रेडियोसँग उठबस

By @binayaji

सायद ४४/४५ सालतीर जस्तो लाग्छ, बुबाले ४५० रुपैयाँमा किनेको रेडियो सेट घर भित्र्याउनु भयो । त्यो 'नेशनल पानासोनीक' रेडियो थियो । त्यो भन्दा पहिले मैले कि त डाँडागाँउका बाटाघरेका घरमा रेडियो देख्या/सुन्या थिए कि त नेपाली सेनाका जागीरे पण्डित कमल प्रसाद (उनलाई गाउँमा चप्रासी भनेर चिन्थे) ले पल्टनबाट फर्किदा लिएर आएको ठुलो क्यासेट प्लेयर नै । मेरो गाउँमा रेडियो हुनु भनेको खान्दानीको बर्गको सम्मान पाउनु सरह हुन्थ्यो ।

४४ सालपछि हामीकहाँ पनि रेडियो भित्रीयो । बिहान सात बजेको समाचार, समाचारको अन्त्यमा भनिने मौसम सम्बन्धि जानकारी र कृषी कार्यक्रममा हरेक शुक्रबाट साँझ ६ बजेपछि आउने बुढीआमाको गन्थन सबैले चासो दिएर सुन्ने गर्थे । ४६ सालको अन्त्यमा बहुदल आएपछि एकाएक घटना र बिचार, परिवेशजस्ता कार्यक्रमहरु लोकप्रीय भए । नाटकमा भने दिन-प्रतिदिन र हरेक शनिबार दिउसो आउने रेडियो नाटक धेरैले मन पराउँथे । चौतारी कार्यक्रम र फोन-इन मा पाण्डव सुनुवार जमेका हुन्थे । पत्रकाहरुले बनाएको फरक धारको रेडियो कार्यक्रम 'वातावरण' मा स्थानीय मानिसका भोगाईहरु सुन्न पाइने भएकोले मान्छेहरुले त्यो कार्यक्रम रुचीसाथ सुनेको पाइन्थ्यो ।

स्कुले जीवनमा समाचारमुलक कार्यक्रमतिर खासै ध्यान थिएन । तर पनि मलाई रेडियो नाटक, चौतारी, फोन-इन, अनुरोध संगीतजस्ता कार्यक्रम औधी मनपर्थे । रेडियो नेपालमा ३ बजेपछि आउने अनुरोध संगीतमा कैयौ चोटी पत्र पठाउँदा पनि प्रसारण नहुदाँजस्तो खिन्नता अरु घटनमा सायदै भयो होला । क्षेत्रीय प्रसारण केन्द्र धनकुटाले पनि अनुरोध गीतसंगीत खुबै बजाउथ्यो । तर कैयौचोटी पत्रहरु पठाउँदा पनि आफ्नो नाम आएन वा आएको भएपनि मैले नसुनेको बेला परेको हुनसक्छ । सबैको नाम बजाउने रेडियोले मलाई भने किन वेवास्ता गर्यो होला? मनमा यस्तै तर्कना आउँदै गर्दा पनि रेडियो मेरो साथी नै थियो । कोदाबारी खन्दा, मकैबारी गोड्दादेखि घाँस काट्न र गाईबस्तु चराउन जाँदा समेत मैले रेडियोसँगै लिएर हिडेको छु । कारण, रेडियो मेरो लागि हरपलको साथी थियो ।

तर सानैदेखि रेडियो सुन्दा खड्कीएको कुरा के थियो भने रेडियो जहिले पनि एकोहोरो बोल्थ्यो । रेडियोमा बोल्ने केही मानिसहरु एकोहोरो आफ्ना कुरा भन्थे, अरुका कुरा पढ्थे, सुनाउथे तर जसका बारेमा बोलिदैछ उसैको आवाज छिटफुट रुपमा समाचारमा बाहेक अरु कार्यक्रममा आउँदैनथ्यो । यस्तो लाग्थ्यो रेडियोमा बोल्नेहरु गन्नेमान्ने, जान्नेसुन्ने वा ठुलावडा हुन् अनि सुन्नेहरु चाँही श्रोतामात्र । आदरणीय श्रोता भनेर गरिने सम्बोधनले नै चसक्क मन छुन्थ्यो । रेडियोमा जसको बारेमा कुरा गरिदैछ उसका भोगाई र अनुभवहरु उसैको आवाजमा सुनाउने केही मध्ये 'वातावरण' कार्यक्रम मन पर्ने मुख्य कारण थियो त्यो कार्यक्रममा गाउँघरमा प्रयोग हुने भाषाशैली र रहनसहनमै आममान्छेका चासो र सरोकारका बिषयहरु प्रसारण हुन्थे । 

२०५५ सालतीर रेडियो नेपालमा एउटा बेग्लै स्वादको रेडियो कार्यक्रम जन्मियो । नाम थियो 'खोजखबर' । पत्रकारहरुको समूहले बनाएको रेडियो पत्रिका थियो खोज खबर । जसले प्रसारणको सात महिनाको अवधिमा लाखौ श्रोताहरु कमायो । जयप्रकाश गुप्ता सञ्चारमन्त्रि भएका बेला त्यो रेडियो कार्यक्रमको घाँटी निमोठियो । कारण थियो रेडियो नेपालमा प्रबेश गरेको चर्को राजनीति र खोजखबरमा काम गर्ने पत्रकारहरुको अराजनीतिक पृष्ठभुमी । मेरो पहिलो रेडियो रिपोर्ट आफ्नै आवाजमा त्यही कार्यक्रमबाट प्रसारण भएको थियो जुन काठमाण्डौको कुलेश्वरका एक मादल ब्यापारीको बारेमा थियो । शहरमा पनि मादलको व्यापार? भन्ने कौतुहलताले सताएपछि मैले ती मादल व्यापारीको बारेमा रिपोर्ट बनाएको थिए जुन मेरो जीवनमा पहिलोपल्ट आफ्नै आवाजमा रेडियोबाट प्रसारण भएको थियो । त्यसपछि रेडियो कार्यक्रम 'हाकाहाकी' हुदै 'साथीसँग मनका कुरा'को निर्माण प्रकृयासम्म पुगेपछि मेरो नाता जोडियो एफएम रेडियोसँग ।

नेपालमा डिजीटल प्रबिधिबाट आवाज सम्पादन प्रबिधि ५८ सालतीर भित्रीएको हो जुन बिषयमा पहिलो औपचारिक तालिम लिने सौभाग्य मलाई पनि जुर्यो । तालिम पानस साउथ एशियाले आयोजना गरेको थियो । त्यही तालिमपछि मेरो नाता गाँसियो सप्तकोशी एफएमसँग । सप्तकोशी एफएमसँगको छोटो कार्यकालमा त्यही रेडियोमा चिनजान भएकी एउटी युवतीसँग मेरो लगनगाँठो कसियो र मेरो जीवनमा नयाँ अध्याय थपियो । सप्तकोशी एफएमको संस्थापक कार्यक्रम निर्देशक, निमित्त स्टेशन म्यानेजर हुदैगर्दा सोलुखुम्बुजस्तो बिकट भनिने ठाउँमा गएर सामुदायिक रेडियो सञ्चालन अभियानमा त्यहाँका स्थानीय युवाहरुसँग सहकार्य गर्न पाउनु मेरा लागि रेडियो बुझ्न अर्को महत्वपुर्ण अवसर थियो ।

बिश्वप्रसिद्ध हिमाल सगरमाथाको जिल्ला सोलुखुम्बु भौतिक रुपमा काठमाण्डौसँग खासै टाढा छैन यद्यपी काठमाण्डौले सोलुलाई दुर्गम नै भनिरहेको छ । २०६१ सालसम्म सोलुमा मोरङ, सुनसरीका रेडियोहरु कोशी र सप्तकोशी एफएम अनि काठमाण्डौबाट प्रसारण हुने कान्तिपुर एफएम सुनिने गथ्र्यो । ६१ साल भदौमा हामीले सोलुबाटै रेडियोको प्रसारण फाल्दा कैयौ दिनसम्म स्थानीयले पत्याएनन् । पत्याउनेले पनि चमत्कारको रुपमा लिए । रेडियोमा काम गर्नेलाई उनीहरुले प्रकट गर्ने सम्मानबाट पनि बुझ्न सकिन्थ्यो की रेडियो सानोतिनो जिनीस् हैन जसले गाउँलेको भाषा बोल्छ । पछिसम्म उनीहरुले पत्याएनन् । जब हामीले स्थानीय मान्छेले गाएका गीतहरु, मेलापातका आवाजहरु, गाइबस्तुका स्वरहरु, स्थानीय भाषा, शैली र लवजमा दिनथाल्यौ उनीहरुले रेडियोलाई आफ्नै ठान्न थाले, माया गर्न थाले । महिनामा एकदिन गाउँघुम्न जाँदा मलाई स्थानीय महिला तथा अग्रज दाजुभाईहरु भन्थे "हामीजस्ता मान्छेको आवाज रेडियोमा बज्न दिएर तपाईले हामीलाई ठुलो गुन लगाउनु भयो ।" वास्तवमा त्यो काम मैले भन्दा स्थानीय रेडियोकर्मीले गरेका थिए । समुदायकै सदस्यहरु रेडियोका समाचारबाचक थिए, संवाददाता थिए । शनिबार हाट भर्न आउँदा गाउँले बुढाबुढीहरु रेडियोमा छिरेर गीत गाएर फर्किन्थे । दशै तिहार तथा अन्य चाडवाडका बेला आफ्नै स्वरमा शुभकामना साटासाट गर्थे । खेत रोपीरहेको महिला, बारी खनिरहेका किसानहरु आफ्नै आवाज रेडियोमा सुनेर फुरुङ्ग हुन्थे ।

सोलुमा मात्र हैन ६१ सालसम्म आइपुग्दा नेपालका कैयौ निमुखा र दबाइका स्वरहरु रेडियो सञ्चालक बनिसकेका थिए । सप्तकोशी, सोलु र शुक्लाफाँटा एफएमको शुरुवातताका बिभिन्न भुमिकामा त्यहाँका रेडियोकर्मीहरु जोडिन पाउँदा र अहिले ती रेडियोहरुले हासिल गरेको सफलता देख्दा लाग्छ स्थानीय सवाल, शैली र लवजले रेडियोको लोकप्रीयता बढाउँछ । आर्थिक स्वावलम्बनका लागि पनि यो नै अचुक उपाय हो । आम मानिसले आफ्नो रेडियो भन्ने बनाउनका लागि नाराले हैन व्यवहारले देखाउन सक्यो भने रेडियो स्थानीय भएर पनि आत्म निर्भर हुनसक्छ । अहिले हामीकहाँ ४७६ वटा रेडियोले प्रसारणका लागि राज्यको स्विकृती पाएका छन् । तीमध्ये ३२७ वटा रेडियो प्रसारणमा छन् । स्वामित्वको आधारमा सामुदायिक र व्यावसायिक भनेर स्वघोषीत भएपनि अधिकांश रेडियोहरु समुदायको हातमा छन् । यद्यपी पछिल्लो समय स्वार्थ तथा गुटगत राजनीतिले समुदायका रेडियोलाई पनि चोट पुर्याएको छ । आवाज विहीनका माध्यम भनेर पनि फेरी पनि समुदायका मै हुँ र ठुलाठालुका नियन्त्रणमा रेडियोहरु पुगेका छन् । स्थानीय स्वाद, शैली र भावभंगीहरुले कम स्थान पाउन थालेकाछन् । परिणाम स्वरुप बजारले धान्न नसक्ने गरी रेडियो स्टेशनको संख्या थपिदैछ । त्यसमाथि स्थानीय सवाललाई राजधानीबाट पठाइएका बिषयबस्तुले घुप्लुक्कै निल्दीने र स्थानीय रेडियो स्टेशनहरु केन्द्रका कार्यक्रम भन्दै मन पराएर वा बाध्यताले आफुलाई क्यासेट प्लेयरको भुमिकामा खुम्च्याउन लालायित् हुने हो भने स्वतन्त्र रेडियोको मर्म हराएर जाने संभावना बलियो भएर जानेछ ।

स्वतन्त्र रेडियोको उल्लेख्य विकासले कतिपय दक्षिण एशीयाली देशहरु नेपाललाई उदाहरण मानिरहेकाछन् । तर नेपालका नराम्रा र असफल पक्षहरुलाई केलाएर अघि बढ्दा अन्य देशको स्वतन्त्र रेडियो अभियान लोकप्रीय हुन थालेको छ । रेडियोको विकास र बिस्तारमा क्रियाशील संघसंस्थाहरुले यसबारेमा ध्यान नदिने हो भने समुदायका नाममा खोलिएका रेडियोहरु, राज्य नियन्त्रीत माध्यमको चंगुलबाट नागरिकलाई मुक्त गर्न खोलिएका रेडियोहरु बिस्तारै अलोकप्रीय हुनेछन् ।

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

© 2017   Created by Equal Access for the Civil Society: Mutual Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service