थ्यका दृष्टिकोणले राम्रो मानिदैन | मासु बाट प्राप्त हुने बोसोमा बढी मात्रामा Saturated fatty acids (सम्त्रिप्त फ्याट्टी एसिड) र monounsaturated fatty acids (एक जोडा कार्बन कार्बनका बीच मात्र दूई/ तीन बोन्ड भएको) प्राप्त हुने र त्यस्तो प्रकारको  फ्याट्टी एसिडहरु प्रत्यक्षरुपममा उच्च कोलेस्टेरोल संग सम्बन्धित हुन्छन् | त्यस्ता  फ्याट्टी एसिडहरु जस्तै Myristic acid र palmitic acid ले जम्मा फ्याट्टी एसिड मात्राको करिब ३०-४० % भाग लिन्छन् | साथै मासुमा ३०-१२० मिलि ग्राम प्रति १०० ग्राम कोलेष्ट्रोल पनि पाइन्छ |  तसर्थ मासु वा मासुका परिकारबाट प्राप्त हुने बोसोले रगतमा कोलेष्ट्रोल (cholesterol) को मात्रा बढाउने र उच्च कोलेस्टेरोल मुटु रोग को कारण बन्ने  बैज्ञानिक तथ्यहरु सार्वजनिक भएका छन् |

सेतो मासु (कुखुरा, सुँगुर आदि)मा तुलनात्मक रुपमा रातो मासु (राँगा,भैसी,खसी, भेडा आदि) भन्दा कम मात्रामा  Saturated fatty acids पाईनु का साथै शरीरलाई अत्यावश्यक PUFA (polyunsaturated fatty acids) (एक जोडा भन्दा बढी कार्बन कार्बनका बीच दूई/ तीन बोन्ड भएको) अर्थात् असम्त्रिप्त फ्याट्टी एसिडहरु पनि बढी मात्रामा पाइने हुँदा तुलनात्मक रुपममा त्यस्तो मासु राम्रो मानिन्छ | स्मरण रहोस्: मानिसको पाचन प्रणालीमा n-3 र n-6 Polyunsaturated fatty acids (जस्तै; arachidonic acid, eicosapentaenoic acid, docosahxaenoic acid) नबन्ने हुँदा बाहिरि स्रोत अर्थात् खानाबाट नै त्यसको आवश्यकता पूर्ति गर्नुपर्ने हुन्छ भने त्यसकालागि सामुन्द्रिक माछा र माछाको तेललाई मुख्य स्रोतको रुपमा लिइन्छ |

मुटु रोग, मोटोपना, क्यान्सर, Type-2 डाईबेटिज जस्ता रोगहरु निरुपणलाई केन्द्र मानेर विश्व स्वास्थ्य संगठन (WHO) ले  दिएको सन्तुलित भोजनको मार्गनिर्देशन लाई आधार मान्ने हो भने शरीरलाई आबश्यक शक्तिको २०-३०% शक्ति चिल्लो पदार्थ (बोसो, घीउ, तेल, नौनी आदि) बाट पुरा गर्नु पर्ने हुन्छ | तर त्यसमा Saturated fatty acids (सम्त्रिप्त फ्याट्टी एसिड) को आबश्यक शक्तिको १०% भन्दा बढी हिस्सा हुनुहुन्न भने PUFAs (सम्त्रिप्त फ्याट्टी एसिडहरु) को मात्र ६-११% हुनुपर्दछ | साथै हाम्रो दैनिक खानामा कोलेष्ट्रोल को मात्रा ३०० मिलि ग्राम भन्दा कम हुनुपर्दछ |  

पहिले पहिले मुटु रोग, मोटोपना जस्ता रोगबाट बच्न मासु नै कम खाना सल्लाह दिइन्थ्यो ताकी खानामा बोसोको मात्र कम होस् एक हिसाबले हेर्दा यो सहि देखिए पनि मासु र मासुका परिकारका पारखीहरुलाई त्यो त्यति सजिलो काम होईन | त्यसैले आज भोलि मासु कम भन्दा पनि बोसो कम खाने र PUFAs को मात्रा बढी भएको मासुको छनोट गर्ने तिर सल्लाह र सुझाब केन्द्रित भएको छ | बच्चा देखिनै PUFAs (बिशेष गरि n-3 र n-6 Polyunsaturated fatty acids) को मात्र बढी भएको खाना खानाले बयस्क अवस्थामा पनि कोलेष्ट्रोलको लेभल सामान्य नै रहने अनुसन्धानहरु बाट थाहा भएको छ | जानकारी रहोस् कि; बनस्पति तेल (तोरी, रायो, सूर्यमुखी, भटमास आदि) मा कोलेष्ट्रोल को  मात्र  शुन्य हुने र धेरै मात्रामा PUFAs पनि पाइने हुने हुँदा खानामा दैनिक प्रयोग गर्नु राम्रो मानिन्छ |

“स्वच्छ र स्वस्थ आहार, सुखी परिवारको आधार !”

-    दिनेश सुबेदी (email: subedinesh@gmail.com)

(लेखक एक खाद्य प्राविधिज्ञ हुन्) 

Views: 82

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

Comment by santosh pandey on July 26, 2016 at 3:39pm

Nice and informative article :)

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service