अपूर्ण आमा, गृहिणी र जागिरे

काठमाडौं कलंकी चोकको मकालु पेट्रोल पम्प नजिकैको एउटा घरको तेश्रो फ्ल्याटमा बिहानको चार नबज्दै उज्यालो भैसक्छ, विजुली छ भने विजुली बत्तीको, नभए इन्भर्टरको मधुरो सीएफएल चिमको उज्यालोले विहान चार बजेदेखि नै फ्ल्याटमा आफ्नो उपस्थिति जनाइसक्छ । अनि सुरु हुन्छ यस फ्ल्याटका तीन प्राणीको हरेक दिनको दैनिकी । 

१६ महिने एक छोरीका साथ त्यहाँ बस्दै आएका दम्पतीमध्ये श्रीमान पत्रकारिता गर्छन, जसको कामको कुनै निश्चित समय तालिका नै छैन् । आफ्नो पत्रकारिता पेशाप्रतिको जिम्मेवारी निभाउन र विहान ६ बजेको समाचार बुलेटिनका लागि इन्टाइसर बाइक चढेर पाँचैवजे हुइकिन्छन् । कार्यालयको कामबाट फुर्सद मिल्यो भने साढे ८ तिर खाना खान फेरि कोठामा आउँछन्, नत्र एकैचोटि बेलुकी ८ वजे तिर मात्र उनी फर्कन्छन् । उस्तै पर्‍यो भने रातीपनि दौडिनपर्ने खालको २४ घंटे अलर्ट काम छ श्रीमानको । यता श्रीमतीको भने वासस्थानबाट करिब ५ किलोमिटर टाढा रहेको कार्यालयमा साढे ९ बजे हाँजिर हुनका लागि विहान पाँच बजेदेखि नै दौडधुप सुरु हुन्छ । हातमुख धुने, नुहाउने, कोठा सफा गर्ने, छोरीको लुगा धुने, छोरीको लागि जाउलो र आफ्नो लागि दालभात पकाउने, दूध लिन जाने, छोरीलाई जाउलो र दूध खुवाउने, आफूले खाना खाने, छोरीलाई तयार पार्ने, आफू तयार हुने, छोरीलाई केयर सेन्टर पुर्‍याउने। यति गरिसकेपछि मात्र उसको कार्यालय तिरको यात्रा तय हुन्छ । विहान उठेदेखि उ बस्ने भनेकै स्कुटर चलाउँदा हो । खाना खाँदा समेत उठी-उठी हतार-हतार खानुपर्छ उसले । १५ मिनेटमा ५ किलोमिटरको दूरी पार गर्ने गरी स्कुटर हाँक्दा पनि जहिल्यै कार्यालय पुग्दा पौने १० भएकै हुन्छ । अँझ कहिलेकाँही त त्योभन्दा पनि ढिला हुन्छ ।

समयमा कार्यालय नपुगेको बारे अहिलेसम्म त कसैले केही भनेका छैनन्, शायद कामकाजी आमा भन्ने बुझेरै त्यत्तिकुरा बुझिदिएका हुनसक्छन्, उस्तै कार्यालय र त्यस्तै हाकिम भा'भए कति हप्की खाइसक्थी होला ! हुन त कार्यालय बेलुका साढे पाँच वजे मात्र छुट्टी हुन्छ तर बेलुका साढे पाँचमा छोरी लिन केयर सेन्टर पुगिसक्नुपर्ने भएकोले १ घन्टाको खाजा समयलाई आधा घन्टा बनाएर पाँच बजे नै कार्यालयबाट निस्कने मिल्नेगरी उसले कुरा मिलाएकी छ र कार्यालयले त्यो पनि बुझिदिएको छ । पाँच मिनेट मात्र ढिलो हुँदा केयर सेन्टरबाट ‘आज ढिला भयो नि म्याम’ भनेर फोन आइहाल्छ । यि सब मानसिक दबाव र तनाव झेल्दै केयर सेन्टर पुग्दा छोरी चाँहि ‘ममी कहिले आउने होला’ भन्ने नजरले ढोकातिर हेर्दै टोलाइरहेकी भेटिन्छे । विचरा ऊ ! जन्मेको पाँच महिनादेखि नै केयर सेन्टर जाने बानी परेकी छ । कहिलेकाँही त छोरीलाई देख्दा ऊ चाँहि निकै ग्लानीबोध अनुभव गर्छे र उसँग दिनभर संगै बस्न नपाउने झोकमा जागिर पनि छाडिदिउँ कि भन्ने पनि सोच्छे । तर व्यवहारिक कठिनाइले त्यसो गर्न पनि गाह्रो छ, किनकि श्रीमानहरुले जस्तै श्रीमतीहरुले पनि कमाउनुपर्छ भन्ने मान्यता र अहिले काम छोड्दा बेरोजगार हुँदाको बोझ र निराशाले सताउला कि भन्ने पीर पनि छ उसलाई । हुन त छोरीसँगै जागिरलाई निरन्तरता दिनु पनि कम गाह्रो छैन । 

बेलुका घर पुगेपछिको उसको रुटिन पनि उत्तिकै चटारोपूर्ण छ । छोरी लिएर कोठामा पुगेपछि छोरीले एक सेकेन्ड पनि उसलाई छोड्न मान्दिन । मानोस् पनि किन ? चौविसै घन्टा आमासँग बस्न पाउने आफ्नो अधिकारसँग सम्झौता गरेर आफ्नो आमालाई जागिर खान जान जब उसले छुट दिएकी छ भने घर आएको बेला त आमाले उसलाई समय दिनै पर्छ, सायद ऊ यही सोच्दिहो ! त्यसपछि छोरीलाई पिठ्युँमा बोकेरै भए पनि काम जारी रहन्छन्: खाना पकाउने, भाडा माझ्ने आदि इत्यादि । 

उसको कामको प्रकृति अनुसार, लगभग महिना दुइ महिनामा एक पटक कामका लागि बाहिर जिल्लातिर गइरहुनुपर्ने हो तर छोरी पेटमा आएदेखि नै ऊ फिल्ड गएकी छैन । अब त फिल्ड नगएको दुइ वर्ष भन्दा बढी भैसक्यो । त्यसो त बेलुका छोरी लिन छिटो निस्कनुपर्ने भएर र छोरी सानी भएका कारण उसले कार्यालय का महत्वपूर्ण बैठक, कार्यशाला, तालिम आदिसँग सम्झौता गरेको पनि दुइ वर्ष भन्दा बढी नै भयो । अँझ विभिन्न सार्वजनिक बिदा, बन्द-हडताल जस्ता कतिपय अवस्थामा छोरीको केयर सेन्टर बन्द भैदिँदा उसको बन्द वा बिदा भएको हुँदैन, महत्वपूर्ण काम वैठक एवं तालिका पनि हुनसक्छ तरपनि कार्यालय नै बिदा लिएर छोरी हेरेर बस्नुको बिकल्प उसंग हुँदैन । 

काम, करिअर र पारिवारिक जीवनवीचको तालमेलमा कहिलेकाँही ऊ सोच्छे : न म पूर्ण रुपमा आमा नै बनें, न पूर्ण गृहिणी र न पूर्ण व्यावसायिक जागिरे नै ! यो एउटा कामकाजी प्रतिनिधि आमाको दैनिकी हो । शहरबजारमा यस्ता धेरै आमाहरु छन् जो एकाविहानै विउँझिएदेखि साँझ नसुतेसम्म र कहिलेकाँही त राती सुतेर निदाएको बेलामा पनि नानीका कारण व्यस्त रहन्छन् । घर बाहिरको काम गर्दा पनि घरभित्रको काममा सघाउने परिवारको अर्को सदस्य नहुनू, भएका सदस्यले समय नदिनू वा दिन नपाउनू, परिवारका अरु सदस्य श्रीमान वा सासुहरुले यो बुहारीको काम हो भनेर घरको काम थाति राखिदिनु वा परिवारका सदस्यहरुले सहयोग नगर्नु यस्ता धेरै कारण छन् जसले गर्दा कामकाजी आमाहरुलाई काम, नानी र परिवारबीचको सन्तुलन मिलाउन असाध्यै सकस परिरहेको छ ।

लैंगिक समानताको कुरा गर्ने काठमाण्डौँको स्थानीय शहरिया समुदाय र आगन्तुक शहरिया समुदायले पनि छोरी बुहारीलाई घर बाहिरको काम गर्ने अनुमति दिएको त अलिवर्ष भयो तर घर बाहिरको काम गरेपछि उनले गर्ने घर भित्रको काममा परिवारका अरु सदस्यबीच पूर्ण साझेदारीको वातावरण भने अझै पनि बनिसकेको छैन । घर वा भान्साको धन्धालाई अझै पनि महिलाको मात्र दायित्व हो भन्ने परिपाटी छँदैछ । त्यसैले घर बाहिरको काममा महिला सहभागिताका लागि वकालत गर्ने अधिकारकर्मीहरुले घरभित्रको काममा पुरुष सहभागिताको लागि पनि अभियानहरु चाल्नु चाँहि आवश्यक भैसकेको छैन र ? नत्र कलंकीकी यी महिला जस्तै कामकाजी धेरै आमाहरुले घर भित्र र बाहिरको कामको उकुस मुकुसभित्र निसास्शिएर अझै पुस्तौँसम्म सकसपूर्ण जिन्दगी बाँच्नुपर्ने हुनसक्छ ।

अनु उपाध्याय

 तस्विर स्रोत http://www.ifonlytheytoldme.com/working-mum/

Views: 703

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

Comment by Tek Raj Bhandari on June 18, 2013 at 2:33pm

nice article.....

Comment by Basant Sharma on April 9, 2013 at 3:17pm

so interesting...

Comment by Sagun Basnet on April 5, 2013 at 7:20pm

Very nice Anu. Wastab mai, aja ka sabai "professional" mom haru ko yai gati chha, really wish that something works out. ghar ko kam nischaya nai matra "uni" haru ko haina, uha ra uni dubai ko ho...

Comment by Santosh Devkota on April 5, 2013 at 3:33pm

वास्तविक विषयवस्तु जसलाई नकार्न गाह्रो छ । मेरी आमाले पनि मलाई यस्तै समयमै बेरीएर, समयकै परिधिभित्रका अनेक पीडा सहेर सकी नसकी हुर्काउनु भएको हो । मेरी श्रीमतिको दिनचर्या पनि यस्तै हुन्थ्यो तर हामी समय व्यवस्थापन गर्दै एकअर्कालाई सघाउँदै अघि बढ्यौं, अनु बैनी पनि अघि बढ्दैछिन । मैले अनुभूत गरेको यो वास्तविकता घरबाटै देखिएको कारण होला यस्ता प्रत्येक कामकाजी आमाहरुलाई धन्यवाद र आदर दिन्छु संघर्षबीच नयाँ पुस्तालाई जीवन र ज्ञान भर्न सकेकोमा ।

Comment by Kalpana Bhattarai on April 5, 2013 at 3:16pm

"छोरी लिएर कोठामा पुगेपछि छोरीले एक सेकेन्ड पनि उसलाई छोड्न मान्दिन । मानोस् पनि किन ? चौविसै घन्टा आमासँग बस्न पाउने आफ्नो अधिकारसँग सम्झौता गरेर आफ्नो आमालाई जागिर खान जान जब उसले छुट दिएकी छ भने घर आएको बेला त आमाले उसलाई समय दिनै पर्छ, सायद ऊ यही सोच्दिहो !"; Touchy lines and "उनी" is doing all these, I always salute to her doings!

Comment by Pagal Basti on April 5, 2013 at 3:10pm

राम्रै लेख्नु भएछ। सत्य पनि हो। सायद आफ्नै अनुभव भएर हो कि (?)

Comment by Kranti Darai on April 5, 2013 at 2:50pm

पुर्ण आमा तर अपुर्ण श्रीमान्को श्रीमती लाग्यो मलाई "ऊनी" पात्र .....

Comment by Bikash Kumar Koirala on April 5, 2013 at 2:29pm

राम्रो लेखन ।

यो सायद सबै कामकाजी महिलाको भोगाई हो भन्ने लाग्छ । कहिले काँहि यो नेपाली समाजमा बढ्दै गएको एकात्मक परिवार  प्रतिको बढ्दो झुकाउले ल्याएको समस्या पनि हो जस्तो लाग्छ जहाँ जिम्मेबारी बाँड्न श्रीमान् र श्रीमति बाहेक अरु कोहि हुन्नन् ।

Comment by Anu Upadhayay on April 5, 2013 at 2:29pm

प्रतिक्रियाका लागि सबैलाई धेरै धेरै धन्यवाद । आफ्नै भोगाइमा आधारित मेरो यो लेख मनपराइदिएर यहाँहरु सबैले मलाई थप लेखनका लागि हौसाउनुभएको छ । :) 

Comment by Indra Dhoj Kshetri on April 5, 2013 at 2:23pm

Problem of every working woman and issue in every household. Well-written article.

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service