ब्लगमा कसैको दबाव, सम्पादन, काँटछाँट वा डर बिना स्वतन्त्र लेखन सम्भव छ: उपेन्द्र पौडेल

फुर्सदमा पुस्तक अध्ययन र सिनेमा हेर्न गज्जब रमाईलो मान्छन् उपेन्द्र पौडेल । पोखरालाई आफ्नो कर्मथलो बनाएका उपेन्द्र विगत १२ बर्षदेखी शिक्षण पेशामा आबद्द छन् । अंग्रेजी साहित्यमा स्नातकोत्तर र कानुनमा पनि स्नातक गरेका उनी युवाको वृत्ति विकास र नेतृत्व विकासका लागि रोटरी इन्टरनेशनलको युवा संस्था 'रोटर्याक्ट क्लब' र 'र्‍याण्डम रिडर्स सोसाईटी अफ नेपाल'सँग पनि आबद्द छन् । घुमफिर गर्न उत्तिकै रुचि राख्ने उपेन्द्र पोखरामा पठन संस्कृतिको विकासका लागि समेत सक्रिय छन् । घुमफिर तथा अध्ययनका अलावा ब्लग लेखनमा पनि उत्तिकै सक्रिय छन् उपेन्द्र । मेरोरिपोर्टको साप्ताहिक स्तम्भ साताका ब्लगरमा आज हामीले उनै उपेन्द्र पौडेलसँग कुराकानी गरेका छौं । प्रस्तुत छ उनीसँग गरिएको कुराकानी : 

उपेन्द्र पौडेललाई सोसल मिडियामा के भनेर चिनाउन चाहानुहुन्छ ? बताइदिनुस न ।

समयसँगै उठ्ने समसामयिक घटनासँग सरोकार राख्ने सामान्य मान्छे जस्लाई प्रत्येक कुरामा प्रतिक्रिया नदिए पनि चासो चाहीँ राख्नुपर्छ ।

ब्लगिङ गर्न कहिलेलेखि थाल्नुभयो र कसरी सुरु गर्नुभयो ?

सन् २००९ को अगष्टमा सुरु गरेको थिएँ । आफ्ना बारेमा वा आफूलाई लागेका कुरा पोख्ने गरि सुरु गरे । तर पहिलो पोष्ट गरेपछि लगभग एक डेढ बर्ष निष्क्रिय रहे । अनि फेरी अहिले चलाईरहेको ब्लग सुरु गरेको हुँ । खासमा आफ्नै जिन्दगीको एउटा कथा लेखेको थिए । कसैलाई भन्न नसकेको कथा ब्लगमा पोखेर ब्लगिङ सुरु भएको थियो ।

के का लागि ब्लगिङ गर्नुहुन्छ ? कस्ता विषयवस्तु तपाईको रोजाईमा पर्छन ?

ब्लगिङ मेरा लागी मात्र सन्तुष्टी हो । कहिलेकाँही गुम्सेर रहेका कुरा वा व्यक्त गर्न मन लागेका अभिव्यक्ति गरौं  न त भनेर ब्लगिङ गर्छु । ठ्याक्कै यस्तै विषयवस्तु भन्ने चाहीँ  छैन। यात्रा अनुभव देखी पुस्तक, निजी भावना जे पनि मुड अनुसार विषय बन्छ ।

तपाईले www.upensansar.blogspot.com बाहेक अरु पनि चलाउनु हुन्छ ?
ब्लगिङको सुरुवात चाहीं अर्कै ब्लगबाट गरेको हुँ तर अहिले त्यो ठप्प छ । अहिले चाहिँ यही नै चलाउँछु ।

अनि ब्लगिङलाई निरन्तरता दिन कत्तिको सजिलो छ त ?
खास गाह्रो होइन । तर डायरी लेख्या जस्तो सजिलो पनि हैन । कहिलेकाँही राख्छु भन्ने लागेको कुरा पनि राख्न छुट्छ ।

तपाई सोसल मिडियामा पनि उत्तिकै हुनुहुन्छ । नेपालमा सोसल मिडियाको प्रयोग कस्तो भइरहेको पाउनुभएको छ ?
गज्जबको क्रान्ति ल्याएको छ सोसल मिडियाले । हिजोसम्म आफना कुरा अभिव्यक्त गर्न पत्रिकामा पाठक पत्र कुर्नुपथ्यो वा एफ.एममा फोन गरेर पालो पर्खनुपर्थ्यो । आज आफ्नो विचार वा घटना माथि तपाईको प्रतिक्रिया मिनेटमै सबैका सामु राखेर अर्थपुर्ण बहसमा समेत सहभागी हुन सकिने गज्जबको खुल्ला स्थान बनेको छ, सोसल मिडिया । हुन त आत्मरती र अनावश्यक विज्ञापनका पोष्टहरु पनि देख्न, पढ्न पाइन्छ तर असल पक्ष ज्यादा छ भन्ने लाग्छ ।

अरुका ब्लग कत्तिको पढ्नु हुन्छ ? प्राय पढ्ने ब्लगहरुरु कुन् कुन् हुन् विशेष गरीकस्ता विषयवस्तु समेटिएका ब्लग तपाईँका रोजाइमा पर्छन् ?

साहित्यको विद्यार्थी भएकाले होला, साहित्यिक विषयबस्तु भएका ब्लगहरु मन पर्छ । अनि अलि रमाइलो लेखनशैली भएकाहरु पनि रोजाइमा पर्छन् । लेनीन बञ्जाडे, प्रकाश लामिछाने, अमित रिजाल, मिरा ढकाल, सुर्य सुर्खाली, भवसागर घिमिरे, नारायण अमृत, सालोक्य जस्ता केही ब्लगरहरुको ब्लगमा टहलिने गरेको छु ।

आफ्ना कुरा ब्यक्त गर्न अहिले युवाहरुले ब्लगिङ्गप्रति आर्कषित भई रहेका छन, नेपाली ब्लगिङको प्रयोगलाइ कसरी हेरि रहनुभएको छ सदुपयोग या दुरुपयोग ? अनि कस्तो देख्नु हुन्छ ब्लगिङ्गको भविष्य ?

अब ब्लगिङ कै बारेमा वा यस्को भविष्यको बारेमा त्यस्तो ठ्याक्कै यस्तै होला भन्ने खाले विचार त राख्न सक्दिन तर युवाहरुले राम्रो सदुपयोग गरिरहेका छन् भन्न कुरामा चाहीँ म पक्का छु । माई संसार यसको गज्जब उदाहरण हो । आफ्नो कुरामात्रै होइन समाजको चासो र सवालका विषयमा कुरा उठाउन सक्ने गरी ब्लगिङ गर्ने युवापुस्ताले ब्लगिङको भविष्य अझ आशालाग्दो बनाइरहेको पाउँछु ।

हामीकहाँ प्रयोगमा आइरहेका सोसलमिडियाका थलोहरु ब्लग, ट्वीटर र फेसबुकमा के फरक पाउनुभयो ?

ब्लग अलि लामो समयसम्म आफना कुराहरुलाई व्यक्त गर्न प्रयोग भएको जस्तो लाग्छ भने फेसबुक र ट्वीटर चाहीँ मोमेन्ट्री प्रतिक्रिया व्यक्त गर्ने थलो जस्तो लाग्छ । फेसबुकमा आजभोली अलि धेरै परिचय खुल्ने हुँदा कतिपय कुरा स्पष्ट भन्न हिचकिचाउनेहरु खुला बहसका लागि बरु ट्वीटरमा अझ दह्रो गरी उपस्थित भएका हुन कि जस्तो लाग्छ । तर बतासेहरुको कमि भने कतै पनि छैन ।

नेपाली ब्लगहरु सामाजिक हितमा लेखिएका कत्तिको पाउनुभएको छ?

थुप्रै छन् । सुरुमा आफ्नै कुरा धेरै लेख्ने गरेपनि निश्चित समयपछि सामाजिक हितका कुराहरु लगभग धेरैको ब्लगमा पढेको छु ।

ब्लगिङ वा ब्लगरका लागी आचार संहिताको आवश्यकताको कुरापनि उठिरहेको हुन्छ, तपाईंलाई के लाग्छ, जरुरी छ ब्लगरका लागी आचार संहिता ?
अब आचार संहिताले गर्ने चाहीँ के हो ? आफू आफैँमा इमान्दार र जिम्मेवार हुने हो भने आचार संहिता खासै चाहिँदैन । अब जिम्मेवार नहुने हो भने आचार संहिताले फेरी केही रोक्न सक्दैन । त्यसैले आचार संहिता भन्दा पनि जिम्मेवारीबोध धेरै हुनुपर्छ भन्ने लाग्छ ।

ब्लग लेखन वा ब्लगमा समेटिएका सामग्रीसँग जोडिएका कुनै रमाइला घटना वा प्रसंग भए बताइ दिनुहोस न !

सुरुमा ब्लग लेखेको चाहिँ कसैलाई प्रभाव पार्न थियो । तर पछिल्लो समयमा साथीभाइसँग घुम्न गएका घटनाहरु ब्लगमा समेट्दा चाहिँ कुनैदिन उनीहरुले पढेर आफूलाई पात्रका रुपमा पाउँदा उनीहरुले ब्यक्त गर्ने खुसी चाँही रमाइलो हुन्छ । शनिबारका दिन यसै बरालिएर माछा खान हिडेको एउटा प्रसंगमा दुई बर्ष पछि त्यही ब्लग पढेर फेरी त्यही ठाउँमा तिनै मान्छेसँग माछाको खोजीमा हिडेको छु ।

केहीले ब्लगिङलाइ नागरिक पत्रकारिता पनि भन्ने गरेको पाइन्छ, के ब्लगिङ नागरिक पत्रकारिता नै हो त ?

मलाई चाहि त्यस्तै लाग्छ। ‘प्रत्येक नागरिक बिना बर्दीको प्रहरी हो।’ भन्छ नेपाल प्रहरी । मलाई पनि ‘प्रत्येक ब्लगर विना तलबको पत्रकार हो ।’ भन्ने लाग्छ। ब्लगमा कसैको दबाव, सम्पादन, काँटछाँट वा डर बिना स्वतन्त्र लेखन सम्भव छ । अनि नागरिक पत्रकारिताको आशालाग्दो उदाहरण मेरोरिपोर्ट नै पनि एउटा हो ।

अन्त्यमा,
धन्यवाद ।

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

© 2017   Created by Equal Access for the Civil Society: Mutual Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service