जलवायु परिवर्तनको समस्या र रैथानीय बीउ संरक्षणको आवश्यकता

पुर्खादेखि गाउँघरमा सञ्चय गर्न सकिएको बीउबाट नै उत्पादन लिन नसकिएसम्म हुँदैन ।

हाइब्रीड बीउ अरूले पठाएनन् भने नपठाएको बेला हाम्रा फाँटका फाँट जमिनहरू बाँझै रहन सक्दछ । 

भूमण्डलमा तापक्रम बृद्धि हुनु, विभिन्न  तर्राईमा हुने प्रजाति पहाडमा, पहाडका प्रजाति हिमालमा देखिनु र हिमालका प्रजाति अन्यत्र देखा पर्नु वा लोप हुनु, जनजीवनमा प्रतिकुल असर देखा पर्नु, विभिन्न प्रजातिले सदा झैं समयान्तर गरी फल दिनु वा फूल फूल्नु जस्ता विषयवस्तुहरू प्रत्यक्ष रूपमा जलवायु परिवर्तनसँग सम्बन्धित रहेका हुन्छन् । खण्डबृष्टि, अतिबृष्टि र अनाबृष्टि हुनु जलवायु परिवर्तनका समस्याका लक्षणहरू हुन् ।

जलवायु परिवर्तनको असर अध्ययन गर्न लामो समयको आवश्यकता पर्दछ । छोटो समयमा देखिएको परिवर्तन जलवायु परिवर्तनको विषय नभई मौषम परिवर्तनको विषय हो । जलवायु परिवर्तन हुँदै जाँदा पानी नपर्ने समस्या, हिमालमा हिउँ रहँदैन र हिमताल सुक्ने वा फुट्ने  सम्भावना हुन्छ भनेर वातावरणविदहरूले दावी गरेका छन् । उनीहरूका अनुसार केही समय पछि नै पृथ्वी नास हुनेसम्मका संकेत गरेका छन् ।

 जलवायु परिवर्तनको समस्या बढ्दै जाँदा कम उत्पादनशील क्षेत्रका गरिव किसानहरूमा बढी प्रभाव पर्ने गर्दछ । धनी वा धेरै कृषि उत्पादन गर्ने मुलुकहरूले अहिले कम उत्पादन हुने मुलुकलाई खाद्यान्नलगायतका सामग्रीहरू दिँदै आएका छन् । तर जलवायु परिवर्तनको समस्या बढ्दै गएपछि उनीहरूले दिइराखेका खाद्यान्न अरूलाई दिँदैनन्, यो निश्चित छ । किनकि खाद्यान्न संकटको बेलामा सबैले आफूलाई नै साँचेर राख्दछन् ।

 

अहिले हाम्रो गाउँघरमा विभिन्न हाइब्रीड बीउ प्रयोग गरेर थोरै जमिन, थोरै लगानी तथा थोरै श्रममा धेरै कृषि उपजहरू उत्पादन गरिरहेका छौं । यसबाट हामीलाई खुसी लागेको छ । स्थानीयस्तरमा चाहिने आवश्यक तरकारीजन्य वस्तुहरूको आयात अन्यत्रबाट हुने गरेको थियो । तर अहिले बस्तीबस्तीमा तरकारीजन्य कृषि उत्पादन हुने गरेको छ । जसले बजार पनि प्रशस्तै पाइराखेको छ । मासुको व्यापारका लागि हप्तौं लगाएर गाउँगाउँबाट ल्याइएको कुखुरा तथा बोका खसीको पनि त्यति व्यापार हुने गरेको थिएन । तर आजभोलि घरघरमा पालिएका ब्रोइलर, लेयर्स वा यस्तै खालका कुखुराहरू प्रशस्तै बिक्री हुने गरेका छन् ।

 

अहिलेको युग प्रविधिको पनि हो । मानिस विकासमा फड्को मार्नका लागि विविध नवीन प्रविधिको प्रयोग गर्न खोजिरहेको छ । यस्तै प्रविधिको विकासका क्रममा उन्नत तथा हाइब्रीड कृषि उपजहरूमा समाज नै लम्किरहेको पाइन्छ । तर अर्काले पठाएको बीउबाट मनग्य आम्दानी लिएँ भनेर त्यति गर्व गर्ने ठाउँ भने छैन । गर्व त्यतिखेर मात्र गर्न सकिन्छ जब ती बीउहरूलाई स्थानीयस्तरमा नै अर्को सालको लागि सञ्चय गर्न सकिन्छ । नत्र भने परनिर्भर बीउ आयात गर्ने परम्पराले एक दिन हाम्रो कृषि उत्पादन ठप्प हुन सक्दछ ।

 

स्थानीयस्तरमा लामो समयसम्म राखेर प्रयोग गर्न मिल्ने उत्पादनहरू लोप हुँदै गएका छन् । भदौ, असोजमा उत्पादन गरिएको काँक्रो मंसीरसम्म राखेर मंसीर १ गते मंसीरे खाने चलन थियो । तर आजभोलि उत्पादन गरिएका काँक्रोहरू टिप्नमात्र ढिला भयो भने त्यो खान नै पाइँदैन, त्यत्तिकै कुहिएर जाने अवस्था छ । काँक्रो जस्तै धेरै कृषि उपजहरूलाई आफ्नै तवरले न लामो समयका लागि सञ्चित गर्न सकिन्छ न त अर्को वर्षो लागि बीउको रूपमा राख्न सकिन्छ ।  हाइब्रीड जातका कृषि उत्पादनले धेरै किसानहरूको आयस्तर बढेको पाइएको छ । तर हाइब्रीड बीउ आफूले राख्न सकिने अवस्था नभई हाइब्रीड बीउसँग कृषकको भविष्य त्यति सुनिश्चित छैन ।

 

कृषि प्रधान देशमा कृषकहरूले आफ्नै प्रविधिद्वारा बीउको सञ्चित गर्न नसकी भविष्यसम्म उत्पादनको ग्यारेन्टी लिन सकिदैन । पुर्खादेखि गाउँघरमा सञ्चय गर्न सकिएको बीउबाट नै उत्पादन लिन नसकिएसम्म हुँदैन । हाइब्रीड बीउ अरूले पठाएनन् भने नपठाएको बेला हाम्रा फाँटका फाँट जमिनहरू बाँझै रहन सक्दछ । त्यसैले  जलवायु परिवर्तनको समस्या अनुकूलनका लागि हाइब्रीड बीउ हैन रैथानीय बीउहरू नै प्रयोग गरी उत्पादनलाई बढावा दिन सक्नु पर्दछ । जलवायु परिवर्तनको समस्याका कारण कृषि उत्पादन घट्दै गइरहेको छ ।  बीउका कारण घटेको जस्तो किसानहरूलाई लाग्न सक्दछ तर कृषि उत्पादनलाई जैविकीकरण गर्न सकियो भने हाइब्रीडसरहको उत्पादन परिणाम नभए पनि लामो समयसम्म प्रयोग गर्न सकिने कृषि उपजहरूको उत्पादन गर्न सकिन्छ । 

See Original Post

Views: 21

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

© 2017   Created by Equal Access for the Civil Society: Mutual Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service