सोसल मिडिया र सकारात्मक सोच

By Binaya Guragain

हिलोमा कमल फुल्छ भनेझै समस्याकै बीचमा हाम्रो देशको मानव विकास सुचकांक सुधारोन्मुख छ । यसपाली देशको आर्थिक बृद्धिदर बढेको छ । हिजोआज गाँउँगाउँमा बिद्यालय खुलेका छन् । पहिले घाँसदाउरामा मात्र सिमित हाम्रा छोरीचेलीहरु स्कुलमा भेटिन्छन् । चुल्होचौकामा सिमित दिदी, भाउजु, आमा, हजुरआमा अहिले संसारका अत्याधुनिक मुलुकमा सहज आवतजावत र परिश्रम गर्न सक्षम छन् । यातायातका साधन देख्नमात्रै पनि दिनौ हिड्नुपर्ने ठाउँमा धुले नै सही सडक पुगेको छ । महिनौ कुरेर हुलाक मार्फत परदेशी आफन्तको समाचार सुन्न बाध्य दुर दराजका गाउँलेसँग अहिले अत्याधुनि प्रबिधि सहितको मोवाइल फोनमाथि पहुँच बढ्न थालेकोछ । एउटामात्र मोवाइल फोन नभएको घर सायद नभेटिएला हिजोआज केही अपवाद बाहेक । बिदेशमा बस्ने पति, छोरा, बुबा, आमा, श्रीमती, भाउजु र दिदीबैनीसँग भिडियो हेर्दै फोन वा कम्प्युटर मार्फत गरिने प्रत्यक्ष कुराकानी अनौठो हुनथालेको छ । अनुरोध गीतका लागि चिठ्ठी पठाएर प्रसारणको आसमा महिनौ कुर्न बाध्य नागरिक आज आफै रेडियो, टिभी र पत्रपत्रिकाका मालिक भएका छौ ।


सञ्चारक्षेत्रमा भएको विकासमा हामी दक्षिण एशियामै उदाहरणीय छौ । साना तथा मझौला किसिमका बिद्युत आयोजनाले गाउँहरु झलमल्ल छन् । गाविस तथा नगरपालिकामा समुदाय र सरकारको सहकार्यमा उदाहरणीय कामहरु भएकाछन् । पहिलेपहिले महिनौ दिन लाएर काठमाण्डौ पुग्ने पुस्ताका सन्तान अहिले कोषौ टाढा बिदेशमा बसेर देशको अर्थतन्त्रलाई मजबुत बनाउन योगदान दिइरहेका छन् । उनीहरुले पठाएको रकम रेमिट्यान्सको रुपमा देशको अर्थतन्त्रको बलियो मेरुदण्ड बन्दैछ । देशमै भएको युवा जमात केही न केही सिर्जनशिल काममा जुटेका छन् । आमाहरु सुइटर बुन्ने र धारापधेरामा सिमित कुराकानीबाट बाहिर निस्केर समाज विकासका लागि खबरदारीमा लागेकाछन् । जेष्ठ नागरिक जमात आफ्ना अनुभव र ज्ञानहरु नयाँ पुस्तालाई हस्तान्तरण गर्न बाहिर आएका छन् । जात, भाषा, लगायत अन्य किसिमले हिजो दवाइएका पहिचानहरु आज सगर्व बाहिर आएर आफ्नो अस्तित्वका लागि लडिरेका छन् । सूचना प्रबिधिले संसारलाई मोवाईल, कम्प्युटर, टिभी वा अन्य बिद्युतीय सामग्री मार्फत हरेकका घर, कोठा, ओछ्यान, भान्सामा पुर्याएको छ, जससँग सहज पहुँच भएको नेपाली जमात हरेक क्षण बढिरहेको छ । तरकारीको भाउ बुझेर बारीको तरकारी टिप्ने र बजार लाने किसानहरु यही समाजमा छन् । गाइबस्तु पालेर उन्नती गरेका प्रगतिशील हातहरु यही माटोमा छन् । गाउँमा इन्टरनेट पुर्याएर विश्वलाई समेत उदाहरणीय पाठ सिकाउने मेगासेसे पुरस्कार बिजेता नागरिक यही भुमिमा छन् । आँखाको क्षेत्रमा बिश्वमै प्रभावकारी काम गर्ने डाक्टरहरु हामीकहाँ नै छन् । यस्ता थुप्रै कामको फेहरिस्त छ जसले बितेका १० १५ बर्षमा यही भुमिमा श्रम र पसिना बगाएर यो देशको सान उच्च राखेकाछन् ।

 
विश्व राजनीतिक, आर्थिक तथा वातावरणीय परिवेशमा आएको परिवर्तनसँगै हामी नेपालीको पनि पैसा र प्रबिधीमा सहज पहुँच स्थापना हुने क्रम तिब्रतर छ । प्रबिधी, पैसा र पहुँचको देखिने प्रभाव हो हामीमा अहिले बढेको आत्मविश्वास । त्यही आत्मविश्वासको परिणाम स्वरुप वितेका दशकमा हामीले यो देशमा उल्लेख्य काम गरेका छौ । तर ती कामहरुले उचित रुपमा चर्चा र सम्मान नपाउँदा हुनसक्छ हामी आफुले गरेका कामहरुलाई पत्याउन सकिरहेकाछैनौ । आफुलाई नपत्याउने र आपुजस्तो राम्रो काम गर्न नसक्नेलाई गाली गर्नु हाम्रो दिनचर्या बनेको छ । गालिको केन्द्रमा छ राजनीति र गालि मार्फत हामी यसरी प्रस्तुत भइरहेका छौ की मानौ यो देशमा बितेको बर्षहरुमा केही भएकै छैन ।
तर त्यसो हैन । बितेको बर्षहरुमा मनग्गे राम्रा कामहरु भएकछन् । हो, खुल्ला र प्रतिस्पर्धी बजार अर्थतन्त्रतका चुनाती मनग्गे छन् । त्यसैले यहाँ टिक्नका लागि पनि ठुलै पापड बेल्नुपर्छ । समाजका हरेक क्षेत्रमा नाफामुखि चरित्र हावी हुनाले समाज विकास गौण बनेको हो की भनेर बुझ्नु गलत होइन । त्यसमाथि ठुला मिडियाको चरित्र नाफामुखि छ । साथै बढ्दो शहरीकरणले निम्त्याएका आम चुनौतीहरु विश्वका अरु ठुला शहरमा पनि तीनै हुन् जुन हामी यहाँ भोगिरहेकाछौ । फरक यतिमात्र हो अरुले चुनौती सामना गरे, समाधान गरे हामी त्यही गर्न नसकेर त्यसको दोष एकअर्कालाई खासगरी राजनीतिमाथि थोपरीरहेकाछौ । सबैलाई थाहा छ, हाम्रो राजनीति ईतिहासको अत्यन्तै जटिल मोडबाट गुज्रिरहेको छ । इतिहासमा सधै यस्तो अवस्था आउँदैन । समय लाग्छ रुपान्तरणका लागि । र पनि २०४६ पछिको राजनीतिले हामीलाई आत्मविश्वासी बनाउँदै आफ्नो भविष्यका लागि आफै जिम्मेवार हुन सिकाएको सत्यलाई हामीले कुल्चिनु भुल हो भन्ने ठान्छु म । माथि बर्णन गरिएका राम्रा कामहरु पनि यही बेला भएका हुन् जुन हामीले नै गरेका हौ । जस मार्फत पैसा र प्रबिधिमा हाम्रो पहुँच बढ्दैछ । प्रबिधीमाथिको पहुँचले हामी र यो राष्ट्रको विकासलाई आउने दिनमा अबस्य सहज बनाउँछ । अहिलेको अवस्थामा खाँचो छ भएका राम्रा कामहरुको उचित चर्चा, सम्मान र सकारात्मक सोच र व्यवहारको ।  


प्रतिस्पर्धी खुल्ला बजार अर्थतन्त्रमा ठुला मिडियाहरु नाफामुखि चरित्रमा सञ्चालित छन् । नाफा बजारले दिने हुनाले बजारमा जे बिक्छ त्यही बिषयको वरिपरी आमसञ्चार माध्यमका बिषयहरु घुम्नु स्वभाविक हो । बजारमा राजनीति, सेक्स, ग्ल्यामर, अपराध, दुर्घटना र नराम्रा घटनाहरु जति छिटो बिक्छन् राम्रा कुराहरुमा मानिसको ध्यान कम जान्छ भन्ने मान्यताले मिडियाले आफ्ना बिषयबस्तु प्रस्तुत गरिहेको अबस्था छ । जसले गर्दा परम्परागत मिडियाप्रति उपभोक्ताको गुनासो बढ्दो छ । यस्तो अबस्था लोकप्रीय हुदै गैरहेको सोसल मिडियाका लागि राम्रो गर्ने अवसर हो । सोसल मिडियाले परम्परागत मिडियाले गर्न नसकेको काम गर्दै विकल्प दिन सक्छ । कसरी भनेः

हामी सोसल मिडियालाई त्यही रुपमा प्रयोग गर्न सक्छौ जुन ठाउँमा यसको आवश्यकता छ । हामी त्यहाँ पुग्न सक्छौ जहाँ परम्परागत मिडियाहरु पुगेनन् । उनीहरुले चाहेर पनि दिन नसकेका बिषयबस्तु हाम्रा छलफलका बिषय हुनसक्छन् । माथि उल्लेख भएका बाहेक अरु पनि थुप्रै राम्रा काम भएका छन् यो समाजमा । सोसल मिडिया मार्फत हामी ती कामहरु बाहिर ल्याउन सक्छौ । सरकार र नागरिकले गर्नै पर्ने कामको फेहरिस्त तयार पार्न सक्छौ । प्राथमिकतामा आधारमा ती सवालहरुलाई छलफल र कार्यान्वयनका लागि दवाव दिन सक्छौ । आवाज विहीनको आवाजको रुपमा सोसल मिडियालाई स्थापीत गर्न सक्छौ । अधिकार र कतव्र्यका लागि वकालत गर्न सक्छौ । कुनै कुराको ठाडो बिरोधमात्र हैन बिकल्प सहित रचनात्मक भुमिका खेल्न सक्छौ ।   

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service