यसकारण भोट दिनुपर्छ

By Binaya Guragain
मंसिर ४ मा निर्वाचन होला त? हुँदैन होला। खै के होला र निर्वाचन? होला कि नहोला भन्‍ने लामो अन्योलपछि मंसिर ४ मा निर्वाचन हुने निश्‍चित प्राय: भएको छ। वर्षौंदेखि हराएका नेता जिल्ला फर्किएका छन्। जिल्लामै सीमित नेता घरघरसम्म पुगेर मतदातासँग अन्तरसंवाद गरेका समाचार तथा तस्बिर सार्वजनिक हुनु र निर्वाचनका पक्षमा चियापसल, चुलोचौका, चौतारामा भेला भएर गफिनुले पनि अब ढुक्‍क हुन सकिन्छ- निर्वाचनको सरगर्मी बढेको छ र अब मंसिर ४ मै निर्वाचन हुन्छ।

निर्वाचन लोकतन्त्रको अपरिहार्य तत्त्व हो। निर्वाचन गरिनु वा गराइनु लोकतान्त्रिक अभ्यास हो। नागरिक शासनलाई बलियो बनाउने अस्त्र हो निर्वाचन। निर्वाचन स्वतन्त्र हुनुपर्छ। धाँधलीरहित निर्वाचनले मात्र नागरिकको सही प्रतिनिधित्व गर्न सक्छ। देशको राजनीति कुन दिशातिर जाँदैछ, त्यो देशका नागरिक कस्तो शासन व्यवस्था चाहन्छन्, त्यो शासन सत्ता हाँक्‍ने ठाउँमा कसलाई देख्‍न चाहन्छन् भन्‍ने स्पष्ट अभिव्यक्ति निर्वाचनको परिणामबाट मात्र निस्कन्छ। किनभने निर्वाचनको परिणाममार्फत हामी नागरिकको सोच र दृष्टिकोण प्रतिबिम्बित हुने गर्छ। त्यसैले स्वतन्त्र र सर्वमान्य निर्वाचनप्रति लोकतन्त्रमा विश्वास गर्नेहरूको चासो स्वाभाविक रूपमा बढ्छ।

मंसिर ४ मा हुन लागेको संविधानसमा निर्वाचनका लागि अन्तर्राष्ट्रिय स्तरमै उल्लेख्य चासो बढ्नुको कारण हो यसबाट देशको लोकतान्त्रिक भविष्य कोर्ने आधार खडा गर्छ।

लोकतन्त्र संस्थागत बनाउने कडीको रूपमा रहेको निर्वाचनको मुखमा मतदाता उत्साहित र जागरुक हुन जरुरी छ। संक्रमणकाल लम्बिएको, पहिलो संविधानसभामार्फत हामीले महँगो मूल्य चुकाएको र पनि नागरिकका अपेक्षा सम्बोधन हुन नसकेका, दलहरूमा चरम विभाजन रहेको, राष्ट्रियताको सबालसमेत धरापमा परेको अवस्थामा आम नागरिकमा निर्वाचनप्रति वितृष्णा जाग्नु अस्वाभाविक हैन। आमनागरिकमा अहिले पनि के आशंका छ भने यो चुनाव पनि दलकै लागि त हो। हामीलाई के फाइदा छ र? किन भोट दिने? यसो हुनुको पछाडिको मुख्य कारक विगतमा पटकपटक मौका पाएर जनभावना वा अपेक्षा सम्बोधन गर्न असफल दलीय राजनीति हो। त्यसैले किन दिने भोट भन्‍ने प्रश्न स्वाभाविक हो।

यद्यपि अहिलेको समय त्यस्तो प्रश्न गर्नका लागि उपयुक्त समय भने कदापि हैन र हुनु हुँदैन पनि। किनभने निर्वाचन कुनै दलविशेष वा तिनका नेतालाई जिताउनका लागि मात्र हुन लागेको हैन। अब हुने वा जुनसुकै निर्वाचन हामी नागरिकका लागि हो भनेर बुझ्नु जरुरी छ। किनकि निर्वाचन हाम्रा लागि हो। निर्वाचनमार्फत हामी नागरिकले आफ्नो मताधिकार प्रयोग गर्न पाइरहेका छौं। मताधिकारको प्रयोग गरी आफूले चाहेको दल वा नेता छान्ने अवसर हो निर्वाचन । देशलाई अगाडि बढाउने नेतृत्व खोज्ने मौका हो निर्वाचन।

यथास्थितिवादी दल र तिनका नेता, भ्रष्टाचारी, अपराधी वा अपराधलाई काखी च्यापेर हिँड्ने दल वा तिनका नेता, देशलाई अनिर्णयको बन्दी बनाउन बाध्य पार्ने दलीय नेतृत्व, आर्थिक उन्नतिका योजना नभएका दल र तिनका नेता तथा संसारमै असफल भइसकेका र हुने क्रममा रहेका सिद्धान्त तथा शासन व्यवस्थाका हिमायतीलाई पाठ सिकाउने मौका हो निर्वाचन। समग्रमा भन्दा निर्वाचन भनेको आफूले चाहेको दल वा नेतालाई गोप्य मतदानद्वारा छान्‍न पाउने नागरिक अधिकार हो। कुनै दल वा नेताविशेष पनि अयोग्य, अक्षम छन् भने तिनैका मध्येबाट एकजना सक्षम र सामथ्र्य भएको नेतालाई छान्ने विकल्प हो निर्वाचन। यथास्थितिको राजनीतिबाट मुलुकलाई निकास दिने माध्यम हो निर्वाचन ।

निर्वाचनमा किन भाग लिने? भोट माग्दै हिँडेका नेतालाई घरदैलोमा किन आउन दिने? किन उनीहरूका कुरा सुन्ने? मनमा यस्ता कुरा खोल्नु स्वाभाविक छ। तर निर्वाचनमा भाग पनि नलिने, घरदैलोमा नेता आए भने दैलो थुनेर बस्‍ने, उनीहरूसँग कुराकानी नगर्ने भनेर निर्वाचन बहिष्कारको वातावरण बन्न सहयोगी आचरणका लागि पनि सही हैन अहिलेको समय। हामीले घरदैलोमा आएका नेतालाई हाँसेर स्वागत गर्न सक्नुपर्छ। सत्कार र आतिथ्य प्रदर्शन गर्न सक्नुपर्छ। तर सँगसँगै घरदैलोमा आउने नेतालाई आफ्ना प्रश्न पनि सोध्‍न सक्नुपर्छ।

भोट किन दिने?

घरदैलोमा आएका नेताबाट सम्बन्धित दल वा नेताका प्रतिज्ञा सुन्नुपर्छ र चित्त नबुझेसम्म उनीहरूलाई सोधिरहनुपर्छ। सोध्‍ने क्रमलाई नितान्त व्यक्तिगत वा सामूहिक हितकेन्द्रित गर्न सकिन्छ। जस्तो कि निर्वाचनमा मैले भोट दिएपछि मेरा लागि के हुन्छ? मेरो छिमेकीका लागि के फाइदा हुन्छ भोट दिँदा। यो टोल वा समुदायलाई के फाइदा गर्छ तपाइँको जितले? यसरी सोधिने प्रश्नलाई अझै व्यक्ति लक्षित बनाई विगतमा पनि तपाइँको दलले यस्तै भन्या थियो तर भने जसरी किन काम गर्नुभएन? तपाइँलाई किन पत्याउने? मजस्ता गरिबलाई गरिबीबाट मुक्त गर्ने तपाइँको योजना के-के हुन्? मैले दु:ख गरेर कमाएको पैसाबाट तिरेको करमा पनि भ्रष्टाचार किन हुन्छ? तपाइँ भ्रष्टाचारीलाई कारबाही किन गर्नुहुन्न? तपाइँले अपराधी र गुन्डा किन पाल्नुभएको छ? छैन भने किन गुन्डा वा अपराधसँग तपाइँको साँठगाँठ छ भनेर हल्ला हुँदा पनि किन चुपचाप बस्नुहुन्छ? अपराधीलाई किन संरक्षण दिनुहुन्छ? अदालतले दोषी प्रमाणित गरेको मान्छेलाई किन उम्मेदवार बनाउनुभयो? किन भोट दिने उहाँलाई हामीले? लगायत अनगिन्ती प्रश्न सोधेर त्यसको चित्तबुझ्दो जबाफ नआएसम्म घरदैलोबाट नेताहरूलाई उठ्न दिनु हुँदैन।

प्रश्न सोध्‍ने र उत्तर माग्ने सही मौका यही हो। यसलाई गुमाउनु भनेको आफ्ना खुट्टामा आफैं बञ्‍चरो हान्‍नुसरह हो।

निर्वाचनले दल वा तिनका नेता पनि फाइदा गर्छ। सचेत नागरिक अभिव्यक्तिमार्फत दललाई सुधारिने मौका मिल्छ। जनभावना बुझेर त्यसैअनुसार कार्यान्वयन गर्न दबाब सिर्जना गर्छ। सधैं नालायकीपन देखाएर मात्र राजनीतिमा रबाफ जमाउन सकिँदैन, अपराध र गुन्डासंरक्षित राजनीति त्याग्‍नुपर्छ। जनताको चाहनाअनुसार गर्न सकिएन भने इतिहास दोहोरिन्छ।

हामी पनि बढारिन्छौं भन्‍ने चेत बढाउन सघाउँछ। दल तथा नेतालाई नालायकबाट नायकमा रूपान्तरण गर्न निर्वाचन सहयोगी हुन्छ। त्यसैले निर्वाचनप्रति वितृष्णा जगाएर आफैंले आफैंलाई खाडलमा जाक्‍नुको साटो हामी सबैले निर्वाचनको पक्षमा वकालत गर्नु बुद्धिमानी ठहर्छ।

http://annapost.com/opinion/news10080

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service