पटकपटक सोचिरहेछु– ‘राससमा बम हान्नुपर्छ’

आजको अघिल्लो दिन होस् या सयौं वर्ष पुरानो ‘इतिहास’  ‘इतिहास’ नै हो । इतिहासको घडीमा कुनै फेरबदल भइरहन्छ भन्ने मलाई लाग्दैन । तर जिन्दगी र इतिहास अलिक फरक कुरा रैछ । इतिहास आफैमा साक्षी छ । इतिहास कहिल्यै परिवर्तन हुँदैन तर मान्छेको जिन्दगी र सोचहरुलाई  पीडा र त्यसबाट उत्पादित आक्रोशहरुले निर्देशित गर्दाेरहेछ । हो आज मेरो जिन्दगीको आक्रोश चरमोत्कर्षमा पुगेको म आफैं मूल्याङ्कन गरिरहेको छु । म कुनै सम्पन्न परिवारको मान्छे होइन । न त मेरो नाममा केही आना, कट्ठा र रोपनी जग्गा नै छ । सिधा अर्थमा भन्ने हो भने मसँग अहिले केही दर्जन कलम र डायरीहरु छन् । मैले अर्काको डेस्कटपमा यी कुराहरु लेखिरहेको छु ।

हो, जिन्दगी जिउने आधारहरु प्रशस्त छन् । मान्छेहरु गिट्टी कुटेर पनि बाँचिरहेका छन् । सडकमै सुतेर जीवन जिउनेहरु पनि धेरै छन् । कोही निजामति कर्मचारी होलान्, कोही निजी क्षेत्रमा काम गर्ने होलान् । कोही परदेशी छन् । जो जहाँ भए पनि जे गरे पनि सबैले जसोतसो मृत्युनजिक पुग्ने प्रयत्न गरिरहेकै छन् । अर्थात्, जीवनको गुजारा चलाइरहेका छन् । म मान्छे त्यस्तै एउटा पेसामा छु । प्रस्ट रुपमा भन्नुपर्दा म पत्रकारिता गरेर बाँच्ने प्रयत्न गर्दैछु । मजस्तो युवा बाँच्नु मात्रै ठुलो कुरा हो भन्ने पनि मलाई लाग्दैन । यी मेरा परिवर्तित सोचहरु हुन् ।

‘‘पत्रकारिता यस्तो क्षेत्र हो, जुन क्षेत्रबाट समाज रुपान्तरण गर्न सकिन्छ । पत्रकारिता न्यायालयभन्दा पनि स्वतन्त्र र निश्पक्ष छ’ मैले सोच्ने गर्दथें–‘मेरा पीडाहरुको समाधान गर्न मैले पत्रकारिता गर्नै पर्दछ र समाज रुपान्तरण गर्नु पर्दछ ।’’

मान्छेहरु बाँच्नका लागि हरेक प्रयत्न गर्दछन् । मैले पनि बाँच्नका लागि एउटा प्रयास गर्दैछु त्यो पत्रकारिता नै हो । हो, मैले जिन्दगीभर पत्रकारिता गर्ने निर्णय गरेरै केही जोसजाँगर लिएर झन्डै पाँच वर्षअघि यो क्षेत्रमा झुकाव राख्दै आवद्ध भएको हुँ । यस क्षेत्रमा मेरो झुकाव केही पीडाहरुसंगै जोडिएको थियो । मैले ती पीडाहरुबाट सिर्जित आक्रोशले नै पीडाहरुलाई भुलाउन पत्रकारितामा जोडिने निर्णय गरेको थियो । त्यतीवेला म १६ वर्षको थिए । ‘‘पत्रकारिता यस्तो क्षेत्र हो, जुन क्षेत्रबाट समाज रुपान्तरण गर्न सकिन्छ । पत्रकारिता न्यायालयभन्दा पनि स्वतन्त्र र निश्पक्ष छ’ मैले सोच्ने गर्दथें–‘मेरा पीडाहरुको समाधान गर्न मैले पत्रकारिता गर्नै पर्दछ र समाज रुपान्तरण गर्नु पर्दछ ।’’

भर्खरको एसएलसी पास गरेको १६ वर्षे फुच्चे साइन्समा गरिएको एडमिसन ट्रान्सफर गरेर आमसञ्चार र पत्रकारिता विषय पढ्न थाले । मलाई थाहा थियो, मेरो घरको तत्कालीन अवस्थाले मैले कुन तहसम्म साइन्स पढ्न सक्छु भन्ने । पत्रकारिता गर्ने सोच बनाएको मैले केही व्यक्तिको सहयोगमा कसैलाई थाहा नहुनेगरी काम पनि खोजिहालें । १६ वर्षकै थिएँ सुर्खेतको स्थानीय ‘युग आव्हान’ दैनिक पत्रिकामा काम गर्ने कुरा भयो । पत्रकारिता विषय पढ्न सुरु गरेकाले समाचार लेख्न अलिअलि सिकेको थिएँ । तर रिपोर्टिङसँगै मैले सुरुमा बिहानबिहान पत्रिका बाँड्न थालें । पत्रिकाका ग्राहक बनाउँदै बजारमा हिँडें । केही समयपछि भने म रिपोर्टरका रुपमा मात्रै काम गर्न थालें । एक वर्षपछि त सायद पत्रकार भन्न मिल्ने जत्तिको भइसको थिएँ । तर, अहिले पनि म कन्फ्यूज नै छु पत्रकारको परिभाषामा ।

त्यतिबेला मैले मासिक ३ हजार तलब पाउथें । ठीक एक वर्ष काम गरिसकेपछि मलाई सुर्खेतकै अर्काे दैनिक पत्रिका ‘काँक्रेबिहार’ (क वर्ग) मा काम गर्ने अवसर मिल्यो । जुन पत्रिका जिल्लाकै पहिलो दैनिक पत्रिका थियो । यसमा मैले थप केही सेवा सुविधा पाएँ । यहाँ काम गर्दा मैले भाषिक शुद्धतासम्बन्धी सिक्ने अवसर पाएँ । पत्रिकासँगै एफएम रेडियोमा समेत काम गर्न थालें । त्यसपछिका दिनहरुमा मोफसलमा निरन्तर रेडियो र छापा पत्रकारितालाई अगाडि बढाउँदा मलाई आनन्द महशुस पनि हुन्छ । जसोतसो बाँचिएको छ । बाँच्न सक्नु नै जिन्दगीको आनन्द हो । करिब तीन वर्ष निरन्तर पत्रकारिता सिक्दा म पनि अरु पत्रकारभन्दा कुनै कुरामा कमी छैन भन्ने महशुस हुन्थ्यो । दिन बिताउन र रहरका लागि पत्रकारिता गर्नेहरुका बीचमा वास्तवमै म सफल पनि थिएँ । छोटो समयमा सम्मान र पुरस्कारको स्वाद पनि चाख्न पाएँ ।

त्यसै क्रममा वि.स. २०७० सालमा सुर्खेतका लागि राष्ट्रिय समाचार (रासस) को जिल्ला प्रतिनिधि (स्ट्रिन्जर) खालि रहेको सूचना पाएपछि मैले निवेदन दिएँ । आफ्नो बायोडाटा पठाएँ । बायोडाटा पठाएपछि राससबाट फोन आयो, तपाई कति वर्षको ? मैले हाँस्दै जवाफ दिएको थिएँ– ‘मैले बायोडाटामा लेखेको जतिको हो सर ।’ जतिबेला म १८ र १९ वर्षको बीचमा थिए । यद्यपि मलाई राससले सुर्खेतको स्ट्रिन्जरका रुपमा नियुक्ति दियो । राससको नियुक्ति पाएको दिन मैले सकेजति राससको इतिहास खोजें । मलाई लाग्छ सायद राससको बारेमा मलाई जति जानकारी छ त्यति राससका डेस्कमा बस्ने र प्रशासन शाखाका कर्मचारीहरुलाई पनि छैन । म पत्रकारिताको विद्यार्थी भएकोले पनि राससको बारेमा बुझ्न निकै इन्ट्रेस्ट नै थियो । मैले राससमा काम गरेको अवधिभर खिलराज रेग्मी अन्तरिम मन्त्रिपरिषद्को अध्यक्ष हुनुन्थ्यो । मैले राससमा करिब साढे एक वर्ष काम गरें । त्यसपछि मलाई थाहा नदिई विनाकारण हटायो ।

वि.स. २०७१ साउनसम्म काम गरे तर वि.स.२०७० चैत्रपछिको तलब मैले पाएको छैन । समाचारको कुरा गर्ने हो भने मैले पठाएका समाचार कहिल्य सम्पादन गर्नु परेन राससका सम्पादकहरुलाई । समाचार पनि दैनिक प्रकाशन हुन्थे । तर मलाई हटाउनुको कारण मलाई थाहा हुन सकेन । कारण जान्न अत्यास लागेपछि राससमा पटकपटक फोन गर्थे कारण माग्दा जवाफ आउदैन्थ्यो । यो कुराले मलाई अहिले पनि जलाइरहेको छ । हुन त अहिले पनि म मोफसलमा जमेर पत्रकारिता मै लागेको छु । यहाँको पत्रकारिताको लागि मेरो अभाव महसुस गर्दछन मिडिया मालिकहरु तर यतिवेला पत्रकारिताबाट सन्तुष्ट हुन सकिरहेको छैन । यसको कारण राससले मलाई हटायो तर त्यसको कारण मैले अहिलेसम्म पाएको छैन ?

मलाई हटाइसकेपछि दुई पटकसम्म भाडा सापटी मागेर सुर्खेतबाट काठमाडाैं रासस अफिसमा पुगेकै हुँ । बाँकी रहेको पारिश्रमिक लिन । तर खै किन हो त्यो रकम पाउनुहुन्छ भन्ने बाहेक अरु केही भएन । केही लामो अन्तरमा दोस्रो पटक रासस अफिसमा म पुगेको थिए । प्रशासनमा पुगेर थप अरु शाखामा माथिल्लो तला पुगे । मैले राससमा एक जना मान्छे पनि चिन्दैन्थे । मलाई पनि कसैले चिन्दैन भन्ने लाग्यो । मलाई मान्छे चिन्नु पनि थिएन । मेरो काम समाचार लेख्नु थियो । म समाचार जति सक्यो धेरै लेख्ने प्रयासमा हुन्थे । सायद मोफसलबाट बाइलाइन सबैभन्दा धेरै समाचार प्रकाशन हुने म नै थिएँ । तर, मैले सोचजस्तो राससमा रहेनछ । सुर्खेतका प्रतिनिधि खेमराज वलीभन्दा राससका धेरै मान्छेहरु मलाई चिन्दा रहेछन् । दोस्रो पटक मैले नचिनेका केही कर्मचारीहरुले नै मलाई सोधे– किन रैछ तपाईंलाई हटाएको, बुझ्नुभयो ? उनी एक पटक मेरो समाचार प्रकाशन भएको फाइल हेर्दै थिए । मैले त्यही कारण खोज्न रासस अफिसमा आएको बताएँ । मेरोभन्दा बढ्ता आक्रोश ती कर्मचारीमा थियो । मलाई देख्दा राससका धेरै कर्मचारीको अनुहार मलिन भयो । झन्डै उहाँहरुका आँखा रसाएका हुन्थे ।

यस सम्बन्धमा मैले रासस स्रोतबाटै माथिबाट आएको दबाव भन्ने सूचना पाएको थिएँ । मलाई हटाउन दबाव दिने मान्छे सञ्चारमन्त्री डा. मिनेन्द्र रिजाल हुन् रे । रिजालज्यूलाई भेट्ने मेरो पहुँचकाे कुरा थिएन । संयोगवस सुर्खेतमा भेट भयो । मैले घुमाएर त्यही प्रश्न गरें, मलाई राससबाट हटाउने तपाईं हो रे त ? घुमाएरै उत्तर दिने प्रयास गरे पनि उत्तर आएन । मबाहेक मलाई साथ दिने कोही थिएनन्, छैन र हुँदैन । फेरि पनि मलाई कारण चाहियो । यस सम्बन्धमा नेपाल पत्रकार महासंघका अध्यक्ष महेन्द्र विष्टलाई पनि प्रत्यक्ष भेटेर जानकारी गराएँ । मेरो पहुँच पुगेन । उहाँ व्यस्त हुनुहुन्छ भन्ने मलाई थाहा थियो । मैले केही दिन फोनबाट पनि जानकारी गराएँ तर धेरै दिन उहाँलाई सम्पर्क पनि गरिनँ ।

मैले पनि सुनेको छु अपराधपछि कारण हुन्छ तर त्यो कारण कुनै ठूलो हुँदैन । जिन्दगीमा पहिलो पटक यो कुरा मलाई सबैभन्दा सत्य लागेको छ । अरुलाई कुनै ठूलो कुरा होइन । राससबाट विना कारण मलाई नै जानकारी नदिएर हटाइनु मेरा लागि अहिलेसम्मकै ठूलो पीडा हो । पहिलाे त मेरो जिन्दगीको सवाल पनि हो । यद्यपि राससविना म बाँच्न नसक्ने होइन तर पीडित हो । मैले आफ्नो सम्पूर्ण कार्य सफलरुपमा गर्दागर्दै हटाइनुको कारण किन नपाउने ? के मेरो अधिकार होइन र ? यही प्रश्नले मात्रै मलाई आक्रोशित बनाउँछ । राससले मलाई हटाएको त एक वर्ष पनि हुन थाल्यो तर कारण थाहा नहुँदा मलाई कहिलेकाहीं अहिले पनि निन्द्रा लाग्दैन । मैले बुझेका र अनुमान गरेका केही कारणहरु छन् तर ती कारणहरु राससले किन पुष्टि गर्दैन ? यसै विषयमा मैले दिमाग खेलाएर धेरै रातहरु बिताइसकेको छु । दिमागी मन्थनबाट मैले विभिन्न किसिमका सोचहरु बनाएको छु ।

बम भन्ने शब्द सोच्न नसक्ने मैले त्यसपछि फेरि सोचें ‘राससमा बम हानेर ध्वस्त पारिदिनुपर्दछ ।’ धेरै समय व्यस्त हुन्छु, फुर्सदमा म अचेल पटकपटक यही सोचिरहन्छु ।

मेरो न्यायालयले आज पुनः मलाई पीडित सावित गरिदिएको छ । तसर्थ, गत राती पनि मैले सोचें म वास्तविक पीडित रहेछु ।  सम्झिएँ रासस । उठ्यो आक्रोशको ज्वाला । बम भन्ने शब्द सोच्न नसक्ने मैले त्यसपछि फेरि सोचें ‘राससमा बम हानेर ध्वस्त पारिदिनुपर्दछ ।’ धेरै समय व्यस्त हुन्छु, फुर्सदमा म अचेल पटकपटक यही सोचिरहन्छु ।

www.sabdayatra.blogspot.com

Views: 31

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

© 2017   Created by Equal Access for the Civil Society: Mutual Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service