साताका ब्लगर: संजीव पोखरेल

सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट ह्याण्डल @sanpokh बाट गरिने ट्वीटहरु सामान्य गफगाफ भन्दा फरक प्रकृतीका हुन्छन् । बाराक ओबामा, मिट रुम्नीको अमेरीकी चुनाव अभियान होस् या भारतका चर्चित राजनीतिज्ञ बाल ठाकरेको राजनीति, नेपाली संस्कृती वा परम्पराका भद्दा अनुसरणमाथि तिखो प्रहार अथवा नेपाली पत्रकारिताले भुलेको बाटोमाथि कडा व्यंग्य । यतिमात्र हैन, कहिलेकाँही उनीबाट १४० अक्षरमा आफ्ना अनुयायीलाई ठाडो हुंकार निस्कन्छ कोही छ मसँग मुकावला गर्ने?”

@sanpokh अर्थात संजीव पोखरेल । ट्वीटरमा उनका झन्डै ९०० अनुयायीमध्ये @binayaji का रुपमा मलाई लाग्छ, पोखरेल सामान्ययतया ट्वीटरमा सवालगत वहसमा रुचाउँछन । अँग्रेजी साहित्य, अर्थशास्त्र, समाजशास्त्र तथा मानवशास्त्रका बिद्यार्थी पोखरेल काठमाण्डौका स्थायी बासिन्दा हुन् । सामाजिक सञ्जाल ट्वीटरमा कैयौपटक उनीसँगको बहसमा भाग लिएपछि भर्चुअल भेटघाटलाई प्रत्यक्ष भेटघाटमा रुपान्तरण गरेर कुनै सवालमा उनका कुरा सुन्न मन लागिरहेको बेला उनले एकदिन सुटुक्क भने म पनि ब्लग गर्छु । उनको ब्लग रहेछ http://sanjeevkoblog.blogspot.com/ । ब्लग पढीसकेपछि एकदिन जुर्यो हाम्रो भेटघाटको अवसर । त्यही भेटमा हामीले यस्तो कुराकानी गर्यौ र त्यही कुराकानीलाई यो हप्ता मेरोरिपोर्टको साप्ताहिक स्तम्भ साताका ब्लगर (Blogger of the week) मा प्रस्तुत गरिएको छ । 

तपाईँको सामाजिक संचार संजालसँगको सम्बन्ध कसरी जोडियो ?

मलाई संचार र प्रविधिको क्षेत्रमा आएको परिवर्तनसँग साक्षात्कार हुन र त्यसमा आफूलाई ढाल्न मनपर्छ । त्यसबाट बढीभन्दा बढी फाइदा लिने र आफ्नो चासो र जानकारीका कुरा अरूसँग बाँढ्नुका साथै अरूसँगका पनि त्यस्तै कुराहरू कसरी प्राप्त गर्न सकिन्छ भन्ने कुरामा उत्सुक छु। यही उत्सुकताले नै मलाई सामाजिक संचार संजालमा जोडेको हो ।

फेसबुक चलाउन थाल्नुभएको समय याद छ ?

त्यस्तै २०१० देखि होला । सुरुको समयमा त निक्कै चलाउँथें । तर विगत ६, ७ महिना अघिबाट त्यति चलाइरहेको छैन । परिवारका सदस्य एवं आफन्तहरूको बारेमा जानकारी लिन, गतिविधि थाहा पाउन फेसबुक चलाउँछु । तर हाल ट्वीटर र ब्लगिङ्मै बढी सक्रिय छु ।

फेसबुक र ट्वीटर चलाउँदाको अन्तर के पाउनु भयो ?

फेसबुकमा अधिकांश आफ्ना नातागोता, नजिकका साथीहरू जोसँग पहिलेदेखि नै चिनजान र जानकारी छ उहाँहरूसँग अन्तरक्रिया हुन्छ । जसले गर्दा त्यो अन्तरक्रिया केही समय पछाडी दिक्दार लाग्दो हुँदैजाने रहेछ । तर फेरी आफन्त तथा साथीहरूले के गरिरहेका छन् भन्ने जस्ता कुराको बारेमा जानकारी मिलिरहने जस्ता यसका भिन्नै उपयोगिता पनि छन् । तर आफ्नो रुचि, ज्ञानका सवालमा तथा रुचि र ज्ञान मिल्ने अरूसँग अन्तरक्रिया गरूँ भन्नको लागि चाहीँ फेसबुकबाट त्यो सम्भव छैन । यता ट्वीटरमा चाहीँ आफूले पहिले नचिनेका तर आफूसँग रुचि मिल्ने मानिसहरूसँग अन्तरक्रिया गर्न मिल्ने भएकाले यो चाहीँ अझै बढी रमाइलो जस्तो लाग्यो मलाई ।  

तपाईँको ट्वीट अलि बढी बौद्धिक हुन्छ भनिन्छ नि !

मलाई त्यस्तो चाहीँ लाग्दैन । म आफ्नो रुचिसँग मिल्ने साथीहरूलाई पनि ट्वीटरमा साथी बनाएको छु । र उहाँहरूको ट्वीटहरू प्रति अत्यन्तै रुचि राख्छु र त्यहाँबाट पनि सिकिरहेको हुन्छु । यस्तै क्रममा लेख्दै जाँदा मलाई थाहै नभई मेरा ट्वीटको कुनै निश्चित विशेषता भएका पनि हुन सक्छन् । म कहिलेकाहीँ ट्वीटर मार्फत नै रमाइलो, ठट्टा पनि गरिरहेको हुन्छु । तर मैले जानेरै वा बौद्धिक ट्वीट गर्छु भनेरै चाहीँ गरेको होइन ।

तपाईँ कहिलेकाहीँ अलिअलि आक्रामक पनि देखिनु पनि हुन्छ नि । जस्तो कि जनै पूर्णिमाको दिन यो जनै लगेर म फ्लस गर्दैछु भन्ने ट्वीट लेख्नु भएको थियो । यस्ता अभिव्यक्तिको पछाडिको विद्रोहको कारण के हो ?

यसमा आफ्नो व्यक्तिगत र सैद्धान्तिक कारण हुनसक्छ । मेरा ट्वीटहरू चाहीँ स्थापित सैद्धान्तिक धारहरू र स्थापित धार्मिक आस्थाहरूका विरुद्धमा हुन्छन् । मैले यसरी लेखिरहँदा कसैको सिद्धान्त विपरित वा धार्मिक आस्था विरुद्ध लाग्यो भने त्यो कडा लाग्न सक्छ । त्यो थाहा भएरै पनि लेखिरहेको हुँ । किनभने मलाई हरेक मान्छे आफ्नो इच्छा अनुसार स्वतन्त्रतापूर्वक बाँच्न पाउनुपर्छ भन्ने लाग्छ । कुनै ठूलो सिद्धान्त वा मान्यताले अन्य व्यक्तिगत वा साना मान्यतालाई किच्नु हुन्न, सबैले स्थान पाउनुपर्छ भन्ने लाग्ने हुनाले मैले ती मान्यताहरूको विरोध गर्दा आक्रामक देखिन वा सुनिन सक्छु । त्यो मामलामा चाहीँ म चाहेरै आक्रामक छु । त्यसलाई मेरो विशेषताका रूपमा स्वीकार गरिदिनुहुन्छ होला भन्ने आशा गर्दछु ।

तपाईँ आफूलाई कुनै पनि विषय देख्ने वित्तिकै प्रतिकृया जनाइहाल्ने ब्यक्ति अथवा आफुलाइ कुन रूपमा लिनुहुन्छ ?

मलाई ज्ञान र चासो नभएको विषयमा म सहभागि हुन्न । मलाई सम्झाना छ, केही त्यस्ता विषयहरू आएका थिए ट्वीटरमा पनि । त्यसमा मैले मलाई यो विषयमा थाहा छैन । केवल यस्तो लाग्छ मात्र र यो विषयमा म सहभागी हुन चाहन्न भनेर सार्वजनिक रूपमा ट्वीटरमा भनें पनि । तर सामान्य मानिसको रूपमा म अलि बढी जान्ने हुनखोज्ने हुन पनि सक्छ । तर हामी दैनिक जीवन, राजनीति, धार्मिक आस्थाका कुराहरू, सार्वजनिक चासोका कुराहरूमा चाहीँ म सहभागि भइरहेको हुन्छु । प्रतिकृया जनाउनेको सवालमा कतिपय मानिसहरू हुन्छन् जो सामान्य टिप्पणीहरू गर्ने, सकारात्मक कुराहरू गर्ने, त्यसैलाई रिट्वीट गर्ने । तर म चाहीँ यदी कुनै बहस छ भने त्यो अलि गहन होस् ता कि त्यो हेर्नेहरू थप केही सोच्न बाध्य हुन् भन्ने अपेक्षा राख्छु । आफ्नो मान्यता संकटमा परेको मान्छेले महशुस गरोस् भनेर त्यसलाई चुनौति दिने काम गरिरहने हुनाले म अलि बढी आक्रामक जस्तो देखिएको हुनसक्छु ।

ब्लगिङ् कहिलेदेखि गर्न थाल्नु भयो ?

यो भन्दा अगाडी मैले घुमाउने चौतारो भन्ने ब्लग सुरु गरेको थिएँ । जुन मैले पढेकै विषय मानवशास्त्रसँग सम्बन्धित थियो । जसमा मानवशास्त्र पढाउने र पढ्नेहरूका लागि उपयोगी हुने छलफलहरू, लेखहरू र स्रोत सामग्रीहरू राख्ने ब्लग थियो त्यो । तर त्यसका लागि मैले आवश्यक सामग्री पाइनँ । त्यो सुरु गर्दा चाहीँ अरू पनि धेरै साथीहरू संलग्न हुने भन्ने थियो तर सबै आ–आफ्नो व्यस्तता र रुचिका कारण पनि धेरै साथीहरूले निरन्तरता दिन सक्नु भएन । फेरी त्यो शैक्षिक भएकोले लगातार अपडेट पनि गरिरहनु पर्ने जस्ता कारणले पनि मैले त्यसलाई निरन्तरता दिन सकिनँ । अहिले भने विगत ८–९ महिनादेखि http://sanjeevkoblog.blogspot.com/ नामको ब्लग चलाइरहेको छु ।

त्यसमा तपाईँले राख्ने सामग्रीहरू केबाट प्रेरित भएर आउँछन् ?

म त्यसलाइ पनि चाहेजस्तो निरन्तरता दिन सकिरहेको छैन । मेरो जीवन भोगाइ र मेरो सैद्धान्तिक मूल्य मान्यताको कुरा पनि यदि व्यवस्थित रूपले राख्दै जाने हो भने अत्यन्तै धेरै सामग्री हुन सक्छन् । त्यो मेरो मात्रै होइन मेरो जति उमेर र काम गरेका जो कसैको पनि हुनसक्छ । काम गरेको अनुभव, सोचाइ, व्यक्तिगत जीवनका भोगाइ नै मेरो ब्लग लेख्ने प्रेरणाका स्रोत हुन् भन्दा हुन्छ ।

ब्लग लेख्ने बाहेक अरूका ब्लग पढ्ने पनि गर्नुहुन्छ ?

पढ्छु । समिरजी, अनन्तजी, बरून पोखरेल, मिलन बगाले, लेलिन बञ्जाडे, सुरज अर्याल र अन्य केहि साथीहरूको ब्लग पढें । ट्वीटरमा सेयर भएका ब्लग लिंकहरूमा गयो, पढ्यो । यसरी पढ्दा कुनै चित्त नबुझ्ने पनि हुन्छन् । जसले गर्दा त्यस्ता पढ्दिनँ । अलि राम्रा लेख्नेको पढ्छु ।

ट्वीटरमा सेयर भएको मात्रै ब्लग पढिन्छ कि खोजीखोजी पनि पढिन्छ ?

अन्तर्राष्ट्रिय व्यक्तिहरू जस्तो कि सि एनएन, बिबिसिका पत्रकारहरूका ब्लग । अनि गार्जियनको साइटमा राम्रा राम्रा अन्तर्राष्ट्रिय ब्लगरहरूको ब्लगहरू हुन्छ, । ति पढिन्छ । राम्रा लागेको सेयर पनि गर्छु । नेपालको सन्दर्भमा चाहीँ उही ट्वीटरमा कुनै ब्लगको कुनै सामग्रीको चर्चा भएपछि पढिन्छ । जस्तो कि बाबाजी नामक ब्लगको काठमाण्डौं फर्किँदाको लेखनको ट्वीटरमा धेरै बहस भयो । त्यसपछि ब्लगमा छिरेर पढें । रमाईलो लाग्यो ।

भनेपछि नेपाली ब्लगरहरूको चाहीँ ट्वीटरबाट थाहा पाएपछि नै पढ्नु हुन्छ ?

हो ।

नेपालमा नेपाली ब्लगरको ब्लग खोजी खोजी पढ्ने चलन अरू कसैको देख्नुभएको छ ?

म यस क्षेत्रमा नयाँ भएको हुनाले होला त्यस्तो कोही त थाहा छैन ।

तपाईँको आमसंचारलाई पनि बेलाबेला आलोचनात्मक टिप्पणीहरू आइरहेका हुन्छन् नि ! संचारमाध्यमभन्दा बाहिर बसेर सामाजिक संचार संजाललाई आमसंचारको विकल्पको रूपमा भूमिका खेल्ने माध्यमका रूपमा हेर्ने हो भने मुलधारका संचारमाध्यमलाई कसरी हेर्नुहुन्छ ?

मुलधारका संचारमाध्यमको एकदमै ठूलो भूमिका छ र हुनुपर्छ पनि तर मूलधारकासंचारसँग अन्तरक्रिया गर्न सकिँदैन । अर्कोतिर सामाजिक संचार सञ्जालसँग त्यही कुरा सम्भव छ । आमसंचारमा पनि कति गल्ती भइरहेका हुन्छन् जुनकुरा पाठक, श्रोता, दर्शकले देखिरेहका हुन्छन् । यहाँ गल्ती भो भनेर पाठक श्रोताले सुझाव पनि दिइराखेको हुन्छन् यहाँसम्म कि त्यो संचारमाध्यमको सम्बन्धित मान्छेलाई भेटेरै वा अनलाईनमै भन्यो भने पनि त्यसमा सुधार गर्दैनन् । तर सामाजिक संचार सञ्जालमा लेखिएको कुनै कुरामा गल्ती भयो भनेपनि भन्ने बित्तिकै सुधार हुन्छ । यसो भनेर आमसंचारको भाउ घटाउन खोजेको होइन कि अन्तरक्रिया नहुने भएकोले अलि असजिलो छ ।  

सामाजिक संचार संजालको कुरा गर्दा यो सार्वजनिक माध्यम हो, यसमा बहस गर्दा अलिकति जिम्मेवारी बहन गर्नु आवश्यक छ भन्दा अत्युक्ति होला कि नहोला ?

हरेक ट्वीट गर्ने, ब्लगमा लेख्ने मान्छेले आफूले लेख्ने वा लेखेका कुरामा जिम्मेवार त हुनैपर्छ । त्यहि हो जिम्मेवारी र स्वतन्त्रताका बीचमा सन्तुलन चाहीँ हुनुपर्छ । सामाजिक संचार माध्यम भन्ने बित्तिकै हरेकले सूचना उत्पादन गर्नसक्ने स्वतन्त्रता हुन्छ । हरेक मान्छेले देखेको कुरालाई यो माध्यमबाट व्यक्त गर्न पाउने अधिकार हुन्छ । तर यसमा यो नगर त्यो नगर भन्ने ब्लगरहरूलाई चीनमा भएजस्तो बन्धन चाहीँ हुनुहुन्न । स्वअनुशासन हुनुपर्ने कुरा चाहीँ महत्वपूर्ण हो ।

हामी त्यसप्रति कत्तिको जिम्मेवार छौं जस्तो लाग्छ ?

म त उनान्सय प्रतिशत जिम्मेवार छु जस्तो लाग्छ । अरूको ट्वीटहरू हेर्दा पनि सबै जिम्मेवार छौं जस्तो लाग्छ । एक दुई जनाको त्रुटी त जहाँ पनि भइहाल्छ ।

ट्वीटर, ब्लग आदिमा आचारसंहिता लागू गर्नुपर्छ भन्ने कुरा आउने गर्छ नि । यो बहस तपाईँलाई कत्तिको सान्दर्भिक लाग्छ ?

ट्वीटर प्रयोगकर्ताहरूलाई बुझाउन, यस बारेमा सचेत रहनुस् भन्ने देखाएर आचारसंहिता बनाउनु नराम्रो कुरा होइन । तर त्यो आचारसंहिता चाहीँ लेखकलाई बन्धन बनाउने खालको हुनु हुँदैन । इक्वल एक्सेसको पहलमा एउटा ब्लगर आचारसंहिता तयार भएको देखेको थिएँ । आकार अनिल, इन्द्र जी लगायतकाहरू पनि त्यसमा सामेल हुनुहुन्थ्यो क्यारे । त्यो सामाजिक संचार संजाल प्रयोगकर्ताहरूलाई सचेत गर्ने खालकै देखेको थिएँ । फेरी ब्लगिङ् भनेको चाहीँ कानुनी दायरामा आउने कुरा पनि हो । तर ट्वीटरमा यस्तो लेख, त्यो नलेख भन्ने दायरा बनाउनु हुन्न । हरेकको लेखनको आ आफ्नै सिद्धान्त र अभिव्यक्ति हुन्छन् । तर त्यसलाई सिमित गर्ने काम गर्नुहुन्न ।

फेसबुक, ट्वीटर दुबैमा यहाँका धेरै फलोअर छन् । उनीहरूलाई तपाईँको केही सन्देश छन् ?

म ट्वीटर र ब्लगिङ्मा छिरेको चाहीँ सहसिकाइको लागि हो । अरूले नजानेको–मैले जानेको, मैले नजानेको–अरूले जानेको कुरा सेयर गर्नको लागि हो । मैले ट्वीटर र ब्लगमा जति कुरा लेख्छु, ती सब मेरा नित्तान्त व्यक्तिगत धारणा हुन् । त्यसलाई त्यही रूपमा अरू मित्रहरूले बुझिदिनुहुन अनुरोध छ । हामी सबैले आ–आफ्नो दृष्टिकोणको सिमितता हुन्छ भन्ने बुझाई मेरो हो । सबैको आ–आफ्नो बुझाइ हुन्छ भन्ने सबैले बुझिदिनु भयो भने राम्रो हुन्छ । म पनि जान्ने त्यस्तो ठूलो मान्छे होइन, गर्दै सिक्दै जाने क्रममा छु । हामी सबैले गर्ने भनेको नै त्यही हो ।

अन्त्यमा ?

यहाँहरूले साताको ब्लगर बनाएर जुन सम्मान दिनुभयो, त्यसका लागि धन्यवाद दिन चाहान्छु ।

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

Comment by Kamal Paudyal on November 22, 2012 at 1:25pm

उत्तमोतम छ कुराकानी धन्यवाद.....!!!

Comment by Pagal Basti on November 21, 2012 at 5:58pm

बधाइ छ है शन्जिब सरलाइ स्विकार होस

Comment by Ananta Koirala on November 21, 2012 at 3:23pm

बधाई हो बधाई :)) 

Comment by Indra Dhoj Kshetri on November 21, 2012 at 3:10pm

Lau bandhu dherai dherai badhai. :)

Comment by Santosh Pokharel on November 21, 2012 at 1:05pm

लौ सर (बन्धु पनि) लाई साताका ब्लगर बन्नु भएकोमा धेरै धेरै बधाई छ । हजुरको पछिल्लो ब्लगमा कमेन्टे जस्तै अबका दिनमा निरन्तर हजुरका लेख पढ्न पाइन्छ भन्ने आशा गरिन्छ । 

Comment by Krishna Guragain on November 21, 2012 at 12:40pm

लु बधाई संजीव जी । 

Comment by Kranti Darai on November 21, 2012 at 12:32pm

congratulations Sanjeev jii :)

Comment by Durga Lamichhane on November 21, 2012 at 12:30pm

Congratulation Sanjeev ji!

© 2017   Created by Equal Access for the Civil Society: Mutual Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service