दिल्लीमा झन्डै बिचल्ली !

अनपेक्षित थियो दिल्लीमा केही परिचित मित्रहरुसँगको भेटघाट । त्यसैले रमाईलो पनि भयो । दिल्ली बसाईको दोश्रो साँझ केही पुस्तक किन्ने योजना बन्यो । नेपालन्युज डटकमका सम्पादक अर्पण श्रेष्ठले स्थान सुझाए, ‘खान मार्केट’ । गुगलले पनि दिल्लीको खान मार्केटमा तीनवटा पुस्तक पसल देखायो । ब्यस्त दिल्लीको लजपत नगरनजिक सीरीफोर्डबाट खान मार्केट जानलाई बल्ल एउटा टेम्पो पाईयो । हामी ६ जना थियौ । दुईटा टेम्पो चाहिन्थ्यो । साँझ ७ बजिसकेको हुनाले एउटा टेम्पो पाउने बित्तिकै अर्पण, सहकर्मी श्रुती र म खान मार्केट हान्नियौ ।

साँझको दिल्ली, फराकिलो सडकमा फिँजारिएको ट्राफिक छिचोल्न झन्डै एकघण्टा लाग्यो । हामी बल्ल खान मार्केट पुग्यौ । दाँयाबाँया नगरी सिधै पुस्तक पसलतिर लम्कियौ। ढोकाबाट एक पाईला चाल्ने बित्तिकै भित्रबाट सुरक्षागार्डले संकेत गरे पसल बन्द भैसक्यो । “खानमार्केटको सबभन्दा ठुलो पुस्तक पसल यही हो,” अर्पणलाई थाहा रहेछ । अब के गर्ने? अरु पनि छन् कि ? खोज्नतिर लागियो ।

भोकले नराम्ररी सताउन थालेको थियो । सौरभ, आकार, बंगाली साथी सायन्तनीअझ आईपुगेका थिएनन् । त्यसो त खान मार्केट त्यति ठुलो पनि लागेन मान्छे हराईहाल्ने । अर्पण पनि श्रुती र मलाई छोडेर एकछिनमा फर्किन्छु भन्दै तर्किएका थिए । अब के गर्ने? अर्को पुस्तक पसल पनि भेटिएन । सँगै हिडेका साथीभाईको अत्तोपत्तो छैन । पुस्तक त पाइएन नै खान पनि नपाईने हो की भन्ने चिन्ताले सताउन थाल्यो । मुड एकाएक बिग्रियो । होटल फर्किने, नफर्किने बिषयमा सहयात्रीसँग ठाकठुक नै परिसक्यो । ट्याक्सीसँग होटल फर्कने दाममा पनि कुरो मिलेन । “उ आकारहरु” गलफत्ति चल्दै थियो श्रुतीले सौरभ, आकार र सायन्तनीलाई देखिछन् ।

हामीले तत्काल उनीहरुलाई पछ्यायौ । भेट भयो । भेटले खुशी पनि सँगै ल्यायो । उनीहरु पनि हामीलाई नै खोजिरहेका थिए । तर अर्पण साथमा थिएनन् । उनी भेटिने हुन् कि हैनन्? बजार घुम्ने कि खाने? के गर्ने पहिले? प्राथमिकता सबैका आ-आफ्नै थिए । भोक अरुलाई पनि लागेको थियो । खानमार्केटको गल्लि-गल्लि भौतारिँदै बाहिर टाँसिएका जति सबै मेनु निरिक्षण सम्पन्न भयो । एकै ठाउँमा सबैको चाहना पुरा हुने छाँट थिएन । खानाका परिकार छनौटमा असमानता व्यापक थियो । र पनि खानु त थियो नै ।

“ल यहाँ जाउँ,” बंगाली केटी सायन्तनीले प्रस्ताव राखिन् । नाम लेखिएको थियो ‘फुलसर्कल बुकस्टोर एण्ड क्याफे टटल’ । चिसो कोकदेखि तातो कफीसम्म पाईने । ललितपुर झम्सिखेलको क्याफे सोमा जस्तै-जस्तै । ढोकैमा रहेका सुरक्षा गार्ड हात मिलाउन अघिसरे । मेरो घर स्याङजा, तपाईको? उनको व्यवहार र पहिलो प्रश्न दुबै अनपेक्षित अनौठा थिए । मैले भने, ‘भोजपुर’ । सोधेँ,‘यहाँ बियर पनि पाईन्छ?’ ‘त्यो त बाहिर सस्तो हुन्छ सर, लिएर जानोस्?’ उनको उत्तरले एकतलामाथि रहेको पुस्तक पसल चढ्ने जाँगर मारिदियो । अरु ५ जना साथीहरु अगाडि नै पसलमा पुस्तक खोज्न लागेका थिए । सौरभले भर्खरै प्रकाशित सचिन तेन्दुलकरको जीवनी किनिसके । नोअम् चोस्कीको ‘मेकिङ्ग दि फ्युचर’मा मेरा आँखा परे । दिल्लीमा एउटा पुस्तक पनि किनियो । खानमार्केटमा पुस्तक किन्ने चाहना पुरा भयो । मन खुशी भयो ।

त्यसपछि? फेरी शुरु भयो खानेकुराको लागि सर्बगुण सम्पन्न तर सस्तो होटलको खोजी । जहाँ बियर अनिबार्यहुनुपर्थ्यो । ‘वाक्स दि क्लाउड’ जानेमा सहमति भयो । त्यो बेलासम्म अर्पण पनि भेटिइसकेका थिए । ‘मुछ नही तो कुछ नही’ नामक छिडी पसलमा टिसर्ट किन्न व्यस्त अर्पण हाम्रो हुलमा मिसिन पुगे । ‘वाक्स दि क्लाउड’ को मेनु अति महंगो लाग्यो । अघिल्लो साँझ रु ७५ भारुमा मिलेको किङफिसरलाई मेनुमा २७५ लेखिएको पाएपछि त्यहाँ किन बस्ने? नेपाली वेटरसँग गुनासो गरेर त्यहाँबाट हिड्दा रातको १० बज्नै लागेको थियो । यदी सबैसँग फोन हुन्थ्यो, इन्टरनेटको सुबिधा हुन्थ्यो भने खानमार्केटबाट भोकै होटल फर्किनु पर्दैनथ्यो । त्यो साँझको थप सिकाई, होटलबाट हिड्नु अघि भेट्ने स्थान निर्धारित गर्नुपर्थ्यो ।  

दिल्ली बसाईको अन्तिम रात सबैका आ-आफ्नै प्राथमिकता थिए । साथीभाई, आफन्त भेटघाट, सपिङ, खानपीन । सीरीफोर्ड रोडबाट लजपत नगर जानलाई एउटा ट्याक्सी पाईयो । अफगानी र श्रीलंकन साथी पनि थपीएकाले आज हामी सौरभ, नारायण, म र आकारसहित ६ जना भईयो । हामी चारजना अगाडि उनीहरु पछि आउने सल्लाह अनुसार हामीलाई एउटा नीजि कारले लजपत नगर जाने बाटोसम्म पुर्याईदिएको थियो । लजपत नगर दिल्लीको निकै व्यस्त बजार हो । लत्ताकपडादेखि खानपिनका लागि अन्तराष्ट्रिय स्थापीत ब्राण्डदेखि काठमाण्डौको स्वादिलो  म:म: पनि पाइने । सडकमा ५० भारुमा ३ जोर मोजादेखि ३ हजार भारुसम्मका जिन्सपैन्टको खरिदबिक्री हुने । झालमुरी बेच्नेदेखि केएफसी, म्याकडोनाल्डका शाखाहरु । टेलिफोन नम्बर साथमा छैन भने कसैले कसैलाई भेट्न मुस्किल ।

हामीलाई पनि भयो त्यस्तै । सँगै गएको श्रीलंकन साथी आमालाई सारी किन्न भनेर हामीसँग छुट्टिएर गयो । अंग्रेजी बोल्न धक मान्ने अफगानी मित्रलाई चिसोले सताएको रहेछ । होटलबाट पछि आउँने नेपाली साथीहरुले हामीलाई भेट्ने त कुरै भएन । एकले अर्कोलाई खोज्दैमा समय घर्कियो । टेलिफोन नारायणजीसँग त थियो तर अरुसँग थिएन । कहाँ खोज्ने? कसलाई सोध्ने? सामान्य किनमेल र खानपिन गरेर निस्कन लाग्दा श्रीलंकन मित्र भेटिए । उनले भने सौरभ, आकार र अर्पणलाई उनले भेटेका थिए । ‘कहाँ?’ उनी हामीलाई लिएर त्यतै गए । एउटा पान पसलमा पुगेर भन्न थाले, ‘उनीहरुले यही पसलमा आएर नजिकै कतातिर बार छ भनि सोधेका थिए ।’ पसलवालाले कसरी बताउन सकोस् कि कुन बारमा गएको छ? पत्ता लागेन । म्याकडोनाल्ड अगाडि उभिएर ट्वीटमा सन्देश छोडेर फर्किनु बाहेक हामीसँग बिकल्प थिएन । सँगै बस्ने, खाने पिउने रमाईलो गरेर भोली बिहानै नेपाल फर्किने योजना त्यो दिन पनि पुरा भएन ।

चौथो दिन बिहान पाँच २० बजे एयरपोर्ट पुग्नुपर्ने थियो । आँखा मिच्दै ट्याक्सी चढ्दा धन्न कुनै सामान होटलमै छुटेनछ । एयरपोर्ट पुग्दा थाहा भयो ७ बजेर २० मिनेटको समय सारेर इन्डियन एयरलाइन्सले पौने नौ बनाइसकेको रहेछ । पौने नौमा पनि जहाज उडेन । पौने दशमा बल्ल जहाज उडयो । ढिलो हुने कारण बताईयो काठमाडौको मौसम । मौसम प्रतिकुल हो पनि रहेछ त्यो दिन । सवा ११ बजे त्रिभुवन बिमानस्थलमा ओर्लदाँ बिहान ७ बजे आईसक्ने टर्कीस् एयरलाईन्स हामी पछि-पछि ल्याण्ड हुदैथियो । दिल्ली बिमानस्थलमा लामो कुराई, व्यक्तिगत र व्यवसायिक जीवनमा आफैले सिर्जना गरेका केही नमिठा अनुभव सँगाल्दै भएपनि ३ दिनको दिल्ली बसाई थोरै बिचल्ली धेरै उपलब्धी सहित सकियो । 

Views: 122

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

© 2017   Created by Equal Access for the Civil Society: Mutual Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service