चुनाव यात्रामा तनाव

साप्ताहिक रेडियो कार्यक्रमको उत्पादनका क्रममा केही नागरिकसंग टेलिफोनबाट कुराकानी गर्ने र सामाजिक संजालका अदृष्य कोठे बहसमा सामेल हुने बाहेक यसपालीको संविधानसभा निर्वाचन प्रति आम नागरिकका अभिब्यक्तिहरु बुझ्ने मौका मिलिरहेको थिएन । यस्तैमा चुनावको मिति नजिकिँदै जाँदा मत हाल्न कोको जाने भनेर साथीहरुसंग छलफल पनि भयो तर लामो समयदेखिको हिँसाको छाँयामा हुर्केको हुनाले पनि हुनसक्छ धेरै चिनजानका साथीहरु भोटहाल्न नजाने भएछन् । मलाई पनि भोट दिएर के हुन्छ भन्ने कुराको ठेट उत्तर आफैमा नमिलिरहेको हुनाले के गरौँ गरौँ भैरहेको थियो । तथापि सुशासनको वकालत गर्ने, लोकतन्त्रमा विश्वास गरेको बहस गर्ने र नागरिक सर्वोच्चताका ठुलाकुरा गरिटोपल्ने भएका नाताले पनि मैले मतदान गर्नेपर्छ भन्ने तर्कले म आफैलाई जित्यो । अरुले नपत्याउँदा नपत्याउँदै पनि मंसिर १ गते शनिबारका दिन एकाएक नेकपा-माओवादीको चक्काजाम बाबजुत पनि सुर्खेत जाने निधोमा पुगेँ ।

सरकारले चक्काजामलाई विफल पार्न र मतदान गर्न गाउँघर फर्कँदै गरेका नागरिकलाई सुरक्षा दिनका निम्ति भनेर मन्त्री परिषदको निर्णयबाटै प्रयाप्त मात्रामा सुरक्षाकर्मी परिचालन गरेको बताएको थियो । यसले पनि केही मात्रामा ढुक्क बनाएको थियो । तर जब बसपार्क पुगेर सुर्खेतको गाडीबारे बुझेँ त्यहाँ सुर्खेत जाने गाडी चक्काजामका कारण अघिल्लै दिनदेखि संचालनमा नआएको खबर पाएँ । अब अर्को उपाय के त ! नेपालगञ्जको गाडीमा भएपनि जानुपर्छ झैँ लाग्यो तर त्यसमा पनि सिट रहेनछ मुढामा बसेर जानेभए मात्रै भन्ने उत्तर मिल्यो । संचारकर्मी भएको नाताले केही उपकरणहरु साथमा थिए त्यसैले मुढाको यात्रा त्यति ठिक लागेन । त्यत्तिकैमा ‘यात्रुको चापलाई ध्यानमा दिँदै’ भनेर नेपालगञ्जको कृष्णसार यातायात समितिले एउटा नयाँ गाडी थप्यो साथमा चढ्ने बित्तिकै जो जहाँ जानेभएपनि एक हजार रुपैँया ‘फिक्स रेट’को शर्त तेर्स्याएर । मेरा निम्ति त त्यो निर्णय खासै अनुपयुक्त थिएन तर मुग्लिङ, नारायणगढ, नवलपरासी, रुपन्देहीमा जानेहरुका लागि भने अप्रिय नै थियो त्यो कुरा, तथापी विकल्प थिएन अर्को त्यहाँ जाने यात्रुहरुका निम्ति ।

भरिएको बसलाई पनि दुईघण्टा कुराएर बस साढे छ बजे नयाँ-बसपार्कबाट हिँड्यो ।

बाटोमा खासै यात्रु नभएकोले बसले कलंकी पार गर्न २० मिनेट भन्दा ज्यादा समय लिएन । सतुंगल पुग्दैगर्दा मेरा निम्ति यो चक्काजामको पहिलो घटना आँखै अघि देखियो—ससाना २ जना किशोरहरुले गुडिरहेको बसमा पेट्रोल बम प्रहार गरेर भागे । बसमा ह्वारह्वारर्ती आगो लाग्यो, जिउमा पेट्रोल पोखिएर आगो लाग्दै गरेको एकजना युवक चिच्याउँदै लुगा खोलेर गाडीको झ्यालबाट हामफाल्दै गरेको त्यो दृष्यले मलाई ‘भोटसोट खाँचैसित्ति, फर्किन्छु यहीँबाट !’ भन्ने लाग्यो तर बस सेकेण्ड पनि नरोकिएर झन बेतोडका साथ हुँईकियो, मानौँ कि अबको तारो त्यही थियो, जसबाट बच्न उ भागिरहेछ ।

नागढुँगामा पुग्दा बसको लामो लाम थियो । बाटोको जोखिमलाई ध्यान दिँदै साढे पाँच बजेदेखि बसपार्कबाट गुडेका गाडीलाई संगै स्कर्टिङ गर्न भनेर रोकिँदा बसहरुको लामो लाम भएको रैछ ।  चेकिङमा बसेका प्रहरी भन्दैथिए—‘सतुँगलको बसमा हानेको बमका कारण नौ जना सर्वसाधारण घाईते भए ।’ प्रहरी स्कर्टिङमा यतिलामो यात्रा तय गर्नुपर्दा कता कता डर पनि लाग्दैथियो तर त्यो डरलाई उत्तेजनामा बदल्ने काम चाँही बसभित्र भएको बहसले गर्न थाल्यो ।

आखिर चुनावमा भोट हाल्न जान लागेका मतदाता यात्रु न परे, आफ्नो चरित्र देखाईहाले-सुरु भयो 'चुनावी बस बहस' । आधाउँधी यात्रुहरु बैद्यलाई सकेजतिको गाली गर्नमा मस्त भए भने केहीले संविधानसभाको चुनाव भएकाले कसैलाई पनि छुटाउन हुँदैनथ्यो भनेर उदारताको भाव प्रकट गरे । जे होस् तिहार लगत्तैको यात्रा भएपनि कसैमा चाडपर्वको ह्याङओभर थिएन । थियो त बरु देशको चिन्ता, बन्दको आक्रोश, चुनावी परिणामको आँकलन अनि संविधान बन्ने नबन्ने बारेका तर्कहरु ।

काठमाण्डौबाट सुरु भएको स्कर्टिङ यात्रामा आधा आधा घण्टाको शशस्त्रको डिउटी चेन्जको बिश्राम त छँदैथियो, नवलपरासीको सुनवलमा पुगेर केहीबेरसम्मका लागि भन्दै करिब दुईघण्टाको अर्को बिश्राम भयो । हामी चढेको बस सहित मात्र दुईवटा बसलाई छाडेर बाँकी ४० वटा बस लिएर सुरक्षाकर्मीको अघिल्लो मोवाईल टिमले बुटवल पार गरिसकेको हुँदा थप १०/१२ वटा बस नआउन्जेल भन्दै हामीलाई त्यहाँ रोकियो । यात्रुहरु केही बेर त प्रतिक्षामा रहे तर एकघण्टा भन्दा बढि समय धैर्य गर्न नसकेपछि गाडीबाट ओर्लेर फेरी बहस गर्न थाले । बसमा मलेसिया र दुबईबाट फर्केका यात्रुहरु पनि रहेछन् । लामो समयपछि नेपाल फर्किँदा चक्काजामका कारण भोग्नुपरेको सास्ती, देशमा काम गर्न नपाई बिदेशिनु परेको पिडा सबै खाले गफहरु उनीहरुले गर्न भ्याए । त्यसमध्ये रोल्पाका घर्ति थरका एक युवाको भनाई मन छुने खालको थियो । उनी भन्दैथिए—‘आफूले त केही गर्न सकेनन् सकेनन्, काम गरिखान्छौँ भन्नेलाई पनि बिदेशिन बाध्य पारे यी राजनितिक दलहरुले ।’ आफ्नो कुरामा सबैको मौन सहमति देखेर हौसिँदै उनले थपे—‘विदेश जाने एक लाख रुपैँयाले गाउँमै पसल थाप्छु भनेर खोजेको थिएँ तर सबैभन्दा धेरै उधारो लिने र नतिर्ने तिनै दलका कार्यकर्ताका कारण, अत्ताल्लिएर बिदेश भास्सिएको हुँ म । बिदेशमा समेत काम गर्ने कम्पनीमा नेपालीले राजनिति गर्न थालेपछि त्यहाँ पनि बस्न नसकेर नेपाल फर्किएको छु । हेरम अब फेरी कता खेद्नेहुन् ।’

बिदेशबाट फर्केका ती युवाको कुरा सुन्दासुन्दै दुईघण्टा बितेछ । त्यसपछि भने हामी यात्रुहरुले थप गाडी नआएको देखेर सुरक्षाकर्मीलाई गाडी अगाडी बढाउन आग्रह गर्‍यौँ र अघि बढियो । बुटवलमा पुगेपछि अधिकाँश यात्रुहरु त्यहीँ ओर्लिए, किनकी बुटवलको गाडी नपाएर उनीहरु बढी भाडा तिरेर नेपालगञ्जको गाडीमा चढेका यात्रुहरु थिए । त्यसपछि ६/७ जना यात्रुहरु बोकेर बस अघि बढ्यो । झिसमिसे उज्यालो हुँदा सायद चन्द्रौटा पुगिएको थियो क्यारे, अगाडी करिब ४० वटा गाडीको लाम देखियो । लौ मार्‍यो ! फेरी बम फेला परेछ र गाडी रोकिएछन् क्यारे भनेर झरेको त निकै कम ग्यापमा दौडिएका अघिल्ला तीन गाडीहरु एक आपसमा ठोक्एिर बाटो जाम् भएको रैछ । धन्न सामान्य सिसा फुटेको बाहेक मानविय क्षति भने भएको रहेनछ । एकछिन पछि सबै गाडीहरु त्यहाँबाट अघि बढे ।

यसरी सुरक्षाकर्मीको स्कर्टिङमा रोक्किँदै अघि बढ्दै बाँकेको शमशेरगञ्ज आईपुग्दा विहानको १० बजिसकेको थियो । राजमार्ग सुरक्षाका निम्ति प्रहरीले त्यहाँ भारतिय नम्बरप्लेटको साईरन र इमेरजेन्सी लाइटयुक्त गाडी प्रयोग गरेको देखियो । केही यात्रुले त नेपाली प्रहरीले नपुगेर भारतबाटै सुरक्षाकर्मी त मगाएनन् भन्न पनि भ्याए । यद्यपी त्यो अर्थहीन तर्क थियो । सायद सवारी साधन नपुगेर भारतबाट भाडामा ल्याईएको गाडी थियो त्यो । किनकी भारतले नेपालललाइ सहयोग गरेको गाडी थिएन त्यो ।

शमशेरगञ्जबाट करिब आधाघण्टामा कोहलपुर चोकमा पुगियो र म त्यहीँ उत्रिएँ किनकी मलाई सुर्खेत पुग्नु थियो । काठमाण्डौबाट सुर्खेतको रात्रीबस अघिल्लो दुईदिन देखि नै चलेका थिएनन् त्यसैले मलाई डर थियो कतै आज कोहलपुर—सुर्खेत रुटका लोकल बस पनि नगुड्ने त हैनन् भनेर । चोकमा पुगेको-भयो त्यस्तै । बल्लबल्ल एक घण्टापछि एउटा माईक्रो बस त आईपुग्यो तर त्यसले पनि प्रतिब्यक्ति ५०० भाडा दिनेभए मात्रै लाने भन्यो । २५० भाडा लाग्ने रुटमा यसरी मनमर्जी दोब्बर भाडा लिने त्यसमा पनि सुरक्षाकर्मीले स्कर्टिङ गरिदिँदा दिँदै । यो त अत्ति भो भनेर मैले बिरोध गरेँ । सबैले 'हो मा हो' मिलाएपछि त्यो बसले भाडा घटाएन बरु जान्न भन्दै कोहलपुर बसपार्क तिरै फर्कियो ।

एकजना यात्रु मसंग रिसायो पनि, जान्छु भनेको बसलाई २५० को लोभ गरेर भड्काएर फिर्ता पठाउने मान्छे यै हो भनेर । वास्तवमा मैले पनि अराजकता प्रदर्शन गर्दै मनमर्जी गर्ने सार्वजनिक यातायातको प्रवृत्तिको पो बिरोध गरेको थिएँ त । जानु त मलाई पनि थियो सुर्खेत । उसलाई यस्तै भनेर सम्झाएँ तर उसले मानेन ।

अर्को एकघण्टा पछि फेरी त्यही माईक्रो बस आईपुग्यो । अघि मसंग रिसाउने ब्यक्तिको अनुहार केही उजेलो भयो । माईक्रोले पनि अघि भनेको आफ्नो कुरामा लचकता देखाउँदै भाडा घटाएको बतायो तर मेरा निम्ति फरक नपर्ने गरी । अर्थात आधाबाटो छिन्चुसम्मको ४०० तर सुर्खेतको चाँही ५०० नै । म केही उपाय नलागेपछि दिक्क मानेर चढ्न खोज्दै थिएँ, एउटा ठुलो बस सुर्खेत रुट तर्फ आएको देखेँ । मैले अर्को बस आयो झरौँ, त्योसंग म कुरा गर्छु, सस्तोमा लैजान्छ भनेपछि सबैजना माईक्रोबाट झरे । बससंग बबईको २००, छिन्चुको ३०० र सुर्खेतको ४०० मा लैजाने सहमति भयो । तर मैले टिकट चाँही चाहिन्छ भनेपछि फेरी किचलो भयो । बसवालाले कोहलपुर-सुर्खेतको भाडा ४०० रुपिँया लेखेको टिकट कुनै हालतमा दिन तयार भएन । अघि मसंग झगडा गर्ने मान्छेलाई अर्को बहाना मिल्यो । उ मलाई पटकपटक किचकिच गरेर आफु पनि नजाने अरुलाई पनि जान नदिने मान्छे भन्दै आरोपमा उत्रियो । तर यस पटक पनि सबै यात्रुले मेरो साथ दिए र टिकट दिनुपर्ने अडान लिए ।

यस बिचमा २ बजिसकेको थियो । गाडीको निधो नहुन्जेल मेरो अघिल्लो दिनदेखि नै खानाको टुँगो थिएन । भोक लागेपनि यात्रा अनिश्चित भएका कारण मैले भोकलाई मारेर बसेको थिएँ । बल्लतल्ल बस भरियो । शशत्र प्रहरीको भ्यान आईपुग्यो र उनीहरु हामीलाई स्कर्टिङ गरेर सुर्खेत पुर्‍याउन तयार भए तर अब किचकिच गर्ने पालो सायद ड्राईभरको थियो क्यारे—उ स्कर्टिङमा जान तयार भएन । कारण—स्कर्टिङमा जाँदा अर्को दिन उसको गाडीमा ड्यास माओवादीले बम राख्नेछन् । हुन पनि भएको त्यस्तै थियो । चक्काजाममा चलाएको भन्दै केही ठाउँमा रोकेर राखिएका सवारीसाधनहरुमा बम प्रहार र आगजनी गरिएका थिए । हाम्रो यात्रा झन अनिश्चित भयो । त्यत्ति नै बेला कोहलपुर—सुर्खेत रुटको गाभर भन्ने ठाउँमा म्याजिक भ्यानमा बम हानिएको खबर शशत्र प्रहरीको वाकीटकीमा सुनियो । प्रहरीले त्यही कुराका कारण कि स्कर्टिङमा जानुपर्ने नत्र गाडी जानै नदिने बतायो । यता यात्रुहरुको छटपटी चुलिएकै थियो, किनकी सुर्खेत पुगेर मात्रै भएन त्यहाँबाट पनि गाउँ जानेहरुलाई रात पर्नेवाला थियो । फेरी गाडी परिवर्तन गरेर जाने विकल्प पनि थिएन । हिँडेर जान सकिने कुरै भएन ८६ किलोमिटरको दुरी ।

बल्लतल्ल कुरा केमा मिल्यो भने शशस्त्र प्रहरीले गाडी जलेको ठाउँसम्म मात्रै स्कर्टिङ गर्ने त्यसपछि बस बिना स्कर्टिङ सुर्खेत जाने । राज्यको सुरक्षा संयन्त्रमाथि विश्वास नगरेर बसवालाले ५०/६० जना यात्रुलाई जोखिममा त्यत्रो यात्रा गराउँछु भन्दा चुप लाग्ने कुरै भएन तर गाडीवालाको जवाफ थियो—'मेरो गाडीलाई प्रहरी स्कर्टिङमा लैजाने हो भने भोलि घरमै आएर बम् हान्छन्, त्यसको क्षति कस्ले बेहोर्छ? प्रहरीसंग जानेभए उनैको गाडीमा गएर बस्नुस् म जान्न ।' विकल्पविहीन निरिह नागरिक चुप लागेर बसको सिटमा बस्नुको विकल्प थिएन । गाडी अघि बढ्यो तर धन्न गाडीमा आगजनी भएको रहेनछ, आगो लगाउन मात्रै खोजिएको रहेछ । हामी गाभर पुग्दा मानिसहरुको भिड र बाटोको छेउमा सकुशल पार्किङ गरिराखेको रातो म्याजिक भ्यान खडा थियो । त्यसपछि बिना स्कर्टिङ मुटुमाथि हात राख्दै सुर्खेत पुगियो । भाग्य बलियो भनौँ या संयोग बाटोमा कुनै अवरोध भने थिएन । यसरी काठमाण्डौबाट करिब १२ देखि १४ घण्टाको सुर्खेत यात्रा त्यसको दोब्बर समय लगाएर डर र त्रासमा बाँच्दै पुरा गरियो ।

जोखिमपुर्ण यात्रा पार गरेर मतदान गर्न पुगेपछि मतदान त गर्नुपर्‍यो नै । तर मतदानको अघिल्लो दिन मेरो मतदानस्थल जर्बुटा गाविसको वडा नम्बर ४ मा पर्ने उमावि करैखोलाको भवन छेउ कसैले रातो कपडा भित्र ढुँगा बेरेर बाहिर तार समेत जोडेर राखिदिएछ । त्यसले अर्को त्रास फैलायो । एकैछिनमा सेना आयो त्यसलाई डिस्पोजल गर्नका निम्ति । सेनाले डिस्पोजल गर्नु अघि बमको त्रास न्यून गर्न पनि त्यहाँ उपस्थित सबैले त्यो बम हो कि हैन निर्क्यौल गर्न माग गरेपछि मात्रै बम नरहेको थाहा भयो । उता वीरेन्द्रनगरमा भने त्यो कुरा यसरी फैलिएछ कि मेरो फेसबुक स्टाटस हेरेर घर पुगेको थाहा पाउने साथीहरुले फोन गरेर हैरान गर्न थाले । सबैलाई बम हैन कसैले तर्साउन मात्रै त्यस्तो गरेको हो भन्दा भन्दै हैरानै भईयो ।

भौतिक त्रास भन्दा हल्लाको त्रास डरलाग्दो हुँदो रहेछ, मतदान केन्द्रमा बम राखिएको हल्लाको त्रासका कारण मंगलवार हुने निर्वाचनलाई असर पर्छ भनेर युवाहरुले निकै मेहेनेत गरेर बम नभएको पुष्टि गरेपछि मात्रै मानिसहरुमा विश्वास भयो ।

सोही सकारात्मक कुराको परिणाम हुनसक्छ करिब ४२०० मतदाता रहेको जर्बुटा गाविसमा करिब ३३०० मत खस्यो । अर्थात करिब ७८ प्रतिशत मत खस्यो । सोचेको भन्दा निकै शान्तपुर्वक र सबै दलहरु बिच हार्दिकता र समन्वयमा मतदान सम्पन्न भयो । त्यतिखेर त्यहाँ मतगणनाको परिणाम आउने बेलामा प्रचण्डले भनेजस्तो उनका कुनै पनि कार्यकर्ताले यहाँ धाँधली भयो भनेनन् । बरु अहिलेसम्मकै सबैभन्दा शान्तिपुर्ण र निष्पक्ष निर्वाचन भनेर यसको तारिफमा कुनै कञ्जुस्याँई गरेनन् ।

बास्तवमा भयो पनि त्यस्तै, किनकी निर्वाचन मार्फत ताजा जनादेश दिएर आफ्ना प्रतिनिधिलाई निर्वाचित गराउनु बाहेक नागरिकको अर्को कुनै लोभ थिएन अर्को कुनै ध्येय थिएन । नागरिकले दिनभर लाम लागेर, इमान्दारिताका साथ आफ्नो कर्तव्य पुरा गरे लोकतन्त्रको एउटा महत्वपुर्ण आधार निर्वाचनमा मतदान गरेर । अब उक्त जनादेशलाई स्विकार र सम्मान गर्दै त्यसैका आधारमा नयाँ संविधान बनाउनका लागि नेताहरु पो बरु कत्तिको ईमान्दार हुने हुन् त्यो भने हेर्न बाँकी नै छ ।

यो लेख २०७० मंङ्सिर ८ अर्थात Dec. 23, 2013 को अन्नपुर्ण पोष्ट दैनिकको पेज शनिवारिय परिशिष्टाङ्क 'फूर्सद'मा छापिएको हो ।  

Views: 141

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

© 2017   Created by Equal Access for the Civil Society: Mutual Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service