ब्लगिङमा आचारसंहिता पालना भएको छ – रामप्रसाद खरेल

साहित्य, पत्रकारिता र रेडियो ब्यवस्थापन । यी तिनवटा क्षेत्रमा उत्तिकै रुपमा सक्रिय मोरङ शनिश्चरेका रामप्रसाद खरेल सुनसरीको इटहरीलाई कार्यथलो बनाउँदै पछिल्लो समय ब्लगलेखनमा समेत सक्रिय देखिएका छन् । २०५८ सालमा छापा पत्रकारिताबाट पत्रकारिता पेशा शुरु गरेका खरेल हाल रेडियो परिवर्तन इटहरी सुनसरीमा स्टेशन म्यानेजरको रुपमा कार्यरत छन् । साहित्य लेखन र पुस्तक अध्ययन नीजका रुचीको विषय हुन । रेडियो ब्यवस्थापन एवं पत्रकारिताका अलावा समयसमयमा पुर्वान्चलका स्थानिय पत्रपत्रिकामा लेख, रचनाहरु समेत प्रस्तुत गरिरहने खरेल आफ्ना साहित्य सिर्जना एवं पत्रकारितालाई ब्लगलेखनको माध्यमबाट झनै निखार्न प्रयासरत छन् । २०६७ सालमा एउटा पुस्तक प्रकाशन गरेका उनका चाँडै नै दुईवटा पुस्तक प्रकाशन हँदैछन् । मेरो रिपोट एवं मिडियामन्चमा समेत सक्रिय रहनुभएका यीनै रामप्रसाद खरेललाई यसपटक मेरो रिपोर्टको साताको ब्लगरको रुपमा प्रस्तुत गरेका छौं । प्रस्तुत छ मेरो रिपोर्टका लागी पवन न्यौपानेले गरेको कुराकानी

ब्लग लेखन कहिलेबाट सुरु गर्नु भएको हो ?
मैले ब्लग लेखन पहिले दुई तीन बर्ष अगाडीदेखि नै लेख्न थालेको हु तर विचमा ब्लग वन्द भयो । पछिल्लो समयमा वर्डप्रेस मार्फत वनाएको छु । जुन www.ramkharel.com.np  हो ।
 
आफ्नो ब्लगको बारेमा शब्दचित्र प्रस्तुत गरिदिनुस् न ।
मेरो ब्लग माथि नै भनिसके त्यसमा लगअन गरेर हेर्न सक्नुहुन्छ । मैले त्यसमा मेरा रचनाहरु, रेडियो रिर्पोट, प्रोग्राम तथा फोटोहरु समावेश गरेको छु । सवै मेरा रचनाहरु समावेस गरिसकेको छैन् । विस्तारै सवै खालका विषयवस्तु समावेस गर्ने जमर्को गर्दैछु ।
 
ब्लगिङ किन गर्नुहुन्छ ?
 ब्लगिङ गर्नुका दुईवटा कारणहरु छन् । एउटा आफ्ना सृजनाहरु अरु सम्म पुर्याउने यसले धेरै व्यक्तिबिचमा परिचित गराउँछ । अर्को आफ्ना रचनाको डिजिटल सङ्ग्रह पनि हुन्छ ।
 
कस्ता बिषयबस्तु तपाईंको ब्लगमा प्राथमिकतामा पर्छन्  ?  किन ?
  मैले यस्तै बिषयवस्तु मात्र राख्छु भनेर निर्धारण नै गरेको छैन् तर साहित्य, जीवन दर्शन र युवा लक्षित बिषयवस्तुहरु अहिले समावेस भएका छन । आगामी दिनमा अरु विषयवस्तु पनि समावेस हुन सक्छन् ।
 
ब्लगका लागि अलग्गै समय खर्चेर रिपोर्टिङ गर्नुहुन्छ कि अन्य सञ्चारमाध्यमका लागि गरिएका रिपोर्ट नै ब्लगमा पोष्ट गर्नुहुन्छ ?
ब्लगकै लागि भनेर समय खर्च गर्दिन किनभने यसले बाँच्ने आधार तय गर्न सक्दैन । आफ्नो काम गर्ने संस्थाका लागि दिएको समयमा नै यसका लागि पनि काम हुन्छ । अरु संचार माध्यममा प्रकाशन तथा प्रसारण भएका बिषयहरु नै मेरो ब्लगमा हुन्छन् । यसले बिषयले पार्ने प्रभावमा दिगो भूमिका खेल्छ भन्ने मेरो मान्यता हो ।
 
अरुका ब्लग कत्तिको पढ्नु हुन्छ ?
ब्लगको मात्र कुरा भएन वेवसाइट, पुस्तक, पत्रिका आदि पढ्ने नै अरुका हो । आफ्नै त के पढ्नु । लेख्दै पढेकै भईहाल्छ । आफूले राम्रो लेख्न अरुको धेरै पढ्न आवश्यक छ । तर अध्ययन संस्कृतिको हाम्रो देशमा कमि छ । पछिल्लो समयमा युवाहरु निकै सृजनशिल भएका छन यो चै हामी सवैका लागि राम्रो कुरा हो ।
 
लिंक कहाँबाट लिनु हुन्छ वा खोज्नु हुन्छ ?
मिडियामा काम गर्ने भएकाले दिनमा प्रयास नेटमा धेरै समय वित्छ । लिंकको कुरा कहिले फेसवुकवाट पनि प्राप्त गर्न सकिन्छ कहिले गुगलमा सर्च गरेर पनि हेरिन्छ ।

विशेष गरी कस्ता विषयवस्तु समेटिएका ब्लग तपाईँका रोजाइमा पर्छन् ?
मलाई खासगरी साहित्य, जीवनदर्शन तथा अलिक खोजमुलक सामग्री समावेस गरिएका ब्लगहरु मन पर्छन ।
 
तपाईँ त आमसंचारको क्षेत्रमा क्रियाशिल व्यक्ति पनि । आमसंचारको लेखन र ब्लग लेखनमा के फरक पाउनु भयो ?
 लेखनमै त खासै फरक हुन्छ जस्तो लाग्दैन् । तर के चै हो भने आमसंचारको लेखनमा विभिन्न मिडियाहरुको आफ्नै शैली हुन्छन र त्यसमा काम गर्नेले पनि त्यही शैली अपनाउनुपर्ने हुन्छ । त्यसो गर्दा लेखनमा छुट्टै मौलिकता नहुन पनि सक्छ । ब्लगमा लेखन पुरै स्वतन्त्र हुन्छ । ब्लगमा लेखनदेखि सम्पादन सम्ममा आफ्नै पहुँच हुन्छ । आमसंचारमा त्यो स्वतन्त्रता हुदैन । ब्लगमा सेन्सर पनि हुदैन । निचोड के हो भने ब्लग लेखन पुरै स्वतन्त्र हुन्छ ।
 
सुनसरीमा बसेर संचारकर्म गरिरहनुभएको छ । त्यस क्षेत्रमा न्युमिडियाको प्रयोगको अवस्था कस्तो पाउनुभएको छ ?
सुनसरी नेपालको विकसित शहरहरु भएको जिल्ला हो । यहाँको युवा पुस्ता प्रविधिमा आफ्नो पहुच राख्ने प्रयत्नमा छ । पुरै अनुसन्धान गरिएको त छैन तर सामन्य अनुभवका आधारमा भन्दा न्युमिडियाको प्रयोग सुनसरीमा सामान्य अवस्थामा छ ।
 
ब्लगरका लागी आचारसंहिता कत्तिको जरुरी छ भन्ने लाग्छ तपाईंलाई ?
आचारसंहिता आवश्यक छ किनभने ब्लगिङमा स्वतन्त्रता त छ तर स्वतन्त्रता छ भन्दैमा केहीपनि आचारसंहिता नमान्ने भए सिर्जनसिलता नै हुँदैन्, त्यसैले आचारसंहिताले नियममा बसेर ब्लग लेख्नका लागी डोर्याउँछ । ब्लगमा कस्तो आचारसंहिता हुन्छ भन्ने सर्वमान्य सिद्धान्त त छैन्, मेरो रिपोर्टले पनि बनाएको छ त्यसलाई पनि आधार मान्न सकिन्छ । यसलाई थप कसरी परिस्कृत र ब्यवहारिक कसरी बनाउने भन्ने कुरा चैं ब्लगरहरुले नै छलफल गरेर साझा धारणा तय गर्दा हामी सबैलाई राम्रो हुन्छ ।

अरुका ब्लगहरु हेर्दा आचारसंहिता कत्तिको पालना भएको पाउनु भएको छ ?
मैले हेरेजति ब्लगमा आचारसंहिताको पालना भएकै पाएको छु ।
 
ब्लग लेखन वा ब्लगमा समेटिएका सामग्रीसँग जोडिएका कुनै रमाइला घटना वा प्रसंग भए बताइ दिनुस् न ।
त्यस्तो घटना त छैन तर के चै हुन्छ भने काही कोहीसंग भेट्दा ‘ए तपाईको लेख मैले तपाईको ब्लगमा पढेको थिएँ’ भन्नेहरु चंै प्रशस्तै पाईन्छन । भर्खरै पनि इलामको वसाईमा त्यस्ता प्रतिक्रियाहरु पाएँ । सायद यो एक सर्जकका लागि रमाइलो कुरा नै हो ।
 
तपाईँले ब्लगमा राख्नु भएको सामग्री पहिले तपाईँ कार्यरत संचारमाध्यममा राख्न वा त्यसबाट दिन कत्तिको दबाव आउँछ ?
 अहिले सम्म आएको छैन ।

ब्लग, ट्वीटर र फेसबुकमा के फरक पाउनु भयो ?
ट्वीटरमा म छैन, फेसबुक र ब्लगमा धेरै फरक छ जस्तो मलाई लाग्छ । ब्लग भनेको एउटा संग्राहलय नै हो । फेसबुकचैं सुचना दिने र साथिहरुसँग सम्पर्क गर्ने माध्यम हो ।

सोसल मिडियामा आफूलाई कसरी चिनाउन चाहनुहुन्छ, एउटा ब्लगरका रुपमा या पत्रकारका रुपमा या मिडिया ब्यवस्थापकको रुपमा ?
म आफुलाई मिडिया व्यवस्थापक तथा राम्रो पत्रकारका रुपमा चिनाउछु । ब्लग लेखन पनि नयाँ खालको पत्रकारिता नै हो । पत्रकारिताको परिभाषालाई अलिक फराकिलो रुपमा वुझ्न आवश्यक छ । म एउटा राम्रो लेखक पनि हुँ ।
 
नेपाली ब्लगहरु सामाजिक हितमा लेखिएका कत्तिको पाउनु भएको छ ?
सृजनशिल व्यक्तिहरु समाजको हितका लागि काम गर्छन । अब यसको उत्तर कसरी दिनु अनुसन्धानात्मक रुपमा आजसम्म हेरिएको छैन । अब यसको सामाजिक प्रभावका बारेमा अनुसन्धान गर्न आवश्यक छ जस्तो छ । सवै मिलेर वरु त्यो काम पो गर्ने हो कि ।
 
तपाईँको सबैभन्दा बढी रुचाइएको ब्लग ?

इश्वर भेटिन्छ’ भन्ने ब्लग लेखेको थिएँ ।  राम्रो प्रतिक्रिया पाएँ । नामै लिएर भन्नुपर्दा गजलकार जी बि गजलले त्यो ब्लगलाई उर्जा दिने खालको छ र मलाईपनि उत्साह थपिदियो भन्नुभएको थियो । थुप्रै छन् यस्ता खालका प्रतिक्रियाहरु । मिडियामन्चमा राखेको ‘ब्लग साहीत्य’ पनि धेरैले रुचाएका थिए ।

ब्लगबाट के पाउनुभयो, के गुमाउनु भयो ?
पाठक पाए, सृजनशिलताको लागि उर्जा पाए । सृजनशिल क्षेत्रमा लागेर गुमाउने त के होला र ?

ब्लग लेख्न चाहँने र लेखिरहँनु भएकाहरुलाई के सन्देश दिनु हुन्छ ?
सन्देशकै रुपमा त केही भन्नु छैन । अर्ति दिने हैसियतमा म छैन । यति चै भन्छु यो सृजनशिलतालाई उजागर र परिस्कृत गर्ने एक माध्यम हो ।

अन्त्यमा,
मेरो रिपोट आफैंमा रचनात्मक काम हो । यो अरुभन्दा फरक प्रकृतीको पनि भयो कारण आफैं सदस्य बनेर आफ्ना सिर्जनाहरु, अभिब्यक्तिहरु, लेखहरु राख्न सकिने भएकाले मेरो रिपोट मेरो आफ्नै हो भन्ने भावना ब्लगिङ गर्नेहरुमा जागृत गराएको छ । अर्कोकुरा स्थान दिएको छ, प्लेटफर्म दिएको छ रचना गर्नेहरुलाई, अन्यत्र प्लेटफर्म भएकाहरुलाई पनि थप प्रोत्साहन पनि भएको छ । यो राम्रो कुरा हो ।
अझैपनि मेरो रिपोटमा हुनेजति नागरिकको पहुँच नभएको हो कि भन्ने मलाई लाग्छ । त्यो बढाउनका लागी बढीभन्दा बढीलाई यो बारेमा जानकारी दिनुपर्यो, अन्य न्यूमिडीया एवं सामाजिक संजालहरु, फेसवुक ट्विटर चलाउनेहरुलाई पनि यसको सदस्य बन्न अभिप्रेरित गराउनपर्यो । अन्य मुलधारका मिडीया, जिल्लाबाट निस्कने पत्रपत्रिकाहरुका लागि पनि मेरो रिपोट ठुलो श्रोत बन्न सक्छ, त्यतातर्फपनि सबैको पहल हुन जरुरी छ । 

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

Comment by Amuna Chapagain on March 4, 2013 at 3:01pm

Congratulations !!!!!

Comment by Tek Raj Bhandari on March 1, 2013 at 4:36pm

congret

Comment by अल्टर कान्छो’ on February 27, 2013 at 6:13pm

congratulations kharel sir .

Comment by pawan neupane on February 27, 2013 at 5:33pm

Congratulations Ram Prashad Kharel ji :):)

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service