साताका ब्लगर:नरेन्द्र रौले

कान्तिपुर साप्ताहिकमा कार्यरत नरेन्द्र रौले अलि फरक ढंगको पत्रकारिता गर्छन । घटना विषेश समाचारको पछि दगुर्नुको साटो उनी ब्यक्तिका निजी जीवनका बाहिर नदेखिएका पाटोहरु खनीखोस्री त्यसलाई पाठकमाझ प्रस्तुत गर्न रुचाउँछन । शहरमा बस्नेहरुले दुर्गम भनेर चिन्ने बाजुराबाट काठमाण्डौ छिरेर पत्रकारितामा आफ्नो परिचय स्थापित गर्न खोजिरहेका रौलेको अर्को परिचय बनिसकेको छ यस बिचमा । उनी @NRaule का नामबाट ट्विटिन्छन भने फेसबुकमा समेत करिब ३ हजारजना उनका साथीहरु छन् । यसरी सामाजिक संजालमा पनि उनले आफ्नो परिचय बनाईसकेका छन् । त्यस्तै नेपाली हाईवे नामबाट ब्लगिङ्गमा पनि उनको सक्रियता उत्तिकै छ । पत्रकारिताका अलावा सोसल मिडिया र ब्लगिङ्ग दुबैमा उत्तिकै सक्रिय उनै नरेन्द्र रौलेसंग यो साता मेरो रिपोर्टको साताका ब्लगर स्तम्भमा कुराकानी गरेका छौँ । प्रस्तुत छ विनय गुरागाईले रौलेसंग गरेको कुराकानीः

काठमाण्डौं कहिले आउनु भएको हो र यता आउनुको सन्दर्भ बताइदिनुस् न ।

मैले बाजुराको पशुपती मा.वि. बाट २०६० सालमा एसएलसी दिएको हुँ । त्यतिबेला देश राजनीतिक संकटबाट गुज्रँदै थियो । माओवादी द्वन्द्व एकदमै उत्कर्समा पुगेकोले एसएलसी दिन पनि सदरमुकाम जानुपर्ने अवस्था थियो । गाउँमा बस्न सक्ने स्थिति थिएन । त्यसैले एसएलसी दिएको केही दिनमै २०६० चैत्र अन्तिम तिर म काठमाण्डौं आएको हुँ ।

अनि पत्रकारितामा प्रवेश कसरी भयो ?

म चार पाँच कक्षा पढ्दैदेखि मेरा साथी भनेकै रेडियो र पत्रपत्रिका नै थिए । अनि अरु मान्छेको नाम पत्रिकामा गाढा कालो अक्षरमा छापिएर आउँदा मेरो नाम पनि कहिले यस्तै गरी आउला भन्ने लाग्थ्यो । गोठालो जाँदा होस् या बजार जाँदा रेडियो कहिल्यै छुट्दैन थियो । अरुले रेडियोमा बोलेको सुन्दा म पनि कहिले यसरी बोल्ने होला जस्तो लाग्थ्यो । आफ्नो कोर्सभन्दा बाहिरको पनि किताबहरु पढ्थें । त्यो बेला पनि मेरो नाम यसरी कहिले छापिएला भन्ने लाग्थ्यो । यस्तै यस्तै रहरहरुले नै तानेको हुनुपर्छ मलाई यो क्षेत्रमा ।

तपाईँ पहिले रिपोर्टर हुनुहुन्थ्यो अनि ब्लगर हो ?

हो पहिले म रिपोर्टर थिएँ । त्यसरी आफूले रिपोर्टिङ् गरेका सबै कुरा पत्रिकामा छापिँदैन पनि थियो । अनि देखेभेटेका मान्छेका बारेमा पनि केही लेख्ने मन हुन्थ्यो । त्यही क्रममा ब्लग खोले । ब्लग खुल्नुको पनि रमाइलो प्रसंग छ । २०६३ बैसाख ९ गते जनआन्दोलनमा सहभागि हुने क्रममा त्रिपुरेश्वरमा गोली लाग्यो । मेरो उपचार काठमाण्डौं मोडेल हस्पिटलमा भयो । त्यो बेला देश विदेशका धेरै पत्रकारहरुसँग भेट्ने मौका मिल्यो । उनीहरुसँग अन्तरक्रिया गर्ने मौका मिल्यो । उनीहरुले मेरो आवाज लिए, बजाए, छापे ।
डिस्चार्ज भइसकेपछि जेठ १२ गते नागरिक भएर बाँच्न शीर्षकको लेख कान्तिपुरमा छापिएको थियो । त्यसताका म कि त, पुस्तकालय जाने कि भने पत्रकारिता क्षेत्रका अग्रजहरुलाई भेट्ने गर्थें । यही क्रममा कान्तिपुरमा मेरो आउजाउ निकै बढेको थियो । कान्तिपुरका दिनेश वाग्लेहरु त्यही बेला नै ब्लग लेखनमा निक्कै अगाडी बढिसक्नुभएको थियो । काठमाण्डौं पोस्टका शेखर खरेलसँग अंग्रेजी कसरी राम्रो बनाउने भन्ने सोध्थें । उहाँले दिनेश वाग्लेको उदाहरण दिँदै यसरी ब्लग लेख्नुपर्छ । दिनेशले यसै गर्दै अंग्रेजी राम्रो बनायो भन्नुहुन्थ्यो ।
त्यसपछि २००७ मा पहिलो ब्लग खोलें । निक्कै रहर भएकाले कहिले वर्डप्रेसमा, कहिले ब्लगस्पटमा, कहिले ब्लग डटकममा गरेर अहिलेसम्म गन्ने हो भने आठ नौ वटा पुगे होलान् । त्यो बेला गुगल एडसेन्सबाट पनि मलाई इमेल आको थियो । त्यो बेला जानी नजानी एकाउण्ट खोलेर चलाइरहेको थिएँ । के गर्नुपर्छ नि थाहा भएन र पैसा कमाउने तिर भन्दा नि लेख्ने तिर मात्रै ध्यान गयो । अंग्रेजीमा पनि लेखें । भिजिटर संख्या पनि राम्रो थियो । गुगलबाट प्रत्येक स्टोरीहरुमा एड पनि आइसकेको थियो । केही त राम्ररी चलेका पनि थिए । पछि आफ्नै एउटा साइट हुनुपर्छ भनेर www.nraule.com.np दर्ता गरेको दुई वर्ष पूरा भयो ।

तपाईको ब्लगको नाम नेपाली हाइवे नै किन ?

म जहाँ पुग्छु, जता घुम्छु, त्यही हाइवेमा भेटिने मान्छेहरु, त्यही हाइवेको धुलोधुवाँ, जे भेट्छु त्यही लेख्छु भनेर सुरु गरेको हो ।

यो ब्लगमा चाहीँ के छ ?

राख्न त मैले विविधता दिने उद्देश्यले मिडिया, इटरटेन्मेण्ट, लिटरेचर, टेक्नोलोजी जस्ता विषयवस्तुहरु समेट्ने प्रयास गरेको छु । त्यसमा पहिलो त म पत्रिकासँग आवद्ध भएका कारण पत्रिकामा प्रकाशित आफ्ना सामग्रीहरु राख्छु । दोस्रो घुमघामका कुरा, पत्रपत्रिकामा नआएका कुरा, तस्विर, कसैलाई भेटेका सम्झनाका कुरा ।  सोचे जति अझै समेट्न सकेको छैन । हरेक हप्ता एक एक नयाँ रेस्टुरेण्टको बारेमा लेखूँ, एकदम सामान्य मानिसहरुका बारेमा अनौपचारिक कुरा राखौं भन्ने लाग्छ ।

पत्रकार र ब्लगरमा के फरक छ ?

पत्रकारिता गर्दा निश्चित लेखकीय र समय सीमाभित्र रहेर लेख्नुपर्ने हुन्छ । डेक्स नै पिच्छेका च्यानल गेटहरु पार गर्दै छाँटकाट हुँदै जान्छ भने ब्लगमा चाहीँ सम्पादक पनि आफैं हो, प्रकाशक पनि आफैं हो । कसैको छाँटकाट, दवाब र समय सीमा हुँदैन । आफूले लेखेकोमा छाँटकाट भएर पत्रिकामा आएको भए पनि आफूले लेखेको पूर्ण अंश ब्लगमा राख्न पाइन्छ । लामो, छोटो राख्ने, आफूलाई मन लागेको फोटो राख्ने आदी स्वतन्त्रता ब्लगमा हुन्छ । त्यसैले ब्लगमा लेख्दा जति आनन्द हुन्छ पत्रिकामा त्यति हुँदैन ।

एउटा पत्रकारले चलाएको ब्लग र पत्रकार भन्दा बाहेक व्यक्तिले चलाएको ब्लगमा केहि तात्विक फरक पाउनु भएको छ ?

सामान्यतया पत्रकारले चाहीँ आफूले काम गर्दै आएको विषय या बिटसँग सम्बन्धित कुराहरुमा आफ्नो ज्ञान र जनसम्पर्क पनि बढी हुने भएकोले ब्लगमा पनि सोही विषयवस्तुका सामग्री राख्दै आएका हुन्छन् भने पत्रकार इतरका ब्लगरहरुले चाहीँ आफूले देखे, भोगेका सामान्य कुराहरु नै लेखिरहनुभएको हुन्छ ।

पछिल्लो समयमा कस्ता खालका ब्लग बढी चर्चामा आएका छन् ?

सूचना प्रविधि, सामाजिक विषय साथै समसामयीक विषयवस्तु समेट्ने ब्लगहरु बढी चर्चामा छन् । त्यस्तै फिक्सन टाइपका ब्लगहरु पनि जुन पढ्दा उपन्यास पढेजस्तो, चलचित्र हेरेजस्तो महशुस हुन्छ, ती पनि चर्चित छन् । त्यसका साथै समाजिक संजालमा जोडिएर जो आफ्ना ब्लगको प्रचारप्रसार गर्न सफल छन् तिनिहरुको ब्लग अलि बढी हेरिनेमा पर्छन् ।

एउटा साप्ताहिकमा काम गर्ने पत्रकार र ट्वीटर, ब्लगमा आउने ब्लगरमा के फरक छ ?

खासै फरक त हुँदैन । फेरी पनि उही हो पत्रिकामा एउटा निश्चित समयसीमा, दबावमा रहेर काम गर्नुपर्छ भने ब्लगिङ आफ्नो खुसीमा, मनलागेको बेला मनलागेको ठाउँमा मन लागे जसरी गर्न सकिन्छ । जस्तो कि मैले आफ्ना कतिपय ब्लगहरु किर्तिपुरभन्दा परको दूध पोखरीका डाँडामा पुगेर पनि लेखेको छु, कतै बसेर घाम ताप्दै सुन्तला खाँदै पनि लेखेको छु । कुनै होटेलमा होस् वा कतै शान्त ठाउँमा पनि बसेर लेख्न सक्छु । त्यसरी लेखेका सामग्रीहरु पत्रिकामा छाप्न भन्दा पनि आफ्नै ब्लगमा राख्न लायक हुन्छन् । सबै खालका बन्धन र सीमाभन्दा पर रहेर लेख्दा मन पनि सृजनशिल हुँदो रहेछ र त्यो लेखन नै धेरैले मन पनि पराउँदा रहेछन् ।

तपाईँले लेखेका मध्ये धेरैले मन पराएको स्टोरी कुन हो ?

म प्रायः फिचर स्टोरी र प्रोफाइल लेख्न मन पराउँछु । करिब चार वर्ष अघि होला कान्तिपुरको कोसेलीमा मञ्जुश्री थापाका बारेमा मञ्जुश्रीका मनका कुरा भन्ने कभर स्टोरी लेखेको थिएँ । त्यसलाई त्यती बेला त धेरैले मन पराउनु नै भयो अहिले पनि म कतैजाँदा, कसैलाई भेट्दा त्यो प्रोफाइल सम्झिने र चर्चा गर्ने मान्छे अझै भेटिरहेको छु । त्यो बेला म नेपाल म्यागेजिनमा लेख्थें तर पूर्ण रुपमा काम गर्ने मेरो कुनै अफिस थिएन । साथै त्यतिबेलासम्म कम्प्युटरमा लेख्ने हात पनि त्यत्ति बसेको थिएन । तीन चार दिनसम्म बेलुका ६ ७ बजेदेखि राती ३ ४ बजेसम्म पनि लेखें । लोडसेडिङ् हुने समय भएकोले चारवटा सइबर चहारेर पूर्ण रुपमा टाइप गरी भ्याएको थिएँ । त्यसरी तयार भएको सामग्रीको बारेमा त्यसरी प्रतिकृया आउँदा निकै खुसी लाग्छ ।

त्यस्तै मेरो आमा बित्नुभएपछि २०६८ असारमा निजात्मक शैलीमा लेखेको डाँडापारी आमा शीर्षकको लेख कोसेलीमै ६८ को तिहारपछि छापिएको थियो । त्यो लेख पढेर धेरैको फोन, एसएमएस आएको थियो । कतिले मलाई भेट्न चाहनुभयो, कतिले घरमा बोलाउनु भयो । कतिले आफूले त त्यो लेख पढ्नु भयो नै, साथै आफ्नो परिवारका सदस्य एवं आफन्त, साथीसंगीलाई पनि पढ्न दिएको कुरा सुनाउनु भयो । अहिलेसम्म पनि त्यो लेख सम्झिने मान्छेहरु भेट्छु, खुसी लाग्छ । त्यो लेख लेख्ने बेला निक्कै पीडा भएको थियो । शान्त ठाउँ खोज्दै कति क्याफेका कुनाहरु चहारेको थिएँ । लेख, भिन्न-भिन्न तीन शैलीमा लेखेको थिएँ जसमध्ये एक शैलीको छानियो, छापियो र यसरी लामो समयसम्म पनि सकारात्मक प्रतिकृयाहरु पाइरहँदा निक्कै खुसी लाग्छ ।

त्यसैगरी ब्लगमा लेखेर धेरैले मन पराएको कुनै लेख ?

मैले यो साप्ताहिकमा काम गर्न थालेको एक वर्ष भएपछि म कसरी साप्ताहिकसँग जोडिन पुगें ? यो बीचमा के के गरें भन्ने बारेमा लेखेको थिएँ । आलोचनात्मक रुपमै प्रस्तुत भएर बाहिर सोचिने पत्रकार र उसले काम गर्ने स्थानमा उसको स्थानको फरकपन, अनि कतिपय कुरा प्रकाशनकै पनि लेखेको थिएँ । त्यो निकैले मन पराए र निकै प्रतिकृयाहरु पनि आए । बाह्य पाठकहरुलाई त्यसले मन छोएको थियो तर भित्र चाहीँ यो कुरा मन नपराएर यसरी लेख्यो भन्ने जस्ता कुरा आएपछि चौबीस घण्टाभित्र हटाएको थिएँ । तर त्यती छोटो समयमै पनि धेरैको प्रतिकृया भने आइसकेको थियो । त्यसमा मैले आफ्नै रिभ्यु गरेको थिएँ, नढाँटी, नलुकाई लेखेको थिएँ ।

एउटा ब्लगरको लागि ब्लगिङ्को दायरा अलिकति फराकिलो पार्न के गर्नुपर्छ ?

एउटा ब्लगरले स्वतन्त्र रुपमा सामाजिक हित हुने विषयमा लेख्नुपर्छ । आफ्नो बारेमा बढी गन्थन, अरुका बारेमा नकारात्मक टिप्पणी जस्ता कुराहरुमा भन्दा पनि सबैको हित हुने काममा ब्लगिङ् हुनुपर्छ । पछिल्ला समयमा ब्लगिङ् मार्फत बालबालिकालाई सहयोग गर्ने, पुस्तकालय खोल्ने जस्ता कतिपय सामाजिक अभियानहरु पनि चलिरहेका छन् ।

एउटा पत्रकारलाई सोसियल मिडियाले के सहयोग गर्छ, के हानी गर्छ ?

पत्रकारले लेखेको समाचार वा गरेका काम आम मान्छेले मन पराइरहेका छन् कि छैनन् भनेर प्रतिकृया पाउन पहिले पहिले चिट्ठिको भर पर्नु पर्ने हुन्थ्यो, कहिले आइपुग्थ्यो आइपुग्दैन थियो तर अहिले सोसियल मेडियाका कारण ति कुरामा तत्काल प्रतिकृया बुझ्न सजिलो भएको छ । जसले गर्दा त्यो जनभावनालाई बुझेर पाठकले कस्तो समाग्री चाहिरहेका छन्, र कस्तो सामग्री दिने भन्ने कुरा निर्धारण गर्न सहयोग पुर्याउँछ । यस हिसाबले धेरै त फाइदै पुर्याएको छ । बेफाइदा भनेको चाहीँ आफूले कसरी प्रयोग गर्ने भन्ने हिसाबले र फिल्डमा नगई फेसबुक, ट्वीटर हेरेकै भरमा भेरिफाइ नगरी कनै प्रकाशन प्रसारण गरियो भने त्यो गलत हुनसक्छ, झुठो हुनसक्छ । यसरी हेर्ने हो भने चाहीँ यसले पत्रकारलाई अलिकति अल्छि बनाइरहेको छ कि जस्तो लाग्छ ।

के एउटा पत्रकारले पत्रकार भएकै कारणले सोसियल मिडियामा लेख्न नपाइने केही त्यस्तो प्रतिबन्ध छ ?

त्यति सारो त होइन । तर कुनै समाचार तथा स्टोरी छ जुन पहिले पत्रिकामा प्रकाशन गर्नाले पत्रिकाको व्यापार र न्युज ब्रेकको हिसाबले महत्वपूर्ण छ भने चाहीँ पहिले पत्रिकैमा छाप्ने अनि मात्रै ब्लगमा राख्ने भन्ने हुन्छ ।

अन्त्यमाः

अहिलेसम्म मैले ब्लगिङ्बाट निजी कुराहरुलाई बढी जोड दिएको छु । मलाई मेरो काम सँगसँगै अँझ राम्ररी लेख्न मन छ । एउटा साझा साइट जहाँ सामाजिक, राजनीतिक, आर्थिक लगायत धेरै कुराहरु सुरु गरौं भन्ने पनि लागिरहेको छ । पत्रिकामा छाप्न नसकेका, आम चासोका, सामान्य मान्छेका सामान्य कुराहरुलाई लिएर लेखौं भन्ने लागिरहेको छ । मेरा धेरै शुभचिन्तक र पाठकहरुले मेरा अखबारी लेखनहरुमा पनि हौसला दिइराख्नु भएको छ । कतिले खुलेरै मेरा लेखनहरुलाई प्रशंसा गरिरहनुभएको छ । त्यहाँ लेख्दा नसमेटिएका, नभ्याइएका कतिपय कुराहरु, लामा स्टोरीहरु ब्लगमा खुलेरै लेख्नेछु । यहाँहरुको रचनात्मक सुझावको अपेक्षा पनि गर्छु ता कि आउने दिनमा परिमार्जन गरेर लेख्न सकूँ । सोसियल नेटवर्कलाई सकारात्मक रुपमा र सदुपयोग गर्ने हिसाबमा प्रयोग गरौं भन्ने मेरो कामना छ ।

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

Comment by Amuna Chapagain on December 2, 2012 at 10:33pm

congratulations !!!!

Comment by Lava Kafle on November 30, 2012 at 3:27pm

love u narendra woow

Comment by suraj Kumar Bhujel on November 29, 2012 at 2:56pm

congratulations Narendra ji :D

Comment by Prakash Lamichhane on November 29, 2012 at 12:54pm

बधाइ छ नरेन्द्रजी ।

Comment by Durga Lamichhane on November 29, 2012 at 10:17am

Congratulation Raule ji! Keep writing!

Comment by Binaya Shekhar on November 28, 2012 at 3:41pm

नरेन्द्र रौलेजीसँग जति गफ गरेपनि गरिरहुँ लाग्छ । एकपटक फेरी पनि बधाई । राम्राराम्रा लेखहरु पढ्न पाइयोस् पत्रिका, ब्लग र पुस्तकका रुपमा पनि । 

Comment by Kamal Paudyal"बालक बबुरो " on November 28, 2012 at 12:43pm

राम्रो गफ छ ....बधाई हो आपको 

Comment by Pagal Basti on November 28, 2012 at 12:12pm

नरेन्द्र सरलाइ बधाइ। स्विकरा होरर

Comment by Umesh Sigdel on November 28, 2012 at 12:07pm

धेरै धेरै बधाइ छ नरेन्द्र जी । 

Comment by Indra Dhoj Kshetri on November 28, 2012 at 11:58am

ल नरेन्द्रलाई बधाई र धेरै शुभकामना :)

Comment by Kranti Darai on November 28, 2012 at 11:53am

congratulations Narendra ji :) 

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service